कविता : प्लास्टिके कुकुर, रात र म

~शिरिष लामिछाने~Shirish Lamichhane

निशाले व्याप्त जगतको
एक कुनामा एउटा शहर छ
जहाँ कयन् घरहरुकाबीच
मेरो घरको एक कोठाभित्र
म छु,अनी बत्तीको मधुरो प्रकाश छ
र छ, टेबुल माथि राखिएको एक कुकुर
एक निश्प्राण कुकुर, जसको निर्माण
प्लास्टिकद्वारा गरिएको छ।

शून्य वाट्को बत्तीको उज्यालोमा
म हेर्दछु मेरो त्यस कुकुरलाई
नियालेर, र प्रत्युत्तरमा त्यसले हेर्दछ
आफ्ना काला प्लास्टिकका आँखाले
शायद मलाई या बत्तीको मधुरो प्रकाशलाई
या त बत्तीद्वारा नछिचोलिएको
मेरो कोठामा विध्यमान अँध्यारोलाई
निरन्तर, अटुट, लगातार
मानौँ कि त्यसका बेजान आँखा पनि
केहीमा तीखो फोकस गरिरहेका छन्।

“के त्यसले मलाई नै हेरेको त होइन?”
यही आत्मप्रश्नसँगै जुध्दछन् मेरा नयन
त्यसका नयनसित कठोर रूपमा
म त्यस निमुखाको प्रतिद्वन्दीझैँ
झन् व्यग्र हुँदैँ जान्छु, तर,
‘रेफ्री’ बनेको बत्तीको अगाडी
झिम्कन्छन् मेरा आँखा, र,
म हार्दछु त्यसका प्राणहीन् आँखासित
अश्रुको बुँद खसाल्दै
तर आश्चर्य,
त्यसका आँखा त अझै यथावत् छन्
प्लास्टिकका ती काला आँखा
अझै प्लास्टिककै छन्।

पराजयले परास्त मेरा आँखा
त्यसका विजयले उल्लासित नयनलाई
हेर्न असमर्थ हुन्छन्, तर
म हेर्दछु, बलपूर्वक, ती प्लास्टिके आँखालाई
तर पाउँदछु केवल शुन्यता जसमा
न विजयको उन्माद छ,
न हर्षको अभिव्यक्ती नै
तर छ, शायद, झिनो आशा, सपना
अनी कल्पना
द्वेषविहीन त्यसका आँखा
अझै एकोहोरिएका छन्
एकै ठाउँमा, एक टकले, एकै ढङ्गले
जुन हेराइले मलाई लाग्दछ
कता-कता, प्लास्टिकका ती आँखामा पनि
ज्यान छ, चेतना छ
शान्तिपूर्ण र सुमधुर
प्रभातको पर्खाइ छ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.