~रत्न प्रजापती~
सुन्तलागाउाको ठूलो सुन्तलाको बोटमा एउटा सुन्तला र एउटी सुन्तली सँगसँगै फलेका थिए । दुवैको उमेर एउटै थियो । उनीहरू एकै दिन फलेका थिए । सँगसँगै हुर्के र बढे । कुनै कीराले दु:ख नदेओस् भनेर किसान दाइले बोटमा बेलाबेलामा कीटनाशक औषधि पनि छर्किन्थे । राम्रोसँग हुर्किऊन् भनेर भिटामिन हाल्थे । बोट राम्रोसँग सप्रियोस् भनेर गोडमेल गर्थे । मिहिनेतले गर्दा बोट सप्रिएको थियो । सुन्तला र सुन्तली हृष्टपुष्ट भएर फलेका थिए । दुवै खाऊँखाऊँ लाग्ने भएका थिए ।
एक दिन दिउँसो हुरीबतास चल्यो । हुरीबतासले बोट हल्लायो । सुन्तला र सुन्तली निकै डराए । सुन्तली डरले ‘सुन्तला…’ भनेर चिच्याई । यसैगरी, सुन्तला पनि ‘सुन्तली…’ भनेर चिच्यायो । तर निष्ठुरी हुरीबतासले उनीहरूलाई हल्लाउन छोडेन ।
धेरै बेरसम्म हुरीबतासले सुन्तलाको बोट हल्लाएपछि बिचरा सुन्तला बोटबाट उछिट्टिएर भुइँमा झर्यो । जोडले ठोक्किँदा दुख्यो । ऊ ‘मरें नि आमा…’ भन्दै करायो । दुखेको ढाड सुमसुम्याउन थाल्यो ।
सुन्तला भुइँमा झरेको देखेर सुन्तली पनि आँत्तिएर कराई, ‘सुन्तला, चोट त लागेन ?’ सुन्तलाले माथितिर हेर्दै भन्यो, ‘ढाडमा बेसरी दुखिरा’छ, ऐया… ऐया…१’
सुन्तलालाई ढाड दुखेको थाहा पाएर सुन्तलीलाई निकै पीर पर्यो । अनि ऊ सुन्तलाको बोटबाटै चिच्याई, ‘पीर नमान सुन्तला । एकै छिनमा म पनि आउँछु । हे परमेश्वर १ मलाई पनि छिट्टै तल झारिदेऊ । मलाई पनि सुन्तलाकहाँ पुर्याइदेऊ १’
सायद सुन्तलीको पुकार भगवान्ले सुनिदिए क्यारे । फेरि पनि जोडले हुरीबतास चल्न थाल्यो । सुन्तली अबचाहिँ नडराईकन बसी । हुरीबतासको झोक्काले एकैछिनमा ऊ पनि बोटबाट उछिट्टिएर तल भुइँमा झरी । भुइँमा ठोक्किएर उसलाई पनि ढाडमा दुख्यो । अनि ऊ पनि ‘मरे नि आमा…’ भन्दै ढाड सुमसुम्याउन थाली ।
‘ए, तिमी पनि आयौ सुन्तली १’ यसो भन्दै सुन्तला विस्तारै गुड्दैगुड्दै सुन्तलीछेउ पुग्यो ।
‘हो सुन्तला, म पनि आएँ । तिमीबिना म एक्लै कहाँ बस्न सक्छु र १ मलाई न्यास्रो लाग्दैन र ?’ सुन्तलीले अलि कति गुडेर सुन्तलाछेउ पुगेर भनी । अब फेरि सुन्तला र सुन्तली सँगै भए । सुन्तलीले सुन्तलाको ढाड सुमसुम्याउँदै सोधी, ‘तिमीलाई धेरै दुखेको छ, हो ?’
सुन्तलाले मुसुक्क हाँसेर भन्यो, ‘तिमीले मायाले सुमसुम्यादियौ । अब त मलाई निको भयो । बरु तिमीलाई पनि बेस्सरी दुखेको छ हो ?’ यसो भन्दै सुन्तलाले पनि सुन्तलीको दुखेको ढाडमा सुमसुम्याइदियो ।
‘अब त मलाई पनि दुख्न छोड्यो,’ सुन्तलीले पनि सुन्तलातिर हेर्दै मुसुक्क हाँसेर भनी । त्यसपछि सुन्तला र सुन्तली धेरै परको सेतो हिमाल हेरेर बसे । बोटमा हुँदाखेरि सधैं हावा र हुरीबतासले हल्लाएर उनीहरूले त्यो हिमाललाई राम्रोसँग नियाल्न पनि पाएका थिएनन् । आज भने उनीहरूले अघाउन्जेल त्यो सुन्दर हिमाललाई हेरिरहे ।
साँझपख एउटी महिला डालीमा केही सामान बोकेर त्यही बाटो जाँदै थिइन् । थकाइ लागेकाले एकछिन सुस्ताउन उनी त्यहीं बसिन् । यसो आँखा घुमाएर हेर्दा सुन्तलाको बोटमा लटरम्म सुन्तला र सुन्तली फलेको देखेर उनले भनिन्, ‘हेर, कस्तो राम्रो सुन्तलाको बोट । कति धेरै सुन्तला र सुन्तली फलेको । आफ्नोमा त एउटा बोट पनि छैन । केही इलम गरिखाऔं, फलफूलका बोट रोपौं भन्ने विचारै छैन श्रीमान्को ।’ यसो भन्दै उनी सुँकसुँकाउन थालिन् ।
ती महिला सुँकसुँकाएको सुनेर सुन्तलीले मन थाम्न सकिन । उसले ती महिलाको नजिक गएर भनी, ‘किन रुनुभा’को दिदी ?’
सुन्तलीले बोलेको सुनेर अचम्म मान्दै उनले भनिन्, ‘सुन्तली नानी, भोलि भाइटीका छ । म भाइलाई टीका लाइदिन आजै माइत हिँडेकी । तर हेर न, आफ्नो घरमा एउटा पनि बोट छैन । त्यसैले भाइलाई एउटा सुन्तलाको दाना पनि ल्याउन पाइनँ । मेरो सानो भाइलाई सुन्तला कस्तो मनपर्छ ।’
ती महिलाको कुरा सुनेर सुन्तलीले भनी, ‘किन पीर मान्नुहुन्छ दिदी । हामी छौं नि तपाईंका लागि ।’ सुन्तलातिर औंल्याएर सुन्तलीले फेरि भनी, ‘हामीलाई लिएर जानुस् । प्यारो भाइलाई खुवाउनुस् । तर बियाँचाहिँ त्यत्तिकै नफयाँक्नुस् । त्यसलाई बारीमा रोपिदिनुस् । त्यसबाट बिरुवा उम्रिन्छ । ठूलो भएर फल दिन्छ । राम्रोसँग स्याहार गर्यो भने एउटै बोटमा हामीजस्ता धेरै फल्छन् ।’
सुन्तलीको कुरा सुनेर ती महिला धेरै खुसी भइन् । अनि उनले सुन्तला र सुन्तलीलाई डालीमा हालेर लिएर गइन् । उनले भाइलाई टीका लगाइदिइन् । सेलरोटीसँग सुन्तला र सुन्तली पनि खान दिइन् । अनि बियाँचाहिँ बारीमा रोपिदिइन् । केही दिनपछि नै बारीमा बिरुवा उम्रियो र त्यो क्रमश: हुर्किन थाल्यो ।
त्यसको केही वर्षपछि त्यो सुन्तलाको बोटमा धेरै सुन्तला र सुन्तली फल्न थाल्यो । सुन्तला र सुन्तली खोज्न उनलाई अन्त कतै जानु पनि परेन । धेरै सुन्तला र सुन्तली खान पाएर उनको भाइ खुसी भयो । उनी पनि खुसी भइन् ।
सुन्तलाको बोटमा सुन्तला र सुन्तलीहरू हावाको झोंकासँगै लहरिँदै एकअर्कासँग जिस्किन थाले ।
ए सुन्तला…
हई सुन्तली…
ए सुन्तली…
हई सुन्तला… ।
प्रकाशित: फाल्गुन ९, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)