कथा : हुरी

~बिना तामाङ’सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

चैतका पट्ट्यार लाग्दा दिनहरु शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरु बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं ” बाहिरफेर नगएस दिउंसो ,बरु गृहकार्य गरेस् , भर्‍याङ मन्तिरको खाली भागमा पुतली खेलेस् ।” भन्नु हुन्थ्यो । म चुपचाप सहमतीमा टाउको हल्लाउँथें तर मनले भने “अहँ जान्छु बाहिर दतिवनको रुख मुनि भाँडाकुटी खेल्न सोनाम र लक्ष्मीसंग ।” भनिरहेकी हुन्थें ।

गर्मी पनि उधुमकै हुने । राती फुल स्पीडमा पंखा नघुमाएसम्म निन्द्रा नपर्ने । कहिले काँहि त त्यतिले नपुगेर ओछ्यानमा पानी छर्केर पनि सुत्थें ।साँच्चै कति नरमाईला दिनहरु थिए । त्यति हुदाँ हुदै पनि मलाई भने खुब रमाईलो लाग्थ्यो ।किनकी गर्मी बढेकैले स्कुलमा कक्षाहरु पनि बिहान ६ बजे देखि १० बजेसम्म लाग्थ्यो । अनि त के दिनभरि फुर्सद हुने ।स्कुल छुट्टी हुने बित्तिक्कै घर पुगेर खाना खाईवरी आमाको आँखा छल्दै सोनाम र लक्ष्मीसंग घर पछाडीको खोल्सामा दतिवनको बोट मुनि शितलमा भाँडाकुटी खेल्न हुरिहाल्थें । घरभित्र गर्मीले बस्न नसक्ने हुदाँ म प्राय यसरी साथीहरुसंगै कतै शितलमा बसेर खेल्न रुचाउँथें । कहिलेकाँहि भने सोनाम र लक्ष्मी न आउँदा घर छेउको किम्बुको बोटमुनि गृहकार्य गरेर बस्थें ।

एकदिन हामी त्यसै गरि खोल्सामा दतिवनको बोट मुनि भाँडाकुटी खेल्दै थियौं । नजिकै क्यामुनाको रुख थियो । रुखमा राम्रोसंग पखेटा पनि न उम्रेका सारौंका बचेराहरु सायद भोकले होला च्याँ च्याँ गरेर आवाज निकाल्दै थिए । उनिहरु चारा लिएर आउने आफ्ना आमा बाबाको पर्खाईमा अति व्यग्र देखिन्थें ।त्यो देखेर लक्ष्मीले च्व च्वँ ” गरिन ।सोनामले भने घरबाट गुलेली पनि ल्याएको रहेछ । केटा मान्छे न पर्‍यो त्यो पनि ११ ,१२ वर्षको उरन्ठ्याउलो उमेरको , मट्याङ्रा लिएर ताकिहाल्यो वचेरा भएतिर गुलेली ।मलाइ नरमाइलो लाग्यो । लक्ष्मी त केहि बोल्नै सकिन मात्र मलाइ पुर्लुक्क हेरि ।उनका जोर नयन उदासीले भरिएको देखें । अलि बेग्लै खालको बेचैनीले गाँजे जस्तो लाग्यो । कस्तो कस्तो लाग्यो ।हुन त यसरी सोनामले अरु बेलामा नि चराहरुलाई गुलेली ताक्थ्यो ।कहिलेकाँहि त फ्याट्टै लागेर ठाउँको ठाउँमै ठहरै हुन्थ्यो ।हामीमा बाल सुलभता थियो सायद अन्जान पनि । त्यसरी चराहरु मार्नु हुन्न उनिहरुको पनि आफ्नै जीन्दगी हुन्छ ,संसार हुन्छ ,जीउने अधिकार हुन्छ भन्नेबाट अनबिज्ञ थियौं ।मात्र हामी रमाईलोको लागि त्यसो गर्थ्यौं । लक्ष्मी पनि त्यसमा सामेल हुन्थिन् । तर त्यस दिन उदासिनता देखें लक्ष्मीको आँखामा । खै किन किन उ भित्र एककिसिमको अनौठो रहस्यको गाँठो देखें ।

मैले “सोनाम भैगो त्यसो नगर आज ।छाडिदेउ ती स साना छन् ।विचरा! ।” भनें। सोनामले ट्वाल्ल परेर हामी दुईलाई हेर्‍यो अनि मट्याङ्ग्रा र गुलेली एकैसाथ भुईँमा फालेर आफू पनि फ्यात्त भुईँमा बस्यो ।

खै के सोच्यो कुन्नि फेरि जुरुक्क उठ्यो अनि सोध्यो ” किन नी आज? अरु बेलामा त केहि भन्दिनौ थियौ त? ।”

मैले लक्ष्मीतिर हात तेर्साउँदै भनें ” हेर न लक्ष्मी! ।”

साँच्चै त्यतिखेर लक्ष्मी गहभरि आँशु पारेर हुँक्क हुँक्क गरिरहेकीथिइन् । हामी दंङ्ग पर्‍यौं ।

मैले बिस्तारै लक्ष्मीको हात समाएं अनि सोधें ” किन के भो लक्ष्मी? किन रोएकी यसरी?।”

उ हुँक्क हुँक्क मात्रै गरिरही । निकै बेर पछि सम्हालिईन् । मैले पुन: उहि प्रश्न दोर्‍याएँ ।

” चरा मार्दा त हामीलाई दु:ख हुन्छ अझ तिमेरु म मरें भने कति रुन्छौ होला है?” लक्ष्मीको यो उत्तर थियो वा प्रश्न मैले बुझ्नै सकिन ।सोनामले त झन् के बुझ्थ्यो? बरा पढाईमा हरि लठ्ठक थियो । मैले अलिक् तर्सिएर “के भनेकी लक्ष्मी? भनें ।

उनि हाँसिन् फिस्स अनि “खै किन किन निकै दिन भैसक्यो मलाई मरुँ मरुँ लाग्छ बाई । म मरीँ भने कत्ति रुन्छौ होला है तिमेरु ? ” भनिन् । म अवाक ! रहें । हुन त्यो उमेर न उसले त्यसो भन्ने थियो न म अवाक! हुने थियो तर पनि हामीबीच त्यस्ता कुराहरु हुदैं थिए । सोनम त बोल्न छाडेर हाम्रै कुरा सुनिरहेकोथ्यो ।म केहि भन्न खोज्दैथें तिनवटा ठूला ठूला गह्रामाथिबाट लक्ष्मीको आमाले ” ए लक्ष्मी लक्ष्मी ” भनेर बोलाउनुभयो ।

हामी पनि मन अ्मिलो बनाएर घरतिर कुद्यौं । घर पुगेर ओछ्यान्मा पल्टिएं ।औधी गर्मी भो । पूर्व पट्टीको झ्याल खोलें । पंखा फूल स्पीडमा लगाएं । बाहिरी शरीरको गर्मी त हट्यो तर मनभित्र उकुसमुकुस भैइरह्यो लक्ष्मीको कुराले ।
……………………………………………

म जुरुक्क उठें र सोनामको घरतिर वेपत्तासंग कुदें । सोनाम अझै घर पुगेकै रहेनछ । म बरण्डामा उसलाई कुरेर बसें । केहि बेरमा सोनाम हातमा गुलेली हल्लाउँदै घर आयो । मैले एकै श्वासमा ” लक्ष्मीले किन त्यसो भनि?” भनें । उसले तल्लो ओठ मथिल्लो ओठमा खप्ट्याउँदै ” खै किन किन मलाई नि थाहा भएन ।” भन्यो ।

त्यसपछि हामी दुवै चुप भयौं किनकी सोनामको बाबा बाहिर बरण्डामा निस्कनुभयो ।

मलाई सोनामको बाबा अरुमुठेको जुंगा देख्दै डर लाग्थ्यो ।सोनामको बाबा ईण्डियन आर्मीमा पेन्शन पकाएर तराईमा जग्गाजमिन जोडेर घर बनाएर बस्न आएका थिए ।

ईण्डियन आर्मीमा भएकोले होला एक्दमै कड़ा थिए । सोनाम खेल्न गएको पटक्कै मन् नपराउने । झन हामी मध्यम वर्गियहरुसंग हिमचिम बढाएको एउटा आँखाले नि देखि नसक्ने ।आफू निकै धन्याढ् छु भन्ने अंहकारले ग्रसित थिए । आफू भन्दा निम्न स्तरकाहरुसंग उन्ले गर्ने व्यवहार पनि निकै तल्लो स्तरको हुने गर्थ्यो । अझ उस्ले रक्सी पिए पछि त उस्ले आईमाईहरुसंग गर्ने व्यवहार त झनै नपच्ने खालको हुन्थ्यो । मैले कति पटक त कान्छीको भट्टीमा कान्छीलाई कम्मरमा समातेर रक्सी पिउँदै गरेको नि देखेकोथें । प्राय जसो आईमाईहरु उस्को अगाडी पर्न डराउँथ्यो ।कहिले कांही लक्ष्मीको घरतिर लड्खडाउँदै गएको पनि देख्थें । सोनाम भने हामीसंगै खेल्न रुचाउंथ्यो त्यसैले लुकी लुकी हामीसंग खोल्सामा खेल्न आउँथ्यो जहाँ हामीलाई अरु कसैले देख्न सक्दैनथ्यो । कडा अनुशासन भित्र बस्नु पर्दा सोनाम भने निकै दुखी हुन्थ्यो तर जे जे भए पनि सोनामको बाबा थियो त्यसैले बाबाको त्यो डर लाग्दो आवाजमा गाली सुने पछि लुत्रुक्क पर्थ्यो । सोनामको बाबालाई देख्ने बित्तिक्कै स साना बच्चाहरु पनि भाग्थे ।

म पनि हतार हतार “म गएं ल सोनाम ” भनेर अघि जसरी गकीथें उसैगरि वेपत्ता दौडिएर घर फर्कें ।

“कति डुल्दी रैछे यो काली?” आमा बौलाउन थाल्नुभयो । म केही नबोली भर्‍याङ खुरुरुरु उक्लेर आफ्नो कोठामा पुगें अनि हतार हतार किताब निकालेर महेन्द्र माला निकालेर घोक्न थालें ।तर मन भने लक्ष्मीभए तिरै पुगिरह्यो ।
…………………………..

मेरो प्यारी सखा लक्ष्मी आफ्नी आमासंग हाम्रो घर भन्दा तीन कान्ला माथि खोल्साको नजिकै सानो घर, घर भनुँ अथवा गोठमा बस्ने गर्थी । उनि आफ्नो बुबाको देहान्तपछि आमासंगै तराई झरेकी थिइन् । उन्को ठूलीआमाको घर पनि त्यहि नजिकै थियो । उहि ठूलीआमाले नै पहाडमा धेरै दु:ख भयो भनेर तराई झारेकी थिइन् । आफ्नै घर नजिकै सानो टुक्रा बारी दिएकी थिइन् । त्यसैमा उनिहरुले पहाडको भएको जायजेथा बेचेर आएको पैसाले सानो गोठ जस्तो घर बनाएको थिए ।

२८ ,२९ कै उमेरमै विधुवा बनेकी लक्ष्मीकी आमा छरछिमेकमा बनिबुतो गरेर आफ्नो र छोरीको पेट भर्थिन् ।कहिलेकाँहि हामीकोमा पनि मेला भर्न आउँथिन् ।लक्ष्मीलाई मैले त्यतिबेला नै भेटेकी थिएँ र घनिष्ट साथी पनि बनाएकी थिएँ । उनिहरु तराई झरेको पनि लगभग ३ वर्ष पुगिसकेको थियो । लक्ष्मीकी आमा सुधी पनि थिईन् । विधुवा भएकै कारण उन्मा कहिलेकाँहि तीखा तीखा वचन पनि रोपिन्थ्यो तर ती सबैलाई आफ्नै हारेको कर्म भन्दै सहन्थिन् । जस्ले जे भने पनि सहन्थिन् मानौ उनि सहनकै लागि यस धर्तीमा जन्मेकी थिइन् । लक्ष्मी पनि त्यस्तै थिइन् ।अति कमलो मनकी । जस्ले जे भने नि सहने ।हदै भयो भने रोईदिने । तर म कहिले उन्लाई दुख्ने कुरा गर्दिनथीं । खै किन किन एक्दमै माया लाग्थ्यो तर केहि हप्ता देखि उनिहरुको बारेमा गाँईगाँई गुँई गुँई नराम्रा हल्ला सुन्न थालिएको थियो ।कोहि भन्थे लक्ष्मीको आमाले भुँडी बोकेकी छे कोहि भन्थे लक्ष्मीको ठूलीआमाले लक्ष्मीको आमालाई त्यो घर बनाउन दिएको जग्गाको पैसा माग्न थालेकी छे रे ।

त्यसैले त्यो पैसा तिर्न लक्ष्मीकी आमाले सोनामको बाबासंग ऋण मागेकी थिइन् रे। सोनामको बाबाले लक्ष्मीकी आमालाई पैसा त दिएका थिए रे तर त्यसको बदलामा लक्ष्मीकी आमासंग नाजायज सम्बन्ध राखेको थियो अथवा राख्न बाध्य बनाएको थियो रे। त्यहि नाजायज सम्बन्धको प्रतिफल अहिले लक्ष्मीको आमाको गर्भमा हुर्किदैं थियो। आफू गर्भिणी भएको र सोनामको बाबाले त्यो गर्भ स्वीकार नगरेकोले लक्ष्मीकी आमा एक्दमै अत्यासिएकी थिइन् ।आजभोली उनि घरबाट कतै निस्कन्नरे भन्ने पनि सुनेकी थिएँ ।

यस्तै यस्तै के के । मान्छेलाई त के कुरा पाउनु न थियो ।गाउँभरि डढेलो लगाईहाल्छन् ।तर यो कहिल्यै सोच्दैनन् कि त्यो डढेलोले क कस्को ज्यान लिन्छ अथवा क कस्को घर नष्ट गर्छ ।तर मलाई मन् पर्ने साथीहरुमा लक्ष्मी अनि त्यस पछि सोनाम पर्थ्यो ।त्यसैले पनि लक्ष्मीले भनेकी कुराहरु मनमा खेलिरहेकोथ्यो ।
……………………………

लक्ष्मी खेल्न न आएकी पनि तीन दिन भैसकेकोथ्यो । सोनाम र म मात्रै खेल्दा खेल्दा दिक्क भैसकेकाथियौं । पटक्कै रमाईलो नलाग्ने लक्ष्मी बेगरको भाँडाकुटी । हामीले तीन दिन सम्म कुर्‍यौं आज आउँछे भोली आउँछे भनेर । तर अहं आईन । हामी आत्तियौं । हामीले अब भने लक्ष्मीकै घरमा गएर भए पनि लक्ष्मीलाई बोलाएर ल्याउने निधो गर्‍यौं र कुद्यौं वेपत्तासंग त्यो मध्यान्हमा । हो त्यतिखेर यस्तै दिनको बाह्र,एक बजेको थियो । चैतको महिना भएकोले होला त्यो मध्यान्हमा विस्तारै हुरी चल्न शुरु गरेको थियो ।खोल्सा नजिकैको क्यामुनाको रुखको हाँगाहरु जोड जोडले हल्लिन थालेको थियो । गुँडमा बसेका बचेराहरु अत्यासिएर कराउन थालेको थियो । हामी पनि हुरी जसरी नै लक्ष्मीको घरमा पुग्यौं । घरमा सुनसान थियो । कहिं कतै कुनै चहल पहल देखिएन । हुरी भने हामीलाई नै उडाउँला जसरी चल्न थाल्यो ।लक्ष्मीको घरको तल्लो भागमा खाँबाहरु मात्रै थिए । सबै भाग उभाङ्गो । छेउमा सानो लिस्नो थियो । हामी त्यसैमा चढेर माथ्लो तलामा पुग्यौं । बार्दलीमा उभियौं । त्यो तला फलेकहरुले बारिएको थियो । तर टम्म मिलेका भने थिएनन् । थोती बुढीको दाँतहरु जस्ता बीच बीचमा ट्वाँ परेका प्वालहरु जहाँबाट भित्रका धेरै जसो भागहरु छर्लङ्गै देखिन्थ्यो ।हुरी झन् झन् बलियोसंग रुखै पनि ढाँलुला झै चल्न थाल्यो । हामी आत्तियौं । “लक्ष्मी लक्ष्मी” भनेर बोलायौं कोठाभित्र पस्न पाए केहि राहत मिल्थ्यो भनेर । जवाफमा सन्नाटा पायौं ।तर त्यो सन्नाटा चिर्ने हुरीको ह्वाँई ह्वाँई आवाज घन्किन थालेको थियो । सुख्खाले तातिएको बारीको रातो माटो उडेर कुहिरो मण्डल बनेको थियो ।सोनामले नजिकैको धुसधुस् परेको गुन्द्री उठायो र आफू सहित मलाई समेत बेर्‍यो । मैले पनि गुन्द्री भित्र सासै नफेरी गुम्सिएर हुरीको ताण्डवबाट बच्ने प्रयासमा सोनामलाई साथ दिन थालें ।धुसधुस् परेको गुन्द्रीभित्र हामी यस्तै दश मिनेट जति गुम्सिरह्यौं । बिस्तारै हुरी रिस थामिदैं गएको मान्छे जस्तै मत्थर हुदैं गयो । हामीले बकुल्लाले टाउको तन्काए जसरी गुन्द्रीबाट टाउको बाहिर हेर्‍यौं ।हुरी साँच्चै थामिएको थियो । तर हल्का पानीका छिटाहरु त्यो तातो भूमिमा पर्न शुरु गरेको थियो ।ती छिटाहरु बढ्दै जान थालेको अनुमान हामीले लगायौं । हामी खिन्न भयौं । त्यतिखेर सम्म लक्ष्मीलाई हामीले भेटेका थिएनौ ।अब हामीले बेलैमा घर पुग्नुपर्ने निश्कर्ष निकाल्यौं । लिस्नो ओर्लने बेलामा कसो कसो मेरो आँखा तिनै फलेकका बीच भागबाट छेडिएर भित्र पुगे। लक्ष्मी त भित्रै देखें ।

” सोनाम लक्ष्मी भित्रै छे त।” भनें । सोनामले पनि नजर त्यहि फलेकबाट भित्र पुर्‍यायो ।

“हो त भित्रै रैछे ।कस्ती रैछे बाई बोल्दै नबोलेकी? हामी भने अघि देखि यो हुरीमा बाहिर उ भने ढुक्कले भित्र ।” सोनामले आक्रोश पोख्यो ।

“फेरि एक पटक नजिकैबाट बोलाम् न ल ।” भनें अनि फर्किएर त्यहि फलेकको बीच भागबाट भित्र चिहाएर “लक्ष्मी ए लक्ष्मी ” भनेर बोलाएँ ।

भित्र अलिक राम्रो संग नियालेर हेरें । सोनाम पनि मेरो टाउको ठिक् माथिबाट आफ्नो टाउको राखेर हेर्दै थियो । हामी दुई एकैपटक चिच्यायौं । अघि आएको हुरी भन्दा पनि ठूलो हुरी हामी भित्र पो चल्न थाल्यो । हामी लुगलुगी काम्न थाल्यौ ।त्यसरी त अघिको हुरीले कमाएको थिएन ।मैले भित्र जे देखेकी थिएँ सोनामले नि त्यहि देखेको थियो । हाम्रो श्वासप्रश्वासको दर पनि बराबर बढेको थियो । उ मेरो आँखामा डर ,त्रास ,दु:ख, पीडा एकैपटक् पोख्दैथ्यो ।म पनि उसै गरि पोख्दै थिएँ ।साँच्चै भित्र अस्ती लक्ष्मीले भने जस्तै लक्ष्मी र उन्की आमा दुवै झुण्डिएर मरेका थिए । हामीले ख्याल ख्याल होला भन्ठानेका थियौं तर त्यो ख्याल ख्याल रहेनछ । एकछिन लाग्यो त्यो सबै भाँडाकुटी खेले जस्तै भैदिए नि हुन्थ्यो जस्ताको तस्तै । सबै ख्याल ख्यालमा खेले जस्तै । तर त्यो यथार्थ थियो । सोनामको चिम्सा चिम्सा आँखाहरु सकि नसकी ठूला ठूला भएका थिए ।पानी बाक्लै पर्न थाल्यो । हामीले त्यो पानीमा भिज्नु अघि घर पुग्नुपर्ने कुरा सम्झियौं । सम्झना आउने बितिक्कै लिस्नो ओर्लेर तीन चार मिनेटमै घर पुग्यौं ।

” यो काली कत्ति डुल्दी रैछे? यस्तो हुरीबतासमा नि घराँ बस्तिन ये । कम्ता खोजिन । मर्लिस् कुन् दिन दैव लागेर ।” मलाई देख्ने बित्तिक्कै आमा फेरि बौलाउन थाल्नुभो ।भन्न त मन् थियो ” आमा दैव मलाई हैन लक्ष्मी र उन्की आमालाई लागेछ ।” तर सकिन । आफू भित्रको हुरीलाई जबरजस्ती थम्याएर खुरुरुरु भर्‍याङ चढेर कोठा भित्र पसें ।अनि सोच्न थालें । साँच्चै अस्ती भाँडाकुटी खेल्दा सोनामले चरा मार्न खोज्दा लक्ष्मीले” म मरें भने तिमेरु कत्ति रुन्छौ होला है?” भनेकी थिई ।हो त म रुनु पर्छ ।किनकी मेरी प्यारी सखा लक्ष्मी मरेकी थिई । म रुन थालें ।तर मेरो रुवाई कसैले सुनेनन् । पानी दर्केर पर्दैथ्यो मेरो रुवाईलाई दबाएर ।

-काठमाण्डौं

(स्रोत : नेपाल सरोकार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.