~सुरञ्जन घिमिरे~
प्रविन भनिरहन्थ्यो–‘तँलाई भावनाले मन पराउँदिन । मलाई पनि यस कुरामा खास आश थिएन । लाग्दैन पनि थ्यो, प्रविनलाई देखाउन मात्र भावनाले मलाई मन पराई दिओस् । अनि म चाँहि प्रविनका अघि यो कुरा प्रमाणित गर्न चाहन्थें कि भावनाले मलाई मन पराउँछे । मेरो मनमनैको यस्तो संकल्प व्यवहारको कुनै उपल्लो चुचुरोतिर बास बस्थ्यो । म भावनाका अगाडि मुख फोर्न सक्दिनँ थिएँ । यद्यपि, उसलाई मन पराउँथे । एक दिन मलाई कक्षाकै कोही साथीले फुक्र्याउँदै भन्यो–‘फागुन २ गते प्रेम दिवस हो, आई लभ यू भन्दै भावनालाई गुलाफको फूल दे ।’
मलाई पनि यो सुझाव अनुकरणीय लाग्यो । कक्षामा सरहरुले एउटै कुरा तीन–चार दिनसम्म सिकाइरहँदा पनि म छर्लङ्ग बुझ्दिनथें तर साथीको यो सुझाव भने एकैचोटीमा प्रष्ट बुझें । लाग्यो–प्रेमको सर्वव्यापी परिभाषा बुझ्न देउताले सबै मान्छेलाई एक÷एक वटा प्रेमिल ह्दय दिएका हुन्छन् क्यार !
प्रेम दिवस अर्थात प्रेमि–प्रेमिका आपसमा ‘म तिमीलाई मन पराउँछु’ भन्दै गूलाफको फूल दिने दिन । आत्मियता साटासाट गर्ने दिन । अनि मलाई भावनाले मन पराउँछे भन्ने सबुत प्रमाण प्रविनलाई देखाउने दिन । म त्यो प्रेमिल दिनको ब्यग्र प्रतिक्षामा दिन र रातका लामा–लामा पलहरु छटपट्टिमा बिताउन थालें । कुनै कार्यक्रममा आफ्नो परिचय राख्ने पालो आए जस्तै गरी अलिकति डर र खुशी बोकेर अन्ततः त्यो दिन आयो । बिहान स्कुल जानुभन्दा अघि फूलबारीबाट एउटा रातो गुलाफको फूल टिपें । स्कुल पुग्दासम्ममा कतै त्यो ओइलाएर बिटुलो जस्तो देखियो भने ? यसको प्राकृतिक सुन्दरता र ताजापन बिग्रिएर बासी जस्तो देखियो भने ? भावनाले पक्कै पनि त्यस्तो फूल स्विकार्ने छैन । अनि त के अर्थ र यो फूलबारीको, यो फूलको अनि समग्रमा मेरै पनि !
भावनाबाट एउटा सानो भूलले गर्दा अस्विकार हुनु पर्दाको चोट थेग्ने सामथ्र्य ममा थिएन । यस्तै सोच्दै मैले सर्टको एउटा टाँक खोलें र गुलाफको फूल सरक्क सर्टभित्र घुसारें । पुक्क उठेको त्यो भाग किताब, कापीले छोप्दै सर्तक हुँदै स्कूल गएँ । प्रार्थना समयमा मेरो भुँडी अघिल्तिर फूलले बनाएको अस्वभाविक आकृतितिर सबैको ध्यानाकृष्ट होला भन्ने डरले त्यो बिहान लाइनमा गइनँ । मैले स्कूल गएदेखिकै एउटा अभ्यस्त नियम तोडें ।
थाहा थिएन प्रेम गराईका अरु खुड्किला पार गर्दै जाँदा यस्ता कति नियमहरु तोडिने हुन् । यस्तै कुरा सोच्दै मध्यरातको शून्यतामा शान्त भएको राजमार्ग जस्तै सुनसान कक्षा कोठामा म एक्लै बसिरहें । मुटु अनौठोसँग धड्किरहेको थियो । केहीबेरमा प्रार्थनाबाट साथीहरु कक्षा कोठामा आए । लगत्तै गुरु÷गुरुमा रुटिन अनुसार कक्षामा आउनु भो । पढाउनु भो । जानु भो । चौंथो घण्टीपछि टिफिनमा सबै साथीहरु कक्षाबाट निस्किए । म निस्किनँ । सायद मेरो आजको योजना भावनालाई पनि थाहा थियो क्यार, त्यसैले ऊ पनि बाहिर निस्किन । ऊ कापीमा केही लेखिरहे जस्ती देखिन्थी । ऊ पढ्नमा यति ध्यान दिईरहेकी थिई उसलाई मतिर हेर्न फूर्सदै थिएन । आफ्नो यत्तिका सहासिक कार्यहरुलाई भावनाको मप्रतिको यस्तो व्यवहारले नारीको कोमलताका अगाडि पुरुषार्थको जत्रोसुकै घमण्ड पनि मूल्यहिन हुने रहेछ भन्ने आत्मज्ञानको बोध गराई दियो । सर्टभित्र घुसारिरहेको गूलाफ अब मलाई च्यतचुत पारेर फ्याँक्न मन लाग्यो । फेरि मनले मानेन । सर्ट बाहिरैबाट फूललाई हलुका गरी छोएँ । जीवितै छ जस्तो लाग्यो । त्यसको मधुरो बास्ना बारम्बार नाकसम्म आईरहन्थ्यो । लाग्यो– माया मार्नु हँुदैन ।
पाँचौ घण्टी बज्न केही मिनेट मात्र बाँकी थियो । मुटुको गति कम भएकै थिएन । एउटा ठूलै सहास बटुलेर म जुरुक्क उठें र भावना बसेको बेञ्चतिर लागें । तर उसले भने किताबबाट ध्यान नै हटाइन । उसका छेउमा उभिराख्न मलाई डर लाग्यो । यत्तिको डर त हेडसरको सिर्कनासँग पनि लागेको थिएन । ‘भावना’ सर्टबाट गुलाफको फूल निकाल्दै लजाउँदै÷डराउँदै मैले भनें । ऊ त यसै पनि कक्षामा जान्ने विद्यार्थी ऊ डराउने÷लजाउने कुरै थिएन । तर अपवाद त्यो दिन ऊ पुरै लजाई ।
मतिर फर्किदा पनि फर्किन उसले–‘ह्युम््’ मात्र भनी । उसको आवाजले मुटुको कम्पन झन बढ्यो । गुलाफको फूल ऊतिर बढाउँदै मैँले भने‘आइ लभ यू भावना, म तिमीलाई मन पराउँछु’ खुशी हुँदै उसले फूल लिई र, सम्भवतः मन्द हाँसो हाँसी । म त्यहीं उभिरहें । उसले किताबबाट आँखा हटाउन सकिनँ । एकछिन पुरै सन्नटा छायो । हाम्रो कक्षा यत्ति शान्त त कहिल्यै पनि भएको थिएन । प्रेमका नाममा वितण्डा मच्चिएका घटनाहरु धेरै सुनेको थें । तर, संसारलाई शान्त पार्ने शक्ति पनि प्रेममा हुँदोरहेछ भन्ने लाग्यो ।
‘आई लभ यू टु दिव्य, म पनि तिमीलाई मन पराउँछु’ मधुर स्वरमा उसले भनी । मेरो मुटु शान्त र हलुका भयो । अनि अलिकति शित्तलताको महसुस पनि । मैले मनमनै संकल्प गरें–भावना तिमीसँगको यो नाता जूनी–जूनीसम्म रहिरहने छ ।
(स्रोत : इलाम पोस्ट अन्लाइन)