~ईश्वर दाहाल~
कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको कविता फुराइलाई कविजीले विशेष महसुस गरेका छन्। भोटाहिटीको नेवारी किचेनमा छसात गिलास बुत्याएर कविजी न्युरोड गेट पुग्न हिँडेका थिए। अर्को कवि साथी पनि सोही नै मात्रा खलास पारेर ठमेलतिर लागेको थियो।
हृदयमा टिलपिलाएको कविताको बेग र सुराको उत्तेजित सद्भावले कविजीले बाटो बिराए। न्युरोड गेट हिँडेका कवि, न्युरोड पिपपलबोट निक्लिए। तिहारपछिको न्युरोड औसत शान्त थियो। समय मध्यरात उन्मुख भइसकेको हुनुपर्छ। तर, फेसबुकवालमा कविता पोस्ट गर्ने धुनले गर्दा कविजीमा समय चेत थिएन। उनी कविताकै उत्तेजनामा उत्तेजित थिए। फेरि सुराको रङ जो छँदै थियो।
कविजी डेरामा पुग्न हतारिए पनि सोही अनुपातमा गोडा अगाडि सरिरहेका थिएनन्। कवि साथीको कवितासंग्रहको विमोचन जो भएको थियो, त्यसैको खुशीयालीमा आजको भोटाहिटी बसाइ जुरेको हो। साथी, त्यसमा पनि कवि। झन् त्यसमाथि कवितासंग्रह नै विमोचन गरेको। कविजी खुशी नहुने कुरै भएन। काव्यमय सन्ध्यामा कविजीले आफ्नो सामर्थ्य पूरै बिर्सिए। ‘डोज’ भुल्नुको परिणाम कविजीका गोडा ठीक ठाउँमा टेकिन मानिरहेका थिएनन्।
गल्लीमा यता र उता ठोकिएर भए पनि जीउ सम्हालिएकै थियो। तर, न्युरोडको मूल सडक कविजीलाई भयंकर लाग्यो। ‘फराकिलो सडकमा दायाँबायाँ ठोकिएर ठीक ठाउँमा टेक्ने सम्भावना न्यून हुन्छ।’ मदिरा र कविताको मुर्च्छनामा पनि कविजीले यथार्थ ठम्याए। बचेखुचेको सामर्थ्यले पनि हिँड्ने हिम्मत नजुटेपछि कविजी पिपलबोटमुनि शरणागत भए।
परिस्थिति जस्तोसुकै अवस्थामा पुगे पनि कविजीको हृदयमा कविता छङछङ आइरहेको थियो। कविताको अविरल धारमा कुनै विचलन थिएन। बरु फेसबुकमा कविता पोस्ट गर्न नपाउनुको पीडाले भने उनी मर्माहत थिए।
‘तपाईं को बाबु?’ घम्लङ्ङ ओढ्नेले ढाकिएको ठाउँबाट आवाज आयो।
उत्तर दिनुअगाडि कविजीले आवाज आएको ठाउँमा नियाले। लोडसेडिङको रात, त्यसमाथि चर्को मापसे मिसिएर लगभग अन्धकार नै देखियो। जोडबलले आँखा च्यातेर हेरेपछि कविजीले अनुमान लगाए – ‘कुनै मानिस बर्को ओढेर पिपलबोटमुनि बसेको छ।’
‘किन र?’ कविजीले रुखो स्वरमा प्रतिप्रश्न गरे।
‘यति राति बाबु कहाँबाट आउनुभयो? बाबु के काम गर्नुहुन्छ भनेर बुझ्न खोजेको?’ बर्को भित्रबाट शालीन आवाज आयो।
‘म कवि हुँ। कविता लेख्छु।’ नभनौँ भन्दाभन्दै, खानपानको प्रभावले कविजीको मुखबाट फुत्त निक्लियो। कविजीले थप सोधे – ‘अनि तिमी चाहिँ को हौ नि?’
‘तपाईंले यात्री कविता पढ्नुभएको छ?’ बर्कोभित्रको आवाजले कविजीको सोधाइमा मतलब दिएन। बरु अर्को प्रश्न तेर्स्यायो।
कविजीलाई झनक्क रिस नउठेको होइन। तैपनि मध्यरातको न्युरोड सम्भि्कएर उनी सम्हालिए र भने, ‘किन नपढ्नु? त्यस्तो ‘फेमस’ कविता।’
‘यात्री कविता मैले नै लेखेको हुँ बाबु,’ बर्कोभित्रबाट आवाज आयो।
‘वाहियात!’ कविजीले मध्यरातको न्युरोड बिर्सिएर हकार्ने शैलीमा भने– ‘यात्री कविता त महाकवि देवकोटाले लेखेका हुन्।’
‘म नै देवकोटा हुँ, बाबु।’
‘देवकोटाको त ०१६ सालमै स्वर्गे भैसक्या हो। तिमी फटाहा कुरा नगर।’
‘बाबु, तपार्इं पत्याउनुहुन्न भने त मेरो केही लाग्दैन। म देवकोटा नै हुँ। लक्ष्मीपूजा हेर्न काठमाडौँ आ’थेँ। दुईचार दिन त्यत्तिकै अलमल भयो। हामी स्वर्गे भएका पनि यसो कहिलकाहीँ यता आउने गर्र्छौँ। नपत्याए फिक्सन डिजाइनर कुमार नगरकोटीलाई सोध्नुस्। पृथ्वीनारायण, जंगबहादुर, शंकर लामिछाने लगायतलाई उनी भेटिरहन्छन्। उनी भा’भए कुरो भुँइमा झर्न नपाई पत्याउँथे र चुरोट झिकेर दिन्थे। तपार्इं आफूलाई कवि भन्नुहुन्छ। तर, यथार्य स्विकार्ने हिम्मत गर्नुहुन्न।’
कविजी हैरान भए। उनलाई कुरो हो कि, हो कि जस्तो लाग्यो।
‘तपाईले कति कविता लेखिसक्नुभयो त?’
‘धेरै लेखिसकेको छु।’ कविजीले उत्साहित हुँदै भने।
‘कवितका पाठक कत्तिका छन् नि?’
‘धेरै छन्। मैले धेरैजसो कविता फेसबुकमा पोस्ट गर्ने गरेको छु। लाइक हेरर पाठक तुरुन्तै पत्ता लाग्छन्। हामी कवि साथीहरूको फेसबुके सञ्जाल छ। जसले कविता पोस्ट गरे पनि लाइक गर्ने अघोषित नियम बनेको छ। अर्काको लाइक गरिदिएन भने आफ्नाले पनि लाइक पाउँदैन भन्ने त्रासले भए पनि पढ्दै नपढी लाइक गर्ने सिस्टम छ। समग्रमा भन्दा कविताको बजार राम्रो छ।’
‘कविता पत्रपत्रिकामा चाहिँ छापिँदैनन्, बाबु।’
‘छापिन्छन्,’ कविजीले भने, ‘पत्रिकामा छापिन पत्रकार साथीभाइहरूसँग राम्रो दोस्ती हुनुपर्छ। पत्रकार मित्र दाहिना छन् भने कविता छापिन कुनै आइतवार छैन।’
‘अनि कविता गोष्ठीहरूको हालचाल के छ नि?’
‘कविता गोष्ठी पनि भइरहन्छन्। तर, तपार्इंको बेलाकोे जस्तो अहिलेका कविहरूसँग समय छैन। त्यसैले कविहरू कविता गोष्ठीमा कविता सुन्नभन्दा कविता सुनाउन जान्छन्। आफ्नो सुनाएर हिँडिहाल्छन्। अन्तिममा कविता भन्ने बुज्रुक कविले त गोष्ठी आयोजकका दुईचारजनालाई मात्र कविता सुनाउनुपर्छ।’
‘हिजोआज यो पिपलबोटमा कविहरूको जमघट हुँदैन बाबु।’
‘त्यो उहिलेको कुरा भयो। अहिले त क्याफे कविताको युग सुरु भइसकेको छ। कविहरू लोकल मदिरालयदेखि ‘ब्रान्डेड सिलप्याक’ रेस्टुरेन्टहरूमा आकर्षित छन्। त्यसैले हिजोआजको कवि जमघट उतै हुने गरेको छ।’
‘ल त बाबु तपाईंसँग भेट भयो। खुशी लाग्यो। फेरि कवि नै पर्नु भएछ। कविताका विषयमा पनि धेरै कुरा चाल पाइयो। आज रातभर शहर घुम्ने मनसुवा छ। म त लागेँ।’ बर्काेले शरीर छोपिएको आकृति दरबार स्क्वायरतिर हिँड्यो। कविजीले पनि डेरा र फेसबुक सम्भि्कएर लरखरिँदा पाइला डेरातर्फ अगाडि बढाए।
सोमबार १७ कार्तिक, २०७१
(स्रोत : नागरिक – शुक्रबार)