कथा : आऊ, माटो छँदै रोऔँ

~लेनिन बञ्जाडे~Lenin Banjade

कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, कतिखेर हो …?’

धेरैबेरदेखि मडारिएको सन्नाटाको ‘सिकञ्जा’ तोड्छिन् भाउजू । जोवन हराइसकेका आँखाको लाली फिर्न नसके पनि मनभरि सपना सजाउन कताकता आनन्द मान्छन् रामुदाइ ।

‘अँ जानुपर्ला, जून पनि त गैसक्यो अब …’

एकछिन न रामुदाइ बोल्छन्, न भाउजू बोल्छिन् । राति खान भनी राखेको ब्रुफिन त्यसै खित्त हाँसिरहेछ । खुट्टाको घाउ सहिनसक्नु गरी चहर्‍याइरहेछ ।

‘बा कत्थेल दान्थौ ?’

‘जानुपर्ला विस्तारै..’

‘बित्तुत ल्याइदे है -….’

‘हुन्छ हुन्छ ल्याइदिम्ला..’ शब्द गनीगनी उत्तर फर्काउँछन् रामुदाइ । एकनजर छोरोमाथि दौडाउँछन्– नाकभरि सिँगान, हातमा स–साना विविरा अनि कञ्चनमा हिजोराति पोलेको घाउ । अबोध छोरो खिस्स हाँसिरहन्छ बेलाबेलामा । राति घाउ दुःखेर उधुमले कराएथ्यो छोरो । विस्कुट ल्याइदिन्छु भनेपछि चूप लाग्यो राति– बिहान त ल्याइदिनै पर्छ । उनी चूपचाप छोरो पढिरहन्छन्– भोलिको देशको कर्णधार घाउले बेहाल छ । छट्पटिएको देशको कर्णधार ! औषधि खान नपाएको कर्णधार वेस्मारी दुख्न थालेपछि आमाको काखमा लुटपुटिन जान्छ । एकटक छोरोमाथि छ आँखा । बोल्न सक्दैनन्, हाँस्न सक्दैनन्– हराइसकेको हाँसो । खुट्टाको घाउ उसैगरी चहर्‍याइरहेछ अझै पनि ।

‘दबाई खाइनौ ?’ भाउजू मौनव्रत तोड्छिन् ।

‘भुल्लेछु’

‘दबाई खान पनि भुल्ने मान्छे त कामका छैनौ’ भाउजु भनिरहे । रामुदाइ सुनिरहे ।

‘काममा जान सक्दिन क्या हो’

‘के खाने हो भरे ?’

‘खोलापारि सिस्नो छ, लिएर आइज । म पीठो खोजेर ल्याम्ला ।’ ‘कति दिन चल्छ यसरी ?’ ‘चल्ने बेरसम्म चलाम्, नचले देखाजाला …’एकछिनको वाकयुद्ध । सानो फिष्टेले विस्कुट विस्कुट भनेर उधुमले महाभारत चलाएको छ । किन्न सक्दैनन् । पैसा भए एककिलो पीठो ल्याएर पेट पाल्थे उनी । फिष्टेले त्यो बुझ्दैन– उसलाई त बस् विस्कुट चाहिएको छ– विस्कुट ।पुकार खाएर राता भएका दाँत जोडले घोट्छन् । कुल्ला गर्छन् । फिष्टे कतिखेर हाँस्छ, कतिखेर रुन्छ । विस्कुट खाने लालसाले रातिदेखि उधुमले उफ्रिएको छ । कन्चटको घाउ उसका लागि केही हैन– मानौ ऊ जंगलको सिंह हो– अरु सबै इतर । उसले भोलि देश बनाउँछ । समय बेफ्वाँकले हाँस्यो । धिपधिप टुकीको धिपधिप उज्यालो । रामुदाइ । भाउजू । फिष्टे । र, नअघाएका लामखुट्टे । भित्तामा ३ वर्षघिको क्यालेण्डरले पनि उनीहरुलाई हेदै गिज्याउँदै गर्छ । खोलापारिबाट ल्याएको सिस्नो भक्भक उम्लन्छ, यता पीठोको जोहो गर्न नसकेकोले भाउजू अघिदेखि नै फत्फताइरहेकी छन् । ‘सधैं यस्तै अनिकालमा बाँच्ने हो ?’रकेटलञ्चरभन्दा छिटो शब्दबाणले सोझै रामुदाइलाई ताक्छ ।’मागेर ल्याउन सकिनौ ?”माग्न इमानले दिन्न फिष्टेकी आमा….’घाउ सुम्सुम्याउँछन् । ब्रुफिन खाएपछि अलि बिसेक भएको छ घाउ ।

घुँ … घुँ …. घुँ …. घुँ । लामखुट्टेको साम्राज्य अद्यापि छ ।

‘पट्टीसट्टी लाएर बिहानै जाऊ तिमी सक्दैनौ भने मै जान्छु भारी बोक्न…’

बढी सुन्न सक्दैनन् । नखाएरै सिस्नोले पोल्यो रामुदाइलाई । फिष्टे पनि घरिघरि च्याँच्याँ गरिरहन्छ ।

‘भोलि त जान्छु जान्छु’

‘कहिले आउँछ भोलि ?’

‘आउँछ लोकी आउँछ– गरीबको भोलि पनि आउँछ ।’

‘जुनी बितिसक्यो भोलि कहिले नआएको ….’

सुनिरहन्छन् । गमिरहन्छन् । भाउजूले नदेख्ने गरी आँखाबाट शीत र्झछन् तप्प … तप्प … । घाउभन्दा उधुमले मन दुख्यो । देशको कर्णधार र कर्णधारकी जननी आधा पेटमै रातसँग पैठेजोरी खेलिरहेछन् । एकबार आफैले आफैलाई पढ्छन्– अनिकालमै जीवन गयो, अब त ट्रयाकसुट फेर्नुपर्छ मैले, अब त फिष्टेलाई कखरा सिकाउनुपर्छ मैले …. । यावत । मनमै बिलाए सपना । भाउजूको च्यातिएको चोलो पनि खित्त हाँस्यो ।

(आऊ एकपटक आफ्नो लागि रोऔं । … केबल आँखा फट्टाएर हेरिरहन्छौं । …. हामी खुबै रोऔं । शीरफूल झारिएका मनहरु । यसपालि धित मरुञ्जेल रोऔं । रोऔं आफ्नो लागि, देशको लागि, जनताको लागि र नेपालीको लागि अनि भोलिको लागि । रोऔं भककानिएर ताकि हाम्रो आँसुको बाढीले बगाओस् यो सिंगो रात । आओस् एउटा सुन्दर दिन । नरोएर कहाँ के भएको छ र – माटो नै रहेन भने कहाँ खसाल्ने आँसु । आऊ– आफ्नो माटो छँदै रोऔं …….।तसलिमा नसरिनसँग सापटी मागेथे– नवीन विभाषले । म नवीन विभाषसँग सापटी माग्दै एक अनुच्छेद रोइदिन्छु । एकझल्को अनिकालका रामुदाइको नाममा । एक झल्को कर्णधारको नाममा । अनि एकझल्को भाउजूको नाममा । )

‘मनको घाउ निको हुँदैन कहिल्यै”हुन्छ रामुदाइ हुन्छ… एकबार निको हुन्छ तिम्रो मनको घाउ …’ ड्रामाटिक मोनोलग ।

यस्तै मोनोलगमा म पनि गम्छु एकबार ।

‘अनि भारीको के छ त खबर ?’

‘उस्तै हो, खुट्टा चले भारी पनि बोक्छु …’

‘तिमीजस्तै थला परेको छ देश, देश कहिले बोक्छौ ?’

आदर्शका कुरा हुन् तर आदर्श होइन ।

‘सकुँला देश बोक्न ?’

‘आफ्नो माटो छउञ्जेल सक्छौ बोक्न…’

‘खै कहाँ छ मेरो माटो ?’

‘यै हो तिम्रो माटो र यै हो तिम्रो घर …’ बगरतिर इङ्गति गर्छु …

‘त्यै माटो पनि मेरो छैन ऐले’

‘हुन्छ, एकबार अवश्य हुन्छ रामुदाइ । बस् तिमी सुन्दर सपना देख्दै जाऊ, सुन्दर घर बन्छ बन्छ ।’

उस्तै उम्सो गरिरहेछ । रामुदाइका कथा ‘कलमको सुपो’मा निफन्दै जान्छु । अलिअलि चल्ने पंखाको हावाले अहँ लामखुट्टेको साम्राज्य भत्काउन सक्दैन । तैपनि लाली हराएका रामुदाइको जीवनमा कालो बादलको साम्राज्य फैलन दिन्न । आऊ रामुदाइ…… हाम्रो माटो छँदै रोऔं बेस्मारी ……।

October 24th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.