कथा : सुष्मिताको रेप भएको होइन

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

सुष्मितासँग फोनमा कुरा भएदेखि मन स्थिर हुन सकेको छैन मेरो। उनीसँग भएको त्यस्तो कुराले जसलाई पनि बेचैन तुल्याउन सक्छ। म जस्तो भावुक मान्छेलाई त झन। म बैचन हुनुको कारण अर्को पनि छ। त्यो अर्को कारण के हो भने मैले उनलाई सल्लाह पनि दिनु छ। सल्लाहको प्रकृति पनि गंभिर छ, हल्का भई दिएको भए कुरा अर्कै हुनथ्यो। सल्लाहको प्रकृति हल्का भइदिएको भए मन लागे दिन्थ्ये मन नलागे दिन्थिन।

हिँजो बिहान उनीसँग फोनमा निकै लामो कुरा भएको थियो। मलाई अफिस जानु नपर्ने भइदिएको भए कुरा अझै लम्बिन्थ्यो होला। मैले अफिस जानु छ भनेपछि सुष्मिताले कुरा छोट्याएकी थिइन। उनले मलाई यसरी सुनाएकी थिइन त्यो घटना- ‘म निरज सँग रहेकोले एक किसिमले ढुक्क थिए। मनोज, विनय र शिशिर, यी तिनै जनालाई मैले क्लासको साथीको नाताले चिनेको त थिएँ तर उनीहरुको बारेमा मलाई राम्रो गरी जानकारी भने थिएन न त घनिष्टता नै थियो। अँ विनयसंग भने क्लास बाहिर दुई चार चोटी कुरा भने भएको थियो।’

‘एकाउन्ट विषयका थुप्रै अभ्यासहरु गर्नु पर्ने र विनय को एकाउन्टमा राम्रो कमान्ड भएकोले निरज र विनयले कम्बाइन स्टडी गर्ने योजना बनाएका थिए केही दिन पहिले। विनयको डेरामा कम्बाइन स्टडी गर्ने योजना भने पछि बनेको थियो। शुरुमा कम्बाइन स्टडी निरजको डेरामा गर्ने योजना बनेको थियो, विनयको डेरामा होइन। कम्बाइन सटडीको योजना मलाई निरजले सुनाए पछि त्यो कम्बाइन स्टडीमा म पनि शरीक हुन सहमत भएको थिएँ। तर निरजले धेरै कर गरे पछि मात्र। खासमा भन्ने हो भने निरजको आग्रहलाई टार्न नसकेर मात्र म विनयको डेरामा जान तयार भएको थिएँ। अरुले भनेको भए म जान्थिन, मेरो विश्वास गर, एरिका।’

‘त्यो कम्बाइन स्टडीमा मनोज र शिशिर पनि आउने मलाई पट्क्कै थाहा थिएन। उनीहरु आउने कुरा शुरु मै थाहा पाएको भए कुनै पनि हालतमा म विनयको डेरामा जाने थिन। निरजले जति सुकै कर गरेको भएता पनि।’

‘मनोज र शिशिर पनि विनयको डेरा आउने कुरा निरजले मलाई बाटोमा सुनाएका थिए। हामी विनयको डेरामा जाने क्रममा नै उनीहरु पनि कम्बाइन स्टडीमा आउने भन्ने कुरा निरजलाई विनयले फोनबाट भनेका थिए। मनोज र शिशिर त्यहाँ आउने कुरा सुन्ने बित्तिकै मलाई अलि असजिलो लागि सकेको थियो। चार जना केटाहरुको बीचमा रहेर पढ्नु पर्ने स्थितिलाई म पचाउन सकिरहेको थिन। विनयको डेरा पुग्नै आँट्दा मैले भने पनि – त्यहाँ जान त्यति सजिलो लागिरहेको छैन, मलाई, निरज। यतै क्याम्पसमा नै, लाइब्रेरीमा, एकाउन्टको प्राक्टिस गरेको भए राम्रो हुनथ्यो।’

‘मेरो कुरालाई हल्का किसिमले लिएर निरजले भने -केही हुँदैन, शुष्मिता। तिमीले असजिलो मान्नु पर्दैन। र डराउनु पर्दैन पनि। तिमी एक्लै छौ र? म पनि छु तिमीसँग। यसरी डराएर हुन्छ। आजभोलि महिलाहरु पनि एक्लै कहाँ कहाँ पुगेका छन्। पढ्न र जागिर गर्न नेपाली महिलाहरु लेबनानदेखि यूरोपसम्म पुगेका छन्, नितान्त एक्लै। निरजले यसरी भनेकोले म त्यहाँ जान तयार भएको थिएँ र ढुक्क पनि थिएँ, एक किसिमले।’

‘हामी विनयको डेरामा पुग्दा शिशिर र मनोज पनि आई सकेका थिए कम्बाइन स्टडीका लागि। विनयले उनीहरुलाई एकाउन्टको हिसाबहरु सिकाउँदै थिए। म र निरज पनि सामेल भयौ त्यो कम्बाइन स्टडीमा।’

‘कम्बाइन स्टडी चलिरहेको क्रममा विनयले कोक खान सोधे, तर उनको कोठामा कोक थिएन। कोकको कुरा चलेर कोक खाने मनस्थितिमा सबै पुगेको हुनाले विनय, मनोज र शिशिर तिनै जना कोक किन्न त्यो टोलमै रहेको पसलमा जान भनी हिँडे। उनीहरु कोक किन्न गए पछि म र निरज, एकाउन्टको अभ्यासमा नै केन्द्रित रहेर कुराकानी गरिरह्यौ।’

‘कोक लिएर विनय आए। शिशिर र मनोज भने आएनन्। निरजले सोधे पछि थाहा भयो कोक किनेको पसलमा खोजे अनुसारको स्नाक्स नपाएकोले उनीहरु विनयलाई पठाए अर्को पसलतिर लागे भन्ने कुरा। निकै बेर पछि मनोज र शिशिर स्नाक्सका केही पैकेटहरु लिएर कोठामा प्रवेश गरे।’

‘मैले न त कोक नै, न त स्नाक्स नै खाने विचार गरेको थिएँ, शुरुमा। साँझ पर्न थालेकोले घर जाने हतार थियो मलाई। मम्मीले मेरो बाटो कुरिरहनु भएको होला भनी चिंतित थिए म। मैले विनयको डेरामा एकाउन्टको प्रेक्टिस गर्न जानु छ भनी मम्मीलाई सूचित गरेको थिन। मम्मीले अरुको डेराम त्यसरी एक्लै गएर कम्बाइन स्टडी गर्नु नदिनु होला भन्ने भय थियो मलाई।’

‘म, निरज र विनय पढ्नमा नै केन्द्रित रह्यौ। मनोज र शिशिर मात्रै कोक गिलास र स्नेक्स प्लेटमा राख्न भान्सा कोठातिर लागे। तर उनीहरुले भान्सामा निकै बेर लगाए। खाने कुरा मिलाउन लगभग पौन घण्टा जति लगाए। हाम्रो अगाडि कोक र स्नाक्स आँउदा साझ झम्क्क परिसकेको थियो।’

‘मनोज र शिशिर दुबैले एक पछि अर्को गरी मलाई स्नाक्स र कोक खान आग्रह गरे। मैले खाने तत्परता नदेखाए पछि निरजले भने- शुष्मिता, अलिकति खाएर केही हुँदैन। प्रेक्टिस गर्दै गर्दा ढिलो भइसक्यो, तिमीलाई भोक लागेको होला। निरजले त्यसो भने पछि मैले कोक खाएँ। मैले एक गिलास कोक खाएँ। उनीहरुले पनि कोक खाए। मनोज र शिशिरले भने सबैभन्दा पछि कोको खाए। मलाई ज्यादै तिर्खा लागेकोले मैले एकै साँसमा एक गिलास कोक रित्याएँ। कोक खाँदासम्म मलाई केही पनि भएन तर खाएको एकै छिन पछि भने ज्यादै निद्रा लागे जस्तो भयो। कोक खाएको अन्दाजी १०/१५ मिनट जति पछिसम्म पनि मलाई हल्का हल्का होश थियो। मैले देखें, निरज र विनयका आँखा पनि निद्राले लठ्ठिएको स्थितिमा थिए। उनीहरुलाई लेख्न र बोल्न गार्यो भइरहेको थियो। त्यस पछिको स्थिति भने मलाई थाहा छैन। के के भयो म भन्न सक्तिन।’

‘हामीले कोक खान शुरु गर्दा भरखर रात पर्न आँटेकेको थियो। तर जब मेरो आँखा खुल्यो मैले देखें मेरो घडिले विहानको चार बजेको देखाइ रहेको थियो। मेरा आँखा अझै लठ्ठिएका थिए। अझै सुतिनै रहौं जस्तो लागिरहेको थियो। मेरो छेउमा निरज र विनय पनि कारपेटमा सुतिरहेका थिए। तर मैले शिशिर र मनोजलाई भने देखिन। दुबै जना बेपत्ता थिए, कोठाबाट। मलाई त्यस्तो………. गर्नु र उनीहरु दुबै जना बेपत्ता हुनु बीच प्रष्ट सम्बन्ध रहेकोमा मलाई कुनै संका रहेन। मलाई मेरो जिउ नराम्रो गरी दुखेको पनि अनुभव भयो। मलाई के भयो, किन मेरो जिउ दुख्यो, उनीहरुले मलाई के गरे भन्ने मलाई अझै प्रष्ट गरी थाहा भयो। अस्त व्यस्त भएको मेरो कपडालाई मिलाएँ।’

‘एरिका, तिमीलाई प्रष्ट गरी भनौ न, उनीहरुले मेरो …………. रेप गरे मलाई। उनीहरुबाट बलात्कृत भए म। शिशिरले मात्र त्यस्तो गर्यो वा मनोजले पनि…………… म प्रस्ट भन्न सक्तिन तर मेरो स्थितिले उनीहरु दुबै जना संलग्न भएको हुनु पर्दछ भनिरहेको थियो, त्यो घटनामा। मैले त्यो कुरा ………… विनय र निरजलाई भन्ने आँट गर्न सकिन। केवल उनीहरुलाई उठाएं मात्र। उनीहरुले उठ्न खोजे जस्तो देखाए मात्र तर उठेनन्। त्यति खेरको समय यस्तै विहानको पाँच बजेको हुनु पर्दछ। म साढे पाँच बजेतिर आफूलाई व्यवस्थित गर्न बाथरुमतिर गएँ।’

‘म बाथरुमबाट फर्किँदा छ बजिसकेको थियो। निरज र विनय उठिसकेका थिए। उनीहरुले पहिले एक अर्कालाई आश्चर्य र कौतुहलता मिश्रित भावले हेरे। उनीहरुको दृष्टिमा जिज्ञसाको बाढी नै आएको थियो। उनीहरुले एकै पटक मलाई हेरे त्यस पछि फेरि एक अर्कालाई हेरे। म भाव शून्य थिएँ। विनयले निरजतिर हेर्दै भने- शिशिर र मनोज दुबैले ठूलो अपराध नै गरे जस्तो छ, हो, हैन त? प्रतिउत्तरमा निरजले भने- अपराध मात्र होइन ठूलो धोका दिए, हाम्रो विश्वास र सदासयताको फाइदा उठाए, ती पापीहरुले। हामी तिनै जनालाई कोकमा निद्रा लाग्ने कुरा मिसाएर ख्वाए। हामी निद्रामा लठ्ठियौ, लठ्ठिएको मौका पारेर के के गरे ती दुष्टहरुले। विनयले थपे- के के लगे कोठाबाट ती मोराहरुले। यस्ता चोर आबारा होलान भन्ने थाहा पाएको भए किन ल्याउँथे तिनीहरुलाई आफ्नो कोठामा? यति भनेर विनय हतारिँदै भित्तामा झुन्डाएको पैन्टको खल्ति छाम्न लम्के। खल्ति छाम्दै भने- पैसा त झिकेका रहेनछन् मोरा हरुले। घरबाट हिँजै पठाई दिनु भएको यो दस हजार रुपैयाँ बैंक जम्मा गर्ने फुर्सत पनि पाएको छैन मैले।’

निरजले मतिर हेर्दै प्रश्न गरे- शुष्मिता, तिमी ठिक ठाक त छेउ। केही यस्तो त्यस्तो अँ…………….. गरे की ती अधर्मीहरुले?’ निरज र विनयतिर हेर्दै मैले भने – अँ ह, यस्तो त्यस्तो केही गरेनन्। तिमीहरु जस्तै मलाई पनि कोकमा निद्रा लाग्ने कुरा मिसाएर ख्वाए, ती दुष्टहरुले। म पनि लठ्ठिएर सुतेको सुत्यै भए छु तिमीहरु जस्तै। मेरो त्यस्तो भनाईमा निरज र विनयले कत्ति विश्वाश गरे म भन्न सक्तिन तर उनीहरुले जुन किसिमले मलाई हेरिरहेका थिए त्यसबाट सजिलै थाहा पाउन सकिन्थ्यो उनीहरु मेरो त्यो जबाफबाट सन्तुष्ट छेनन्।’

‘उनीहरु अर्कै कुरा सुन्ने चाहना गरिरहेका थिए। म भने उनीहरुले सुन्न चाहेको कुरा भन्न तयार थिन। शिशिर र मनोजले मलाई कुनै नराम्रो व्यवहार गरे भन्नेमा उनीहरु प्रष्ट भएको जस्तो देखिन्थ्ये तर मलाई उनीहरुले रेप नै गरे भन्नेमा उनीहरुले के सोंचे म भन्न सक्तिन। मलाई प्रष्ट गरी सोध्न उनीहरुलाई अप्ठ्यारो लागेको पनि हुन सक्छ। जे होस, उनीहरुले जस्तो सुकै अनुमान गरुन, तर मैले आफ्नो मुखले मेरो रेप भयो, मनोज र शिशिरले त्यस्तो गरे भनेर उनीहरुलाई भनेको छैन।’

आफू माथि बितेको त्यो घटना फोनमा सुनाए पछि शुष्मिताले मसँग सल्लाह पनि मागेकी थिन। उनले मसँग चार वटा प्रश्नको उत्तर मागेकी छिन वा भनौ मैले ती प्रश्नहरुको उत्तरको रुपमा सल्लाह दिनु पर्ने छ, शुष्मितालाई। उनले सोधेकी छन ‘शिशिर र मनोजले त्यो रात मेरो रेप गरे भनी निरजलाई भनौ कि न भनौ? त्यो घटना बारे थाहा पाएर निरजले मसँग बिहे गर्न असहमत भएमा के गर्ने? निरज मसँग बिहे गर्न सहमत वा असहमत भए पनि त्यो रात जे भयो त्यसका लागि कानूनी उपचार खोजौ की नखोजौ? अथवा यी सबै झमेलाहरुबाट पन्छिएर आत्महत्या नै गरौं कि?’

शुष्मिताले यो पनि भनिन् – म ज्यादै उदास भएकी छु। जुन बेला पनि मेरो दिमाग त्येही घटनामा केन्द्रति हुन पुग्छ। न खाना खान मन लाग्छ न त निद्रा नै राम्रो गरी लाग्छ। त्यो घटना भएदेखि कतै बाहिर, कुनै साथी या आफन्तको घरमा गएको छैन। राति सुतेको बेलामा पनि झसङ्ग भएर उठ्छु। जुन बेला पनि डर लागेको जस्तो हुन्छ। यी सबै कुराहरुले गर्दा मलाई त आत्म हत्या नै गर्न मन लागिसक्यो। त्येही नै गर्नु ठीक होला जस्तो छ, कि कसो, हाँ एरिका?’

शुष्मिताका ती प्रश्नहरुको उत्तर दिनु पर्ने वा भनौ सल्लाह दिनु पर्ने भएकोले मेरो दिमागमा विचारहरुको आँधी चलेको छ। विभिन्न विचारहरु मेरो मगजमा आइरहेका छन्, गइरहेका छन्, स्थिर हुन सकिरहेका छैनन्। शुष्मितासँग हिँजो विहान कुरा हुँदा हुनत मैले भनेको पनि छु – मलाई कम्तिमा पनि दुई दिन देउ, सोंच्न विचार गर्न।

मलाई थाहा छैन र मैले कहिले शुष्मितालाई सोधेको पनि छैन उनले किन ममाथि यति विश्वाश गर्ने गरेको। कहिले काहिँ मैले हाँसो ठट्टामा भनेका कुराहरुलाई पनि उनले सत्यको रुपमा लिन्छिन र मैले भन्नु पर्छ यो कुरा साँचो होइन है, शुष्मिता केवल हाँसो ठट्टाका लगि मात्र यो कुरा गरेको। त्यस कारण म शुष्मिताप्रतिको विश्वाशले बाँधिएको छु र हावादारी किसिमको सल्लाह दिन सक्तिन। इमान्दारीपूर्वक सही सल्लाह दिनु छ, मैले देखेको सही सल्लाह।

म सोंच्छु भोलि शुष्मितासँग फोनमा कुरा हुँदा भन्छु – सबै भन्दा पहिले त त्यो घटना बारे छिटै निरजलाई भनी देऊ, नडराउ। त्यो घटना बारे निरजले थाहा पाएर तिमीसँग बिहे गर्न असहमत भएमा वा भनौ न उसले सम्बन्ध बिच्छेद गर्न खोजेमा तिमीले निरजलाई समय मै थाहा पाउने मौका पाउँछेउ। ऊ तिमीसँग बिहे गर्न असमत हुनुले प्रष्ट हुन्छ उसको तिमीप्रतिको प्रेम केवल आर्षण मात्र रहेछ, सच्चा प्रेम रहेन छ। त्यस्तो सच्चा प्रेम नगर्ने सँग समयमै छुट्टिनु राम्रो हुन्छ। तिमीले जाना जानी नगरेको घटनालाई तिमीले गरेको जस्तो मानेर तिमीलाई सजाए दिने व्यक्तिसँग जिवन निर्वाह हुन सक्तैन। अनि भन्छु – त्यो घटना बारे निरजले थाहा पाएर पनि तिमीसँगको सम्बन्धलाई निरन्तरता दिन खोजेमा वा भनौ न त्यो घटनालाई एक दुखद दूर्घटना मानेर बिर्सन चाहेमा र यदि उसले त्यो घटनालाई लोक लाजको कारण तिमीलाई त्यो घटना सार्बजनिक न गर्न अनुरोध गरेमा वा दबाब नै दिएमा पनि तिमीले त्यो घटनाका दोषीहरुलाई उन्मुक्ति नदेऊ। तिमीले त्यसरी उन्मुक्ति दिएमा महिलाहरु कमजोर हुन्छन र तथाकथित बेइज्जतिको डरले अत्याचार सहन बाध्य हुन्छन भन्ने सन्देश ती अपराधीहरुमा जान्छ र त्यस्ता अपराधीहरु त्यस किसिमका अपराधहरु झनै गर्न प्रोत्साहित हुन्छन। तर त्यस्ता अपराधीहरुलाई कुनै पनि हालतमा कुनै पनि बहानामा प्रोत्साहित हुन दिनु हुँदैन, त्यस्ता अपराधहरु गर्न। निरजले तिमीलाई असहयोग गरे पनि त्यो घटनालाई सार्बजनिक गर। अनि यो पनि भन्छु, शुष्मिता, तिमीले यी सबै झमेलाबाट पन्छिन आत्म हत्या गर्छु भन्नु त झनै कायरता हो। अपराधीहरुलाई अपराध गर्न प्रोत्साहित गर्नु हो। यस्तो त कहिले पनि सोच्दै न सोँच।’

म भन्छु, मैले दिएका सल्लाहहरु तिमीलाई मन परिरहेका छैनन् र तिमी आत्महत्या गर्ने निर्णंयतिर नै पुग्न खोजिरहेकी छौ भने यसो गर शुष्मिता, के गर भने त्यो घटनालाई चटक्क बिर्सिदेउ। बरु तिमीले मनमा यो लेउ, कल्पना गर, कि त्यो रात केही त्यस्तो जोर जबजस्ती भएको थिएन र जे भयो त्यो तिम्रो स्वेच्छामा भएको थियो। त्यो घटनालाई जसरी ती केटाहरुले सामान्य रुपमा लिए, आनन्दको रुपमालिए, साहसी कार्यको रुपमा लिए, तिमीले पनि त्यसै रुपमा लेउ, सामान्य रुपमा लेउ। ती केटाहरुले त्यो घटनालाई सामान्य घटनाको रुममा लिन मिल्ने तिमीले लिन किन नमिल्ने? किन, किन ती केटाहरुले गरेको अपराधको सजाएको रुपमा तिमीले आत्महत्या गरेर चुकाउनु पर्ने। यो त यस्तो भयो, अपराध एउटाले गर्ने सजाए भने अर्कोले पाउने, त्यो पनि निर्दोष व्यक्ति स्वयं म अपराधी हुँ भनी सजाएका लागि तयार हुने। शुष्मिता, बरु सुन, आज म तिमीलाई एउटा ज्यादै गोप्य कुरा भन्दै छु। तिमी मेरो घनिष्ठ साथी भए पनि मैले तिमीलाई भनेको थिन। लुकाएको थिएँ। त्यो गोप्य कुरा के हो भने आज भन्दा तीन वर्ष पहिले, अर्थात मेरो सरदसँग बिहे हुनु भन्दा दुई वर्ष पहिले, मलाई त्यस्तै किसिमको परिस्थितिको परिवन्दमा पारेर मेरो नादेदार केटाले मसँग तिमीलाई जस्तो गरेको थियो। म पनि रेपको सिकार भएको थिएँ। त्यस्तो भएको एक हप्तासम्म म पनि मानिसका रुपमा निकै विक्षिप्त थिए। जुन बेला पनि आत्महत्या गर्ने बिचार मेरो मनमा आउँथ्यो। एक हप्तासम्म म घर बाहिर निस्किन, कोठामा नै थुनिएर बसे भने पनि हुन्छ। मम्मी डैडी निकै चिन्तित हुनु भएको थियो। मम्मीले अप्रत्यक्ष रुपमा सोध्नु भयो पनि, कुनै केटासँग कुनै किसिमको यस्तो त्यस्तो भएको कि………..। मेरो पेटमा बच्चा नै रहन गयो कि। मैले आमालाई सामान्य बिसन्चो भएको भनेर त्यो घटना बारे केही पनि बताइन। तर एक हप्ता पछि मैले आफूलाई व्यवस्थित गरे। त्यो डर लाग्दो स्थितिबाट उत्पन्न भएको कालो मनोविज्ञानबाट बाहिर आएँ। मलाई त्यो बेलाको त्यस्तो कालो मनोविज्ञानबाट बाहिर आउन मेरो फुपूको छोरी, निरा दिदीले निकै सहयोग गर्नु भएको थियो। एबोर्सन गराउन पनि सहयोग गर्नु भएको थियो। विहे भएको छ महिना पछि मैले त्यो घटनाको बारेमा सरदलाई पनि भने, लुकाइन। सरदले त्यो घटनालाई एक डर लाग्दो सपना सम्झेर मलाई सबै कुरा बिर्सिन सल्लाह दिए। हेर शुष्मिता सबै केटाहरु एकै किसिमका हुन्छन भन्ने छैन। सरद धेरै व्यवहारीक छन। यो संसार धेरै किसिमका मनोविज्ञान भएका मानिसले भरिएको छ।

मैले शुष्मितालाई समयमा सल्लाह दिन नसकेको हुनाले इमेल पठाएँ र भने दुई दिन अरु देउ मलाई। यस्तो, जिवन-मृत्युसँग सम्बन्धित विषयमा गंभिर भएर सोच्न देउ। शुष्मिताको त्यो घटनाप्रति म कति चिंतित छु भन्ने कुरा पनि पनि लेखे त्यो इमेलमा।

शुष्मितासँग फोनमा कुरा भएको चार दिन पछिको कुरा हो, विहान कम्प्युटर खोल्न भ्याएको थिन मैले अफिस जाने हतारमा। मेरो स्कुटर बिग्रेकोले सबै थोक लथालिङ्ग भएको थियो। अफिस जान, तरकारी किन्न यता उति ……..सबै ……………….अस्त व्यस्त थियो। काठमाडौको ट्राफिक……….. उफ………… , भाडाको गाडीमा ओहर दोहर गर्न कति गार्यो हुन्छ भनेर साद्दे नै छैन। अफिसबाट घर फर्के पछि, साँझ शुष्मितालाई फोन गरें। फोन बिजी थियो। फेरि गरे, फेरि बिजी……….। कम्प्युटर खोले अनि इमेल चेक गरे। शुष्मिताले इमेल पठाएकी रहिछन्। उनले पठाएको इमलेमा लेखिएको थियो- मेरो फोन बिग्रेर तिमीसँग कुराकानी गर्न सकेको छैन। फोन भोलि बिहान बन्छ। तैपनि यो छोटो इमेलमा तिमीलाई जानकारी दिँदै छु। फोनमा विस्तृत कुरा गरौला। मैले आत्महत्या गर्ने योजना परित्याग गरे। बिचलित मेरो मनलाई अन्तै कतै लगाउन किताबहरु पढ्ने क्रममा एक प्रख्यात महिला लेखकको जिवनी पढे। मेरो जिवनमा जस्तो घटना घट्यो, त्यो घटना ……………उनको जिवनमा पनि, त्यस्तै घटना घटेको रहेछ। केवल १४ वर्षको उमेरमा उनी एक प्रौढ व्यक्तिबाट बलात्कृत भएकी रहिछन। १४ वर्षको उमेरमा उनले त्यो मानसिक चोट झेल्न सकिन भने म त २५/ २६ को छु। अँ, बरु त्यो घटना बारे निरजलाई कसरी भन्ने, कानूनी उचार कसरी खोज्ने, जस्ता कुराहरु तिमीसँग फोनमा कुरा भए पछि अथवा भेटघाट हुँदा गरौला।

शुष्मिताको त्यो इमेल पढेपछि मलाई लाग्यो, मेरो छाति माथि राखेको ठूलो ढुङ्गा कसैले झ्वाट्ट हटाइ दियो। मलाई यस्तो पनि लाग्यो, मनोज र शिशिरले शुष्मिताको होइन बरु शुष्मिताले मनोज र शिशिरको रेप गरिन।

– विश्वराज अधिकारी

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.