~कुमार सिंखडा~
आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको आवाज आयो । बसन्त ऋतुको आगमन भैसकेको थियो ।
प्रमेश चौरको बिच भागमा पुग्नै लागेको थियो । बिपरित दिशाबाट एउटा पुरुष आकृति हल्का हात हल्लाउँदै ऊतर्फ आउन लागेको थियो । त्यो कविराज थियो ।
“त, लाग्ने होइन त ?” दश कदम नजिक आइपुगेपछि कविराजले सोध्यो ।
“ठिक छ, म तयार छु,” प्रमेशले मलिन स्वरमा उत्तर दियो ।
“क्या यार, तेरो बोलीमा कुनै उत्साह छैन त । आजैबाट दुई हप्ताको बिदा शुरु हुँदैछ, तँलाई केही जस्तो लाग्दैन ?” कविराजले आश्चर्य छिपाउन सकिरहेको थिएन ।
प्रश्नले प्रमेश झसंग भयो । हो त, बिदा त शुरु भैसक्यो । अनुसन्धान केन्द्रका सबै कर्मचारी भोलिपल्ट नै केही समयको लागि टाढा हुन्छन् । स्टाफ क्वार्टर सुनसान हुन्छ । ऊ आफैँ पनि केही दिनको लागि आराम गर्न पाउँछ ।
“केको हर्ष, केको विष्मात ! मेरो लागि बिदा कटाउनु पनि कामकै एक भाग न हो ।” प्रमेशको स्वरमा अँझै कुनै परिवर्तन आएको थिएन ।
त्यस दिन बेलुका प्रमेश र कविराज शहर निस्किए । उनीहरू सिधै ओसियन टावरको दोश्रो तल्लामा अवस्थित इटालिएन रेस्टुरेण्टमा छिरे र झ्यालको सिट लिए । त्यहाँ उनीहरू अक्सर आइरहन्थे । बाहिर अग्ला भवनहरू अनि सडक वरपरका बत्तीहरूले शहर झिलिमिली थियो । पर सैन्य परिशर नजिकैको होटलबाट फालिएका सप्तरंगी प्रकाशले आकाशलाई अरू रोमाञ्चक बनाएको थियो । र शहरको पुरै झिलिमिली उज्यालो सामुद्रिक पानीमा ठोकिएर समय झनै मनमोहक बनेको थियो ।
“तेरो समस्य के हो ? तँलाई आजभोलि अलि बढी नै गम्भीर देख्छु ।” मौनतालाई छिचोल्दै कविराजले आफ्नो कौतूहललाई बाहिर आउन दियो ।
“म उत्साह र उदासतालाई नियन्त्रण गर्न सक्छु ।”
“तेरो त्यो क्षमता त मैले मानेँ । तर तँ पहिलेजस्तो खुसी भने देखिँदैनस् ।”
प्रमेश झ्यालबाहिरको शहरको झिलिमिली हेर्दै चुपचाप रह्यो ।
“तँ आफैँ भन् न ! तँसँग के छैन ? पद, पैसा, प्रतिष्ठा् ? दिमाग अनि त्यसलाई उपयोग गर्ने वातावरण ?”
प्रमेशले उत्तर दियो, “त्यस्ता कुरा पुगेर मात्र खुसी हुन सकिने रहेनछ ।”
कविराज अल्मलियो । ऊसँग प्रतिउत्तर दिने केही तर्क थिएन । त्यसैले ऊ केही बेर स्प्यागेटी चपाएर मुखलाई व्यस्त देखाउने प्रयास गर्दै थियो । ताकि, उसले तत्काल केही बोलिहाल्न नपरोस् ।
केही बेरको मौनतालाई भंग आखिर प्रमेश आफैँले गर्यो, “कवि, तँलाई थाहा छ – मान्छेलाई मान्छे भएर बाँच्नको लागि सबभन्दा आवश्यक कुरा के हो ?”
कविराजलाई थाहा थियो – ऊसँग प्रमेशलाई सन्तुष्ट पार्ने उत्तर थिएन । यदि त्यो सवालको जवाफमा भौतिक कुराहरू पर्ने भए प्रमेशले यो प्रश्न गर्ने नै थिएन । उसले चुपचाप मुन्टो हल्लायो ।
“मान्छेलाई सबभन्दा आवश्यक कुरा हो – अनभिज्ञता र स्वतन्त्रता । मलाई आजकल यस्तो लाग्न थालेको छ ।”
प्रमेशको तर्क बुझ्न कविराजलाई कठिन भयो । स्वतन्त्रताको कुरा त चित्त बुझ्दो नै छ । तर अनभिज्ञता ? त्यो कसरी मान्छेको आवश्यकता हुनसक्छ, जबकि संसारका हर कोही त्यसलाई नै तोड्न खोजिरहेका छन् । यो तर्क बुझ्न प्रमेशबाटै पुष्टि सुन्नु आवश्यक थियो ।
“यो सारा सृष्टि चलेको छ अनभिज्ञताले । भोलि के होला ? मैले यसो गरे कसो होला ? उसो गरे कस्तो प्रतिफल आउला ? छोराछोरीलाई भविष्यमा के बनाउँदा ठिक होला ? यस्तै अनभिज्ञता र अनिश्चितताले संसारका हर प्राणी पलपल अहिलेको जीवनशैलीमा बाँचिरहेका छन् । यदि भोलि के हुन्छ, एक वर्षपछि के हुन्छ, सबै अहिले नै जानकारी भए त्योभन्दा पट्यारलाग्दो जिन्दगी केही हुँदो रहेनछ ।”
प्रमेशको कुरामा कविराज सहमत थिएन। उसले आफ्नो तर्क दियो, “सारा मान्छे भविष्य जान्न ईच्छुक छन् । यत्रा ज्योतिष अनि तँ-हामी जस्तै वैज्ञानिक पनि भविष्य जान्न, अनि भविष्यमा हुन सक्ने कठिनाइहरूसँग कसरी सामना गर्ने तरिका खोज्न त लागिपरेका छौँ ।”
प्रमेशसँग कविराजको लागि रेडिमेड उत्तर थियो, “त्यो चाहना हो कवि । त्यसले खुसी दिन सक्तैन । यदि भगवान कृष्ण साँच्चै भगवान भएका भए संसारको सबभन्दा बेखुस प्राणी उनी हुनपर्छ ।”
“यसको मतलब, तैँले पनि भविष्य देख्न थालिस् ?” कविराजले प्रमेश किन यो सब कुरा निकाल्दै थियो बुझ्न सकेन ।
प्रमेशले प्रसंग मिलाउँदै उत्तर दियो, “मेरो कुरा अलि बेग्लै छ । मलाई यस अर्थमा पट्यार लाग्दैछ कि, मलाई थाहा छ भोलि या केही महिनापछि या केही वर्षपछि मेरो जीवन कस्तो हुन्छ । मेरो जिन्दगी, मेरो शरीर, मेरो खुसी, मेरो भविष्य म आफैँ नभएर अरू कोहीबाट इन्जिनियरिङ गरी छिनिएको छ ।”
कविराजले केही संयम भएर प्रमेशलाई बुझाउन खोज्यो, “तँ त यहाँको प्रख्यात वैज्ञानिक । तँलाई जो कोही पनि आदर गर्छ । तँलाई आफ्नो जन्मसँग यो सब किन चासो ? तँ जन्मिस् त्यो नै महत्त्वपूर्ण कुरा हो ।”
“मैले भनिसकेँ, प्रतिष्ठा मात्रै सबै थोक होइन । तँलाई थाहा छँदैछ, म पचास वर्ष अगाडि नै मरिसकेको कुनै मान्छेको कोषबाट प्रतिरूपण गरिएको, अनि मजस्तै प्रतिरुपित दशौँ प्रतिरूपितहरूमध्येको सर्वश्रेष्ठ ठहरिएको आधारमा जन्माउन छानिएको जन्मपूर्वको शिशु । म त आफूलाई जन्माइएको नभनेर बिकास गरिएको भन्न रुचाउँछु । मलाई बिकास गरिनुमा कुनै विशेष उद्देश्य थियो । मलाई बालककालदेखि नै भविष्यमा के हुनुपर्छ, के गर्नुपर्छ, के खान हुन्छ के हुँदैन सबै प्रष्ट पारिएको छ । आफ्नो कर्म छान्न नपाउने जिन्दगी जिइरहेको छु । अनि तैँ भन् यस्तो अनभिज्ञता र स्वतन्त्रता नभएको जिन्दगी केको लागि जिउने ?”
कविराजले कुरालाई सकारात्मक मोडमा लैजाने अन्तिम प्रयास गर्यो ,”यस अर्थमा त तँ पो भाग्यशाली रहेछस्, शुरुमै आफ्नो जिन्दगीको कर्मको बाटो पहिल्याउन सकिस् । भन्न त भनिन्छ नि, मजस्ता प्राकृतिक रुपमा जन्मिएका प्रत्येक सामान्य मानिसले पनि जन्म लिनुमा प्रत्येकसँग एक-एकोटा कारण (purpose) छन् रे । त्यो कारण पहिल्याउन सक्नु र नसक्नुमा जीवन आकास-पाताल फरक हुन्छ । कोही जीवनको बाटोको बिचैमा आफ्नो त्यो कारण पैल्याउँछन्, कोही जिन्दगीभर खोज्दै हिँड्छन् । म त तेरो लागि खुसी थिएँ, कि तेरो लक्ष्य प्रष्ट छ अनि त्यसको लागि तँसँग क्षमता पनि छ र वातावरण पनि ।”
प्रमेश अरु दिनभन्दा अलि बढी नै खुल्यो । अनि अलि बढी आवेशमा आयो । उसले आफ्नो एकलकाटे बाल्यकालको बारेमा बतायो । पचास वर्ष अगाडि मृत्यु भैसकेका एक विख्यात बैज्ञानिकको सुरक्षित कोषलाई धेरै हरदसम्म परिमार्जित गरी उसलाई प्रतिरुप मानवको रुपमा विकास गरिएको थियो । उसको आफ्नो आमा-बाबु भन्ने कोही थिएन । उसलाई जन्माइएको प्रयोगशाला, जसलाई उसका निर्माता इन्जिनियरहरू हस्पिटल भनी जबर्जस्ती सहजता दिलाउन खोज्थे, त्यहाँ उसको हेरचाह गर्ने परिचारिका जस्ता महिलाहरू उसका धाइ-आमा भए । प्रमेशलाई निरिक्षण गर्ने इन्जिनियरहरू तिनै वैज्ञानिकलाई उसको बाबु भनेर चिनाउँथे । यद्यपि ऊ त्यसो मान्न तयार थिएन । जब कुनै व्यक्ति कसैको शत-प्रतिशत उही हुन्छ, ती कसरी बाबु-छोरा हुन सक्छन् ? बाबु-छोरा हुन त बाबु चाहिँको आधा अंश मात्र देन हुनुपर्छ – मात्र तेइस क्रोमोजमबाट । यो प्रतिरूपणको सम्बन्ध त न बाबु-छोरा भन्न मिल्ने न त जुम्ल्याहा वा मित । यो सृष्टिले दिन नसकेको र मानव समाजले परिभाषित गर्न नसकेको सम्बन्ध थियो ।
बाल्यकालमा बाबु-आमाको अभावमा पनि प्रमेशले सामान्य जिन्दगी बितायो । त्यसै बेला उसलाई उसको जिन्दगीको रहस्य र लक्ष्यबारेमा बताइयो । उसले भविष्यमा उसले शरीरको अंश पाएको ती प्रख्यात वैज्ञानिक झैँ विभिन्न आविश्कारहरू गरेर मानव समाजको स्तर उकास्न सहयोग गर्नु पर्ने थियो । त्यसको लागि उसले सामान्य मानिसहरूभन्दा पृथक किसिमले बाँच्नुपर्थ्यो । रक्सी-चुरोट मनाही थियो । विशेष समय र निश्वित परिमाणमा हल्का ड्रिङ्क छुट थियो । लामो आयु बाँच्नु अनिवार्य थियो किनकि ऊ एउटा लगानी थियो । कम उमेरमा मरिदिनाले त्यो लगानी खेर जान सक्थ्यो ।
विद्यार्थी जीवनमा प्रमेशले आफ्ना निर्माता इन्जिनियरहरूलाई निरास पारेन पनि । वयश्य भएपछि भने उसलाई ‘बाबु’, ‘आमा’, र ‘परिवार’ भन्ने शब्दहरूले पोल्न र गिज्याउन थाले । उसको त्यो दर्द आजको कविराजसँगको भेटमा विष्फोट भएको थियो ।
प्रमेशसँग आफ्नो जिन्दगीको बह पोख्ने कविराज बाहेक कोही थिएन । आफूले नचाहेको जिन्दगी नचाहेको किसमले बाँच्नुपर्ने यथार्थ थियो त्यो । ऊ अघि भन्दै गयो, “तँ आफैँ भन् । म अहिले कहाँ छु, कोसँग छु, के गर्दै छु – कसैले चियो गरिरहेको हुन्छ । यही वाइन् नै, मैले कति पिएँ, कुन ब्रान्ड पिएँ र त्यो परिमाणले मेरो दिमागका कति लाख कोष नष्ट भए कसैले हिसाब गरिरहेको छ । यदि उनीहरूले किटेको मात्राभन्दा बढी मैले अर्डर गर्न लागेँ भने रेष्टुरेण्टलाई खबरदारी आउँछ । ट्राफिक दूर्घटनामा नपरोस् भनेर सवारी साधनमा चढ्न निरुत्साहित गरिन्छ र चढ्नै परे पनि निश्चित गाडी र निश्चित ड्राइभरको व्यवस्था हुन्छ । मलाई करिब करिब थाहा छ आजको एक महिनापछि, एक वर्षपछि र दश वर्षपछि कहाँ, कसरी र कुन विषयमा अनुसन्धान गरिरहेको हुन्छु । म श्री ३ हरूले सुखसयलमा बन्दी गरिएको कुनै श्री ५ जस्तै यो खुल्ला संसारमा बन्दी छु ।”
कविराजसँग सहज जवाफ सिवाय केही थिएन, “यसलाई कसरी लिने तैँमा भर पर्छ । तर तँ भोलिको इतिहाँसको पृष्ठमा नछुटाइने नाम त अवश्य होस् ।”
“होला, तर आफ्नै पौरखले इतिहासमा नाम लेख्नु र कुनै प्रयोगशालाका इन्जिनियरहरूद्वारा त्यस्तो बनाइनुमा फरक छ । मलाई केही स्वतन्त्रता छैन । यति हदसम्म कि मेरी गर्ल्फ्रेन्ड मनुजा समेत मेरो लागि छानिएको हुन्छ । अनि छानिएको हुन्छ साथी समेत, हो कवि, तँ पनि !”
“त्यो कसरी ? मनुजा र म त सामान्य मान्छे हौँ । यो प्रतिरूपणमा कसरी आयौँ ?” कविराज उत्तेजित भयो ।
“किन आएन ? मैले मानेँ, तिमीहरू मजस्तै गरेर प्रयोगशालामा जन्मेनौ । तर मेरो बानी-ब्यहोरा, ईच्छा, मन पराइका वस्तहरू सबै प्रयोगशालामा छानेर मेरो कोषमा राखिएको थियो । तिमी दुईको जीनलाई अनुसन्धान गरेरै मेरो कोषमा किटेको पनि मलाई थाहा छ । इन्जिनियरहरूको इच्छा नै रहेछ कि तँ मेरो साथी बनोस् र मनुजा श्रीमती । अब यसलाई के मान्ने !”
कविराज अवाक भयो ।
साँझ रातमा परिणत भयो । रेष्टुरेण्टबाट उनीहरू एउटा बारमा गए । मानिसको भीडले खचाखच भरिएको बारमा दुई जना युवतीहरू उनीहरूतर्फ हेर्दै कानेखुसी गर्न थाले । एउटीले मुख बाई । ऊ प्रमेशतिर हेर्दै आश्चर्यभाव प्रकट गर्दे थिई ।
बिपरित तर्फको टेबुलमा दुई जना अग्ला र चौडा छाती भएका केटाहरू पनि समय-समयमा प्रमेश र कविराजतिर हेर्दै एक अर्कालाई आँखाको ईशारा गर्दै थिए ।
“समलिङ्गी ?” कविराजले ठट्टा गर्यो ।
प्रमेशलाई लाग्यो उसले ती दुईलाई केही दिन अघिदेखि पटक-पटक फरक-फरक ठाउँमा देखिसकेको छ । उसले ती केटाहरूको आँखा छली कविराजलाई भीडबाट निकाल्यो ।
बाहिर सडकमा आइपुग्दा रात निकै छिप्पिइसकेको थियो । चिसो स्याँठको अर्को झड्को छेउको भवनसँग ठोकिएर तल सडकसम्म आइपुग्यो । प्रमेशले आफ्नो हात ओभरकोटको खल्तीमा झनै बेस्सरी कस्यो र आँङ् कक्रक्क पारी चिसोको सामना गर्यो । केही बेरको लागि किन नहोस्, उसलाई स्वतन्त्रता नै प्यारो थियो । बसन्तकालीन रात्रीको चिसो स्याँठको बाबजुद पनि ।
– रचनाकार “मझेरी.कम” का प्रमूख चञ्चालक हुनुहुन्छ
(स्रोत : मझेरी.कम)