कथा : प्यासी चम्पाकली

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“यता सुन्नुस् न भन्याँ, कता हराउनु भो तपाईं ?”

काला माछाको कत्लाझैँ टलक्क टल्केको पिंडुलामा तोरीको तेल घस्दै बोलाउँछे चम्पाकलीले आफ्नो लोग्नेलार्ई ।

“फेरि के चाहियो र बोलाएकी ?”

एक चाङ जुुठाभाँडा बोकेर दैलाबाट निस्कदै भन्छ ऊ, उसको मुहारमा अलिकति दिक्दारी लेपिन्छ घिसिक्क, कालोमा फाट्टफुट्ट सेतो मिसिएको दारी जमिनबाट एक इन्च उठ्छ जुरूक्क । कपाल ननुहाएको पनि लामै समय भयो कि जस्तो छ हेर्दा अति नमिलेको । मैलो कमिजको फेर स्याहार्दै रछ्यान ढुङ्गामा टुसुक्क बस्छ र जुठा भाँडा मस्काउन थाल्छ खरानी र लुँडाले ।

उता चम्पाकली भने गुन्द्रुक जस्तो गुजुल्टेको कपाललाई तेल दलीदली चिपिच्याल्ल बनाउँछे र बाँसको काइँयोले कोर्छे । कपाल कोरिसकेर तेल अनुहारमा पनि दली चिपिच्याल्ल पारी । फरियाको एउटा टालोले टाउको बाँध्छे बेस्करी टिनिक्क पारेर । साउनको घाम चर्केको छ घामको रापले पसिना बरर्र फुट्छ शरीरमा ।

“तपाईंले पण्डितलाई खवर गर्नु भयो त भोलिको लागि ?”

ऊ अलिकति मस्केर छड्के आँखाले लोग्नेलार्ई हेर्दै बोल्छे, आगोको मुस्लाले राङ्सिएर कालो भएको किटको कराइमा लँुडोले मस्काउँदै भन्छ लोग्नेचाहिँ । “गरेँ गरेँ ।” यति भन्दा बढी ऊ बोल्न चाहेन ।

घिरौंलाको थाँक्रोमा सुकाएको डफल्को पल्टाउँदै फेरि सोध्छे ।

“गाउँ भरिकालाई खबर गर्नु पर्ने, के के गर्नु भो तपाइँले ? माथ्लाघरे जम्दारनी आमालाई र गैराघरकी सुन्तलीलाई त भरेबाटै बोलाउनु, भिजाएको चामल कुट्न, गहुँको पिठो छान्न, केराउ चना भिजाउन र चामल केलाउन, भोलि बिहानै त पण्डित आइहाल्छन् केही गर्ने भ्याइन्न ।” सुकेको टालाटुली झिकेर फलैंचाको बारामा झुन्ड्याउँदै भन्छे चम्पाकलीले ।

मस्काएको भाँडा पखाल्दै पुलुक्क एकपटक हेर्छ ऊ चम्पाकलीलाई, कुन्नि किन केही बोलेन यसपटक, मकैबारीमा स्यार्र हावा चल्छ हावा पनि तातै छ बहेको ।

आँगनको छेउमा घाँस खाँदै गरेको बाख्राको पाठो तर्सेर म्याँ….. गर्दै पालीतिर दौडिन्छ, दुवै जनाले उतै हेर्छन् पर्खालबाट कालो सर्प सलल गोठतिर लम्कियो ।

“लौन त्यो सर्प गोठतिर जान लाग्यो धपाउनू, गोठमा छि-यो भने भैसी उफ्रेर चौपट गर्छ ।”

चम्पाकलीको जवाफमा धुलो माटो टिपेर स्यार्र मिल्काउँछ सर्प भएतिर, सर्प छिटो छिटो कुद्दै पस्छ मकै बारीमा ।

आँइ गर्दै गोठको झ्यालबाट भैंसीले बोलाउँछ उसलार्ई ।

“ला कुँडो पानी खुवाउन ढिला भयो ।”

अतालिन्छ उसको मन, भाँडा छिटो छिटो पखाल्न खोज्छ उसै हात लर्वरिन्छ कसो कसो हातबाट काँसको कचौरा ढुङ्गामा बज्रेर दुई टुक्रा भयो । ऊ आत्तिएर हेर्छ चम्पाकली भएतिर । सशङ्कित नजरले चम्पाकलीले पनि उसैलार्ई हेर्छे, रछ्यान ढुङ्गामा दुई टुक्रा भएको काँसको कचौराले नियाल्छ दुबैलार्ई ।

“लौ गर्नु भो नि तपाईंले काम ! कस्तो हेपाइत्व तरिकाबाट गर्नु हुन्छ है ? सामानको ज्यादै लापरबाही, दुर्ईचार दिन आफू भात भान्छाबाट यसो पन्छियो कि यस्तै हुन्छ कुनै न कुनै कुरामा नोक्सान, कसरी चल्छ घरबार यस्तो तरिकाबाट ? हामी भने घरको कामदेखि खेतबारीको काममा समेत निपूर्ण हुनु पर्ने यी लोग्ने मान्छेले भने बाहिरको काम सम्हाल्यो बस पुग्यो ।” फनक्क फन्केर आँगनको सुकुलमा थ्याच्च बस्छे चम्पाकली ।

फुटेको कचौरालाई पर्खालमा राखेर पखालेको भाँडा भित्र लैजान्छ ऊ । च्याँ च्याँ गर्दै कोक्रामा सुताएको बच्चा रून्छ, हतार हतार उठेर कोक्राको बच्चा उठाउँछे र आँगनमै गएर बस्छे थ्याच्च चम्पाकली ।

“यसलाई भोक लागे जस्तो छ । हैन ए हजुर भर्सेलीमा बसालेको दूधको कचौरा झिकेर दूधदानीमा खनाइ लेइदिनुस् त यहाँ छोरो उठेर रून थाल्यो ।”
पिसाबले भिजेको टालो फेरि दिदै बोल्छे ऊ ।

दूधदानीमा आधा जति दूध ल्याएर राखिदिन्छ चम्पाकलीको अगाडि र दौराको फेरमा हात पुछ्दै लाग्छ गोठतिर । बडो स्नेहको थाङ्नामा च्यापेर दूधदानीबाट दूध बच्चाको मुखमा हालिदिन्छे ऊ बच्चाले बडो स्वाद मानेर दूध पिउँछ घुटुक्क घुटुक्क ।

“जदौ होस् साइली नानीको ।, कता राखौँ यो घाँसको भारी ?”

आँगनमा ठिङ्ग उभिन्छे पोक्ची दमिनी ।

“ए पोक्ची तँ, आज भने बडो राम्रो गरिस् तैले, उहाँलाई भ्याई नभ्याई थियो त्यहीँ फलैंचा पछाडि राख्देन, अँ सुन एउटा मुठो फुकाएर बाख्रालाई हाल्दिएस् ल।”

“हैन, नानी दोजिया भएको छेउ छनक देखिएको थिएन, हिजो पो बाबु राजाले न्वारान छ भन्दा तीन छक परेकी थिएँ म, मेरी वास्सै ढिलै भएपनि नानीलाई छोरा भयो, बडो भाग्यमानी हुनुहुँदो रैछ ।”

पोक्चीको उक्साइमा नेपाली कागज पानीले भिज्दा फुलेझैँ हुन्छे चम्पाकली ।

“भो भो पोक्ची धेरै चिल्लो लगाएर नबोल, मलार्ई त्यति फुलाउनु पर्दैन क्या, बरू भोलि परिवारै आएस् यतै, बाबुलार्ई कपडा पनि सिलाउनू अनि खाना पानी खाएर जानू ।”

एकपटक लामो हाइ काड्छे चम्पाकलीले, दूधले पेट भरिएपछि बच्चो काखैमा निदायो लुटुक्क, निदाएको बच्चोलार्ई फूलको थुङ्गा समातेझैँ हलुकासँग उचालेर भुइँको डफल्कामा सुताउँछे र मुखमा घाम नपरोस् भन्दै कपडाले छेकिदिन्छे ।

आज चम्पाकलीको मन अग्लिएको छ हिमालको चुचुरोजस्तै, भरिएको छ उसको काख आकाशको चन्द्रमा धर्तीमा झरेर, कति तिर्खाएकी थिई बिचरी सन्तानको प्यासमा । एउटा नारी पूर्ण नारी बन्न आमा बन्नै पर्छ । बैवाहिक जीवनपछि कुन नारी लालायित नबन्ली आमा बन्नको लागि ?

तर यो सौभाग्य सबैलार्ई पूरा हुँदैन, यो नियतिको उपाधि हो, यसो भनौँ दैवको खटन हो । कसैलार्ई फालाफाल हुन्छ सन्तान, कसैलार्ई रहरै रहर हुन्छ सन्तान । हुन त यो साइन्सको जमाना हो । पत्रपत्रिका र सञ्चारमाध्यमबाट पटक–पटक टेस्टट्युव बेबीको चर्चा नसुनेको पनि होइन चम्पाकलीका जोर्ईपोइले, तर त्यो प्रविधि पैसावालाहरूको लागि मात्र हो । खेती किसान गरेर बिहान बेलुका हातमुख जोर्न धा–धौ पर्नेको लागि आकाशको चन्द्रमा झैँ हो टेस्टट्युव । जुन टाढाबाट देखिन्छ प्राप्त गर्न सकिन्न ।

साँच्चै सन्तान भन्ने चीज नै अचम्मको, धनीलाई मात्र सन्तानको चाह हुनु गरिबलाई नहुनु नि तर मन सबैको कोमल नै हुने त्यसैले पनि होला आफू जति सुकै अभावमा बाँचे पनि सन्तानको चाह हुन्छ मान्छेमा । बिहान र बेलुकाको खजाना जुटाउन हम्मे हम्मे परेपनि सन्तानको सुख प्राप्त गर्नै लालायित बन्ने मन ।

विवाह भएको पन्ध्रवर्ष बितिसक्दा पनि भरिएन चम्पाकलीको काख, बन्न सकिन ऊ आमा, घर बन्छ सुनसान, जीवन रहन्छ अधुरो, सबैको उपहासको पात्र बन्छे ऊ । अपुत्री, बाँझी, पापिनी यस्तै शब्दहरूले रोपिन्छ उसलार्ई । घर परिवार र समाजमा घृणाको उपासना बन्छे ऊ ।

सहरको नाम चलेको अस्पतालदेखि महङ्गो नर्सिङहोममा गएकै हुन उनीहरू, महिनौ दिनको परिश्रमलार्ई दाउमा लगाएर, रगत, दिसा, पिसाब, छातीको एक्सरे र भिडियो एक्सरे गरेका कागजहरू जम्मा पारेर राख्ने हो भने घरै भरिन्थ्यो होला । औषधि पनि साइज, साइजका र रङ्ग रङ्गका खाई चम्पाले तर कुनै छोप लागेन ।

त्यसो त धामी झाँक्रीलाई देखाउनबाट पनि बञ्चित रहेनन् उनीहरू, कहिले उसैको घरमा गएर त कहिले घरमै बोलाएर, कालो बोको, कालो कुखुरा पनि काटे । रातको बाह्रबजे दोबाटोमा मन्छिए । झाँक्रीले पनि लछारपाटो लाएन । सायद सन्तान जस्तो जन्माउन भाग्यमा नै चाँहिदो रहेछ क्यारे र त चम्पाकली लाखौं कोसिस गर्दा पनि आमा बन्न सकिन । मान्छेसँग भए झगडा गरेर, फकाएर, थर्काएर सन्तान माग्न हुन्थ्यो तर ईश्वरसँग यी सबै कुरा गर्न असम्भव ।

आमा बाबुले त छोरालाई दोस्रो विवाह गर्न करकाप पनि लगाएका हुन् तर केही पढे लेखेको उसले चम्पाकलीलाई सौता हाल्न चाहेन । उसले बुझेको छ स्वास्नी मान्छेको कमजोरीले मात्र सन्तान नहुनुको कारण होइन । दोष आफू भित्र पनि हुन सक्छ, खोट आफंैमा हुन सक्छ ।

तर पनि घरमा ताता तुतु गर्ने बालक नहुँदा घर घर जस्तो नहुँदो रैछ । यो उनीहरूले अनुभव गरेका छन् । स्वस्थानीमा शिवभट्ट ब्राम्हण र सती ब्राम्हणीले गार्ईको गोबरबाट गोमा प्राप्त गरेको कथा पढ्दा भावविव्हल बन्थे उनीहरू । तीर्थ ब्रत दान धर्म पनि खुब गरे के नमिलेर काख भरिएन । सबै कुरा दैवको खटन रैछ भन्ने सम्झनुपर्छ मान्छेले । लोग्नेचाहिँले चित्त बुझाए पनि चम्पाकलीको चित्त बुझेको थिएन ।

आज चम्पाकली आमा बनेकी छ प्यासीलाई धारो बनेर आयो त्यो छोरा । जोर्ईपोइको मुखमा खुट्टा छैन, विशेष त चम्पाकलीको । त्यसो त बच्चाको चाहना लोग्नेलार्ई भन्दा स्वास्नीलाई अलि बढी नै हुन्छ । चाहना गर्नमा, रहर पाल्नमा, सपना बुन्नमा र सपना सजाउनमा लोग्नेमान्छे भन्दा स्वास्नी मान्छे अलि बढी महत्वाकाङ्क्षी नै हुन्छन् ।

सानो बाटुलो निधार, लाम्चो नाक, गोरो छाला उसले खुब नियाल्छे छोरालार्ई शिरदेखि पाउसम्म । माया छातीभरि उर्लेर आउँछ सप्तकोसी बनेर निदाइरहेको बच्चालाई चपक्क उठाउँछे र चप्प मोइ खाई छातीमा टाँस्छे । छातीको न्यानो स्पर्शमा बच्चा लठ्ठ परेर निदाउँछ ।

अचम्मै हुन्छ बाबु आमा र छोरा छोरी बीचको माया । रगत जस्तो गाढा, चट्टानभन्दा बलियो, सागरभन्दा गहिरो र हिउ भन्दा पवित्र, हुन त मानिसको जीवन नै के हो र ? सानो छँदा बाबु आमालाई सतायो उनीहरूकै टाउकाको गिदी खेलेर नाच्यो रमायो । जब यौवन अवस्थामा प्रवेश हुन्छ आफू जस्तै जीवनसाथीको खोजी ग¥यो र सन्तानको चाहना ग¥यो, जन्मायो हुर्कायो बस सबै छाडेर जानुपर्ने दिन आइहाल्छ । सरसर्ती हेर्दा छोटो छ जीवन जब कुनै चीजको अभावमा विशेष त सन्तानको अभावमा बाँच्नु परोस् अनि हुन्छ लामो एकदम लामो नाइल नदीजस्तै लामो समय, घण्टा पनि शताब्दीयौं जस्तो पलपल निसासिँदो ।

“चम्पा ! पानी परेर सबै थाङ्ना थरो भिज्दैछ तँ के सोचेर टोलाएकी ? छिटो लैजा बच्चालाई चिसो लाग्ला ?”

लोग्नेको भनाइले यथार्थमा ह्वात्तै खस्छे चम्पाकली । नभन्दै एक पैसे ढ्याक जत्रो ठूला–ठूला थोप्ला पानीले चुट्दै रैछ उसको छोरालाई । ऊ खोकिलामा छोरालाई उठाउँछे र ओच्छ्यानको थाङ्नो च्यापेर भित्र पस्छे । आँगनको घाँसका मुठा गोठभित्र हुत्याउँछ उसको लोग्नेले ।

“अगि नै त्यस्तो घाम चर्कनु त अहिले दर्कनु पो रैछ । सर्प पनि ओरालो नै लागेको थियो नभन्दै पानी ओइरी हाल्यो । कुकुरको झोल चाहिने बेला आएन खेतमा रोपो सुकेर कत्रो जात्रा, आजभोलि भने गाउँ बगाउने गरी दर्किन्छ ।”
अर्ध भिजेको टालाटुली र सुकुल फलैचामा थन्काउँदै फतफताउँछे चम्पाकली ।

“आउँदा आउँदै भसक्कै भिजायो यो पानीले ।”

पिंढीमा उक्लेर कपडाको पानी निचोर्दै बोल्छे सुन्तली । “आज भोलि दिन पनि कस्तो बिग्रियो गाँठे, आज कोदो रोप्ने खेताला थिए पानीले बिथोल्यो, कहिल्यै मेलो पकाउन दिदैन भन्या, प्रकृतिले पनि मान्छेलार्ई कस्तो खेदो गरेको होला ?”
फरियाको ओभानो छेउले कपाल पुछ्दै असन्तुष्टि ओकल्छे सुन्तलीले ।

बलेसीको पानीमा बच्चाको आचीको टालो धुँदै हुन्छे चम्पाकली । “केही फाइदा केही बेफाइदा, यी हेर न मोरी पानी पर्नाले म पधेरोसम्म जानै परेन कलधारो धुरीमै ।” खितिति हाँस्छे ऊ ।

पिंढीको एक छेउमा भैंसीलाई घुसा काट्दै छ उसको लोग्ने, दुर्ईको वार्ता सुनेर पनि प्रतिक्रिया जनाएन । उसको मौनता देख्दा यस्तो लाग्छ उसले केही सुनेकै छैन मानौ ऊ बहिरो हो । यात स्वास्नी मान्छेको वार्तालापमा किन मिसिनु भनेर चुप लाग्यो या उनीहरूले उठाएको प्रसङ्ग पटक्कै चित्त बुझेन, बस यस्तै भएको हुनुपर्छ ऊ मौन बस्नुमा ।

चोटाबाट चामलको बोरा ल्याएर पिंढीमा राख्छ चम्पाको लोग्नेले ।

सुन्तली भित्रबाट नाङ्लो ल्याएर निफन्न थाल्छे चामल पट्यास पट्यास पारेर । चामलको भुस टाउकोमा पर्ला भनेर पटुकाको फेरो बाँध्छे टमक्क । “आज त घिउ चिउरा खाने हो सानदाइ खाजा ।” चम्पातिर हेरेर आँखा झिम्काउँछे सुन्तली ।

बिस्तारै चम्पाकलीको घरमा आफन्त भित्रिने क्रम सुरू भयो, भान्जा–भान्जी, बहिनी–ज्वाइँ, मामा–माइजू आदि इत्यादि । कोहीको हातमा फलफूलको टोकरी त कसैको हातमा मिठाइको प्याकेट प्रशस्त छ । आरीले खन्याएको जस्तो ठूलो पानीको पनि पर्वाह नगरी आफन्त जम्मा हुने क्रमलाई रमाइलो मानेर नियाल्छे चम्पाकलीले ।

गाउँका एकदुई जना पनि काम सघाइदिन आएका छन् । चम्पाकलीकी नन्द ती काम सघाउन आएका छिमेकीलाई चुरोट खानेलार्ई चुरोट, नखानेलार्ई ल्वाङ सुकमेल बाँड्छे, सबैको मुहारमा छाएको रौनकता हेर्दा यस्तो लाग्छ खुसीले पुलकित छन् उनीहरू ।
घरको चहलपहललले निकै रमाइलो वातावरण सृजना गरेको छ, सबैको आँखाको ज्योति बनेको छ चम्पाकलीको छोरो, हेर्नेहरूले पालो पाएका छैनन् । नयाँ मान्छेलार्ई पहिलो पटक नियाल्दा पैसा वा कपडा लिएर मुख हेर्ने चलन पुरानो नै हो त्यही चलन त्यहाँ पनि पालना भएको छ कारण बच्चाको मुठ्ठीभरि नोटको बिटो हुन्छ, उसले के ठानेर मुठ्यायो ? पैसा हो भन्ने चिनेर त पक्कै होइन, आमाको फरियाको छेउ चोलाको तनोझैँ ठानी उसले नफुस्कने गरी समातेको छ नोटलाई ।

धेरै मान्छे धेरै कुरा, सबैको मनमा एउटै सवाल उठ्छ, उठ्नु पर्छ भन्ने पनि छैन फेरि मानिस स्वभावैले जिज्ञासिलो प्राणी हो । त्यहाँ पनि त्यस्तै छ, मान्छे पृथक, विचार फरक, सोचाइ पृथक, तर्क बितर्क उठेका छन् नानाभाँती ।

कोही चम्पाकलीको आँखा र कान छलेर खासखुस कुरा काट्छन् मुख्यतया महिलाहरू, उनीहरूको स्वभावै असंवेदनशील छन् । मनको असन्तुष्टि पक्ष लुकाएर हैन चिच्याएर व्यक्त गर्न उत्सुक देखिन्छन् हो त्यही हुन्छ त्यहाँ पनि असन्तुष्ट पक्षबाट तर त्यहाँ असन्तुष्ट भन्दा सन्तुष्टकै जत्था बढी भएको कारण पनि खासखास खुसखुस बढी चर्किन पाएन । भान्छा चम्पाकलीकी नन्दले समालेर गाई भैंसीको हेरचारमा खुलेर लाग्न पाएको छ उसको लोग्ने, चम्पाकली भने छोरा काखमा मुठ्ठयाएर बस्छे सानसँग । उसलार्ई के कुराको चासो छ र ? कुनाभित्रको सुत्केरी न परी ।

क्षितिजमा रक्तिम किरण पोतेर बिहानी चियाउँछ, धोबिनेको चिरविरसँगै जागे सबैजना, घरधन्दाले च्याँपेर हतास देखिन्छ सबैको मुहार, केही थकित त केही हैरानी । सबैको हातमा कुनै न कुनै काम उठेको छ जुरूक्क, व्यस्तताले गिजोलेकोमा खुसी पनि छन् । त्यसो त एउटा उत्सव, समारोह, शुभकार्य मनमा रमाइलो अनुभूति तरङ्गित हुनु स्वाभाविक पनि हो ।

उता चम्पाकली भने आफ्नो सुसुर मुसुर नुहाउन, कपडा धुनमै व्यस्त छे । ओच्छ्याएको तन्नादेखि ओढेको कम्मलसम्म धोएकी छे चोखो बनाउन । कपडा धोइसकेर सुतेको भुइँ रातो माटो र गोवरले सिलित्त लिप्छे । उता बच्चालाई बाँटामा नुहाइदिइन् जम्दारनी आमाले ।

“यति राम्रो छोरा जन्माउने रै‘छ, किन ढिला गरेकी चम्पा ” खितीती व्यङ्ग्यको हाँसो हाँस्छिन् जम्दारनी आमै ।

चम्पाकलीको अनुहारमा अलिकति नमज्जा लेपिन्छ र अँध्यारो बन्छ मुहार ।

“बूढीलाई किन बोल्नु परेको होला नि बीचमा प्याच्च, मनमा कुरा राख्न नसक्ने कस्ती आइमाई ?”

मनमनै सराप्छे जम्दारनीलाई उसले ।

उपस्थित सबै मुखामुख गर्छन्, बोलिहाल्ने हिम्मत छैन कसैमा । कुराको चुरो त सुन्तलीको पनि मुखैमा आएको हो तर चम्पाकली रिसाउँली भन्ने डरले कुरा चपाउँछे ।

पातलो पानी फिसफिस परिरहेको छ, कुइरो पनि गाउँ ओर्लिन्छ यस्तो लाग्छ चम्पाकलीको घरको रमझम हेर्न आएको हो कि जस्तो भान पर्छ ।

“श्रीओम श्रीओम, ल साइँले ! कुश कता छ झिकेर पूर्णपात्रोमा राखी पानीले भिजाइदेऊ । खै यो होम गर्ने ठाउँमा गोवरले पोतिदिनुपर्ने आइमाई कोही छैन कि कसो भित्र ।” चप्पल फुकाल्दै झ्यालबाट चियाउँछन् पण्डित ।

भित्रबाट सुन्तली हातमा पानीको अम्खरा र गार्ईको गोबर लिएर निस्कन्छे । पण्डितले भनेको ठाउँमा गोेवरले लिपि दिन्छे । पण्डित लिपेको नजिकै सानो खोस्टाको चकटी ओच्छ्याएर बस्छन् । “ल साइले म जे जे भन्छु ती सामान लिएर तँ पनि यही आएर बस् ।” पण्डितले भन्छन् चम्पाको बूढालाई ।

पूजाको सामग्री र होमहोमादि पिंढीमै तयार बनाइयो ।

“हैन न्वारानजस्तो कुरा त घरभित्र गराउनुपर्ने, किन पिंढीमा हो ? यसरी घर शुद्ध कसरी हुन्छ त ? मैले केही बुझिन बा, श्रीओम श्रीओम ।” पिंढीमा गर्ने तयारीप्रति असन्तोष जाहेर गर्छन् पण्डित ।

पण्डितको कुरा भुईमा खस्न नपाउँदै –“काँ बाजे, घरमै बच्चो जन्मेको भए पो मझेरीमा न्वारान गरेर घर चोखो बनाउनु अस्पतालमा जन्मेको बच्चा त्यसैले बाहिरै गर्न थालेको नि ।” यति भन्न पाएकोमा विजयको मुस्कान फिस्स हाँसिन् जम्दारनी आमा ।
पण्डितले कति कुरा बुझे र कति बुझेनन् उनी चुप रहे । मौनताको फाइदा उठाउँदै –“कहाँ गुरू बल्ल बल्ल बुढेसकालमा जन्मेको छोरो, आफन्त साथीभाइ सम्झनै प¥यो, घरभरि पाहुनापाछा छन्, यस अर्थमा पिंढीमा न्वारान गराउन थालेको ।” स्पष्टीकरण दिन्छ चम्पाको लोग्नेले ।

दूधदानीको दूध खुवाउँदै छे चम्पा छोरोलार्ई काखमा सुताएर, उसको मुहार खुल्ला आकाशझैँ नउघ्रिएर बादल लागेर धुम्मेको जस्तोे छ । यसो भनाँै हिजो अस्तिको जस्तो चमक छैन, जो जसले खासखास खुसखुस गरे पनि कालो नीलो बन्छ मुहार अदृश्य पीडाले चिथोरेर ।

दैलामा ठिङ्ग उभिदै भन्छे चम्पाकी माइजू “अहिल्यै देखि भंैसीको दूध खुवाउने हो, बाबुलार्ई त सकेसम्म आफ्नै दूध पो खुवाउनुपर्छ । हैन भान्जी के हो चाला ? आफ्नै दूध चुसाउनुस्् न अहिले नआएर के भो त बिस्तारै बिस्तारै आइहाल्छ नि ।”
चम्पाको हातबाट दूधदानी खोस्छिन् । बच्चो जोडले रून थाल्छ, उता चम्पाले भने सरक्क चोलो खोलेर आफ्नो स्तन चुसाउन पनि सकिन, निलो कालो बन्छ उसको मुहार । उपस्थित सबैले, उक्त दृश्य टिठ मानेर हेर्छन् ।

भान्छामा मिष्ठान्न पाक्दै छ धमाधम । गाउँका मान्छे बाक्लिने क्रम जारी छ निरन्तर । आँगनका एक छेउमा पोक्ची दमिनी बच्चाको डफल्को खुट्दै छे सियोले भने उसको लोग्ने कल चलाएर बच्चालाई दौरा सुरूवाल, भोटो टोपी सिलाउँदै छ ।

वर्षौपछि चहलपहल पाएको घर कताकता के नमिलेकोझैँ खुम्चिएको जस्तो लाग्छ चम्पाकलीलाई, हिजोसम्म उर्लिएको खुसीको लहर आज मान्छेको मुखामुखले बदलिएझैँ लाग्छ उसलार्ई । उसले जस्तो परिवेशको अपेक्षा गरेकी थिई, त्यहाँ बिल्कुल छैन ।
आफ्नो व्यवहारसँग आफै रूष्ट हुन्छे ऊ ।

कुनै दिन लोग्नेले भनेको थियो–“कर्ममा नभएको साइनो जवरजस्ती जोड्न खोज्नु तेरो अतृप्त प्यास मात्र हो, अर्काको बाँच्छो चाट्यो मुखभरि रांै, अरू केही हात लाग्दैन । एकोहोरो मोहमा नडुब बाबै त्यसरी, वर्तमानमा जिउँन सिकाँै भविष्य सबैको अनिश्चित हुन्छ । त्यसलाई सम्झेर किन कमजोर बन्छेस् ?” त्यति खेर संसार जित्न सक्छु भन्ने चाहना थियो उसलार्ई तर सोचाइ व्यावहारिक बनेन ।

पूजाआजाको मध्यावधिमा होम गरेको आगोमा बच्चालाई घुमाउन लाग्दा–
“हैन एघार दिनको बच्चा त होइन, कम्तीमा पनि यो बच्चा डेड दुई महिनाको हुनुपर्छ, कति बच्चाको न्वारान गराएर बूढो भएँ यत्रो बच्चा त कहीँ देखिएन ।” मनको जिज्ञासा पोख्छन् पण्डित बाजेले । उपस्थित जमात स्तब्ध भए यो सवालमा, कोही मुख छोप्छन्, कोही जिब्रो टोक्छन् त कोहीको शिर निहुरिन्छ अनायासै, सबैभन्दा उदास र अँध्यारो हुन्छे चम्पाकली । उसको लोग्ने भने कृत्रिम हाँसो पोत्ने अथक प्रयास गर्छ तर विफल हुन्छ बिचरो ।

आफ्नो जिज्ञासाले वातावरण स्तब्ध भएको सहजै अनुमान गर्दा आफूले खनेको खाल्डो आफैं पुर्ने प्रयत्न गर्छन् पण्डित बाजे वचनैले ।

“हुन त कसैको बच्चा यस्तै खाइलाग्दो हुन्छ पनि ।” कुरा सच्याउन सकेकोमा घुटुक्क थुक निल्छन् ।

यता पूजाआजाको काम अन्त्य अन्त्यमा पुगेपछि उता भान्छा गराउने क्रम सुरू हुन्छ, केटाकेटी आँगनमा टपरी समातेर लोली मिलाइ बस्छन् भोजनको प्रतीक्षामा । केही महिला र केही पुरूषले लिएका छन्, भान्छाको जिम्मा । धमाधम भोजन बाँडिन्छ ।
पिंढीको एकछेउ आफू बसेको ठाउँबाटै “सबैलार्ई राम्रोसँग भोजन गराउनू है कोही नछुटून् ।” आज्ञा दिन्छे चम्पाकली, निदाइरहेको छोरालाई गाजल लगाइदिंदै ।

पण्डितले रातो अक्षेताको टीका र होम गरेको कालो तिलक लगाइदिन्छन् आमा छोरालाई । “थाहा छ चम्पा, तिम्रो छोराको नाम छत्रबहादुर जु¥यो, बोलाउने नाम जे सजिलो लाग्छ त्यही राख्नू ।”

पण्डितको कुरामा मुसुक्क हाँसी चम्पाकली, बच्चालाई नियालेर हेर्दै लामो सास तान्छ उसको लोग्ने थाहा छैन, उसको सोचाइले कुन कुरा सोच्दै छ । इष्टमित्र चेलीबेटीलाई रातो टीका लगाइदिएर पैसाको खाम हातमा राखिदिन्छ ।

थैलीबाट चाँदीको बाला र कल्ली निकालेर निदाएको बच्चालाई लगाई चप्प म्वाँई खान्छे चम्पाकलीकी आमाले । लगाइरहेको भोटो फुकालेर नयाँ दौरा, सुरूवाल र टोपी लगाइदिन्छिन् जम्दारनी आमा । बच्चा झन हेरि राखौं जस्तो देखिन्छ । क्लिक्क पारेर क्यामेराले फोटो लियो चम्पाको भाइले ।

सबैको ओठमा छाएको मुस्कानले वातावरण मगमगाइरहेको स्पष्ट झल्किन्छ । कोही भोजन गर्दैछन्, कोही बच्चालाई पालैपालो काखमा लिन्छन् खोसाखोस गरेर । उसै मख्ख छे चम्पाकली, उसको लोग्ने पनि कम मख्ख छैन मुहारले त्यसै भन्छ ।

जिङ्रिङ्ग कपाल भएकी, मैलो च्यातिएर धुजाधुजा भएको कपडा लगाएकी एक फोहोरी आइमाई देखापर्छे घरको पर्खाल पछाडि । सबै आ–आफ्नो ध्यानमा मस्त भएकोले खासै कसैले पनि वास्ता गरेनन् त्यो आइमाईको । ऊ सरासर अगाडि बढ्छे आँगततर्फ । स–साना बच्चा भाग्छन् डरले ऊ हेर्दा थिई नै त्यस्तै, बौलाइनी । चम्पाकलीको आँखा पर्छ उसैमाथि । ऊ बर्सिन लागेको मेघझैँ कालो नीलो हुन्छे । चिटचिट पसिना आउँछ निधारभरि, एकदुई जनाले लखेट्न खोज्छन् उक्त आइमाई ढुङ्गामुढा गरेर, तर खाना दिन चम्पाकली नै अराउँछे ।

सुन्तलीले टपरी भरि दालभात, तरकारी, अचार राखेर लगिदिन्छे त्यो आइमाईलाई आँगनको एक छेउँमा बसेर खुब नियाल्छे ऊ बच्चालाई, उसको ध्यान भोजनमा पटक्कै छैन । आफ्नो चोलो खोलेर स्तन बाहिर निकाल्छे जहाँबाट तप्पतप्प दूध चुहिरहेको हुन्छ । ऊ आफ्नो स्तन र त्यो बच्चा पालैपालो हेर्छे, रसिला बन्छन् उसका आँखा । उपस्थित सबै मान्छे मध्ये कसैलार्ई थाहा छ त्यो घटना त कसैलार्ई छैन ।

भातको टपरी जुरूक्क उठाएर होम हालेकै आगोमा हुत्याउँछे र अगाडि बढ्छे बिस्तारै । उसका आँखा राताराता हुन्छन् मुखबाट ज्वाला निस्केझैँ सुस्केरा सुनिन्छ बघिनीको जस्तो । चम्पाकलीतिर अगाडि बढेकी उसलार्ई नजिकै पुग्न लाग्दा रोक्छ चम्पाकलीको भाइ । रगत आउने गरी कप्पै टोकिदिन्छे हातमा उसले । चम्पाको भाइ चिच्याएको आवाजले सबैको ध्यान खिच्छ त्यतै ।

सबैको आँखा अगाडिबाट टपक्क टिप्छे बच्चालाई र चुसाउँछे आफ्नो स्तन बच्चो चपचप दूध तानेर घुटुक्क घुटुक्क निल्छ, हेरेको हेरै हुन्छन् उपस्थित सबै, ऊ आफ्नो बाटो लाग्छे । चम्पाकली केही बोल्न आँ गर्छे तर वाक्य फुट्दैन । ऊ आँ गरेको ग¥यैमा बेहोश हुन्छे ।

(स्रोत : “रहस्यमय भोगाइ” कथासङ्ग्रह बाट)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.