कथा : साउदीको सात लाख

~सन्तोष पौड्याल~Santosh Paudyal

ऊ राम्री छे। असाध्यै राम्री। गामठाममा त खाइलाग्दो जिउ। लरक्क परेको कालो लामो कपाल। र, गोरो छाला भएका तरुनीलाई राम्री मान्ने चलन छ।

हिजोआज पश्चिमा भूत चढेकाले बासजस्तो बतासे ज्यान र कैलो न मैलो कपाल पारेर पनि आफूलाई सुन्दरी दाबी गर्छन्। गाउँमा त्यस्तालाई ठडका भनिन्छ।

रुपा असली नेपाली सुन्दरी हुनबाट कतै चुकेकी छैन। र, उसलाई यसप्रति पटक्कै घमन्ड छैन। अरुले ‘तँ राम्री छेस्‘ भन्दा लाजले उसको मोहोडा रातो हुन्छ। बजार गर्न जाँदा नाइसिलको पाउडर र लालीबाहेक उसको मुखमा केही परेको छैन। तर पनि ऊ गाउँमै सबैभन्दा राम्री छे।

पहिले पहिले त उसलाई राम्री भन्दा गिल्याएजस्तो लाग्थ्यो। उसकी आमाले भन्थिन्, ‘फकाउनलाई जे पनि भन्छन् केटाहरू। फुरुक्क पारेर फसाउने छोरा मान्छेको जात नै हो। पत्याएपछि लाग्लिस् र फस्लिस् नि फेरि?’

त्यसैले पनि होला, कसैको कुरामाथि विश्वास लाग्थेन उसलाई। बिहेपछि पनि रुपालाई राम्री छे भनेर चर्चा चल्न छाडेन। गाउँमा तलमाथि गर्दा उसले थुप्रैपटक सुनी- ढडेलीकी बुहारी कस्ती राम्री हो! बिसेले बूढी पाकै हो! अर्काकी स्वास्नी भइसकेकी आइमाईलाई पनि राम्री भन्न नछाडेपछि चाहिँ रुपालाई आफू राम्री भको पत्यार लाग्यो। राम्री नहुँदी हो त बिहेपछि किन राम्री छ भन्दा हुन् गाउलेले? बिहे गरेकी आइमाईलाई कसले फकाउने? कसले फसाउने?

ऊ मुसुमुसु हाँस्छे।

एकटकले हेर्छे। हाँस्दा त झन् राम्री देखिन्छे। सबैले उसैलाई हेरिरहेका छन्।

अरुभन्दा ऊ भिन्न देखिन्छे।

लाममा बसेकाले खासखुस गरे, कस्ती राम्री रैछ। भर्खरकी। उसलाई काठमाडौं लिएर आएका बिसेका भिनाजुले भने, ‘सोरसोरे छ।’

खासखुस जारी रह्यो, ‘अझ सोरसोरे नहुँदी हो त कस्ती देखिन्थी होली। मेकअप मात्र गर्ने हो भने त हिरोनी भन्न मिल्छ।’

***

बिसे साउदी नगएको भए रुपाले केको देख्नु काठमाडौं? बिसे उड्ने बेलामा राजधानी जाने रहर गरेकी थिई उसले। सासूससुराले पटक्कै मानेनन्। ससुराले मुखै फोरेर बिसेलाई गाली गरे, ‘केको घुम्न जान परो? पैसाको मात्र सत्यानास। हातखुट्टा लाकै छस्। ह्याबाट गाडीले लैजान्छ, बाहिर देश पिलेनले। यसलाई फेरि काठमाडौंबाट ह्यासम्म छोड्न को आउने? घरढुकुवा बितरा परी भने?’

बिसे जाने अन्तिम रात रुपा ठुस्स परेर बसी। रुपालाई फकाउन उसलाई ठुलै कसरत गर्नुपरेको थियो। उसले भन्यो, ‘म आउँदा जसरी भए नि तिमीलाई डाकम्ला। म बाहिर गएपछि मनग्गे पैसा कमाउचु। बाको मुखै ताक्नु पर्दैन। अनि कसरी रोक्छन् बाले? रोक्न खोजे पनि तिमी सुटुक्क हिँड्नु। गाडीभाडा म पठाई दिम्ला।’

रुपाको रिस अझै मरेन। बर्षाअघिको बादलजस्तै घुम्म परिरही। उसले सम्झायो, ‘अनि हामी पुरै काठमाडौं घुमम्ला। रानीपोखरी, धराहरा, स्वयम्भु, हनुमानढोका। र, अन्तिममा पशुपतिनाथ। बूढाबूढीले मिठो खाम्ला। मःम, चाउमिन र राति होटेलमा मासुभात।’

रुपा अटेरी बनी, ‘म त नगई छोड्दिनँ।’

बिसे कुटनीतिक बन्यो, ‘तिम्रै करले सात समुन्द्रपारि जाँदैछु। तिमीलाई मेरो माया नि लाग्दैन? जाने बेलामा उज्यालो मुख पारे पो सन्तोक मिल्च।’

‘आउने बेलाँ त जसरी नि जानी हुम्।’

तीन वाक्यमै रुपा पग्लिई। उसले करबल नगर्दी हो त बिसे जाने पनि थिएन। उसलाई त गाउँकै ब्यापार फापेको थियो।

बिसे बाइक मिस्त्री। स्यालबु चोकको बाइक पसल भनेपछि नौ गाउँमा ख्याती। बिहे गरेपछि ग्यारेज वरिपरि केटाहरू झन् घोप्टिन थाले। छिमेकीले त्यसै भन्थे। बाइकले बिसे घेरिदा रुपाचाहिँ काउन्टरभित्र केटाले घेरिन थाली। उसलाई ‘मिस्त्रिनी भाउजू’ ‘सेती साउनी’सम्म भनेको त उसले पचाउँदै आएकी हो। तर बिसेलाई ‘ए मिस्त्री यसो गर, उसो गर’ भनेको मन परेन। हुन पनि बिसे जिउभरि मोबील खन्याएर एकोहोरो बाइकभित्र पसिरहेको हुन्थ्यो। ज्यानको सुसारमा ध्यान नै नदिने। साहू भन्न पनि नसुहाउने।

६ जनाको परिवारलाई हातमुख जोड्न मुस्किल नपरे पनि बिसेको कालोमैलो हातमुखले रुपाको मनलाई मुस्किलमा पारिदियो। साथीका दम्पती सुकिलामुकिला भएर हिँडेको देख्दा उसको मनमा पनि रहर उम्रियो। जोरीपारीका बूढाहरू बाहिर देश गएका थिए। राम्रा कपडा लाउथे। मुख रसले भरिएको थियो। बिदेसका गफ दिन्थे। बूढाले पठाएको पैसाले साथी हर हप्ता बजार डुल्थे। मेला जान्थे। हिउँदभरि प्रदर्शनी जान्थे। मस्ती गर्थे। उसले सपना देखीः बिसे पनि विदेश गएर आयो भने त उसको पनि रुप फेरिन्छ। पैसा नि कमाउँछ। अनि आफ्नो जोडी साथीसंगीमै सबैभन्दा राम्रो देखिन्छ। आफूमात्र राम्री भएर पुगेन उसलाई। पतिलाई पनि सिगार्ने रहर जाग्यो।

उसले कचकच गर्न थाली, ‘यो कालो काम छाडेर अरु सुग्घर काम खोज बूढा। सफा भएर पनि त पैसा कमाउन सकिन्च। कति जोतिन्चौ यो मैलो काममा। कमाएर पनि जोगिएको होइन।’
सुरुसुरुमा बिसेले मानेन।

दिनहुँ रोतरोत गर्न थालेपछि बिसेले सोध्यो, ‘हुँदाछँदाको आफ्नो काम छाडेर के गर्ने त?’
रुपाले भनी, ‘बिदेश जानी।’

‘ह्या, जान्न म बिदेश। बाहिर जानेले कति कमाएका छन् र? ग्यारेजबाट खानबस्न मनमन्ती छ।’
‘खाएर मात्र भो? केही आटम् भने बाको मुख नताकी हुने होइन। कतिन्जेल चल्च जिन्दकी यसरी?’ रुपाले अड्डी कसी। त्यही हुटहुटिले अन्तत बिसेलाई साउदी पुर्यायो।

***
‘पैसो लिने व्यवस्था मिलाएँ। सबै कागत मिलाएर बुहारीलाई पठाइदिनू,’ बिसेका बाहुन दाइले फोन गरे।
‘काँको बुहारीलाई पठाउने कुरो गर्चौं हो भान्जा? त्यत्रो पैसा। लरक्क कि छे, सबैको आँखामा बस्लीजस्ती। पैसा लिएर उतैबाट हिंडी भने? अनि तिमीलाई थाहै छ नि, दिमागको उतिसारो सोर पनि छैन।’ बिसेका बा जङ्गिए।

‘ऊ नभई मिल्दैन। तिनी कुरा तपाईं आफैं जान्नु।’
बाहुन दाइले बिट मारे।
घरबूढाले ज्वाइँलाई डाकेर कुरा राखे, ‘बुहारीलाई पैसो लिन पठाऊ भन्ते भान्जा। क्यार्नी होला?’
‘हामी जाम्ला नि। त्यसलाई किन पठाउनु?’ बिसेका भिनाजुले सल्लाह दिए।
‘उ नभै पाइन्न रे।’

बिसेका बाले भने। उनले वाक्य बढाए, ‘बरु त्यसलाई लेर तपाईं जानु पर्ला। त्यही भन्न डाकेको।’ ज्वाइँ राजी भए। रुपालाई लिएर पैसा लिन काठमाडौं आए।
रुपाको पालो आयो। कर्मचारीले कागत प्रमाणित भएपछि चेक दिँदै सोधे, ‘कति बर्षकी भयौ?’
‘२२ वर्ष।’

‘ल यो पाँच लाखको राम्ररी जतन गर्नु। फुर्मास नगर्नु। बाँकी दुई लाख यो अपिसमा पाइन्छ।’ कर्मचारीले कुनै एक कार्यालयको नाम र ठेगाना भएको कागत दिँदै भने।
‘हुन्च।’ रुपाले भनी।

उनीहरू बाहिर निस्किए। रुपा गोसाईको पछि लाग्ने बाख्राको पाठो झँै लुरुलुरु भिनाजुको पद पछ्याई।

***
बिसेलाई बिदाइ गर्न कोही काठमाडौं आएन। ऊ घर नजिकको मोटर बाटोबाट बिदाबारी भयो। जाँदा एक्लै घरबाट निस्केको बिसेलाई फर्कँदा भने धेरैजना लिन एयरपोर्ट आइपुगे। घरका सबै। दुईचार छिमेकी पनि। रुपालाई काठमाडौं घुमाउने कसम खाएको थियो उसले। ऊसँगै भुकम्प पनि आउँला भन्ने कसले चिताएको थियो र? मान्छेको त के कुरा? स्वयम् भगवान पनि हारेको थियो। मन्दिर, मस्जिद, मकान सबै मरुभूमिजस्ता देखिन्थे। धरहरा, स्वयम्भु, हनुमानढोका केही थिएनन्। बैशाख १२ को प्रलयले काठमाडौं चिहान बन्यो। भग्नावशेषबाट लासका गन्ध आउँथे।

एयरपोर्टभित्र सबैलाई छिर्न पुलिसले दिएन। रुपा बाहिरै बसी। भित्र गएका चार जवान बाहिर निस्के। गेटनेर जिप रोके। बाहिर कुरी बसेका फटाफट जिपभित्र पसे। रुपालाई अगाडि ड्राइभरको छेउमा राखियो। उनीहरू पहिला पशुपति पो ओर्ले। हुन त बिसेले पशुपति अन्तिममा दर्शन गरेर घर फर्कने बाचा गरेको थियो। त्यस्तो भएन। सम्साँझको झिसमिसेमा मान्छेहरू वारवार्ती कुदिरहे। रुपाले बिसेलाई भिडमा खोजिरही। कतै भेटिन। बागमतीछेउमा पुग्दा रुपाले ठुलो बाकस देखी। त्यस्तो बाक्सा उसले पहिले देखिकी थिइन। जानेबेलामा दुईवटा साना बाक्सा बोकेको थियो उसले। उसलाई साना बाक्सा मन नपर्ने। बजारमा एउटै ठुलो किन्न खोजेको थियो। रुपाले भनी, ‘एउटा ठुलो भन्दा बरु दुईवटा साना ठीक। अर्काको ठामको के भर? एउटा कतै छुटो या हरायो भने अर्कोको समानले खाँचो टार्न सकिन्च।’

उसले कुरा मान्यो। रुपाले दुबै बाक्सामा बराबर बाँडर सामान राखिदिई। तर फर्कंदा बडेमानको लाम्चो बाक्सा लिएर आएछ बिसे। फोनमा मिठो कुरा गथ्र्यो बिसे। रुपा सोध्थी, ‘के खाएर यस्ता कुरा गर्न सिक्चन् बाइर देस गकाहरू?’

बिसेले भन्थ्यो, ‘खजुर। तिमीलाई पनि ल्याइदिम्ला। अनि मजस्तै मिठो कुरा गरौली।’
‘तिमी फर्केपछि नि? कोसँग गर्नु मिठा कुरा?’
‘फोटो खिच्न मिल्ने नयाँ मोबाइल नि ल्याइदिम्ला नि’ ऊ भन्थ्यो।
रुपा नजिक पुगी। एउटाले बाकसको ढक्कन उघार्यो। बाकस भुसले भरिएको थियो। मोबाइल, खजुर, राम्रा कपडा केही थिएनन्। भुस सकेर भुसमुनिको पातलो कपडा पनि फाले केटाहरूले। रुपाले बल्ल बिसेलाई देखी।

बिसे बाक्साभित्र सुतिरहेको थियो। ऊ अलमल परी। बाक्सा बोकेर परदेश गएको उसको लोग्नेलाई बाक्साले बोकेर स्वदेश फर्काएको थियो। उसको शरीर ठुटोजस्तो कालो देखिन्थ्यो। पिरो न पिरो खारले आँखा पोल्थे। उसले बिसेलाई छोई। बिसे चलेन। काउकुती लगाई। बिसे हाँस्दैन।

भुइँचालोले पशुपति क्षेत्र पनि भत्काएको हुँदो हो त कहाँ पोल्नु मान्छेहरू? रुपालाई पराकम्पन गएजस्तो लाग्यो। ऊ कहालिई। रोई। कराई।
बिसे बोल्दैन।

पशुपति आर्यघाटमा उसको सतगत गरियो। उता बिसेको लासबाट खरानी उड्दा यता रुपाको दिमागबाट सुद्धि उडिसकेको थियो। उसलाई मलामीले सोरसोरे भन्न थालिसकेका थिए। रुपाको बाँकी जीवन उसको छालाको रङजस्तो गोरो हुनेछैन। उसलाई अँध्यारोमा एक्लै लामो यात्रा गर्नुपर्नेछ।

***
काजकिरिया सकिएपछि साउदीको सात लाख बुझ्न दोस्रो पटक काठमाडौं आएकी हो ऊ। धरहरा ढलेको काठमाडौं आउन उसलाई कुनै रहर थिएन। न त परिवारले उसलाई पठाउन चाहेका थिए। बिसेको पासपोर्टमा भएको दुई शब्दले फेरि उसलाई आर्यघाट्को आँगन कुच्न बाध्य पारिदियो। बिसेकी ’निकटतम ब्यक्ति’को हैसियतमा उसले इन्सुरेन्सबाट पाँच लाख र रोजगार प्रबर्धन महाशाखाबाट दुई लाखको चेक बुझी।
भिनाजुले मागे।
आज्ञाकारी बालक झैं सात लाखको चेक भिनाजुको थैलीमा हालिदिई। भिनाजु लमकलमक अगाडि बढे। रुपाले पछ्याइरही।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७२

(स्रोत : Setopati)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.