~ध्रुवचन्द्र गौतम~
सामुन्नेको रूखबाट पात झर्न थालेछ । दिनदिनै बढारिन्छ, दिनदिनै झर्छ । मैले थाहा पाएदेखि नै यो रूख छ । तर कसैले केको रूख हो भन्न सकेको छैन । चिन्न खोज्छन्, तर रूख चिनिनदेखि फुत्केको छ । आँधीपानी चलेका बेलामा, बिजुली चम्केका बेलामा, रूख ढल्ने आशंका प्रत्येकपटक हुन्छ । आजसम्म साबुत छ यो रूख । रूख ठूलो भए पनि छटपटीयुक्त भए पनि कसैले छायाको सेवन गर्न सक्दैन । फल अपरिचित हुनाले कोही खाँदैन । फूल देउतालाई चढाउँदैनन् । सायद देउतालाई मन पर्दैन कि ?
बेलाबेलामा रूख काट्ने कुरा पनि हुन्छ । तर काटेर पनि के गर्नु ? कसैले केही दिँदैन । आएर भन्छन्, ‘काट्ने पैसा लाग्छ ।’ म सोच्छु, ‘यत्रो रूख काटेको केही पाइँदैन, उल्टै पैसा लाग्छ । ऊ भन्छ, ‘काट्दा ज्यान जोखिममा हाल्नुपर्छ । अचेल दाउरा बाल्न पनि छाडें । हामी त सफा गरिदिएर तपाईंको घर जोगाइदिन्छौं, तपाईंहरू राम्ररी सुत्न सक्नुहुन्छ । त्यसको पैसा हो ।’
म भन्छु ‘भइगो यसरी निद्रा किन्न सकिन्न । सिडेटिभ सस्तो पर्छ ।’
रूख पैसाले जोखिएको छ । दोस्रो पनि कारण छ । एक दिन एउटा मानिसले भन्यो– ‘फल दिँदैन, फूल हुँदैन, अक्सिजन त दिन्छ ? त्यसकारण यो रूखको यही महत्त्व हो, नकाट्नुस् दाइ ।’
यो रूख आर्थिक, सामाजिक, वातावरणीय आदि कारणले ठडिएको रूख हो । महत्त्वपूर्ण छ । ढल्ला भन्ने डर अवश्य हो, खासगरी बिजुली चम्केका बेलामा, तर अरू महिनामा त ठीकै छ । ‘वृक्ष–महिमा’ भन्ने कविता पो लेख्नुपर्ने हो कि क्या हो ? यो कुरा पनि सोचेको हो । तर काव्य कलम आदि वस्तुसित मेरो सरोकारै रहेन । बीबीए गरेर पनि कविता त लेख्न सकिन्छ, तर सकिएन । प्रेमस्रेमको जमानामा कोसिस गरेको हुँ । ज्यान गए भएन । लाग्यो– हाँस्य विधा होइन, तैपनि प्रेमिका यो पढेर हाँसी भने, परीक्षामै पनि विदूषक बनिन्छ । त यस डरले लेखिएन । अब त त्यो जान दिऊँ, धेरै पुरानो कुरा हो, प्रेम अमर छ भने पनि पुरानो कुरो हो । अब त प्रेमिकाभन्दा बढी उत्तेजक तासको मिस्सी हुन्छे । तास खेल्दा यदि यो पप्लु वा टिप्लु बनोस्, म मात्र होइन धेरैजना चुम्छन् । महिला पनि चुम्छन् । लेस्बियन मिस्सी । तर त्यसको मजा, त्यसको प्वाइन्टमा हुने हुनाले, शाश्वत । प्रेमिका त जीवनबाट बिदा भएकी थी नि त ?
रूखमा कुन प्रकारको हो म चिन्दिनँ, दुई चरा आउँछन् र बस्छन् । मीठोसँग एउटाले बोल्छ, अर्कोले त्यसपछि बोल्छ । मलाई लाग्छ, तिनीहरू प्रेमीप्रेमिका हुन् । भाले–पोथी । एउटाले सम्बोधन गर्छ, अर्कोले फर्काउँछ । यस्तो धेरै बेरसम्म चल्छ । म तिनको आवाज, तिनको ध्वनिको अन्तरले चिन्छु । मैले आफैंले कल्पना गरेर बनाइएका प्रेमी–प्रेमिका । काल्पनिक र हामी पनि त काल्पनिक प्रेमी–प्रेमिकामा परिणत भएका थियौं ? मलाई लाग्छ, प्रेम शाश्वत र काल्पनिक, दुवै एकैपटक हुने क्षमता राख्दछ । तर यो धेरै पुरानो कुरा हो । त्यो पनि चराचुरुङ्गीबाट प्रेरित त के हुन सक्छ त्यसमा ?
ती चराहरू दिनदिनै बोल्छन् । प्रेमी चराले एकपटक बोल्दा कहिलेकाहीं प्रेमिकाले जवाफ दिँदैन । दुईपटक– तीनपटक लगातार बोलेपछि जवाफ दिन्छ । मलाई लाग्छ, प्रेमिका अलिक रिसाएकी छ, प्रेमीसित । तैपनि दुई तीन पटकपछि, प्रेमिका चरी पनि बोल्छे । त्यसपछि तिनीहरूको सम्बोधन र प्रत्युत्तर सुचारु हुन थाल्छ । यो मेरा लागि कुनैकुनै दिनको मनोरञ्जक खेल भएको छ । समय राम्रो कटान हुन्छ । घरका अनेक लाछी प्रमाणित हुने घटनामा यो एउटा राम्रो तरंग हो मेरो लागि । लाछी प्रमाणित भएको पनि यही रूखले गर्दा हो भन्ने लाग्छ कहिलेकाहीं त । यसले फल दिने भएको भए, हात–खर्च त आइरहन्थ्यो । हात–खर्च आइरह्यो भने, टार्न–पुर्याउन सजिलो हुन्थ्यो । तर यो पनि थाहा छ, यो केवल केही नहुँदाको आकर्षण हो । हात खर्च अर्थात् रूखले फल दिए पनि, कुनै न कुनै ठूलो अभाव पनि सिर्जना गरिदिन्छ । आफ्नो आम्दानीले केही नहुने बनाइदिन्छ । यो रूखको दर्शन हो । म त्यसैमुनि बस्छु । ती चराहरू त झन् के होलान्, ती त झन्, त्यहीं बस्छन् । तिनले त खाँदा हुन् नि त्यसको फल ? तिनको जीवन सुखी छ यस मानेमा । तर तिनलाई सुखदु:ख कसरी आउँदो होला ? यो सोचनीय छ ।
केही मित्र आएका छन् । ती बाहिर जाऊँ भन्दैछन् । तर बाहिर निस्कन अचेल यहाँ कठिन छ । यिनै साथी, अगिअगि मोटरबाइक चलाएर आउँथे । यसको सिटमा बसूँ कि त्यसको सिटमा बसूँ हुन्थ्यो । अब यिनीहरूसित एउटै छैन । म निस्कने अनिच्छा प्रकट गर्छु । एउटा साथी भन्छ, ‘त्यसो भए यहीं बसूँ ।’
म भन्छु, ‘सल्लाह गर्नुपर्छ ।’
साथी हाँस्छ, ‘जा गरेर आइज ।’
म जान्छु । घरमा भन्छन्, ‘बस्न त केही थिएन । खाने के गरी ?’
म त्यहीं आएर दोहोर्याइदिन्छु । साथी भन्छ, ‘यो त युगकै महान् प्रश्न हो, खाने के गरी ?’
अर्कोले भन्छ, ‘यही प्रश्न हल गर्न नसकेर हामी यहाँ आएका थियौं, खाने गरी ?’
तेस्रोले भन्छ, ‘यहाँ छेउमा रेस्टुरेन्ट छ नि ?’
म भन्छु, ‘त्यो दाउरा खोज्न गएको छ ।’
तिनीहरू हाँस्न थाल्छन् ।
म भन्छु, ‘किन ?’
‘यसमा एकपटक अगि पनि हाँसिसकेका छौं । आज हाँस्नु नै हाँस्नु रहेछु, ‘गाँस्नु–वास्नु’ लेखेको रहेनछ ।’
‘गाँस–वास’ को यस्तो प्रयोग देखेर म आनन्दित भएँ । यस्तो बेलामा यो एउटा बचत पनि हो । सारांश यो, हामी बाहिर निस्क्यौं । भन्नुपर्यो, अब त रेस्टुराँ होइन, बलेको चुलोको खोजीमा । यसबीच बालकृष्ण समको शीर्षक, ‘चिसो चुल्हो’ बारम्बार सम्झें । हामी बलेको खोज्दै थियौं ।
नारायणगोपाल चोक नजिक, एउटा ‘चाइना भ्याली’ रेस्टुराँ थियो, सबै त्यहीं छिरे ।
हामी सोध्यौं, ‘के के छ ?’
उसले मेनु दियो । मैले भनें, ‘मेनुमुताविक छ, अझै पनि ?’
‘छ ।’
‘कसरी ?’ मैले अलि अचम्ममै सोधेको हुँ ।
उसले भन्यो, ‘ग्राहकको सन्तुष्टिका लागि जेनतेन जुटाएको छु ।’
दिनकै समय थियो । अपरान्ह । मैले भनें, ‘हेर, लगभग साढे तीन बज्दैछ । हामी एकछिन बसौं र रातको खाना खाएरै निस्कौं, घरमा के हो के हो ?’
एउटाले भन्यो, ‘राम्रो । तर हेर, आज यस्तो भन्ने दिनसमेत आयो हगि ? ठीक छ, एकछिन त खुल्ला ?’
हामी त्यहीं बस्यौं । एउटा मित्रले भन्यो, ‘अलिअलि त आउँछ नि ?’
अर्कोले भन्यो, ‘त्यो त कालोबजारलाई पनि पुग्दैन । त्यहाँ पुग्नेगरी आओस् पहिला, अनि हामीलाई होला ।’
मैले भनें, ‘इकोनोमिक्सको सिद्धान्तले यही भन्छ कि क्या हो ?’
साथी केही बोलेन । इकोनोमिक्समा एमए पढेर नोकरी खोजिरहेको युवक थियो त्यो । हामीमध्ये, केही त एउटा न एउटा अफिसमा काम गर्दथ्यौं । कहिलेकाहीं, केही सरप्लस रकम आउँदा यस्तो कार्यक्रमको पालनपोषण पनि गरिन्थ्यो । आज त उधारो खाने अवसरमा थियो । खाइयो । रेस्टुराँमा मान्यो, ‘नो प्रोब्लम सर ।’
हामी निस्क्यौं । उज्यालै थियो । पेट टन्न थियो । यस्तोमा रक्सी नखाएर निस्केको पहिलोपटक होला । ‘ब्रन्च’ भन्छन्, हामीले ‘ड्रन्च’ गरेका थियौं । सबै फ्री अनुभव गरिरहेका थिए, घरमा खाने झन्झट परेन । आज घरमा फ्राइड राइसको भोजन गर्ने भएका थिए । बिहानै उबारेकाले ।
मस्तीमा आएर सब बस कुर्न थाले । बस कुर्ने अस्वाभाविक रूपमा धेरै थिए । साथीले भन्यो, ‘हिजो त ज्यादै गाह्रो भयो ।’
‘किन ?’
‘एउटा नातेदार मर्यो ।’
‘यस्तो बखत त मर्नु पनि हविगत नै हो । तर अरू थोकजस्तै काललाई पनि रोक्न सके त हो ।’
‘के भएको थियो ?’
‘हाइपरटेन्सन थियो । औषधि खाएन । ह्यामरेज भयो ।’
त्यसले छोटो जवाफ दियो र निमेषका लागि शोकमग्न भयो ।
मैले भनें, ‘यस्तो समयमा, बिरामी पर्नु, मर्नुलाई ६–८ महिनालाई सस्पेन्ड गर्न पाए त हो ?’
‘यति धेरै ?’
‘होइन, जाने पनि रमाइलो भोगेरै जाओस् न भनेर हो ।’
छुट्टियौं । घर आएँ । आउनासाथ मैले खुसखबरी घोषित गरें, ‘मैले बाहिरै खाएर आएको छु । सुनेर खुसी भए पनि । आमाले भन्नुभयो, ‘हामी पनि त्यहीं गएर खान पाए पनि हुने ?’
मैले भनें, ‘आमा, त्यसका लागि रेस्टुराँ यहीं ल्याए त हो ।’
आमा चुप लाग्नुभयो । पेट भरेका कारण अब मलाई रूख र चराहरूको सम्झना आउन थालेको थियो । सम्झनाले सताउन थालेको थियो । मैले झ्यालबाट हेरें । रूख हरियो भएर उभिएको थियो । मैले सोधें, रूख भएको राम्रै हो । फेरि सोचें, एक दिन झन् राम्रो भयो भन्ने दिन पनि आउला, जब यसले हामीलाई खान मद्दत गर्ला । त्यो दिन कति पछि आउँछ, तर त्यो निश्चितप्राय: छ ।
मैले विचार गरें, त्यो दिन जब आउला–आउला अहिले त अब पेट टन्न छ, चराहरूकै प्रतीक्षा गरूँ । यता केही दिनदेखि ध्यान दिन सकेको थिइनँ । म बसेर चराहरूको प्रतीक्षा गर्न थालें । प्रमी–प्रेमिका चरा ।
निकै बेरपछि प्रेमी बोल्यो । तर प्रेमिकाको प्रत्युत्तर आएन । के भएछ ? घन्टा–दुई घन्टादेखि प्रेमी लगभग पुकारा गरेको ध्वनि झिकिरहेको छ । अर्कोको जवाफ आएको छैन । मैले कहिले तिनीहरूलाई देखिनँ । केवल ध्वनि सुनें । यस्तो लागिरहेको छ, आज आधा ध्वनि सुनिरहेको छु ।
अचम्म के भने यो एउटा अति मामुली घटना थियो । म पनि त्यो चरो सँगसँगै लागेर प्रतिध्वनि पर्खिरहेको छु ।
म आफैंमा केही लज्जित पनि भएँ । यस्तो मामुली घटनामा यस्तरी सुर्ताउन थालें भने, ठूल्ठूला हुरा बतासलाई कसरी झेलुँला ? म किन यति भावुक भइरहेको छु, फोकटमा ।
चरा अझै कातर ध्वनि निकाल्दैछ । त्यो चरो र म पनि प्रतिध्वनि पर्खिंदैछु ।
यो पनि हुन सक्छ, त्यो रूखमै नहोस् र नबोलेको होस् । त्यहाँ कसैले गुलेली त चलाइदिएन, लहडमा ?
प्रकाशित: मंसिर २६, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)