~भाउपन्थी~
मुलुकमा गणतन्त्र आइसकेको छ तापनि मैले त्यस दिनलाई बिर्सिन सक्दिनँ । चारैतिर अश्रुग्याँस र टायर बालेको दुर्गन्ध अझै पनि सघन नै थियो ।
पहिलो कुरो, जब फुच्चेले चिच्च्याएर भन्यो, ‘साप, १४ गते गायब छ ।’
फुच्चेको जन्मदिन नै गायब भएको भय छ ।
१४ गते गायब हुनु विश्वसनीय थिएन । तर उसले त्यो कुरो क्यालेन्डर हेरेरै भनेको थियो । एकाबिहानै के भन्छ भनेर मालिक भईटोपलेकोले म सार्वभौमसत्ता सम्पन्न अलि अचम्भित पनि भएँ । १४ गते नै गायब छ ? हो त, क्यालेन्डरबाटै ।
क्यालेन्डरका पानामा एकेक हेर्दै जाँदा अरू सबै गते देखिए तर जेठको १४ मात्रै छैन ? किन छैन ?
‘ल धेरै कुरा घुमाइफिराई किन गरिहरनु पर्यो र, पहिले पेपरमै हेर् न, १४ गते किन छैन भनेर ?’ पेपरमा १४ गते थिएन । पक्कापक्की हो, १४ गते थिएन । मारेन !
पेपर हिजोको १३ गतेको त थियो, तर आज १४ को आएन । एकैचोटि १५ को आयो जेहोस्, ऊ १४ गतेको खोजीमा छ ।
‘सर, मेरो जन्मदिन किन गायब ?’
खै किन हो, मलाई के थाहा ?
तर फेरि त्यो घटना सेलाउन नपाउँदै फुच्चेले अर्को दुर्घटना ल्यायो ।
बाहिरबाट फुच्चे आएर भन्यो, ‘साप, यसबाट राजाको तस्बिर हराएको छ !’
‘गणतन्त्र आएकै यसैका लागि हो । थाहा छँदै छ तँलाई ।’
‘हेरिराख्नु सर, यसमा कुन नेताले आफ्नो फोटा छपाउने हो ।’
फुच्चेले भाषा मेरो चोरेको थियो तर कुरा ऊ सत्ताबाहिरको प्रतिपक्षका नेताहरूले झैँ समझदारीको गरिरहेथ्यो । म मनमनै खुसी पनि भएँ, देशमा नेताका उत्तराधिकारी नागरिकहरू जन्मिरहेछन् ।
‘जे भे पनि, तँ यो भन् यो नोट कहाँबाट ल्याइस् ? कतै…?’
‘जे भे नि के सर ? हजुरको खल्तीमा मैले हजारको नोट नदेखेको जमाना भइसक्यो । यो नोट त टेबिलमै थियो, सानो खुऽा नोट । नुन ल्याउन यसो हेरेको त…।’ उसले प्रहरीको फन्दामा परेको बगलीमाराको भाषामा स्पष्टीकरण दिँदै भन्यो । बगली भएको पहिरन उसरी अचेल हराइसकेको थियो । एटीएमहरू छ्याल्लब्याल्ल थिए । पकेटमारहरूको धन्दा खस्केको थियो तर नक्कली नोटको कारोबार खलमलाएको छ ।
‘आज १४ गते हो, थाहा छैन तँलाई ? १४ गते केही हुन सकेन त सबै कुराको मूल्य हराएर गयो ।’
‘होइन सर । आज १५ भइसक्यो ।’
‘हैन १४ हो, तर…।’
‘हैन सर, आज १४ हो तर सरकारैले घोषणा गरेको छ, क्यालेन्डरबाट जेठ १४ गते सदाका लागि हटाइएको छ भनेर । सर, बडो खेदको कुरो छ कि म पनि जेठ १४ गते जन्मेको हुँ । मेरो के हुने हो सर ?’
‘अरे यार हुनु के छ, तँ जन्मेकै छैनस् । त्यसै खसिस् धर्तीमा आकाशबाट । एउटा उपाय छ तर ।’
‘त्यो के सर ?’ फुच्चेले कुर्सी टिकाउने उपाय बताउन लागेको प्रतिपक्ष नेताको कुरा सुन्न उत्सुक प्रधानमन्त्रीको स्वरमा सोध्यो ।
‘के भने, संविधान जारी भयो भने तेरो बाउको अस्तित्व पनि प्रमाणित हुनेछ नत्र…।’
‘नत्र ?’ फुच्चे सस्पेन्सको कमामा गयो यद्यपि ऊ प्रश्नवाचक भएर मतिर ट्वाल्ल हेरिरहेको थियो ।
‘नत्र,’ मैले बहुतै सोचेर बहाना झिकेँ र भनेँ, ‘चुरनको नोट जस्तो हुनेछस्, बुझिस् । अनि तँ मान्छे ठहरिने त छस् तर कुन देशको होस् त्यो भेरिफाइ गर्न नसकिने । सदाको लागि नो म्यान्स ल्यान्डमा बसोबास गर्ने, अन्तरिम देशको नागरिक । राष्ट्रसङ्घमा धाइरहने शरणार्थी !’
फुच्चेले के बुझोस् ।
मैले उसलाई ढुङ्गा, इँट, बालिएका टायरका खारानीका थुप्रा र मान्छेका जुत्ताचप्पलले अटेसमटेस सडकको बीचमा एक्लै उभिएर रोइरहेको फेला पारेको हुँ ।
मुलुकमा गणतन्त्र आइसकेको छ तापनि मैले त्यस दिनलाई बिर्सिन सक्दिनँ । चारैतिर अश्रुग्याँस र टायर बालेको दुर्गन्ध अझै पनि सघन नै थियो । सडकमा मानिसका आला रगतका टाटा वीभत्सरूपमा देखिइरहेका थिए र अघिसम्म नाराजुलुस र बन्दुकका गोली चलेका हत्यारा आवाज, आर्त रुदन र आक्रमण-प्रत्याक्रमणको कोकोहोलो अझै पनि कानमा गुन्जिरहेको थियो । अस्तव्यस्त सडकको बीचमा त्यो एक्लै उपेक्षित निस्सहाय उभिएर डरका कारण आवाज दबाएर हिक्कहिक्क रोइरहेको दृश्य म सधैँसधैँ सम्झिन्छु ।
सायद उसको आमा या बाबु दमनकारीको गोली लागेर ढल्यो वा यो आन्दोलनमा ऊ र उसका आमा वा बाबुबीच बिछोड भयो ।
मलाई लाग्थ्यो, त्यो अपार जनता उभिएको र गणतन्त्रको विजयनाद उर्लिंदो भीडमा देखिने विभिन्न दलका अनेकअनेक झन्डा र नाराले उसलाई सुनामीले झैँ ढाकेर गएको छ, बगाएर कता हो कता हुर्याएइदिएको छ । एक किनारमा ऊ एक्लै उभिन पुगेको छ र संजोगले म उसको छेउमा पुगेको छु ।
सडकमा मैले उसलाई भेट्दा ऊ छापामार र सशस्त्रबीच फसेको गाउँले झैँ वाक्हीन अभिव्यक्तिविहीन भइसकेको थियो यद्यपि लड्नेहरूले स्वतन्त्रताका लागि लडेका थिए ।
मैले सोधेको थिएँ, ‘बाबु, तिमी को हौ ? तिम्रा आमाबाबु को हुन् ?’ र एकछिन पर्खेर थप सोधेँ, ‘तिम्रो नाम के हो, तिमी को हौ ?’
प्रश्नहरूको अर्थहीनता उसका अनुहारमा उत्तरित हुन आयो । ती आँखामा भयजनित एउटा शून्य उपस्थित थियो । उसबाट केही उत्तर नपाएर मैले के सोच्न सक्थेँ । म गम्भीर भएर मनमनै भनेँ, ‘यसकी आमा कतै यसको बिछोडले बेहोस भएकी होली । अहिले त यसलाई यसो भनौँ, गणतन्त्रको छोरो ।’
ऊ मैलो लुगामा दयनीय लाग्थ्यो, कसैले उसलाई कहिलेदेखि कोठामा थुनेर काम लागाउने गरेको पनि हुन सक्थ्यो । सामन्ती समाजमा यस्तै हुन्छ भनेर सबै दलका नेता यसै भन्थे ।
उसलाई एक्लै छोड्नु थिएन, केही नभए फोकटमा घरको काममा लगाउन सकिन्थ्यो । ‘तेरा आमाबाबुको खोजी गरौँला’ भनेर फकाउँदै घरमा राखेर वर्षका एकदुई जोर लुगा र दैनिक दुई छाकको मजदुरीमा यसबाट काम लिन सकिनेछ । मेरा विचार दूषित थिए, पवित्र थिएनन् ।
मैले उसको हात समाएर आफ्नो कोठामा ल्याएँ ।
अहिले सोच्दा लाग्छ, मैले ठीकै गरेँ । विचार र सिद्धान्तको उपेक्षा गरेर अपवित्र, अनैतिक सत्ता गठबन्धनको समयमा केका लागि सत्यनिष्ठ भइरहने ?
अहिले ऊ सोधिरहेछ, ‘सर त्यसो भए अब १४ गते सधैँका लागि गायब भयो ?’
‘हैन, मान्छेलाई मुलुकको चिन्ता छ, जुन १४ गतेको चिन्ताभन्दा ठूलो छ । तँलाई भने त्यो एउटा १४ गतेको चिन्ता छ, किन ?’
‘हैन के सर, तपाईंले भनेको हैन, १४ गते तेरो बाउको पत्तो लाग्छ भनेर ।’
उसलाई यो पत्तो लगाउनु थियो, उसको बाबु हो को ? ऊ बरोबर यही सोधिरहन्थ्यो र म उसलाई यो भन्न सकिरहेको थिइनँ, तँ गणतन्त्रको छोरो होस् । ऊ गणतन्त्रको छोरो यस कारण थियो, मैले उसलाई गणतन्त्र आएको दिन फेला पारेको थिएँ । ऊ कुन जातभात, समुदायको हो यो पनि थाहा थिएन ।
तर हो, मैले भन्ने गरेको थिएँ, जेठ १४ गते संविधान जारी भयो भने तेरो बाबुको पत्तो लाग्नेछ भनेर । गणतन्त्र नभए संविधान त उसको अभिभावक हुन सक्थ्यो तर केही भइरहेको थिएन । त्यसो भइदिएको भए म उसलाई भनिदिने थिएँ, ‘गणतन्त्र नै तेरो बाबु हो ।’ म यसैको तयारीमा थिएँ । तर कुनै नेता र कुनै झन्डालाई उसको बारेमा मतलब थिएन । मेरो पनि के ठेगान ? यस्तै आर्थिक विपन्नताले च्याप्दै ल्यायो भने उसलाई म छातीमाथि ढुङ्गा राखेर घरबाट निकालिदिन सक्थेँ ।
‘सर, के अब १४ गते कहिल्यै आउँदैन ?’ उसले रुन्चे स्वरमा मसित सोध्यो । उसको स्वरमा गहिरो निराशा थियो ।
(स्रोत : युवामञ्च २०६८ मंसीर)