~अजम्बरध्वज खाती~
नदिने बराजु जस्ता छन् हाम्रा नेताहरू
दिन पर्दा बुधबार पनि बार्छन्,
नाँच्न आफै जान्दैनन्
आँगनलाई दोष दिन्छन्,
लाज ढाक्न खोज्छन्
लाज ढाक्ने कुरा टाउकोमा बाँध्छन्
जहाँ ढाक्नुपर्छ उघारै राख्छन्
यिनीहरूलाई थाह हुँदाहुँदै पनि
ढाँटेको कुरा काटे मिल्दैन
नकचरा भएका छन्
बुड्डै शरीर लाज पचाउँछन्।
(१)
आफूलाई आफैले होइन
अरूले ठूलो भने सुहाउँछ
औकात हेरेर बन्दोबस्त सोच्नुपर्छ
घाँटी हेरेर गास बनाउनुपर्छ
धाक र धक्कुले ठूलो होइन
यो त बुझ्नुपर्ने कुरा हो आफै
भनिरहने कुरा होइन
(२)
यी आफै थातथलो ठेगान नभएका जोगी
अझ दिन खोज्छन्
दानी बन्न खोज्छन्
दिन सक्ने कुरा त किन दिन्थे र?
गर्न सक्ने कुरा त किन गर्थे र?
दिने भए देशलाई दिइसक्थे
यिनले दिन सक्ने शान्ति, सुरक्षा
गर्ने भए समय छँदै देशलाई संविधान बनाई सक्थे।
लाज हराएका खन्चुवाहरू
बुद्ध जयन्ति आउन पाउन्न
दशैं र तिहार, नयाँ वर्ष लाग्न पाउन्न
उछिन्दै
मुफ्तको सौदा
शुभकामनाका दानी बन्छन्
धनधान्यपूर्ण चिरायुको शुभकामना दिन्छन्
यदि साँच्चै पुग्ने भए यिनीका बचन
किन दिन्थे
शुभकामना आफै राख्थे
लाज हराएका यिनीहरू
के गर्दैनथे ?
जे पनि गर्थे
(३)
यी मान्छे होइनन्
मान्छे जस्ता हुन्
बाँदर पछि मान्छे जन्मेझैं
मान्छे पछि जन्मेका प्राणी यिनै हुन्
आज नेपाल यिनै अनौठा प्राणीको हातमा छ
अनिश्चित भविश्य बोकेर
कष्टकर जीवन बाँचेको छ।
बुटवल
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३१- २०६७ आषाढ ९ गते, बुधबार )