बाल कथा : पूजा

~विमल भौकाजी~>

टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए । उनी उत्सुक थिए, आमा सधैं किन घन्टी बजाएर बडबडाइरहनुहुन्छ ?

भित्र चियाए । आमा भगवान्को नाम लिँदै हुनुहुँदो रहेछ । ‘किन गर्नुभएको होला यस्तो ?’ मनमनै सोचे । मुखचाहिं खोलेनन् । मनमा खुल्दुली मच्चिरहेको थियो । अघि भर्‍याङ उक्लिएजस्तै चाल मारेर तल ओर्लिए । पूजा सकिएपश्चात्, आमाले विकासलाई बोलाउनुभयो, ‘ए विकास, मैले दूध तत्ताउन लागिसको है १’

विकास भान्सा पुगे । आमाले विकासलाई दुध र बिस्कुट दिनुभयो । ‘ल सेलाइहाल्छ, खाइहाल १’ विकास चुपचाप बसे । ‘हैन, किन नखाएको ?’ आमाले सोध्नुभयो । विकास फेरि पनि बोलेनन् । ‘सञ्चो भएन कि क्या हो ?’ विकासको निधार छाम्दै हातमै गिलास थमाइदिनुभयो । तर विकास चुपचाप । अझै दूध खाएनन् ।

‘के भयो बिहानैदेखि यो केटालाई ?’ आमा झर्किनुभयो । ‘केही भएको छैन,’ विकास बल्ल बोले, ‘आमा, मलाई तपाईंसँग एउटा कुरा सोध्न मन लागेको छ ।’ ‘के भन्छ यो केटो ?… के सोध्ने ?’ आमा फेरि झर्कनुभयो ।

विकासले सुरुप्प दूध खाए । र, भने, ‘आमा, तपाईं पूजाकोठामा सधैं भगवान्को नाम लिँदै किन घन्ट बजाउनुहुन्छ ?’ ‘के भनेको तिमीले ? आमाले ठुल्ठूला आँखा पार्दै विकासलाई अलिक हकार्नुभयो, ‘भगवान्को पूजा गर्दा पनि किन भनेर सोध्ने कुरा हो ?’

‘तै पनि… कुनै कारण नभै… ,’ विकासको भनाइ बीचमै रोकियो । किनकि आमाले उसको वाक्य पूरा हुनुअगावै भनिहाल्नुभयो, ‘मैले भगवान्सँग आशीर्वाद मागेको ।’ ‘आशीर्वाद ?’ विकास छक्क परे । आमाले सम्झाउनुभयो, ‘हामीसँग धेरै धनसम्पत्ति होस् भनेर मागेको ।’

चित्त बुझेन विकासलाई आमाको कुरो । त्यसैले फेरि प्रश्न गर्‍यो, ‘अनि भगवान्ले दिनुहुन्छ त ?’ ‘दिनुहुन्छ,’ आमाले भन्नुभयो ।

विकास बोलेनन् मन झन् तुलबुल भइराखेको थियो । ‘हैन, घन्ट बजाएर भगवान्सँग माग्दैमा भगवान्ले साँच्चै नै धनसम्पत्ति दिनुहुन्छ त ?’ विकासले उही प्रश्न दाहोर्‍याए । आमाले कुनै जवाफ दिनुभएन । विकासले फेरि प्रश्न राखे, ‘कत्ति भैसक्यो तपाईंले घन्ट बजाउने गर्नुभएको । तर अहिलेसम्म तपाईंलाई भगवान्ले दिनुभएको मैले देखेकै छैन ।’ ‘कस्तो अबुझ केटो रहेछ यो १’ आमाले हाँस्दै भन्नुभयो, ‘अनि तिमीलाई देखाई–देखाई दिनुहुन्छ त भगवान्ले ?’ ‘ए… त्यसो भए भगवान्ले तपाईंलाई लुकाई–लुकाई पो दिने गर्नुभएको रहेछ । कत्ति बाठी त…।’

आमाको अनुहारमा हाँसो फैलियो ।

‘बुबालाई पनि थाहै नदिई… पख्नोस् न तपाईंलाई १’ अनि चिच्याए, ‘बुबा… बुबा… ’

आमा झन्–झन् हाँस्न लाग्नुभयो । त्यत्ति नै खेर बुबाले कोठामा प्रवेश गर्नुभयो, ‘किन यस्तरी चिच्याएर बोलाएको हँ तिमीले मलाई ?’

‘हेर्नुस् न बुबा, तपाईं र मलाई थाहै नदिई आमाले भगवान्सँग थुप्रै धनसम्पत्ति लिइसक्नुभएजस्तो छ,’ विकासले बुबालाई पोल लगायो । ‘हैन, के भनेको तिमीले ?’ बुबाले कुरो नबुझेर आमाको मुख हेर्नुभयो । ‘मैले पत्ता लगाएको, आमाले सधैं किन घन्ट बजाउनुहुन्छ भनेको त…, घन्ट बजाएर भगवान्सँग धनसम्पत्ति पो माग्ने गर्नुहुँदो रहेछ ।’ विकासको कुरा सुनेर बुबा पनि हाँस्नुभयो ।

‘हैन, किन हाँस्नुभा’को ?’ विकासले शंका व्यक्त गरे, ‘तपाईंलाई पनि आमाको कुरा थाहा छ कि क्या हो बुबा ?’ बुबा झन् बेस्कन हाँस्नुभयो । आमाको हाँसो त झन् थामिएकै थिएन, हाँस्दाहाँस्दै भन्नुभयो, ‘धत् लाटा, कस्तो कुरा गरेको ? भगवान्को सामु घन्ट बजाएर पूजा गर्नु भनेको भगवान्प्रतिको विश्वास हो । हामी भक्तको काम भगवान्को पूजा गर्नु अनि भगवान्सँग माग्नु हो । र, माग्दाखेरी भगवान्ले दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।’ विकासले बुद्धिमान् मान्छेलेझैं तर्क गरे, ‘ओहो…, यो साँच्चैको विश्वास हो भने त भगवान्को नाम लिएर घन्ट बजाउनेहरू नै संसारमा सबैभन्दा धनी हुनुपर्ने त, हैन आमा ?’

जवाफमा आमा केही बोल्नुभएन ।

धेरै बेरसम्म पनि आमा नबोल्नुभएको देखेर विकासले भने, ‘मैले बुझें आमा, तपाईंले अहिलेसम्म केही पनि पाउनुभएको छैन, भगवानबाट । हुन पनि नदेखिएका भगवान्ले धनसम्पत्ति दिन पनि त कसरी सक्नुहोला र ?’
बुबा हल्का मुस्काउनुभयो ।

‘भगवान्लाई विश्वास गर्नुपर्छ छोरा । भगवान् ठूलो हुनुहुन्छ, सर्वशक्तिमान् ।’ यसपटक आमाले अलिक गम्भीर भएर भन्नुभयो । विकासले पनि सही थापे, ‘आमा, भगवान्लाई मैले विश्वास नगरेको होइन । तर… ’ ‘के तर… ?’
‘तपाईंले भगवान्लाई ठूलो मानेर धनसम्पत्ति मागिरहनुभयो । पाउँछु भनेर विश्वास पनि गरिरहनुभयो । थाहा छैन, तपाईंले विश्वास गरेको भगवान्ले तपाईंको माग पूरा गरिदिन सक्नुहुन्छ कि हुन्न । पूरा गरिदिनुभयो भने पनि कहिले गरिदिनुहोला ? बरु…।’

‘बरु’ लाई उसले विशेष जोड दिएर वाक्य बीचमै छोडिदियो । आमा र बुबाले एक–आपसमा मुखामुख गर्नुभयो । ‘बरु… आमा, ठूलासँग मागेरै धनसम्पत्ति पाइनेमा विश्वास छ भने..धेरै धनी र ठूला मान्छेका घर–घरमा दिनहुँ जाने र तिनीहरूका नाम लिँदै घन्ट बजाएर मागिराख्ने हो भने ती सबैले केही न केही त धनसम्पत्ति पक्कै दिने थिए । हैन र आमा ?’

विकासको व्यंग्य निकै चोटिलो थियो । आमा त मौन नै रहनुभयो । बुबा भने मुसुमुसु हाँसिरहनुभएको थियो ।

प्रकाशित: फाल्गुन २३, २०७२

(स्रोत : कान्तिपुर – कोपिला)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.