~आर. आर. चौलागाईं~
टेलिभिजनको साँगीतिक कार्यक्रम हेर्दै थिएँ। एउटा आधुनिक पपगीतमा गायक-गायिकाहरू नाच्दै गरेको गरेको देखेँ। हात हल्लाउँदै, कम्मर हल्लाउँदै नाचेको दृष्य अनि नेपाली शब्दहरू पनि अङ्ग्रेजी लवजमा गाएको देख्दा एकछिन त आफू अमेरिका या यूरोपको कुनै महानगरीमा छु जस्तो लाग्यो। ओहो! नेपाल त कहाँ पुगिसकेछ। विकसित राष्ट्रहरूको दाँजोमा? हामी नेपालीहरूले अरू केहीमा नसके पनि साँस्कृतिक क्षेत्रमा भने सम्पन्न मुलुकलाई पनि उछिन्न थालिसकेछौं।
कुरा त्यति मात्र हैन। अझ ती गायक-गायिकहरू नायक-नायिका बनेर शहरबीचको फोहरको थुप्रोमाथि भाँति-भाँतिका हाउभाउमा छाती उचाली-उचाली गोर्खाली जातिको चमक बढाएको देख्दा पो आश्चर्य लाग्यो। कस्तो बिघ्न नाच्न सकेको फोहरमाथि पनि! कस्तो घिन नलागेको? केटाकेटीहरू झुम्मिएका छन् टी.भी.सेटको वरिपरि। उनीहरूको बाल मस्तिष्कमा कस्तो छाप परिरहेको होला? उनीहरूले के सिकिरहेका होलान्? कठै! हाम्रो साँस्कृतिक धरातलको दुर्दशा! हाम्रो मौलिकता, हाम्रो परम्परा, हाम्रो झ्याउरे र सोरठी गीतहरू कुन कुनामा छन्? हामीले बजाउने मादल, मुर्चुङ्गा, बिनायो र सारङ्गीहरू आज कहाँ छन्? कसैले यसको खोजी गरेको छ? त्यसै-त्यसै बमन होला जस्तो लाग्छ। भाउन्न छुटेर आउँछ। केही नलागेर टी.भी. बन्द गरिदिन्छु र केटाकेटीहरूलाई होमवर्क गर्ने ठाडो आदेश दिन्छु।
न्छाबाट साइरन बज्छ। हात धोइवरि खाना खान बस्छु। एक्कैछिन अघि अविकसित देशका विकसित गायक-गायिकाहरूले कुइरे शैलीमा फोहरको रासमाथि डिस्को गरेको हेर्ने भाग्यमानी प्राणी म, अहिले मकैको पुलाउ र गुन्द्रुकको कवाफ खाइरहेछु। यी दुई यथार्थबीच तादात्म्यता देख्दिनँ म। कस्तो आकाश र जमिनको फरक। हाम्रो संस्कृति, कला त्यति उच्चस्तरको भएपछि खाना पनि उच्चस्तरकै हुनुपर्थ्यो। अन्यथा खाना हामी जस्तो खाइरहेछौं, लुगा हामी जस्तो लाइरहेछौं, जीविका हामी जस्तो चलाइरहेछौं- हाम्रो संस्कृति पनि हाम्रै स्तरको हुनुपर्थ्यो। खै! के नमिले-नमिले जस्तो। के नपुगे-नपुगे जस्तो। यी विचारहरू व्यक्त गर्दा कसैले मलाई जङ्गली भन्न पनि सक्छन्। केही फरक पर्दैन मलाई। म त कोक्रोमा हुर्केको ढाक्रेको सन्तान-हद्द भन्नान पाखे। पाखे भनेर के भो त? हाम्रो देशै पहाहै-पहाडले, पाखै-पाखाले भरिएको छ। हामी त पहाडी मुलुकका बासिन्दा। कसैले त्यसो भन्यो भने झन गर्व लाग्छ मलाई। नेपालीपनको आभास पाउँछु म।
हैन, के भएको यस्तो? साह्रै भावुक हुन थालेँ कि क्या हो! निद्रा लाग्दैन। उठेर बत्ति बाल्छु अनि एउटा मुक्तक लेख्छु-
फोहरमाथि नाच्छन् हाम्रा गायक-गायिकाहरू
विदेशीको नक्कल गर्छन् नायक-नायिकाहरू
भुइँमा खुट्टा टेक्न छाड्छन् आकाशमाथि पुग्छन्
कला हैन मुख देखाउन मरिहत्ते गर्छन्।
हामीलाई स्वदेशभन्दा विदेश रमाइलो लाग्छ। हामीलाई स्वदेशीभन्दा विदेशी राम्रा लाग्छन्। हामी बैशाख १ गतेलाई वास्ता गर्दैनौ। तर अङ्ग्रेजी महिनाको जनवरी १ धुमधामसँग मनाउँछौं नयाँ वर्षको नाममा। नेपाली बोल्न जान्दाजान्दै पनि बीच-बीचमा अङ्ग्रेजी घुसाएर बोल्छौं हामी अनि गजक्क पर्छौं-खुब विद्वान भइएछ भनेर। बोलेका ती अङ्ग्रेजी शब्दहरू मिलुन् नमिलुन् हामीलाई मतलब हुँदैन। बस्, बोल्न पाए पुग्छ हामीलाई।
नर्सरी पढ्ने बोर्डिङका विद्यार्थीहरूलाई चुइँ-चुइँ किताबको डङ्गुर भारी बोकाएर पढ्न पठाउँछौं हामी। उनीहरू निधारबाट पसिना पुछ्दै खुइ…य सुस्केरा हाल्दै स्कुल जान्छन्। एक-एक वटा टेक्ने लट्ठीको पनि व्यवस्था भए राम्रो हुन्थ्यो होला बरू! मेरो यो सुझाव-बोर्डिङ व्यवस्थापकहरूलाई। ती नानीहरूले टाइ लगाएका हुन्छन्। केटाकेटी न हुन्! झगडा गर्छन्, चल्छन् अनि रूँदै त्यही टाइले सिँगान पुछ्दै घर फर्किन्छन्। टाइ लगाउनु सभ्यता रे! यस्तो पनि सभ्यता? सभ्यता हैन यो त नक्कल हो- बाहिरबाट हामीले सिकेको। टाइसँग मेरो विरोध हैन। मेरो विरोध त माल पाएर चाल नपाउने कुरासँग मात्र हो। आहानै छ नि-”नानीभन्दा आची ठूलो।” ”हिँड्न नजान्ने दगुर्न खोज्ने।”
हाम्रा कलाकारहरू एउटा गीत गाउन पाएका हुँदैनन्, आफूलाई किशोरकुमार, लता मङ्गेशकर, नारायणगोपालजस्तै वरिष्ठ गायक-गायिका सम्झिन्छन्। हाम्रा नायक अनि नायिकाहरू टेलिफिल्ममा अलिकति मुख देखाउन पाएका हुँदैनन्, आफूलाई अमिताभ बच्चन, हेमा मालिनी, राजेश हमालजस्तै सम्झिन्छन्। हाम्रा साहित्यकारहरू पत्रिका एउटा रचना छाप्न पाएका हुँदैनन्, आफूलाई लियो टाल्सटाय, शेक्सपियर, देवकोटा, पारिजात अनि भूपिजस्तै सम्झिन्छन्। हाम्रा खेलाडीहरू टुँडिखेलमा चार फन्को मार्न पाएका हुँदैनन् आफूलाई पेले, इमरान खान, कपिलदेव, बैकुण्ठ मानन्धर, गणेश थापाजस्तै प्रसिद्ध खेलाडी सम्झिन्छन्। ती विश्वप्रसिद्ध हस्तीहरू जसले त्यतिबिघ्न नाम कमाउन कति सङ्घर्ष गरे, कति दुःख झेले, कति अभ्यास गरे, त्यतातिर आँखा चिम्लिन्छौं हामी। रोप्ने वित्तिक्कै फलको आश गर्छौं हामी।
संसार फेर्न हिँडेका कलाकर्मीहरूसँग नजिकबाट सङ्गत गरेको छु मैले। त्यसो त म पनि सानोतिनो कलाकर्मी हूँ भन्दा अतिशयोक्ति नहोला। हिजोको निस्सासिँदो वातावरणमा पनि हामी कत्ती जुझारू थियौं। गाउँ शहर नै थर्किने गरी जनताका गीतहरू गाउँथ्यौं हामी। जनतालाई एउटा सुनौलो बिहानीको संसार देखाउथ्यौं हामी। हज्जारौं लाखौं जनताले हामीलाई कत्ति स्नेह गर्थे, कति मायाँ गर्थे। किनभने हामी महलका हैन झुप्राका कलाकार थियौं। हामी बैरीका हैन करोडौं जनताका धुकधुकी थियौं। त्यही जनताको सहयोग, समर्थन र आँटले अलिकति खुकुलो दिन आएको छ आज। अहिले झन् ती गीतहरू बढी गाइनु पर्थ्यो। अहिले झन् ती कलाहरू बढीभन्दा बढी प्रस्तुत हुनुपर्थ्यो। तर खै! आज हामी कुहिराका काग भएका छौं। हिजोका ती गीतहरू बिर्सेका छौं हामीले अर्थात् जनतालाई क्रमशः बिर्सिदैछौं हामी। हिजोका ती कलाहरू चटक्कै छाडेका छौं हामीले अर्थात् बैरीलाई क्रमशः खुसी पार्दैछौं हामी। प्रतिस्पर्धाको निहुँमा आफ्नो कर्तव्य, आफ्नो दायित्वबोधबाट टाढा भएका छौं हामी। अपार जनसमूहले कति विश्वास गरेको थियो हामीलाई। जुन थालमा खायौं त्यही थालमा फोहर गर्दैछौं हामी र फोहरमाथि नाचिरहेका ती गायक-गायिकाहरूको हामी पनि क्रमशः देखासिकी गर्दैछौं। हिजो गाउँथ्यौं-
“हामीले गाउने गीत, मजदुरहरूको, किसानहरूको……।”
तर आज गाउँदैछौं-
“यो नानीको स्याउजस्तो गाला, बाटो हिँड्ने झिल्केले म्वाइँ खाला….।”
सृजनाकालः २०५२ माघ २
आर. आर. चौलागाईं/हेटौंडा
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क १ – जनवरी 1, 2010)