व्यङ्ग्य निबन्ध : झोली महिमा

~जे.बी. शेर्पा ~J B Sherpa

हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग झुनड्याउनै झन्झट मान्दछन !

मलाई पहिले पहिलेसम्म आइमाई केटीहरुको झोला भनेपछि एक प्रकारको तन्द्र्यांग तुन्द्रुंग परेको अनि संसारमा जति थरिको नयाँ नयाँ झोला बने पनि सवै उस्तै लाग्ने वा वास्तै नहुने एक निरस वस्तु मात्र सम्झिन्थें ! पुरुषहरु विकर्षण हुने एक आकर्षणहीन वस्तु सम्झन्थें ! तर अब मेरो दिमागी घैंटोको पिँध सम्मै यसरि छर्लंग घाम लागेको छ कि यो हाते झोलीको बात् मज्जाले बुझेको छु र अरुलाई पनि बुझाउन सक्छु र पुरुषहरुलाई आइमाई केटीहरुको झोला मन न पर्ने या वास्ता न हुने , निरस लाग्ने सामान्य सिद्दान्त विगत, वर्तमान र भविष्यमा पनि लागु भै रहने ठोकुवा गर्छु ! यसको आशय सवै पुरुषहरुलाई जीवनभर त्यस्तै लाग्छ भन्नु खोजेको भने होइन , कुनै पनि समयमा आएर मेरो जस्तै गरि कसैको पनि चेत खुल्न सक्छ र यो सिद्दान्त उसमा लागु नहुन सक्छ र अन्त्यमा झोलीको गरिमा प्रति नतमस्तक भएर झोली प्रेमी बन्न पुग्छ ! तर प्रारम्भमा भने उसको प्रेमिका वा अर्धांगिनी भनौं जसको निमित्त उ जिउ ज्यान दिन र लिन पनि तत्पर छु भन्ने देखाउन खोज्नेहरु पनि प्रेमिका वा अर्धान्गीनिलाई भित्र पसलमा छिराएर उ भने बाहिर घडी हेर्दै दिक्क मनि रहेको हुन्छ वा चुरोट सल्काउने निहुँमा बाहिरै छटपटाउँदै बस्न खोज्छ , पुरुषहरुको झोली विरोधी मानशिक्ता वा मनोविज्ञान यसरि पनि सजिलै बुझ्न सकिन्छ तर झोली सित सिधै शत्रुता मोलेर अन्य अनगिन्ति जोखिमहरु लिन चाहन्नन् l झोलाहरुको पसल अगाडी पुगेर झोलाको दर्शन पाउने बित्तिक्कै आइमाइहरुको भने भएभरका शोक , चिन्ता , भोक , प्यास , थकाई , रिश राग अनि निराशाहरु एकाएक हराई अनुहार रहस्यमय ढंगले यस्तो हँसिलो र चम्किलो बन्न जान्छ कि मानौ संसारमा उ जतिको प्रफुल्ल अरु कोहिपनि छैन , पसल भित्र का प्रत्येक झोलाहरु मन नपरेको भन्नेनै हुँदैन , जुन्देख्यो त्यहिँ राम्रो सबै बोकौँ बोकौँ लाग्ने !

अर्को कुरा, उनीहरु जतिसुकै हतारमा होउन , जतिसुकै व्यस्त होउन , फोनमा कुरागरिरहेको होस या नानी डोरयाईरहेको , बुढाले गनगन गरिरहेकोहोस् कि दुधे बालक रोई रहेको होस् , किन्न आवस्यक नभएतापनि एक पटक भएपनि दुईचार झोलाहरु ओल्ट्याई पल्ट्याई गरि दाम नहेरी नसोधी चित्तै बुझ्दैन मानौं त्यसो नगरे भरे रातरात भरी निन्द्रानै लाग्दैन ! मेरो अनुमान सहि हो भने एउटा अन्धोले पनि अनुमान लगाउन सक्छ्की बजारमा टक टक टक टक जुत्ता पडकाउँदै आई रहेको कुनै आवाज एकासी रोकिन्छ र विस्तारै यताउता टुकु टुकु गर्न थाल्छ भने पक्कै पनि त्यो आइमाई नै हो र झोलीको आकर्षण ले नै उसलाई रोकेको हुनुपर्छ अनि आनन्द मानीमानी हेरिरहेको हुनुपर्दछ ! यदि कसैगरी झोला दोकानको पारी पारि हुँदै जानु पर्ने भयोभने पनि टाउको फनक्कै घुमाएर हेर्दै हेर्दै प्रफुल्ल मुद्रामा यसरि मन्दमुस्कान छर्दै हिंड्छ चाहे अगाडी कसैसित ठोक्कियोस या ठेसै लागोस वा खुट्टा मर्कियोस कि फर्कियोस कुनै पर्वाह छैन !

कसैकसैले त् झन् एकैसाथ तिन वटा झोली च्यापेर हिंडीरहेकोहुन्छ त्यसको रहस्य भने अझै पत्ता लागेको छैन र त्यो एक अर्को अनुसन्धानको विषय हुनसक्छ ! झन् सुन्दरीहरुले मन्द मुस्कानका साथ झोली च्यापेर हरिणले झैं टक टक हिंडेको देख्दात झोलीको अतिनै इर्श्या लाग्छ र लाग्छ झोली सोली थुतेर एकातिर फालीदिउँ र आफुनै झोली बनिदिउँ ! शायद यहि गुप्त सम्बन्ध को कारणले पो हो की झोलिहरुसंगको पुरुषहरुको सम्बन्ध चिसो र निरस हुनगएको ?

हुनत पुरुषहरुले त्यस झोलीको के नै बिगार्न सक्छ र ? तर पुरुषहरुले यसरि झोलिहरुसंग डाहा इर्स्या गर्नु ,रिसाउनु , वैरागीएर हिंड्नु छाडेर एक पटक चिसो दिमागले सोचेर वरु झोली हरुसित न्यानो सम्बन्ध गाँस्नु नै लाभसिद्ध हुनेछ , यसो गर्दा पुरुषहरुलाई फ़ाइदानै फाइदा छ तर होसियारपुर्वक झोली संसारको र त्यसको सर्वोपरी महत्व वारे गहन चिन्तन मनन गर्नु भने अति आवस्यक हुन्छ , त्यो किन भने झोली सँसार अपरम्पारछ ,!

विश्व आर्थिक सङ्कटले अन्य बन्द व्यापार टाट पल्टेर तहसनहस बने पनि झोली सम्बन्धि उद्योग , व्यापार र रोजगारीमा केहि तल माथि परेको छैन झनै यसको व्यापार झनै बढ्दै फस्टाउँदै गैरहेकोछ ! दिनहुँ हजारौं थरिका नयाँ नयाँ नानाथरिका झोलिहरु थपी रहन्छन ! हरेक आइमाई केटीहरुसंग केहि नभएपनि चार पांच वटा झोली त जहिले पनि दराजमा जगेडा हुन्छ , अझ हुने खाने वर्ग , फेशनेवल र पश्चिमा जगतका महिलाहरुको त झोली संग्रह नै हुन्छ मानौ त्यो पनि कुनै पुराना कला कृतिको संग्रह , पुस्तक , घडी वा हुलाक टिकट संग्रहहरु जस्तै कुनै अनुपम संग्रह हो !

कामको लागि भिन्दै रंग र पाराको , बजार घुम्दा भिन्दै , जाडो महिनामा भिन्दै , गर्मि महिनाको भिन्दै , समुन्द्री तट तिरको लागि भिन्दै “विच व्याग”, पार्टी बिहेको लागि भिन्दै , बेलुकीको लागि भिन्दै “इभिनिंग व्याग” कुनै काँधमा झुन्ड्याउने , कुनै हातमा मात्र झुन्ड्याउन मिल्ने , कुनै वहु उद्देश्यरुपी हुन्छन जसलाई हातमा झुन्ड्याए पनि मिल्ने , काँधमा झुन्ड्याए पनि मिल्ने वा ढाडमा भिरे पनि मिल्ने अनि फेरी जुत्ता को रंग , कपडाको रंग , मौसमको रंग आदि इत्यादि धेरै थरि हेरेर झोली किन्छन जान्ने बुझ्नेहरू अर्थात् भनौं झोलीको रंग ढंग आकार प्रकार फरक फरक हुनुमा यी विभिन्न अप्रत्यक्ष कारणहरुले ठुलो भूमिका खेलीरहेको हुन्छ !

अब यदि तपाईलाई अलिकति पनि झोली वारेमा चासो बढेमा पुरै दिलखोलेर बजारको वा कसैको एउटा झोली लिएर एकएक छेउकुना केलाउनुस , हेर्नुस तपाइँ छक्कै पर्नुहुनेछ , कतिवटा चेन वाला भाग हुन्छन र कतिवटा खुला , कतिवटा साना र कतिवटा ठुला ? कुनैकुनै त देख्न र भेट्नै सकिन्न मानौ त्यो कुनै विशेष र गोप्य प्रयोजनको निमित्त आविस्कार गरिएको हो, अनि बल्ल तपाईलाई लाग्न सक्छ्की यो सामान्य ठानिएको चिज सामान्य रहेनछ वरु यसको अलग्गै विज्ञान रहेछ , महत्व रहेछ , इतिहास रहेछ र सन्सार रहेछ !

यी सवै गहन अनुशन्धान र अनुमान को निस्कर्ष के निस्किन्छ भने “झोली” नै सँसारको एक मात्र त्यस्तो सहज, सुपथ र सर्वव्यापी वस्तु हो जसले महिलाहरुलाई यसरि जीवनभर आकर्षणमा (लोभमा) पारेर राख्छ्की उनीहरुको कम्तिमा पनि आधा सास त्यसैमा अड्किएको छ भन्ने जस्तो भान पर्छ , अनि हरेक पटक नयाँ झोली देख्दा यसरि लोभिन्छ्की भोक र प्यास ले आकुलव्याकुल गाईवस्तुले कलिलो हरियो झाँप्रोको मुठो र कलकल पानीको मुहान देखेकोहोस !

त्यसैले यदि आफ्नी श्रीमती वा प्रेमिका लाई फकाउनुछ, फुरुक्क पार्नुछ यात खुशी पार्नुछ या उपहार दिनुछ भने भुलीदिनुस महँगा फूलका गुच्छा या अरु कुनै झन्झटिला, महँगा र दिमाग खियाउनु पर्ने उपहारहरु ! जानुस हान्निएर सिधै झोली पसलमा जसको लागि न त छाति र कम्मरको नाप आवस्यक छ न त हात या खुट्टाको नम्बर नै , मन नपरेर वा नाप नमिलेर फेरी फर्काउनु पर्छ कि वा साट्नु पर्छकी भन्ने प्रस्न नै आउँदैन, लिएर गयो दियो ठ्याक्कै मिल्ने र मन पर्ने अथवा ल्याउनुस आफ्नो प्रियेतमालाई र घुमाउनुस बजारमा , हिँडनुस पछी पछी पसल भित्र र हरेक झोलाको सुन्दरताको र छाँटकाँटको तारिफ गर्नुस , ऐना अगाडी घरि घरि जुत्ताको वा कपडाको रंग संग मेल गराउंदा अनुहारमा अल्छिपन , दिक्दारिपन भने आउन नदिनुस् वा छोप्नुस र होसियार रहनुस , अन्त्यमा मन परेको किनिदिनुस भारि प्रशंशाका साथ ! उसको लागि त्यो भन्दा खुशीको क्षण र तपाइँ जतिको मायाँ गर्ने र ख्याल राख्ने मान्छे यो संसारमा कोहि छैन भन्ने ११० प्रतिशतले पर्छ ! यो सव बखान गरि राख्नुको औचित्य के हो भने यदि यी यावत कुराहरुको महत्वलाई मध्यनजर राख्दै पुरुषहरुले झोली किनी दिने गर्ने हो भने सुनमा सुगन्ध हैन कि हिरामा सुगन्ध अवस्य थपिनेछ ! यसो माथा खियाउनुस्त फाईदा कसलाई छ ??? तपाईं आफैलाई …! घ्यु कहाँ पोख्यो ..? …आफ्नै भागमा……! आखिर तपाइले नकिनी दिँदा पनि त उ आफैंले किनीनै हाल्नेछ !

जय झोली !! जय झोली सन्सार !!!

जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.