~डा सुमनराज ताम्राकार~
राजुलाई उसका हजुरबुबाले खुब माया गर्नुहुन्थ्यो । उहाँले प्रत्येक ६–६ महिना जुँकाको औषधि ख्वाउनुहुन्थ्यो । अहिले आएर औषधि झोल, ट्याब्लेट, क्याप्सुल, सुई, ग्यासका रूपमा हुँदारहेछन् भन्ने कुरा थाहा पाएका राजुले त्यो बेला जुँकाको औषधि झोलका रूपमा खाएका थिए । सम्भवत: त्यसको नाम पिप्रासाइट थियो क्यारे । गुलियो गुलियो नै भए पनि अलि अलि कस्तो स्वादको हुन्थ्यो । स्वाद खासै मन नपरे पनि हजुरबुबाको अनुरोध गरेपछि खान करै लाग्थ्यो ।
जुँकाको औषधिको स्वादभन्दा औषधिको असरले आफ्ना पेट (आन्द्रा) मा रहेको जुँका मुठाका मुठा निक्लँदा आङ्गै जिङरिङ हुन्थ्यो । राजुलाई यस्तो औषधि खानै नपरे हुन्थ्योजस्तो लाग्थ्यो । अहिले आएर सरसफाइको कमी, चर्पीको अभावमा जथाभावी दिसा गर्ने, साबुन पानीले हात नधोईकन खाने, औंला चाट्ने, नङ नकाट्ने बानीले जुँका पर्छ भन्ने थाहा पाएका राजुले त्यो बेला आफ्नो कमजोरी थाहा पाएर चुक्चुकाए । पछुताए ।
तर रमाइलो पक्ष के भने राजुका हजुरबुबाले जुँकाको औषधि पूर्णिमाका दिन मात्र ख्वाउनुहुन्थ्यो । स्कुलबाट फर्किने बित्तिकै हजुरबुबाले बजारको औषधि पसलबाट किनेर ल्याउनुभएको जुँकाको औषधि खाएपछि आन्द्राभित्रका जुँकालाई उकुसमुकुस हुन थालेपछि दिसा बस्न जानुपर्ने हुन्थ्यो ।
पूर्णिमाको रात जून टहटह लाग्ने र चन्द्रमाको चम्किलो प्रकाशमा जुँका गए, नगएको हेर्न सकिने भएकोले पनि पूर्णिमाको दिन पारेर जुँकाको औषधि ख्वाउने रहेछ । यो रहस्य थाहा पाएपछि हजुरबुबाको बुद्धिमानी देखेर राजु छक्क परे ।
त्यसो त अहिले बत्ती भए पनि लोडसेडिङको मार खेप्नु परिरहेको छ । राजु सानो छँदा बत्ती थिएन, भए पनि केही समयका लागि मात्र आउँथ्यो । त्यसैले पनि जुँका गए, नगएको हेर्न सकियोस् भनेर पनि पूर्णिमाको दिन छान्थ्यो ।
त्यसो त गोलो, अंकुशे, चुर्ना, नाम्ले गरी विभिन्न खालका जुँकाहरू हुने भए पनि बालबालिकाहरूलाई गोलो जँुका र चुर्नाले बढी दु:ख दिँदो रहेछ । यी जुँकाका कारणले अन्य लक्षण चिह्नका साथै मलद्वारवरिपरि चिलचिलाउने रहेछ ।
कथंकदाचित दिसा गर्ने अंगमा कन्याइयो र औंला गल्तीवश मुखमा पुर्याइयो भने जुँकाको जीवनचक्र पूरा हुन मद्दत पुग्दो रहेछ । त्यसैले त पटकपटक साबुनपानीले हात धुने गर्नुपर्छ भनेको । त्यसैले त यसैलाई महत्त्व दिई विगत केही वर्षदेखि बर्सेनि हात धुने दिवस मनाउन थालिएको हो नेपालमा पनि ।
प्रकाशित: फाल्गुन २, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)