~डा. गोविन्दराज भट्टराई~
खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई विदा गर्न पर्खिरहेका थिए। छेउमा दावाको अल्गो मोटरसाइकल थियो। उनको पातलो, भाटे शरीर तीस वर्षे हुँदो हो। हेल्मेट विनाको शिरमा रातोरुमाल बाँधेर रेडी भए। पारि दिङ्लामा घाम झलमल्ल भएपछि ओरालो लाग्यौँ।
दावाले आफ्नो जीवनको दुःख र सङ्घर्षको कहानी सुनाउँदै लगे― यो जिटिजेडले हाम्रो अफिसलाई दिएको मोटरसाइकल, यो एकहाते जस्तै छ सर। मेरी श्रीमती यता झर्दा खूब डराउँछिन। तर आजसम्म कहिल्यै यो कतै कोल्टिएको पनि छैन। झरर… गर्दै जापानी होन्डा भित्री पहाडमा ओरालैओरालो झरिरह्यो।
धुलाम्मे बाटो, बेलाबेला आधाउधि पाङ्ग्रा धूलोमा गाडिएको बेला होन्डा फनक्क घुम्थ्यो भेसस…। तलबाट गाडी आउँथ्यो सबै कुइरीमण्डल पारेर, बुट्यान जङ्गल, छेउभित्तो केही नेदिखिने गरी। मुख छोपौँ सर, दावा बोल्थे। अलिभित्र झन् गहिरो धापजस्तो धुलोमा पुगेपछि ट्याक्टर आयो। यो जेमराजले छोप्छ, दावा बोले। जेमराज कटुन्जेल हामी उभिन्थ्यौँ, धेरै बेरपछि बाटो देखिन थालेपछि त्यो कुइरीमण्डल अलिक बस्न थालेपछि होन्डा फेरि स्टार्ट हुन्थ्यो घ्यार्र…।
यसरी हामी तुम्लिङ्टार पुग्यौँ। सामुन्ने हवाइमैदान। हरियो सिरुबारी हावामा उडिरहेको, लहरै बसेका दोकानहरू। एउटा कुनामा मोटरसाइकल बिसाएर दावा झोला थन्क्याउन पसे। म पनि उत्रिएँ र यसो आफैँलाई पिलिक्क हेरेँ― अहो, आज के कुनै अनर्थ भएको हो? आज विहान नीलो सुट लगाएजस्तो मान्छु, अहिले किन यो शरीर धुर्मैलो बेसारे देख्छु? के मैले झुक्किएर त्यो होटलवालाकै बस्त्र ता लगाइनँ कि कुवेरका सुट लगाएँ हँ बिहानको झस्मिसेमा?
मलाई धेरै भ्रम भयो। अनेक सम्भि्कन खोज्छु― कसरी नीलो सूटवाला म अचानक भिन्न रङको भएँ। मलाई काफ्काको ग्रेगोर साम्सा जस्तै हुन पो लेखेको छ कि? ग्रेगोर विहान उठ्ता एउटा कीरामा परिणत भइसकेको थियो। मलाई भ्रान्तिले छोप्यो र आफैलाई सोधेँ― तँ अन्जना वस्तीको पति गोविन्दराज भट्टराई होस्? सन्देहपूर्ण यो मन बोल्यो― अहँ तँ होइनस्।
म ग्रेगोर साम्सा भएँ त? अनि अलि पर्तिर गएँ, एउटा वृक्षको फेदमा छेलिएर सेभिङ किट खोलेँ अनि ससानो च्याप्टे ऐना हातमा लिएँ र ऐनातिर दृष्टि लगाएँ― अहा, त्यहाँ मानवको स्वरूप प्रतिबिम्बित थिएन।
आँखीभौँ सेता खैरा थिए, गाला निधार केसको पनि त्यस्तै रङ थियो; नाक, कान, ओठ, घाँटी र अन्य अवयव त्यस्तै रङ्का थिए। मनमा एउटा भयमिश्रित प्रश्न उठ्यो― भन् गोविन्द तँ को होस्? शास्त्रले भन्छ पहिले आफैँलाई चिन्नोस्, तँ आफैँलाई चिनिहेर्। फेरि नियालेर हेरेँ, तर चिन्नै सकिनँ। बरु आफैलाई हाँस उठ्न खोज्यो, अनि बिस्तारै मुस्कुराएँ। अहा, आज मेरो मनमा अचानक कत्रो खुसीको लहर छचल्कियो! मैले आफैँलाई चिनेर बिस्तारै बोलेँ― कुनै पीर नगर्, तँ होस गोविन्दराज भट्टराई। हो, तँ हाँस्ता देखेँ त्यसरी माथिका दाँत खप्टेको, भर्खरै ओराकेयरले टल्काएका ती नयाँ दाँत चम्किने व्यक्ति नै तैँ होस्।
म ढुक्क भएँ। त्यसपछि दावा एउटा कुचो लिएर आए र मेरो शरीर बढार्न थाले। मैले भनेँ― दावा त्यसरी कुचोले शरीर नबढार अपशकुन हुन्छ। तब दावा बोले― यो अम्लिसाको, घुङरिङको वा सिरुको कुचो होइन सर, यो पवित्र जङ्गली बाबियो; यसले त शरीर जति पिट्यो त्यति साइत पर्छ।
त्यसपछि दावासमक्ष प्रश्न राखेँ― भाइ आज मलाई कुनै दैवी कृपा भएजस्तो लाग्दैछ, यसरी प्रफुल्लताले हृदय नाचेको बेला बिहानदेखि भोकै पनि छौँ, मनकामना माताको दर्शन गर्ने होइन? दावा पनि बडो आध्यात्मिक चेतना भएका व्यक्ति रहेछन्। उनले तत्कालै होन्डा स्टार्ट गरे― घ्यार्र…। आज्ञाकारी होन्डा बाटो लाग्यो तर पनि आज किन यन्त्रले अकस्मात यसरी त्रु्कद्ध आवाज गर्दैछ भाइ? कतै यसको इन्धन मिसावट परेर त्यस्तो भएको ता होइन?
तुम्लिङ्टार बजारको बीचैबीच कच्ची बाटामा दावा उड्न थाले। बाटो खल्ट्याङ र खुल्टुङ, डाँडा र गैरा; होन्डा डिलमाथि चढ्छ, गैरामा खनिन्छ, फेरि फिलिङ्गेको बारीतिर उफ्रौँला जस्तो गर्छ, अरूण तेस्रोको पर्खालमा जोतिन खोज्छ। खेतका खाली गरा ताक्नु नि बरु किन फिलिङ्गेबारीतिरै लम्किन्छ? ए के भयो यो यन्त्रलाई? मलाई आज डरडर लाग्न थाल्यो। दावाले कुनै अनियन्त्रक पदार्थ सेवन गरे कि वा होन्डाको चुकुल खुस्कियो कि आज के हुने हो यी रुखा, फुसि्रएका गरामा उत्ताने परिने हो कि, एउटा सम्भावित भयले मनलाई ढाक्यो। यहीँ उत्तानो परियो भने अखवारमा कस्तो खवर आउला? मैले कल्पना गरेँ― ‘तुम्लिङ्टारको फिलिङ्गेबारीमा दावा र एक प्रोफेसर।’ छ्या कति डरलाग्दो शीर्षक! अनि भनेँ पनि― दावा भाइ, अलिक स्लो गरौँ न?
तर होन्डा झन्झन् थर्किन थाल्यो, झन् उचालिँदै पछारिदैँ झन् ठूला गरा ताक्तै बारीका डीलडील छुन थाल्यो। यसपालि विश्वकर्मा पूजा नगरेर पो यो यन्त्र यतिविघ्न अनियन्त्रित भएको हो कि? फेरि दावाले भनेको सम्भि्कएँ― ‘सर आजसम्म यो पिर्लिक्क कतै पल्टेको छैन।’ अनि अलि शान्त भएँ। तर यसो ढल्केर हेरेँ, दावाको मूड बदमास बहर गोरुले बाँझो खेतमा हलोसितै घिसाएको हलीको जस्तो भएको थियो।
होन्डा विरामी खच्चर उफ्रेजस्तो गतिमा बड्किन थाल्यो। गर्दागर्दै एउटा जङ्गलमा पस्यो। आँप, चिलौने, सल्लाका बृक्षहरू, झोडी र बुट्यान अनि भीरैभीर ओरालिएको साँघुरो बाटो। दुईतिरका डोब अत्यन्तै गहिरा, ट्याक्टरका पाङ्ग्राले जोतेर धूलिमैदान पथमा अरू कुनै साधन हिँड्न सक्ने स्थिति छैन। अब होन्डा झन् घ्यारकिघ्यार गर्न थाल्यो, झन्झन् उफ्रिन थाल्यो, यता पहरो उता बृक्षहरू। अब मेरो जिउ नथामिएला जस्तो भयो, अब काल नजिकै आएको झल्का मिल्न थाल्यो। सोचेँ― यो दाबा वौलाहा रहेछ। कति भन्छु― रोकौँ न दावा रोकौँ, ब्रेक हानौ न दावा ब्रेक हानाँ तर रोकिएन होन्डा भीरबाट हाम्फाल्न तत्पर भयो। मैले मिलिकमिलिक हेर्दै गरेँ, तल कुनकुन प्रजातिका रुखहरू छन्, कहीँ अडकिन सकिन्छ कि? यो अनकन्टार प्रदेशमा प्राण जान खोजिरहेछ, कुनै पवित्र वृक्षको फेदमा बजारिए हुन्थ्यो बरु― अमलाको, समीको, बरपीपलको, श्रीखण्डको अझ भनौँ रुद्राक्षको। तर हे प्रभु चिलाउने, कागभलायो, डुम्री, दबदबे जस्ता कुकाठका फेदमा यो शरीर आत्माबाट बिछोड नगराइदेऊ।
त्यस्तो केही कल्पनामा आउनासाथ होन्डा, घ्यारर्र…गर्यो र त्यसपछिको घटना बिर्सन पुगेँ। निकैबेर ढलेकै ठाउँमा त्यो गेग्रेनी भित्तापट्टि हामी दुवैमाथि होन्डा चढेको जस्तो लाग्यो। मलाई होस खुल्न कति समय लाग्यो भन्न सकिन; हेर्न खोज्दा घडीको फितामात्रै नारीमा अल्भि्करहेको देखेँ; मलाई एक स्वामीभक्त कुकुरको याद आयो।
मूर्छित अवस्थामा अनेक ज्वारभाटा उठे। विलियम गोल्डिङ्को लर्ड अव द फ्लाइजमा साइमन भन्ने पात्र थियो। ऊ मूर्छा परेपछि आधाघण्टा तन्त्रामा विचरण गर्थ्यो। मलाई त्यस्तै भो। सोचेँछु― हे मनकामना माई, म तिम्रो चरणमा श्पर्श गर्नै आँटेको छु। यहाँ म अकिञ्चनको प्राण नलिइदेऊ। म एकपल्ट घरै पुग्न चाहन्छु। त्यहाँ मेरा कति आकाङ्क्षा र इच्छा अधूरै रहनेछन्। मेरा परिवारजनलाई न मेरो पासवर्ड थाहा छ, न एटिएमको नम्बर। हे सतीढुङ्गा यतिखेर यो दावाको पनि प्राण नखुस्काइदेऊ। विचरा दावा दुःखी छ; मद्यप्रेमी उनको पिता अनेक पत्नी प्रिय पनि थिए। खान थिएन तर दुःख पर्याप्त थियो। चेपुवादेखि भागेर उनी खाँदबारी पुगेका थिए। अनेकौँ दुःख गरेर पढेको दावा आज विते भने उनका चार जना सन्तान अभर पर्नेछन्, उनको एमए गर्ने धोको अधुरो रहनेछ। बस्, मैले तन्त्रामा यी दुईटा प्रार्थना गरेँ। त्यसपछि विस्तारै सपना खुलेझैँ भयो र उठ्न खोजेँ दावा पनि होन्डा मुनि बलगर्दै थिए। धूलो टकटक्याउँदै उनी बोले― सर यो बज्या जेमराजको एक्सिलरेटर जाम भएर गाँठो परेछ।
कुनै चोट लाग्यो कि दावा?
लागेन सर।
तर उनको गन्जी घसि्रएर च्यातिएको थियो; गाला नङि्ग्रएका थिए।
कुनै चोट लाग्यो कि सर?
म बोल्न सकिन किनभने मेरो छेपारी फर्किसकेको थियो र नलीहाड फुट्यो कि किन यसरी भतभति पोल्दैछ? तर कसले भन्न सक्छ, यो बेला ग्यारेन्टिसँग? काठमाडौँ पुगेर टिचिङ्गमा एक्सरे नगरी म भन्न सक्तिन, यो दुर्घटनाले भित्रभित्रै मरिसकेँ या जिउँदै छु।
होन्डा उठाएर त्यहीँ उभ्यायौँ र विस्तारै सम्पूर्ण शरीर हल्लाउँदै खोच्याउँदै ओरालो लाग्यौँ। तल पुग्दा अरुणको तटमा मनकामनाका कुटी र मन्दिरहरू लहरै थिए। मन्दिरको ढोका लागिसकेको थियो। पीडा अधिक भएकोले होला यो मन न प्रभुमा लाग्यो न मातामा। त्यसबेला मैले विलियम सेक्सपियरले भनेको सम्भि्कएँ― हृदयवेगरका शब्दभन्दा शब्दवेगरको हृदय वेश। त्यसर्थ हृदयले एकदुई शब्द बोलेँ― धन्य प्रभु, आज बँचायौ। तर पीडाले गर्दा आफ्नो हृदय र शब्द दुवै निश्चेष्ट भए।
त्यसैले हामी तत्कालै फर्कियौँ। होन्डासम्म पुग्दा गोलिगाँठादेखि पीरो भएर आयो; उभिन नसक्ने भएँ तर पनि च्यातिएको कोट अलिकति छोपेजस्तो गर्दै त्यो भीरको बाटो म हिँडिरहेँ खोच्याङ् खोच्याङ्। दावाले सराप्दै होन्डा घिसारे र सम्म ठाउँमा पुगेपछि फेरि फ्याङ्ग्रे खच्चरमाथि चढ्यौँ। मैले सम्झेँ मनकामना माईले हामीलाई रक्षा गरेकी छन्। भित्री हृदयदेखि म बोलेँ― उडाऊ दावा यो फ्याङ्ग्रे खच्चर, उडाऊ। जतिजति उफ्रिन्छ उफ्रियोस्, तुम्लिङ्टारमा प्लेन उडने बेला भो। सुन्तोलाको ढाकर छेउमा गोपाल पर्खिरहेका होलान्।
tu.govinda@gmail.com