~विनय गौतम~
१
अप्राकृतिक सुन्दर संसारमा
प्राकृतिक सुन्दरीहरुको मेला
गोधुली सन्ध्यामा खचाखच
विभिन्न विचारका मस्तिष्कहरु
तछाडमछाडको लिगलिग दौड जस्तै,
मांसपेसीमा जुरमुराएका
उच्च रक्तचाप शिथिल पार्न
भेला भएका अनौठा शरिरहरु
टिकटको पर्खाईमा
अप्राकृतिक सुन्दर संसार।
२
अनौठा रंगका पर्दाले
ढाकेका झ्यालहरु
सधैंझै एक जोडीको पर्खाईमा,
मधुरो वत्तिको प्रकाशले
सजिलो बनाईएका रातहरु
अप्राकृतिक समागमबाट
भोलीलाई जीवन जीउन
बाध्य सुन्दरीहरुको
अप्राकृतिक सुन्दर संसार।
३
गोधुली सन्ध्यासंग सुरुहुने
समाजबाट बहिस्कृत भए झै
बेग्लै नाम र उपसर्ग बोकेको
अप्राकृतिक भट्टीबजार,
हरेक प्रहरसंगै नयॉ ग्राहकलाई
प्रफुल्लित बनाउने विभिन्न ब्राण्डका सोमरस।
बॉकी जीवनलाई समाधिस्त गर्न नसकेर
बाच्न विवस पीडादाई अनुहारहरु
उही सोमरसका लागी
आफैलाई विर्सन बाध्य
अप्राकृतिक सुन्दर संसार।
४
आफ्नै अंगहरु पहिचान्न नसकेका
राजनितिक दौडका ठेकेदारहरु
मध्यरातसंगै सहि छापका मोलतौलमा
अंशबन्डाका प्रतिशतको लेखापरिक्षण।
ठुलाठुला आदर्श र दर्शनको प्रवचनले
झुक्किएका प्राकृतिक आदिमानवहरु
अस्तित्वको लडॉईमा सर्वस्व गुमाउन बाध्य
अप्राकृतिक सुन्दर संसार।
५
रातभरी जागिरहनेयौन बजार
जिरो आवर पर्खने राजनिती
टेनल मुनि र माथीको
हिसाब मिलाउने मध्यस्तकर्ता
गुणस्तर विहिन न्यायको तराजु
अक्रान्त अचेत समाजको
अप्राकृतिक सुन्दर संसार।
६
स्वास्थ्यलाई ब्यपार बनाउने
आधुनिक मानवहरु
शिक्षामा विभेदिकरण बनाउने
स्वघोषित रृषिमुनीहरु
काकाकुल अन्धकार र खडेरीको
अप्राकृतिक सुन्दर संसार।
दुरगन्ध दुषित अव्यबस्थित
आधुनिक सभ्रान्त समाजको
अप्राकृतिक सुन्दर संसार।
विनय गौतम
टोरोन्टो,क्यानडा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )