~उत्तम कृष्ण मज्गैंया~
क्यालेण्डरमा सिंगारिएर
कालको पलायनको निष्कर्ष
आयो पुनः नयाँ वर्ष !
गन्नेछन् पुनः स्नातकले
भोकै बसेका रातहरू
विदेश ओह्रालो झर्नेछन्
छानिएका जातहरू
हुनेछ सुनौला वर्ष यो
इतिहासको पानामा
गुनासो स्वयम् दब्नेछ
साँझ-बिहानको मानोमा
निस्सासिएको यो हर्ष
आयो पुनः नयाँ वर्ष !
पुनः योजना बन्नेछन्
पुनः बजेट खुल्ल्नेछ
भोकमा जागेको राष्ट्रियता
डकारसँगै उड्नेछ
कुनै हाँसेको हाँस्यै
कुनै रोएको रोयै
आँसु र हाँसोको द्वन्द्व-निष्कर्ष
आयो पुनः नयाँ वर्ष !
सिमानाका जंगे पिलर
हराउनेछन् , केही सर्नेछन्
सीमा-बस्ती डुबाउन
बाँध पुनः उभिनेछन्
केही शीर्ष टाउकाहरू
‘प्रभु’का सामु झुक्नेछन्
बफादार कुकुरहरू
रयाल चुहाउँदै ढुक्नेछन्
संसद् भवन दंगास्थल
देशै हाम्रो रणस्थल
बन्द हड्ताल चक्काजाम
यस्तैयस्तै काम तमाम
यिनीमै खोज्दै विकासे अर्थ
आयो पुनः नयाँ वर्ष !
पुनः भेला हुनेछन्
पुनः ढ्वांग भुक्नेछन्
थुप्रै भीषण भाषणका
टेप पुनः चल्नेछन्
जोडतोड र दाउपेच
चल्नेछन् पुरानै पारामा
मन्च थर्किंदै रहनेछन्
उनै रटेका नारामा
हुनेछ ग्राफमा राष्ट्रको उत्कर्ष
आयो पुनः नयाँ वर्ष !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)