~सन्तोष पौड्याल~
हेलो ! रिसीभरमा आवाज सुनियो।
अँ भन।
रिजल्ट पब्लिस भयो नि!
ए हो! तिम्रो के आयो? प्रयागले टेबलमा खुल्लै छाडेको ल्यापटपको किबोर्डमा अौंला कुदायो। स्टुडेन्ट-वेव लग इन गर्यो।
“काममा छु। मोबाइलले सपोर्ट गरेन”
“मेरो ए ग्रेड”। प्रयागको मुहार उज्यालो भयो।
“ल बधाई छ, मेरो हेरेर तु मेसेज गर त”। बिकल्पले फोन काटिदियो।
२३ जनाको क्लासमा प्रयाग टप-५ भित्र पर्दछ। सबैजसो परिक्षामा ए ग्रेड ल्याएको छ। कुनैमा मात्र बि। बिकल्पको रिजल्ट खोज्दै आफैसँग बोल्यो- तर के गर्नु, ग्रेडले न त गाँस दिन्छ, न त चिसोमा कपास। दिन्छ त केवल मनलाई सन्तुष्टि। यसैको भरमा उसले पहिलो सेमेस्टर धकल्यो।
दिन ढल्यो, रात बित्यो, महिनौ पल्टियो। सँगै आएका सबैको चाँजो-पाँजो मिलिसक्यो। दोश्रो सेमेस्टरको मध्यतिर अाइपुग्दा समेत उसले काम पाएन। कामको खोजीमा साना पसलदेखि पेट्रोल पम्पसम्म नचहारेको पनि होइन। फिनिस र स्विडिस दुवै भाषा उसलाई नआउने। जानेको अङ्ग्रेजीले काम नचल्ने। पाँच तारिकभित्र होस्टेलको अग्रिम भुक्तानी नगरे फाइन लाग्छ। पहिलो तारिकमा ट्राभल कार्ड नकिनी युनिभर्सिटी जाने उपाय छैन। बिहान-साँझ चारो हाल्नै पर्यो। हरमहिना मोबाइलमा पैसा भर्नै पर्यो। उसलाई पैसाले फुत्ती-फुत्ती पारेको छ।
नेपालबाट पठाएको आधाजसो पैसा घर फिर्ता नगरी सुखै थिएन। बाँकी पैसाको ब्याजले घर-ब्यवहार अस्थिर बनेको छ। फोन गरे पिच्छे वुवाले “काम पाइस् बाबु?” भनेर सोध्छन्। पढाई कस्तो छ? कति परसेन्ट ल्याइस्? भनेर नसोधेको ६ महिना भन्दा बढी भैसक्यो। उसको अन्जुली लगभग रित्तीइसकेको छ। केही तिरेर, केही पानी झैं थोपा-थोपा चुहिएर। “अर्को महिना कसरी झेल्ने?” सम्झिँदा मात्र पनि उसलाई विष्मय पर्यो। ऊ फिनल्यान्ड आउँदा आफुमात्रै एक्लै आएको थिएन। आमाको आशा, बुवाको विश्वास र श्रीमतीको सपनासँगै बोकेर ल्याएको थियो।
***
प्रयागका बुवा सरकारी सुब्बा। उ जान्ने हुँदा बुवाको तलब ५५ सय थियो। चार जनाको परिवारलाई महिना गुजार्न मुस्किल हुन्थ्यो। तर उसका बुवाको निधारमा पीडाको धर्सा कहिल्यै देखिएनन्। छोराहरुलाई नै सम्पत्ति मानेर उनीहरुको शिक्षामा कुनै कसर बाँकी राखेनन्। छोराहरुकै पराक्रमबाट आफ्नो दिन फर्कनेमा उनी सधैं आशावादी देखिन्थे। जेठो छोराको पढाई मध्यम नै रह्यो। तर प्रयागको नतिजाले हरेक पटक आमाबुवाको मुहारमा हर्षको जलप लगाइदियो। उनीहरुले आफ्नो सपना प्रयागको आँखामा देख्न थाले। उनीहरुले त्यो दिन पर्खिबसे। जुन दिन उसले पंख हाल्नेछ र धन, बैभव र सामाजिक प्रतिष्ठाले सबैको चोला फेरिनेछ।
प्रयागको रफ्तार ज्यामितीय थियो। सोचेअनुसार नै माध्यिमक पार गर्यो। के. यु बाट बि. एस्सी गर्यो। र उच्च शिक्षाका लागि फिनल्याण्ड जाने भयो। नाता कुटुम्बले मन खोलेर हात बढाए। छोरो युरोप जाने भनेपछि उसका बुवाको अङ्गालो ॠण नै भएपनि लाखका बिटाले भरिदिए। विवाहका लागि सु-कन्याका प्रस्ताब ओइरिन थाले। ऊ विवाह बन्दनमा बाँधियो र फिनल्याण्डको राजधानी हेलसिन्कीबाट हजार किलोमिटर उत्तरमा रहेको शहर रोभानियमी पुग्यो। जहाँ उसले पढ्ने युनिभर्सिटी अफ लपल्यान्ड अवस्थित थियो।
***
ऊ सबेरै उठ्यो। ब्रेकफास्ट गर्यो। नेपालबाट ल्याएको डाउन ज्याकेट लगायो, जुन पहिलोपटक युरोप आउने सबैजसो नेपालीको पहिचान जस्तै हो। हिउँको फरियामा कठाङ्ग्रिएकी बिधवा बिहानीलाई छेउ सार्दै क्याम्पस हिड्यो। केहीबेरको मेट्रोको न्यानोलाई छोडेर ऊ क्याम्पस पुग्यो।
गेटनेरै पुग्दा उसको मोबाइलमा नेपाल गान बज्यो। उसले रिसिभ गर्यो- हेलो!
“कौन बोल रहा है बइ।” भारत मुलको एक रेस्टुरेन्ट मालिकको फोन थियो। जहाँ उसले ६ महिना अगाडि काम खोज्दै जाँदा आफ्नो बायोडाटा बुझाएको थियो।
“मै प्रयाग सर जी” उसले रिप्लाई गर्यो।
“आप अभी रेस्टुरेन्ट आ-सक्ते हो?” मालिकले सोध्यो।
“जरुर! एक घण्टेके अन्दर मै वहाँ मिलुङ्गा।” प्रयागले फोन राख्यो।
ऊ क्याम्पस गेटनेरबाट फर्कियो। खुशीको सञ्चारले मन फुरुङ्ग भयो। काम पाउनुको स्वर्गीय हर्ष पहिलोपटक महसुस गर्यो। ऊ रेस्टुरेन्ट पुग्यो। साहुसँग कुराकानी भयो। उसको जागिर पक्का भयो।
उसको मन चरा झैं हलुङ्गो भयो। उसका खुट्टा जमिनमा थिए। तर मन चङ्गाजस्तै आसमानमा उडिरहेको थियो। उसलाई जीवनमा पहिलोपटक आफ्नो कद साह्रै अग्लो लाग्यो, जमिनदेखि आसमानसम्म। ओइलाइसकेका आशाहरु जुर्मुराउँदै हाँगा हालिरहेका थिए। योजनाका धरहरा ठडिदै थिए। भात्किएका सपनाको पुन:संरचनाका लागि मनभरी खाका बन्दै थिए।
प्रयागले घरमा फोन लगायो। सबैलाई खुशीको बिलो बाढ्यो। परिवारमा उमङ छायो। बा-आमाले मन बाधेर राख्न सकेनन्। छिमेकदेखि नातेदारसम्म सबैलाई सुनाए। आफ्नो दिन फर्कनेमा उनीहरु विश्वस्त थिए। वर्षौ पहिला शिलन्यास गरेको सपनाको जगमा बैभव र प्रतिष्ठाको पिलर ठड्याउन सुरु गरिहाले। नातागोतामा सम्भावनाका सतबिज छरे। आफ्नो हर्ष सबैतिर बाँढे।
पहिलो महिनाको कमाइ उसले घर पठायो। थोरै सापटीसहित पुग-नपुग १ लाख रुपैयाँ। समरमा अझै धेरै कमाउने आश्वासन दियो। एक वर्षको कमाइले ॠणमुक्त भइन्छ, दोश्रो वर्षको कमाइले घर बनाउन सुरु गर्ने- बाआमाले गणित मात्र गरेनन्, आफ्नो हिसाब छरछिमेकमा परिक्षण समेत गराए। सबैले प्रयागको प्रसंशा गरे।पहिलो वर्ष सकिँदै थियो। एक महिना पछाडि रेसिडेण्ट प्रमिट नविकरण गर्न दश हजार युरो एकाउन्टमा देखाउनु पर्ने थियो। योजनानुरुप पैसा जम्मा पार्न थाल्यो। डकुमेन्ट समिटगरेपछि एकैपटक सबै पैसा घरमा पठाउने खबर गर्यो।
रेसिडेण्ट प्रमिटका लागि बुझाउनु पर्ने क्रेडिट आवर पुरा थिए। होस्टेलको कन्ट्याक्ट दुरुस्त थियो। बैंक ब्यालेन्सले समस्या पर्यो। घरबाट मगाउने अवस्था थिएन। अब के गर्ने?- उसले सोच्न सकेको थिएन। काम गर्ने स्टाफ दाइसँग सोधी त हेरौ।- जुक्ति निकाल्यो। दाइले हार्दिकता साथ सहयोग गरे। भिसाका लागि आबेदन दियो। उसको ठूलो खड्गो टर्यो। आफुसँग भएको पैसा घर पठाइदियो।
समर नजिक आँउदै थियो। रंगी बिरंगी फुलका फरिया र हरिया मुनाका केशले रोभानियमी दुलही झै देखिन्थ्यो। प्रयाग र उसको परिवारको मनमा भित्रिएको समर त्यो भन्दा रमाइलो थियो। अबर्णित। अलौकिक। उसको घरमा चहलपहल बाक्लिदो थियो। आफ्ना सन्तानलाई विदेश पठाउन चाहना राख्नेले सल्लाह माग्थे। बाआमाले फुर्तिसाथ सल्लाह दिन्थे। उसको इमेल, फेसबुक र भाइबरको ठेगाना दिएर पठाउँथें। फ्रेण्ड रिक्-वेस्टको सङ्ख्या बढ्दो थियो। पढाइसँगै पैसा कमाउने मानसिक तयारीमा ऊ जुटिरहेको थियो।
३ महिनापछि प्रमिटको डिसिजन आयो। प्रमिट एक्सटेन्सन भएन। उसको तालुमा आकाश बज्रियो। आफूलाई पातालमा भसिएझैँ लाग्यो। समकालिन सबैको नवीकरण भइसकेको थियो। उनीहरुसँग न त पुरा क्रेडिट नै थियो, न त होस्टलको एक्सटेन्सन नै। बाँकी कुरा रह्यो ब्यालेन्सको। सबैले सरसापट गरेर नै बैंकमा राखेका थिए। प्राविधिक त्रुटी हुन सक्छ- उसले अनुमान लगायो। र पुनराबेदन गर्यो।
समर सकियो। सूर्य अल्छि बन्दै थियो। शहरमा बैराग चड्दै थियो। बाटामा यात्रु कम देखिन्थे। ऊ दिउँसोपख कामका लागि रेस्टुरेन्ट जाँदै थियो। गाडी कुरिबस्दा मेल चेक गर्ने मनसायले खल्तिको अाइफोन हत्केलामा ल्यायो। २ महिनापछि अपिलको डिसिजनले सन्ताप बोकेर ल्याएछ।
अन्तिम निर्णय नेगेटिभ थियो। लेखिएको थियो- देशको कानुन व्यवस्थाको उल्लङ्घन गरी गैरकानुनी रुपमा आयआर्जन गरेको पाइएकोले प्रयाग राज बर्तौला, १३-९-१९८३ लाई पाँच वर्षका लागि युरोपियन भूभागमा प्रवेश गर्न नपाउने गरी निष्काशित गरिएको छ। डिसिजनमा पछिल्ला महिनामा उसको एकाउन्टमा जम्मा भएको पैसाको श्रोत नखुलेको ठहर गरिएको थियो। स्टाफ दाइसँग लिएको एकमुष्ट पैसाको प्रायोजन र आधार अष्पस्ट रहेको जिकिर गरिएको थियो। तीन हप्तामा ऊ नेपाल फर्किनु पर्ने फैसला बोकेर मेल आएको थियो।
काम नपाएको बेलामा क्यास मै भए पनि काम गर्नु उसको बाध्यता थियो। उसको बाध्यतामा रेस्टुरेन्ट मालिकले कर छली गरेर पैसा कमाउने अवसर देख्यो। त्यसैलाई इमिग्रेसनले नजिर बनायो। प्रयागलाई बज्रपात पर्यो।
उसको आँखामा राँको बल्यो। त्यही लप्काले पुरिएको चितामा उसकी आमाको आशा, बाबुको विश्वास र श्रीमतीको सपना जलिरहेका थिए। आगो दन्किदै थियो। उसका पाइला अगाडि बढेनन्। फर्केर बिस्तारामा गुट्मुटियो। ऊ बर्बराउन थाल्यो। उसको बर्बराहट मलामी गएको कर्मकण्डीको स्त्रोत्रपाठ झै सुनिन्थ्यो। आँफैलाई मरेतुल्य ठान्यो। सयकडा तीनका दरले लिएको ॠण लगभग दोब्दर बन्दै थियो। आफ्ना बाउले इमान्दारीको पसिनाले जोडेको माटोको टुक्रो महाजनलाई सुम्पन ऊ नेपाल जाँदै थियो। उसको हातबाट निमेसभरमै पैसा, पढाइ र प्रतिष्ठा फुत्केको थियो।
प्रमिट एक्टेन्सन नभएको बहानामा रेस्टुरेन्ट मालिकले काममा नआउन भन्यो। हुन त दुई हप्तामा उसलाई कति नै जोड्नु थियो र? कमसेकम प्लेन भाडासम्म जोहो गर्न पाए अरुसँग हात पसार्नु पर्थेन। घर जाने दिन नजिक आउँदै थियो। कामका लागि भौतारियो तर हात लाग्यो सुन्य। प्लेन भाडासम्म पनि जोहो गर्न सकेन। साथीसामू हात नपसारी सुखै भएन। नेपाल फर्किने भएपछि साथीभाइ पनि पराइ जस्ता भए। खुलेर बोल्न छाडे। उसँग नेपाल फर्किने टिकेट किन्ने पैसा सम्म भएन।
परदेश छोड्न तीन दिन बाँकी रह्यो। भोक निद्रा हराएको धेरै भइसक्यो। ऊ बिस्तारामा उत्तानो परि रह्यो। रातभरी उत्पात हिमवर्षा भयो। बाहिर भन्दा प्रयागको मनभित्रको हिमपात उग्र थियो। रगत रोकिएला झै भयो। हातखुट्टा काप्न थाले। हिटरको तापमान ३२ पुर्यो। मुटु झन हल्लिन थाल्यो। तर्कनाको हुण्डरीले मनमा हिमपहिरो नै ल्यायो। पहिरोले उसको आत्मबिश्वासलाई कहिल्यै उठ्न नसक्ने गरी हजारौ मिटर गहिरो खोंचमा लगेर पुरिदियो।
आफुलाई सम्हाल्नु बाहेक कुनै उपाय थिएन त्यहाँ। सम्हाल्दिने कोही पनि थिएन। जान्दा जान्दै पनि ऊ विक्षिप्त भयो। डाको छोडेर रुन थाल्यो। बेहिसाब आँशुका धारा बगे। धारामात्र बगेनन् त्यहाँ। धेरै थोक बगे। फिनल्याण्ड हिड्दा कान्छी फुपुले भनेकी थिइन-मलाई ठूलो डाइस भएको घडी ल्याइदिनु बाबु। भन्जा दाई ले अाइफोन। आफ्नै दाईलाई क्यामराको सोख। साथीहरुलाई ड्युटी फ्रीको युरोपियन ब्ल्याक लेवलको तलतल। बाआमाले खुशीको संसार मागेकै थिए। ति सबै आँशुका धारासंगै बगे। चकलेटसम्म बोकेर जाने हैसियत राखेन उसले। हुन त के को खुशीयालीमा मिठाइ बाड्नु?
भोलि त टिकेट नकाटी हुँदैन। उमारेर होस् वा उत्पन्न पारेर बिहानसम्म त पैसा जुटाउनु नै छ । उसले फेसबुक खोल्यो। स्टुडेन्ट मार्केट पब्लिक ग्रुपको वालमा पुग्यो। ल्यापटप, क्यामरा, घडी र डाउन ज्याकेट सेलमा राखिदियो।
अनि एक्लै बर्बराउन थाल्यो।
प्रकाशित मिति: शनिबार, माघ २, २०७२
(स्रोत : Setopati)