~रोबिन मानन्धर~
‘म्याँ….म्याँ…..’ बोका करायो । त्यत्तिकैमा उताबाट आवाज आयो,‘कुखुरी काँ…’ लगत्तै अर्काेतिरबाट आवाज आयो,‘भ्वँ….भ्वँ…..।’
बोकाले भन्यो,‘ए भाले भाई ! तिमी कहाँबाट आएको ?’ भालेले उत्तर दियो,‘म पारिगाउँबाट आएको ।’ यत्तिकैमा राँगो बोल्यो,‘के मर्ने बेलामा कराई रा’को तिमीहरु ?’ अनि भालेले भन्यो,‘हामी भन्दा त चाँडो तिमी मर्छाै ।’ ‘को चाँडो मर्दाे रहेछ, हेरौं न त’ राँगोले भन्यो । बोकाले अलि न्याउरो अनुहार पार्दै भन्यो,‘हो भनेको दशैं दशैं भन्छन्, अनि हामीलाई मारेर मनाउँछन्, कस्तो दशंै है यो मानवजातिहरुको ।’, ‘खै कस्तो कस्तो आफु बाँचेको भए भन्थे नि, दशंै भनेको यस्तो हुँदो रहेछ भनेर’ भालेले भन्यो । बोकाले भन्यो,‘अनि हामीलाई मारेर के पाउँछन् त ?’ भालेले भन्यो,‘हाम्रो मासु खाएर मोज गर्छन् नि अरु के हुनु ?’ यत्तिकैमा राँगोले जवाफ दियो,‘तिमीहरुलाई त्यति पनि थाहा छैन, हामीलाई मारेर हाम्रो बलि चढायो भने उनीहरुको पाप क्षमा हुन्छ रे, त्यही भएर हामीलाई मन्दिर अगाडी लगेर बलि चढाउँछन् ।’
बोकाले भन्यो,‘अनि हामीलाई मा¥यो भन्दैमा उनीहरुको पाप क्षमा हुने भए, हामी चाहीँ कसलाई मार्ने नि ?’ भालेले बोल्यो,‘हो त नि ! हामी चाहीँ कसलाई मार्ने, तिमीलाई हो राँगो दाई ?’ अनि राँगोले जवाफ दियो,‘अब हामी मरौं अनि माथि यमराजकोमा गएपछि म सोध्छु अनि सँगै जाऊँला नि त मार्न हुन्न ?’, ‘हा..हा…हा..’ सबैजना एकैस्वरमा हाँस्न थाले ।
भालेले सोध्यो,‘बोका दाई तपाईलाई दशैं आयो भनेर कसरी थाहा भयो ?’ अनि बोकाले भन्यो,‘मैले भर्खर मात्र थाहा पाएँ, यसरी धेरैलाई मन्दिरमा ल्याएको रहेछ किन भनेर सोचेको मात्र थिएँ, त्यत्तिकैमा मेरा मालिकले कुरा गरेको सुनें कि यो दशैंमा मलाई मार्न मन्दिर ल्याएको रहेछ ।’ अनि भालेले भन्यो,‘मैले त अस्ति नै थाहा पाएको’, ‘कसरी ?’ बोकाले सोध्यो । भालेले भन्यो,‘धेरै दिन अगाडी देखि नै बच्चाहरुले गीत गाएको सुनेको थिएँ क्या ।’ बोकाले सोध्यो,‘कस्तो गीत ?’ अनि भालेले गीत गायो,‘दशैं आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत् पापी म त छुट्टै बसुँला ।’ अनि बोकाले भन्यो,‘चोरेर ल्याउँदा चाहीँ पाप नलाग्ने रे अनि हामीलाई मारेर चाहीँ पाप चोखिने ?’ भालेले भन्यो,‘हामी जन्मेको नै त्यही पाप क्षमा गराउन होला नि त ।’ यत्तिकैमा राँगोले भन्यो,‘पाप क्षमा गराउन हो र ? हामी त उनीहरुको मुख मिठो र मन खुशी राख्न जन्मेको, हाम्रो मासु खान्छन् र मोज गर्छन् ।’ अनि भालेले भन्यो,‘तिमीलाई कसरी थाहा भयो नि ?’, ‘मलाई मेरो बाउले भनेको’ राँगोले भन्यो । भालेले सोध्यो,‘तपाईको मरिसकेको बाउ कहाँबाट आयो नि ?’ अनि राँगोले हाँस्दै भन्यो,‘दशैं आयो भनेर चिन्ता लिएर सुत्न लागेको, राति सपनामा आएर बुढाले भनेको थियो ।’, ‘धत् नचाहिने कुरा’ बोकाले भन्यो ।
भालेले सोध्यो,‘तिमीलाई मर्न मन लागेको छ ?’ अनि बोकाले भन्यो,‘यो संसारमा अझै कति कुरा देख्नु छ, कति काम गर्नु छ, यति चाँडै मर्न कहाँ रहर छ र ?’ अनि राँगोले प्याच्च भन्यो,‘जहिले पनि तँलाई बाँधेर राख्छ के गर्छस् र त्यही हैन, घाँस खायो बस्यो ।’, ‘त्यो त हो’ बोकाले भन्यो । ‘मलाई नै हो फ्रि भनेको त, जहाँ गएपनि हुने’ भालेले भन्यो । ‘तँलाई त मोज भै’हाल्यो नि, बिहान कोही पनि नउठ्दै कुखुरी काँ…. भनेर सबैलाई उठाई दिन्छ, अनि कता गायब कता, हैन ?’ राँगोले भन्यो ।
अनि बोकाले सोध्यो,‘हामीलाई कति हेप्न सकेका है यी मानिसहरुले ?’, ‘हो भनेको, जहिले पनि उनीहरुकै शरणमा बस्नुपर्ने, उनीहरुको कुरा मात्रै मान्नुपर्ने’ भालेले भन्यो । फेरी बोकाले भन्यो,‘हैन हामीलाई किन हेपेका हो…, हामी किन तिनीहरुको दास बन्नुपर्ने, मलाई कहिलेकाहीँ अति नै रिस उठ्छ भनेको’, ‘अनि रिस उठेर मात्र के गर्छस् त, गर्न केही सक्ने हैन’ भालेले भन्यो । ‘हामीलाई वर्षदिन पाल्छन्, अनि दशैं भनेर मन्दिरमा ल्याएर मार्छन्, यस्तो नै गर्ने हो भने किन पाल्नु हैन, हाम्रो पनि त कति रहर होलान्, हामीलाई पनि त कति बाँच्ने इच्छा होलान्, किन बुझ्दैनन् है ?’ बोकाले भन्यो । भालेले भन्यो,‘त्यति बुझ्ने भएको भए, तँ हामी सबै मर्नुपथ्र्यो र ?’, ‘त्यो पनि हो’ बोकाले भन्यो । यत्तिकैमा राँगोले भन्यो,‘हामीद्वारा तिनीहरुको पाप क्षमा हुन्छ रे, हामीमा पनि त केही गुण छ नि, तिमीहरु किन हरेश खान्छौ ?’
‘हरेश खाने कुरा हैन, के हामी सँधै यसरी नै उनीहरुको दास बन्ने हो त, हामी उनीहरुको बिरुद्ध लड्ने हैन त ?’ बोकाले भन्यो । भालेले भन्यो,‘कसरी सम्भव छ ?’ अनि बोकाले अलिक साहस लिएर भन्यो,‘हाम्रो भाषा मानिसले बुझ्दैन, हामी सबै मिल्ने हो भने हामी लड्न सक्छौं ।’ अनि राँगोले अझ आँट र साहसका साथ भन्यो,‘ल ठीक छ, हामी सबै मिले मानिसहरुसँग लड्न सक्छौं, हामी तयार छौं ।’
यत्तिकैमा राँगोको मालिकले मन्दिर अगाडी लग्यो र उसको बलि चढायो । बोकाको आँखाबाट आँशु बग्न थाल्यो अनि भालेले भन्यो,‘बोका दाई हामी केही गर्न सक्दैनौ…।’ यत्तिकैमा भालेको मालिक आएर उसलाई पनि मन्दिर अगाडी लग्यो र बलि चढायो । अब पालो बोकाको अनि बोका त्यहाँबाट आफ्नो जीवनरक्षा गर्न भाग्न खोज्यो, तर के गर्नु सबैतिर मानिस थिए, कतैबाट पनि भाग्न सकेन आखिरमा उसको पनि बलि चढाइयो । उसको जीवन, उसको इच्छा, आकांक्षा, रहरहरु सबै त्यही क्षणमा एउटा खुकुरीको कारण तहसनहस भयो साथमा उनीहरुको मनोबल पनि,‘हामी लड्न तयार छौं, आओ मानिसहरु….।’
(स्रोत : रचनाकारको ब्लगबाट सभार)