~कृष्ण अविरल~
बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’
‘जरुरी केही थियो कि ?’
‘म बाँच्न नसक्ने भएँ सरोजले आज.. ‘एक्कैचोटी भक्कानिएको आवाज आयो । फोन राख्नासाथ ट्याक्सी लिएर हतारहतार दौडिएँ उनको निवास एकान्तकुनातिर । मनभरि त्रास उम्लिरह्यो । पुग्नुभन्दा अगावै सुसाइड गर्ने हुन् कि ? भनेर अत्तालिएँ । किनकि उनको संघर्षूपूर्ण जीवन र लोग्नेसँगको कटुसम्बन्धको बारेमा पहिल्यै केही कुरा थाहा थियो । म पुग्दा उनको फ्ल्याटको मूल ढोका बन्द थियो । बेल बजाएँ । निकैबेर कुरेँ, ढोका खुल्ने लक्षण देखिएन । मन झनै भुटभुटियो । कतै आत्महत्या गरिसकेको त होइन ? अँध्यारोले झ्वाप्पै छोप्यो । त्यसपछि ढोका ढक्ढक्याएँ । अहँ खुलेन । फेरि जोडले ढक्ककाएँ । बोलाएँ– ‘सुनिताजी ? सुनिताजी ? सुनिताजी ?’ आवाज हावामा तरंगित हुँदै कता बिलायो ।
आवाज सुनेर छिमेकीहरुले मतिर नजर हुत्याए । ती सबलाई बेवास्ता गर्दै म एकोहोरो ढोका ढक्ढक्याइरहेँ । तर यो प्रयास पनि काम लागेन । सहयोगको लागि घरबेटीलाई बोलाउन खोजेँ । मूलढोकामा ताला झुण्डिएकोले त्यो प्रयास पनि काम लागेन । अब भने उनले आत्महत्या गरेकै निष्कर्षमा पुगेँ । पुलिसलाई बोलाउनका लागि १०० मा फोन डायल गरें तर त्यति सजिलै नेटवर्क किन उपलब्ध हुन्थ्यो ? अन्तिम प्रयास स्वरुप उनको मोवाइलमा फोन गरेँ । फोन उठेन । अब भने म पूरै अतालिएँ । के गर्ने के नगर्ने सोच्नै सकिन । त्यसैबेला अचानक घरक्क गरेर ढोका खुल्यो । हेरे उनका आँखा पाकेका गोलभेडाजस्ता थिए । निकैबेरदेखि रोएको प्रष्ट थियो ।
उनले आफैँ भनिन्, ‘म वाथरुममा भएकोले ढोका खोल्न ढिलो भो, सरी ।’ उनको भनाइ पत्याएजस्तो गरेँ । तर मनले मानेन । पुलिसको छड्के शैली अनुशरण गर्दै पिसाब फेर्ने बहाना बनाएर वाथरुम पसेँ । तर आशंकालाई पुष्टि गर्न कुनै वस्तु फेला परेनन् । शौचालयबाट निस्कँदै गर्दा उनले आफैं कुरा सुरु गरिन् ‘कृष्णजी, सरोजका बारेमा मैले यसअघि पनि तपाईंलाई भनेकी थिएँ । तपाईंको सल्लाहअनुसार सम्झौता गर्दै आएँ । अब त अति भयो, म सरोजसँग जिन्दगी काट्न नसक्ने भएँ । त्यही भएर सल्लाह गर्न तपाईंलाई डाकेकी ।’ ‘किन के भयो ?’
‘लोग्ने भएपछि स्वास्नी छोरोछोरीप्रति निर्वाह गर्नुपर्ने दायित्व हुन्छ नि, उसले त्यो कहिल्यै पूरा गर्न चाहेन । उसलाई समेत मैले नै खर्च दिनुपर्छ । त्यो पनि राम्रो काममा खर्च गरे त हुन्थ्यो नि ? उल्टै रण्डीबाजीमा खर्च गर्छ । धेरै रोएपछि नाकको सिंगान पनि पातलिन मन पराउँदो रहेछ, चर्को घाममा हिमालको हिउँजस्तै ।’ अविराम बगिरहेको सिगान पुछ्दै उनले भनिन् ‘यसरी कति दिन जिन्दगी चल्न सक्छ, भन्नुस् त ?’
‘आज चाहिँ के भो ?’ म कारण पहिल्याएर समाधान खोज्न चाहन्थेँ ।’ उसले केही काम नगरेपछि व्यापार गरोस् भनेर डेढ लाख रुपैयाँ ऋण सापटी खोजेर ग्यास पसल खोलिदिएकी थिएँ । डेढ वर्षअघिसम्म पसल राम्रैसँग चल्दै थियो । तर पसलमा कहिल्यै नबस्ने । पसलमा अलिकति पैसा भयो कि केटीसँग घुम्न गइहाल्ने । त्यो पनि अरुसँग हो र ? मेरै साथीको छोरीसँग । एकदुई पटक राम्रैसँग सम्झाएँ तर हरेक पटक ‘हुँदै होइन’ भनेर साधुबिरालोजस्तो हुने । अति भएपछि मैले पसल बेच्ने निर्णय गरेँ । तर मैले पैसा हात पार्छ भनेर हतारहतार उसैले बेच्यो । पैसा खोई ? भन्दा तीन महिनापछि दिन्छु भनेको छ भनेर टार्छ । होला भनेर मैले पनि पत्याएँ । तीन महिनापछि फेरि पैसाको बारेमा सोधखोज गरेँ । किनकि मैले लिएको ऋणको ब्याज बढिरहेको थियो । चार पाँच छ महिना बित्यो । सधैँ उसले मलाई झुक्याइरह्यो । मैले पत्याइरहेँ । किनकि मलाई पसल किन्ने मान्छेसँग भेट्ने फुर्सद पनि थिएन । हिजो संयोगवश त्यो पसल किन्ने मान्छेसँग भेट भयो । ऊसँग पैसाको कुरा गरेँ । उसले भनेपछि पो सरोजले उहिल्यै पैसा मासिसकेको थाहा पाएँ । उसले मसँग झूटो कुरा गरेकोमा असाध्यै रिस उठ्यो । त्यसैले मैले किन झूटो बोलेको ? भनेर रिसाएँ । तर उसले जग्गामा लगानी गरेको छु भनेर टा¥यो । मैले त्यो जग्गा देखाउन भनेँ । तर उसले झर्केर ‘१५ दिनभित्र तिम्रो पैसा दिए भएन ?’ भन्यो । त्यही निहुँमा बबन्डर भयो । कतिन्जेल सहने यस्तो झूठ ? त्यसैले मैले उसँग बस्न नसक्ने निर्णय गरेँ ।’ उनले बेलिविस्तार लगाइन् ।
‘१५ दिनपछि पैसा दिनु होला नि त’ मैले समन्वयकारी भूमिका निर्वाह गर्न खोजेँ । भनेँ, ‘त्यतिन्जेलसम्म धैर्य गर्नोस् न ।’ उसका लागि पैसा भनेको कुकुरलाई मासु पैचो दिएजस्तै हो । यस्तो भाका त उसले यस अघि पनि कति पटक राखिसक्यो कति ? आठ वर्षको वैवाहिक जीवनमा उसले आफ्नो कमाई भनेर १ रुपैयाँ मेरो हातमा राखिदिएको छैन । बरु उल्टै अढाई–तीन लाख सिध्याइदियो पटकपटक गरेर । जसले लोग्ने हुनुको महत्व दिँदैन, छोराछोरीलाई माया दिँदैन, सधैं मानसिक बोझ मात्रै बन्छ भने ओछ्यानको साथी मात्रै हुनेलाई के लोग्ने मान्नु ?’ उनले कारणसहित आफ्ना लोग्नेका कमजोरी मेरा सामू पस्किइन् । अब भने मेरो पुरुषत्व समेत डगमगायो । त्यसैबेला उनकी एउटी साथी आइपुगिन् । तिनीसँग पनि उनले त्यही निर्णय सुनाइन् । सँगै बस्नै नसक्ने अवस्था हो भने अलग्गै हुनुको विकल्प छैन तर सकिन्छ भने अझै पनि समझदारी गर्न राम्रो । साथीको नाताले हामी दुवैले सल्लाह दियौं । तर उनले समझदारी गर्दागर्दा हार खाइसकेको बताइन् ।
‘मलाई थाहा छ, सरोजलाई पनि छाडेर म एक्लै बस्ने हो भने समाजले मलाई नै दोषी देख्छ । मेरो कुरा काट्छ । तर कुरा काटे काटोस् । अब म एक्लै बाँच्छु । यस्तो नामर्द लोग्ने हुनुभन्दा नहुनु नै बेस ।’ उनले लोग्ने छोडेपछिका दिनका बारेमा समेत सोचिसकेकी रहिछन् । ‘त्यसो भए किन ढिलो गर्ने ? आजैदेखि अलग हुने’ हामीले निर्णय दियौँ । ‘त्यही अलग हुन त गाह्रो भयो नि ।’ उनले समस्याको गाँठो फुकाउँदै भनिन्– ‘मैले छोड्न चाहेर पनि छोड्न मान्दैन । तिमीले छोडेपछि यो उमेरमा म कहाँ जाउँ भनेर रुन्छ । यो मान्छे त मेरो लागि जीउमा टाँसिएको बर्खे जुकाजस्तै भएको छ । ‘के यस्तो लोग्नेमान्छे पनि हुन्छ ?’ म भित्रको पुरुषत्वले मैलाई प्रश्न ग¥यो । आफैँभित्र अलमल्लमा परे ।
उनी फेरि भन्न थालिन् ‘मैले यसअघि पनि थुप्रै पटक उसलाई छोडेर अलग्गै बस्ने प्रयास गरेँ । तर अहँ कहिल्यै सकिन । घोक्याएर निकाल्दा समेत फर्केर आएपछि के गर्ने ?‘स्रोता गण बनेका उनको साथी र म निरुत्तर भयौँ ।
उनीसँगको मेरो मित्रता त्यति पुरानो होइन । त्यही ३ वर्ष अघिदेखिको हो । यद्यपि म उनलाई ८–१० वर्ष पहिलेदेखि नै चिन्थे एक कुशल रेडियो प्रस्तोता र कलाकारका रुपमा । केही वर्षयता सञ्चारकर्ममा लागेपछि मेरो सामान्य हाइ हेलो सुरु भएको थियो । भेट हुँदा औपचारिक शिष्टाचार हुन्थ्यो । गत वर्ष मेरो पुस्तक निस्केपछि उनमा के प्रभाव प¥यो कुन्नि ? भेट हुँदा आत्मीय व्यवहार गर्न थालिन् । म रहस्यको खोजमै थिएँ । एकदिन अचानक उनले गफगाफका लागि बोलाइन् । खुसी हुँदै तोकिएको स्थानमा पुगेँ । रेष्टुराँको एउटा कुनामा बसेर उनले आफ्नो सबै जीवन कहानी बताइन्, निर्धक्क भएर ।
पूर्वी पहाडी जिल्लाको कट्टर नेवार परिवारमा हुर्केको । स्कूल पढ्दै गर्दा १४ वर्षकै उमेरमा प्रेम विवाह गरी भागेर काठमाडौँ आएको । २ वटा छोराछोरी जन्मेको । लोग्ने भनाउँदोको प्रताडना खप्न नसकेर अलग हुने निर्णय गर्नु परेको । एक्लै बसेपछि पुरुष साथीहरुको गिद्देनजर अनि जागीर खोज्न जाँदा भोग्नु परेका मानसिक प्रताडना आदि ।
‘मलाई त्यसबेला पुरुषहरु देख्नासाथ घृणा लागेर आउँथ्यो । यद्यपि म आफैँ पनि पुरुषहरुकै अणुको अंश थिएँ । तर आफ्नो सम्पर्कमा आएका प्रत्येक पुरुषका स्वार्थी व्यवहारले म वाक्क अइसकेकी थिएँ । भन्दै गइन् ‘यस्तै बेला अचानक सरोजसँग मेरो भेट भयो । ऊ पनि मेरो लागि अरुभन्दा भिन्न थिएन । तर म जब म विरामी भएर अस्पताल पुगेँ त्यसबेला ऊ मेरो हेरचार गर्न आयो । उसको प्रस्ताव सामू म पग्लिहाले तातोका छेउमा परेको नौनीजस्तो भएर ।
‘एक्लै बस्दा छिमेकीले लगाएका लान्छना र पुरुष साथीहरुको केही अपेक्षा गर्ने व्यवहारका कारण सायद म भित्रभित्रै कुनै पुरुषको सहारा चाहिन्छ भन्ने निष्कर्षमा पुगेकी थिएँ हुँला । त्यो कमजोरीको फाइदा सरोजले उठायो । मेरा छोराछोरी छन् भन्ने उसलाई थाहा थियो । ऊ आफंैले छोराछोरीलाई बाबुले जस्तै माया दिने वाचा ग¥यो । छोराछोरीका लागि बाबुको मायाको अभाव खड्किरहेका बेला कुनै पुरुष आएर त्यो अभाव पूरा गर्छ भन्छ भने एउटी आमाको मन पग्लिहाल्दोरहेछ ।
‘बेल्दाबोल्दै उनी रोकिइन् र रेष्टुराँको ढोकातिर नजर हुल्याइन् । मैले पनि त्यतै हेरेँ । एउटा पुरुष हामीलाई हेर्दै सरसर आयो र छेउको खाली कुर्सीमा बस्यो । उसिनेको आलुजस्तो रक्तहीन अनुहार भएको पुरुष । ‘उहाँ मेरो श्रीमान सरोज’ उनले परिचय गराइन् । मैले पनि आफ्नो परिचय दिएँ । हामीले हात मिलायौ औपचाकिताका लागि । ‘हामीलाई एकछिन समय लाग्छ होला ।’ उनले श्रीमानलाई चाँडो बिदा हुन संकेत दिइन् । नभन्दै उनी ‘चाँडो घर आऊ है’ भन्दै निस्के । ‘मान्छे त निकै भलाद्मी देखिनुहुन्छ’ अघि छुटेको कुराकानीको सिलसिला जोड्ने क्रममा भनेँ ।
‘तपाईको अगाडि चिप्लो घसेर के गर्ने ? बेहोराले पो गर्छ त’ उनको अनुहार एक्कासी मेल खाएजस्तै भयो । उनको कुराको निरन्तरता फेरि चालु भयो ‘बिहेपछि लोग्ने मैले सोचेको जस्तो भइदिएन । पहिलो त उसको घरबाट ठाडो तिरस्कार व्यहोर्न प¥यो । झ्याइँझ्याइँ बाजा बजाएर कुल घरानकी छोरी भित्र्याउँला भन्ने सोचिरहेका वाबुआमालाई छोराले लोग्ने छोडेर बसेकी दुई छोराछोरीकी आमालाई भित्र्याउँदा ठेस लाग्नु स्वाभाविक हो । त्यसैले हामीले सुरुदेखि नै अलग्गै बस्ने निर्णय ग¥यौँ । उसको जागिर व्यवहार केही थिएन खाने मुख तीनबाट चार भएका थियौं । त्यसैले मैले दिनरात नभनी खटेर काम गर्न थालेँ । मैले धेरै पढ्न त सकेकी थिइन् तर आत्मविश्वासका कारण राम्रो राम्रो अवसर पाउँदै गएँ । क्षमताका कारण मानिसहरुले पत्याउँदै गएँ । लोग्ने छोडेर एक्लै बस्दा यौन तिर्खा देखाउनेहरुले समेत सम्मानको व्यवहार गर्न थाले ।
कुनै पनि स्वास्नीमान्छेले चाहन्छे आफ्नो लोग्नेले केही इलम गरोस्, अरु केही नभए पनि महिनामा २–४ सय कमाएर देओस् । साथीहरुले तेरो लोग्ने के गर्छ ? भन्दा यस्तो गर्छ भन्न पाइयोस् । तर अहँ, उसले मेरो भावनालाई बुझ्ने प्रयास नै गरेन । कमाएर नल्याए पनि केही थिएन, समाजका अगाडि लोग्नेको छाता दिएको थियो । तर मेरो लागि पति भए पनि ऊ मैले जन्माएका छोरोछोरीका लागि बाबु हुन सकेन । सानोसानो निहुँमा झम्टिने, कुट्न खोज्ने । ‘तिम्रो छोराले यस्तो ग¥यो भन्ने । छोराछोरीप्रति अपनत्व मायाभाव दिनै नसक्ने । आखिर मैले उसलाई लोग्ने मान्नुका पछाडि छोराछोरीले बाबुको अभाव मेट्न पाउँछन् भन्ने पनि त हो नि । जब त्यही कुरा पूरा हुँदैन भने उसलाई लोग्ने भनिरहनुको अर्थ के ?’ उनले आफ्नो जीवन कथा बताउँदा बताउँदै झण्डै दुई घन्टा बितिसकेको थियो ।
हतारिएर म घडी हेर्नथालेँ । उनले संकेत बुझेर कुरा छोट्याइन् । ‘कृष्णजी, तपाईलाई एकदमै आत्मीय साथी ठानेर सबै कुरा भनेकी हुँ । सक्नु भयो भने कुनै दिन मेरो बारेमा पनि कथा लेखिदिनुहोला ।’ मैले प्रयास गर्ने वचन दिएँ । फेरिफेरि भेट्ने वाचासहित हामी छुट्टिएका थियौं, त्यो दिन । उनको जीवनकथाले मन धेरै दिनसम्म पोलिरह्यो । सम्झन्थेँ, ‘लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन्, अनिताजीको जीवनमा किन लागू नभएको होला ?’ ‘आज उनै मित्र सुनिताले आफ्नै निवासमा बोलाएर गुनासो पोखिरहेकी थिइन् । जुकाजस्तो लोग्नेबाट कसरी मुक्त हुने भनेर सल्लाह मागिरहेकी थिइन् । तर हामी निरुत्तर भइरहेका थियौँ, म र उनको साथी ।
‘कहिलेकाहीँ छोराछोरी कसैको जिम्मामा छोडेर कसैले नदेख्ने नचिन्ने अनकन्टार ठाउँमा गएर बसुँ जस्तो लाग्छ ।’ जीवनदेखि नहारे पनि समाजदेखि हारिसकेको संकेत थियो त्यो । हामी केही बोलेनौं, उनी एकोहोरो बोलिरहिन् ‘लोग्नेबाट मुक्ति पाउनका लागि धेरै पटक विदेश जाने प्रयास पनि गरेँ । कर्मै खोटो हो कि, कहिल्यै सफल भइन ।’ त्यसैबला कसैले ढोकाको घन्टी बजायो । खोल्नमै अघि सरेँ । तीखा वाणजस्ता आँखा हामीप्रति हुत्याउँदै सरोज भित्र पसे । सुनिताले पालैपालो म र उनको साथीलाई हेरिन् । हामी मौन रह्यौं । लोग्नेप्रति सांकेतिक कटाक्ष गर्दै उनले भनिन् ‘महिलाले अरु सबैथोक गर्ने तर झुक्किएर पनि दोस्रो बिहे नगर्ने ।’
(स्रोत : श्री रुपरेखा)