संस्मरण : मेरो बाल्यकालको कुरा

~लेखनाथ गौतम~Lekhnath Kafle

जताततै बाहुनले पेलेको, बाहुनले शोषण गरेको, बाहुनले शासन गरेको, बाहुनले अत्याचार गरेको अनि बाहुनले दलित, मधेसी, जनजाती र पिछडिएका जातजातिविरुद्ध अमानवीय व्यवहार गर्दै सँधै उनीहरुलाई पीडित बनाएको कुरा सुनिराखेको यो बेलामा म भने अलि भिन्नै प्रसंग, भिन्नै अवस्थाको बारेमा तपाईंहरुलाई सुसूचित गराउन चाहन्छु। कतिपयलाई यै पनि बाहुनबादी लाग्ला। कतिपयलाई हो र यस्तो पनि भन्ने भ्रम पनि पर्ला।

कतिपयलाई काल्पनिक कथा हो जस्तो पनि लाग्न सक्छ। तर प्रस्तुत गरिन लागेको यो कथा भनौँ वा लेख एउटा सानो गाउँको, पढ्नु पर्छ भन्ने मध्यम वर्गीय परिवारको र जातिले बाहुन जातको एउटा बालकको मनमा तत्कालीन अवस्थामा उठेका ज्वारभाटा र आवेगहरुको समष्टी रुप हो। न यो कसैको विरुद्ध लेखिएको हो न कसैको पक्षमा। यो त केवल त्यस बालकको मनमा परेको छापको कथा हो जुन शायद अर्को बालकको मनमा नपरेको हुन सक्छ। न यो कुनै समुदायविरुद्ध लक्षित छ न राजनीतिक दलविरुद्ध। थाहाछैन त्यो बालकले कसरी सोच्यो, कसरी अनुभूत गर्‍यो। उसलाई स्कुल जाँदा डर लागेको, बजार जाँदा डर लागेको भने पक्कै हो। उसलाई कहिले पनि केही भएन। उसले पिटाइ पनि खाएन तर उसले आफूलाई असुरक्षित महसुस गर्‍यो। उसले आफूलाई हेपिएको र कही कतै पेलिएको महसुस गर्‍यो। भएको त्यही हो। यसमा उसले भोगेको चित्र छ। उसको पीडा छ यहाँ। अमेरिकाको एउटा कोठामा बसेर आजभन्दा साढे दुई दशकअघि मेरो बाल मस्तिष्कमा रहेको धारणाको यो व्याख्या हो।

अमेरिकाको अलाबामास्थित एउटा सुनसान कोठा। एकान्त अनि एक्लो अनि आशा र निराशाको भुमरीमा रुमल्लिरहेको। सर्वसुविधासम्पन्न र सर्वशक्तिमान देशको नागरिक कै हैसियतमा म। अवसरहरुको स्वर्णभूमि कहलिएको ठाउँमा अवसरकै लागि संघर्ष गर्दै। दु:ख पीडा, सुखशान्ति, गरिबी अभावहरु झेल्दै ब्यहोर्दै कथित संसारिक सुख र आर्थिक सम्पन्नताको साँघुरो यात्रामा संघर्ष गर्दै। सानो गाउँमा जन्मेर, हुर्केर बसाइ सर्दै भाग्यको छालले हुत्याएर यहाँ आइपुगेको म एउटा यात्री। जीवन यात्राको क्रममा आरोह, अवरोह अनि ब्यवधानहरु झेल्दै अनि कथित सम्पन्नताको खोजीमा आफ्नै अस्तित्व मेट्न अनि आफ्नै पहिचान ध्वस्त पार्न लागि परेको अनि बाध्य भएको म एक साधारण मानव प्राणी। दुई छोराछोरीको बुवा भइसक्दा पनि परिपक्वता आइनसकेको, लामै जीवन यात्रा तय गरिसक्दा पनि जीवनको लक्ष्य पहिल्याउन नसकेको। धन आर्जन गर्न इस्टमित्र, दाजुभाइ र बन्धुबान्धवको न्यानो माया र स्नेह त्याग्न बाध्य तर त्यसको छेउ टुप्पो पहिल्याउन नसकेको। मेरो परिचय धेरै छ अनि केही पनि छैन। यस्ता कुराहरुको लर्कोमा म अचानक आफ्नो बाल्य अवस्थामा पुग्छु। १८० डिग्रीको फन्को लगाउँदै म अमेरिकाको दुनियाँबाट एउटा पिछडिएको गाउँमा पुग्छु जहाँ म जन्मेको, हुर्केको र माध्यमिक शिक्षा हासिल गरेको थिएँ। मैले त्यतिबेला कस्तो भोगेको थिएँ, कस्तो सोचेको थिएँ- कथा त्यति बेलाको हो। अहिले अर्कै अवस्था हुन सक्छ। सुन्दा अपत्यारिलो हुन सक्छ।

खुट्टामा चप्पल छैनन्, प्वाल परेको हाफ पाइण्ट र पारदर्शी रातो टेर्लिङको सर्ट। बडगाउँ(म जन्मेको गाउँको नाम) बाट काडेबास स्कुल जाँदाको मेरो बाल्यकालको स्कुले पहिरन। खनीखोस्री जेनतेन खान पुग्ने मध्यम वर्गीय पहाडी किसानको छोराको अवस्था यही हो। साँघुरो गोरेटो, ढुङ्गैढुङ्गाहरु धारे परेका ती गोरेटाहरुमा खाली खुट्टाको हिँडाइ। बाटोमुनि अनि माथि बेलाउती, खन्यु, बेडुलो, तिजु, चिउरी, पनिवल जस्ता फलफूल हाम्रा दिउँसोका खाजा (टिफिन) हुन्। घरमा मही, गुन्द्रुकको झोल र आटो खाएर निस्केपछि बेलुकी घरमा फर्केर भुटेको मकै, कोदोको वा गहुँको रोटीको दर्शन नहुन्जेल पेट धान्ने तिनै कन्दमुल हुन्। सिजन अनुसार पाइने फलफूल पनि खान सजिलो छैन। अर्कैका स्वामित्वमा रहेका खेत अनि बारीमा रहेका ती कन्दमुल खाँदा उनीहरुका गालीको वर्षा नै हुन्छ। “हे खान नपाएका मुर्दाहरु”, “तिमीहरुलाई हरियो चोयाले कस्नु पर्ने”, “तिमीहरुको पेटमा कीरा पर्नु पर्ने” आदि इत्यादि नराम्रा र यहाँ भन्नै नमिल्ने गालीको रस्वादन गर्नु सामान्य हो।

लगभग दर्जनभन्दा बढी डाँडा काटेर स्कुल जाँदा लाग्छ त्यो घण्टौको बाटो हो तर चिसो पानीको बलले होला दौडदा त्यही १५ देखि २० मिनेटमा स्कुल पुगिन्छ। भिरको बाटो अलि खतरनाक छ। तल खसे हड्डी पनि नभेटिने तर धेरै जसो बाटो सजिलो नै छ। एउटा हातमा प्वाल परेको झोला अनि च्यातियर पहिलो पाठ नभएका पाठ्यपुस्तकहरु अनि अर्को हातले जाङ्गे समात्दै स्कुल पुग्छु। पाँच सात जना साथीहरु गफ गर्दै, फलफूल टिप्दै खाँदै, रुखलाई ढुङ्गाले हिर्काउँदै स्कुल आउँदा जाँदाको आनन्द अर्कै छ अनि रमाइलो छुट्टै छ। पढाइमा अब्बल नभए पनि कक्षामा पढ्ने र जान्ने मध्यमा पर्छु। गृहकार्य नियमित गर्ने हुँदा सरहरुको पिटाइ खानु पर्दैन। तेजेन्द्र, कृष्ण, टीकाराम, मणिभद्र, नारायण, इन्दु, हरिलाल, मोतिलाल मेरा साथी हुन्। केटीमा रमा, सरस्वती हाम्रा कक्षाका सहपाठी हुन्। टङ्क सरले केही साथीलाई गृहकार्य नगरे बापत सिस्नुपानी लगाउनु हुन्छ। राजकुमार सरले लट्ठीले हान्नु हुन्छ। देवराज सरले कान समातेर उठ्बस गराउनु हुन्छ। लोकनाथ सरले कुखुरा बनाउनु हुन्छ। तर आफूलाई त्यो स्वाद चाख्नु परेन। सँधै गृहकार्य गर्ने, पढाउँदा सोधेको कुरा फटाफट भन्ने भएकोले होला सरहरुले अति माया गर्नुहुन्छ। पढ्नेको एउटा ग्रुप अनि नपढ्नेको अर्को ग्रुप छ।

स्कुलमा डर छ मगरको अनि मसालको। हाम्रो परिवार राजनीतिक होइन। न बुवा राजनीति गर्नुहुन्छ न हाम्रो कुनै खान्दान नै राजनीतिमा सङ्लग्न छ। तर खोइ हामी कांग्रेस हौ रे। कांग्रेसको “क” पनि थाहा छैन। देशमा पन्चायती शासन छ। गल्याङतिर चित्रबहादुर आइरहन्छन् मसालका नेता। उनी त हाम्रै दाजुभाइ हुन्, बुवाले बेलाबेला कुरा गर्नुहुन्छ। उनी आउँदा हाम्रो बुवालाई खुट्टामै ढोग्छन्। उनी अति मिलनसार र मिठो बोल्छन् अनी चित्तबुझ्दा कुरा गर्छन् रे मैले सुन्छु अरुले कुरा गर्दा। “तर यिनका चेला किन यति हिंसक, बाटो छेकेर कुट्ने पिट्ने गर्दा हुन्” मनमनै यो अबोध बालक मन प्रश्न गर्छ। हाम्रै टङ्क सर पनि मसाल हुन् रे ! मलाई पत्यार लाग्दैन। एक्चोटी पन्चायती जेलमा परेर छुटेर उहाँ आउँदा म कत्ती खुशी भएको थिएँ। कता कता म पनि पन्चायतविरोधी। हाम्रो त्यति राम्रो माया गर्ने सरलाई थुन्ने। भित्रभित्र पञ्चायतप्रति रिस उठ्छ अनि मसालहरुप्रति पनि। यस्ता असल मान्छे पनी मसाल ? खोइ के हो के हो ? मेरो अबोध मनको बुझाई। परी सरले पनि मलाई केही समय पढाउनु भयो। अहा कति माया गर्नुहुन्थ्यो ? सम्झिरहन्छु। उहाँ पनि सरकारविरोधी हो रे। हामीलाई माया गर्ने सबै सरकारविरोधी। राम्रो मान्छे सबै सरकारविरोधी। अनि हाम्रो शोषण गर्ने, दु:ख दिने सबै सरकार पक्ष। होइन सरकार किन यस्तो होला ? मनमा प्रश्न उठ्छन् तर सोध्ने ठाउँ पनि छैन र सोध्ने हिम्मत पनि छैन।

वास्तवमा मलाई खोइ किन हो मसाल र मगरसित एकदम दर लाग्छ। हामी लुते र कमजोर बाहुन। अनि उनीहरु लड्न भिड्न सक्ने तगडा बलिया मान्छे। भित्रभित्रै डर लागिरहन्छ। अहिलेसम्म मलाई उनीहरुले केही गरेका छैनन् र पनि मलाई के को डर हो कुन्नि ? पोहोर साल चैते दसैंमा बास्कोला कोट जाँदा बास्कोला बजार नजिकै हामी बडगाउँले बाहुन केटाहरुलाई फुच्चे मगर केटाहरुले टोपी फालिदिँदै अपमान गरेको याद आउँछ। लाग्छ यी मगरहरु किन यस्ता मसाल जस्तै। सोझा र कमजोर हाम्रो के दोष र यिनले हामीलाई तर्साउँदा हुन्। मसाल र मगर हाम्रा सत्रु त होइनन् नि तर पनि यिनीहरु किन यस्ता ? खोइ बाल मस्तिस्कमा के छाप परेको हो कुन्नि ? मसाल खराब हुने भए हाम्रा कति साथी र सरहरु पनि मसाल हुनुन्छ तर पनि कति असल हुनुहुन्छ मनमनै गम्छु। “पचुवातिर जान सजिलो छ” मलाई लाग्छ किनभने त्यहाँ कांग्रेस धेरै छन्। चालिसेटोला, ज्यामिरेतिर सबै कांग्रेस छन् भन्छन्। कांग्रेस भनेपछि ढुक्क हुन्छ डर त लाग्दैन तर बास्कोलाका मगर कांग्रेस भए पनि उद्दण्ड। अरु मसाल पनि बास्कोले मगर भनेपछि एकदम डराउँछन्। मगरमा पनि कुट्पिट नगर्ने थुप्रै छन् तर केही हुल्याहाले गर्दा मलाई सबै मगरदेखि डर लाग्छ।

स्कुलको एउटै चौर छ भलिबल खेल्न मिल्ने दरम खोलाको तिरमा। त्यहाँ दैनिकजसो मध्यान्तरमा भलिबल खेलिन्छ। त्यसमा खेलाडी सबै मगर छन्। बाहुनको नो चान्स। खेल्दा फुत्केर गएको बलमा पनि भुरा मगरको पालो पहिले आउँछ। उनीहरु छैनन् भने र बाहिर पुगेको बल पाए भने त्यो बाहुनको भाग्य हो। त्यो बल दिँदा बल उनीहरुको हातमा नपरे जान्नुस् टाउकोमा टुटुल्को पर्‍यो। बाहुनमा दरबारे हीरालालको छोरो नारायण र कहिलेकाही छविलालले चान्स पाउँछन् भलिबल खेल्न। तर खेल्दाखेल्दै अलिकति बिगारे भने त्यही टोपी खस्ने गरी टाउकामा हान्छन् र खेलबाट एउटै आदेशमा निकालिदिन्छन्। बिचराहरु ङिच्च हाँस्दै मैदानबाट बाहिरिन्छन् र पोल समातेर खेल हेर्न थाल्छन्। केही भन्यो भने हेर्नै पनि प्रतिबन्ध लाग्छ। जा भने पछि जानै पर्‍यो नत्र फेरि अर्को पिटाइ खानुपर्छ। भलिबल बाहेक स्कुलमा मध्यान्तरमा समय कटाउन एउटा सानो क्यारिमबोर्ड छ जसमा बाहुनहरुको पनि चान्स छ। तर खेल्ने मान्छे धेरै र एउटा बोर्ड त्यसमाथि गोटी पूरै छैनन्। भएन भनेर केटीहरु पनि खेल्न तम्सिने। केको पालो पुग्नु ? हरेक हप्ता शुक्रबार कक्षाकोठा पालो गरी लिप्दा बरु छिटो पालो आउला तर क्यारिमबोर्ड खेल्न पालो आउँदैन। भो यो लडाईं गर्दिन। बरु होमवर्क गर्छु भन्दै पढ्न थाल्छु। बुवाआमाले मिहिनेत गरेर पढाउनु भएको छ किन बित्थामा खेलेर समय बर्बाद गर्नु। मेरो बाल मस्तिस्कमा अनौठो जिम्मेवारीबोध उत्पन्न हुन्छ।

४ बजेको घण्टी हाम्रो सन्जीवनी बुटी हो। पिउनले ४ बजेको घण्टी बजाउन साथ हामी भेडाबाख्राको बथान जस्तै स्कुलबाट बाहिरिन्छौ। बाटोमा उनै काचा कचिला कन्दमुल खाँदै घर पुगिन्छ। गर्मी याममा दरम खोलामा पौडी खेल्दै घर पुग्दा झमक्क साझ परिसक्छ। ढिलो पुगेकोले बुवाले गाली गर्नु हुन्छ भन्ने दरले हत्त न पत्त डोको र हसिया टिपेर घास काट्न नजिकैको खरबारी मा जान्छु। लामो लामो घास काटेर सानो डोको भर्न मुस्किलले आधा घण्टा लाग्छ। अनी घर पुगेर आमाले पकाएको आटो पिठो खायो अनी सुत्यो। साझ परे पछी टुकी सहारा हो। फलामे टुकिमा मट्टितेल हालेर बनेको उज्यालोमा होम्वर्क सिध्याएपछी निद्रा लागि हाल्छ। मनोरन्जन्को नाममा दाइले लाहुर बाट ल्याएको एउटा फिलिप्स रेडियो छ। ब्याट्री कम्जोर भएर होकी सिग्नल कम्जोर बनेर हो स्वा स्वा गरी रहन्छ। अनी रेडियोमा मान्छे बोलेको सुनेर अनौठो लाग्छ। “होइन यती सानो भाडोमा मान्छे कसरी अटेहोलान् अनी कसरी देश बिदेशका खबर यही भित्र बाट थाहा पाउदा होलन्” म दङग परेर सोच्छु। अस्ती तल्ला घरे कान्छी आमाको रेडियोले त रातै भरी गीत गायो रे, पधेरामा आउँदा उनैले भनेकी रे। टेप्रिकोट रहेछ। दोहोरायर तेहेरायर पनि गीत गाउने। हाम्रोले त त्यसरी गाउदैन। गीत गाए पनि फरक फरक गाउछ। सधैं जसो बिहान बुवाले गाली गर्दै उठाउनु हुन्छ। “तल्लो घरका सबैले जङगल पुगेर घास ल्याइ सके यिनिहरु सुतेको सुत्यै छन् अल्छि गधाहरु” बुवाको चर्को आबाजले निद्रा खुल्छ। अनी जाङगे भिरेर लाग्छु घरका काम गर्न। ९ बजे तयार भएर स्कुल जानु पर्ने भएकोले साढे आठ बजे आइपुग्छु। आगन्मा माथि लेखबाट कामिका केटाकेटी हातमा ग्यालिन लिएर मही माग्न उभिएका छन्। “मही एकदम अमिलो छ, भैंसीको ताउलोमा हाल्ने जस्तो, लैजान्छस् ?” आमा सोध्नु हुन्छ। “हुन्छ बराजु” ति सबैले एकै स्वरमा जवाफ दिन्छन्। “होइन यि हामी जस्तै मान्छे होइनन् र ?” मनमनै सोच्छु। हामीले खान नहुने मही यिन्लाई कसरी मिठो हुदो हो। अनी हेर्दा हामी जस्तै देखिने हामी र यिनिमा किन यती फरक ? बिचराहरु आगन बाटै मही थाप्नु पर्ने अनी ग्यालिनमा हाल्दा बाहिर परेको मही लाई हातैले सोहोरेर सफा गर्नु पर्ने। खोइ के नियम बनाको होला यो ? मेरो बाल मस्तिस्कमा त्यो छुवाछुत रुपी सामाजिक कलङ्कको अर्थ थाहा छैन। खाली देखेको छु उस्तै उस्तै मान्छे पनि जन्मको आधारमा फरक भएको तर म बुझ्न सक्दिन।

मेरो बाल्यकालमा जस्तै परिस्थिती त पक्कै छैन। अहिले त्यहा न मगर त्रास छ न त मसालको। सुनेको छु परिस्थितीले सबैलाई ठाउमा ल्याएको छ। यसरी बाल्यकालको छोटो मिठो सयर गर्दा गर्दै फेरी उही कोठामा आइपुग्छु। कपडाहरु असरल्ल छन् भुइभरी अस्तब्यस्त। टेबलमा जङ्क मेलको थुप्रो छ। च्यातेर ट्रयाशमा हाल्नु पर्ने त्यो पनि जाङगर छैन। घडी हेर्छु। दिउसोको १२ बजेको छ। १ बजे बाट काम छ। हत्तपत्त तयार हुन थाल्छु। बाल्यकाल्को याद पुनर्जिवित भएकोमा दङग पर्दै काममा जान्छु।

April 13th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.