~शुभचन्द्र राई ‘सुवास’~
झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा अक्षता लिएर जोखाना हेराउन जानु पर्छ। गाउँमा अरु पनि झारफुके धामी नभएका होइनन् तर गाउँलेहरुलाई झाँक्रीकान्छामथि नै बढी विश्वास छ। नकाटेको जोगीको जस्तो लट्टपरेको कपाल (टोपी भित्र गुजुल्टिएको), जन्मजात नमाझेको पहेंलो दाँत, चिम्सो आँखा, ढ्याब्रे नाक, बेपत्ता परेका बाइस पच्चिसेक जुँगा, घाँटीमा रुद्राक्षको माला, मैलाले कटकटिएको कालो कोट हिउद या वर्ष लगाइ रहने झाँक्रीकान्छा हेर्दै खाट्टी झाँक्री जस्तै देखिन्थ्यो। उमेर त्यस्तै ५०/५५ को हुँदो हो। तर अझै विवाह गरेको छैनन् त्यसैले कवँर भएकोले झाँक्री कान्छालाई देउताले बढी नै पत्याएका होलान्। कात्तिक महिनामा त झाँक्री कान्छा र उसका ढोलेहरुले सुत्नै पाउदैनन्। कात्तिके ग्रहदशा फाल्न घरमा चिन्ता बसिदिनु पर्नेहरुको लर्कै लाग्छ। झाँक्री कान्छाले कहिले काहिँ एक रातमा चारघर सम्म सानो बैदाङ (ढोल नबजाई थालमात्र बजाएर बसिने चिन्ता) चिन्ता बसेको छ र गाउँलेहरुको कात्तिके ग्रह दशा फालिदिएको छ। एक पल्ट त झाँक्री कान्छाले उल्कै गरेको छ।
दुई घर चिन्ता सकेर तेस्रो घरमा चिन्ता बस्दै थियो। अनिंदो त्यसमा पनि रक्सीले मातेर ल भएको थियो। (रक्सी चाहिं चोखो हुन्छ भनेर पहाडमा धामीलाई चिन्ता बस्दा खाजाकै रुपमा चिन्ताको चरणै पिछे खान दिने चलन छ।) चिन्ता बस्दा बस्दै पिसाबले हदै च्यापेछ धामी झाँक्री कान्छालाई। उसले बजाउँदै गरेको थाललाई फुत्त फाल्यो र हत्..हत्..हत्..ह..ह..ह…भन्दै जुरुक्कै उठेर दैलो बाट फुत्त बाहिर निस्क्यो। घरपति, चिन्ता हेर्न आउनेहरु छक्कै परे। ढोलेहरु पनि ढोल बजाउन छोडेर ट्वा..परे। दश मिनट जति समय भयो धामी फर्केनन्। घर नजिकैको खोल्सामा गएर सपनामै धामीले पिसाब फेरे। निन्द्रा र रक्सीको मातले धामीले आफू कुन घरमा चिन्ता बस्दैछु भन्ने कुरा नै भुसुक्कै बिर्सेछ। अँधेरी रातमा उ छामछाम छुमछुम गर्दै बिर्खे कान्छाको घरमा पुगेछ। घर सुनसान थियो। सबै मस्त सँग सृुतेका थिए। झाँक्री कान्छालाई झोंक चलिहाल्यो, उ कस्सेर चिच्यायो। ँक्या हो, तिमेरुको चाला हँ…? मलाई चिन्ता बस्न बोलाएर तिमेरु चाहिं मस्त संग सुत्ने…?ँ झाँक्री कान्छाको आवाजले बिर्खे निन्द्राबाटै तर्सेर उठ्यो र छक्कै पर्यो। त्यसै बेला मानिसहरुको कल्याङ मल्याङ सुनियो। धामी नफर्के पछि चिन्ता बसेको घरबाट ढोलेहरु र घरपतिहरु राँको लिएर धामीलाई खोज्न निस्केका रहेछन्। झाँक्री कान्छा पनि झसङ्गै भए। उसको निन्द्रा र नसा पनि बेपत्तै भयो। उनले हत्तपत्त बहाना बनाए– ँमलाइ त बोक्सी र मसानहरुले पो भुलाएछन्। बडो जब्बर गर्दा रहेछन् तर म पनि त्यसै के छोड्थे र….?ँ सालाहरुलाई यति सम्म त लखेटेरै छाडें। झाँक्री कान्छा बेस्सरी कामे। भोली पल्ट गाउँमा झाँक्री कान्छाले बोक्सी र मसानलाई लखेटेको कुरा डडेलोझैं फैलियो। त्यस काण्डले झाँक्री कान्छाको महिमा र ख्याति झन् बढेर दुगुना भयो।
बाह्रै मास मातिरहने साइकले साइला लुकुने भीरबाट मुन्टिएछ। धन्ना गोठालाहरुले बैलैमा भेट्टाएछन्, डोकोमा बोकेर घर ल्याए। अनुहारमा एक दुइ ठाउँ चोट देखियो। दाहिने खुट्टाको फिलानेर भुक्क सुन्निएको देखियो। घाँटी दायाँ बायाँ नचल्ने अररो भएको थियो र छातीमा अलिकति खोसि्रएको भेटियो तर साइकले साइला बोल्न भने सक्दैनथ्यो। गाउँका सबै भन्दा जान्ने भनेकै झाँक्री कान्छा। साइकले साइलाको छोर मुकुटे झाँक्री कान्छालाई बोलाउन डौडिए। झाँक्री कान्छाले साइकले साइलाको नाडी छाम्यो, निधार छाम्यो, छाती छाम्यो, फिला छाम्यो र यस्सो आँखा चिम्म गरेर मन्त्र जपेजस्तै गरेर बोल्यो– “बिरामीलाई केही हुँदैन, डराउनु पर्दैन। लुकुने भीरको शेषान्तर मसान्तर वायुले भेट्टाएछन् र भीरबाट फालेछन्। लौ फलानो फलानो पूजा गरिदिइहाल्नु ठीक हुन्छ।” यति भनेर भटाभट ५/६ वटा देबी देवताहरुको नाम बकिहाले अनि कुचो र खरानीले साइकलेलाई झारेर झाँक्री कान्छा घरतिर लागे। घरकाले सकि नसकि धामीले बके जति पूजा आजा सम्पन्न गरे तर साइकले साइलाको व्यथा घट्नु सट्टा बढेर पो गयो। सुृन्निएको फिला घटेन। झाँक्री कान्छाले ँसिकारी देउताले यसो गर्छ, एकजोर छिप्पिएको भाले पोथी कुखुरा चाहिन्छ। म अफै पूजा गरिदिउलाँ भनेर हुकुम छाडे। निश्चित दिनमा सिकारी पूजा पनि सम्पन्न भयो। तर साइकले साइलाको फिला चटपटाएन। भुक्केरोटी जस्तै सुन्निएको सुन्नियै भयो। साइकले साइलाको स्मरण शक्ति हरायो। उ पूर्ण रुपले पागलझैं हाउभाउ गर्न थाल्यो। उसलाई दिसा पिसाब गरेको केही हेक्का भएन। उसको लुगाको ठाउँ ठेगाना भएन। साइकले साइलाको ग्रहदशा शान्ति गर्न झाँक्री कान्छालाई चिन्ता राख्ने घर सल्लाह भयो।
चिन्ताको दिन, विशेष चिन्ता भएकोले हेर्न साइकलेको घरमा खचाखच मानिसहरु जम्मा भएका थिए। चिन्ताको थानाबाना तयार गरे ढोलेहरुले। चिन्ता शुरु भयो। झाँक्री कान्छा आफ्नो गुरु र देवीदेवताहरुलाई बोलाउन थाले। ढोलेहरु राक्किएर ढोल ठटाइरहेका थिए। ढोलको आवाज सँगै हावागर्दै झाँक्री कान्छा उफ्रुँला झैं गरेर जोडले कामिरहेका थिए। पहिलो चरणको चिन्ता सकियो। धामीले साइकले साइलाको सातो बीर मसानले लगेको हुनाले मसान जगाउन कालो बोको चाहिने जोखाना निकाले। साइकले साइलाको पूजापाठ र भाकल गर्दा गर्दै घरको सबै कुखुरा बाखरा झिटीमिटी सकिएको थियो। खोरमा रहेको एउटै कालो बोकामाथि पनि बीरमसानको नजर पर्यो। धामीको कुरा मान्नै पर्यो। विश्वास गर्नै पर्यो। मस्त सुतेको बोकालाई खोरबाट झिकेर मसान जगाउन तयार परियो। धामी र ढोलेहरुलाई रक्सी खाजा खुवाइयो। चिन्ता हेर्न आएका आसेपासेहरुले पनि तर्याक तुरुक खाजा भेट्टाए। काँस्या बटुको (टस्या) मा दिइएको माना जतिको रक्सी खाजाले धामी रनक्कै भयो। दोस्रो चरणको चिन्ता शुरु भयो। धामी बेजोडले काम्न थाले। आगोको भुुङग्रोमा मन्यू तताएर रातो पारिएको थियो। धामी तातो पन्यू टिपेर पिर्लिक, पिर्लिक पल्टाउदै नाच्न थाले। खै कसो कसो गर्दा तातो फलामको पन्यू चिन्ता हेरिरहेका कालेको बाउको फिलामा परेछ, “आत्थाथा….” गर्दै कालेको बाउ चिच्च्याए। फिलामा फलामको पन्यूको छाप छपक्कै देखियो। “जहाई….” भन्दै झाँक्री कान्छा कालेको बाउको फिला सुम्सुम्यउन पुगे। कालेको बाउ हाँस्नु न रुनु भयो। धामीको निर्देशन अनुसार धामीले “हट्” भन्दा जब्बरेले कालो बोकोलाई चटक्कै छिनाए। बोकालाई राति नै काटकुट पारियो र मसानलाई मन्साएको प्रसादको रुपमा भुटुवा बनाएर सबैले ग्रहण गरे। चिन्ता हेर्न आएकालाई पनि गजबै भो।
तीन चरणमा चिन्ता सकियो। साइकले साइलाको सातो धामीले बीर मसानको हातबाट फुत्क्याएर साइलाको जिम्मा लगाए। साइलाको ग्रहदशा शान्ति गरियो। चिन्ता सकियो। चिन्ता राखेको तीनदिन पछि साइलालाई केही बिसेक भएझैं देखियो। सुन्निएको फिला बिस्तारै घट्यो तर स्मरण शक्ति भने फर्किएन। झाँक्री कान्छाले साइकले साइलालाई ठीक गरेरै छाड्छु भनेका छन्। हेर्न बाँकी नै छ साइकले साइलाको ज्यानले कुन मोड लिने हो।
(स्रोत : Mysansar.com)