~मनिषा गौचन~
चुपचाप चुपचाप घण्टाघरको फेदमा
बस्तै टोलाएकी
म मानुषी
अचेल रित्तो रानी पोखरी हेरेर
एक्लै बरबराउन थालेकी छु ।
तिम्रो घण्टाघरले
अझै माछा फेला पारेको छैन
रानीपोखरी त रित्तिइसक्यो…
उ आफैपनि समय नचिन्ने भइसक्यो
समय त उल्टिरहेको छ ।
म मानुषी त्यही फेदमा बसेर
उल्टो समयको घडीमा
सप्पै सपनाको फासी दिदैछु ।
हिजो पनि तिम्रो चोकमा
भोक थियो ।
शोक थियो ।
रोग थियो ।
आज त्यही चोकमा
अझ धेरै थोक थपिएको छ ।
म मानुषी
ती चोकहरुमा
शोकले ग्रस्त मान्छेसँग
डुलिरहेकी हुन्छु ।
रोगले क्षीण अनुहारसँग संवाद गर्दै हुन्छु ।
भोकले लाम्टिएका पेटहरुसँग भिख माग्दै हुन्छु ।
र आफ्नै मन पनि अलिअलि बाँड्दै हिड्छु ।
बेहोसीसँग थोरै बाँकी होस पनि साट्दै हिड्छु ।
तिम्रा कविताका शहिदहरु
मेरो सपनामा आउन थालेका छन् ।
उनिहरु भन्छन्–“हामीलाई बस्ने ठाउँ नै छैन
यहाँ त सप्पै सप्पै शहिद बनेर भित्रिरहेछन्,
उनकै निम्ति हामी विस्थापितको बाटो रच्दै छौँ आमा !”
म मानुषी
आफैले जन्माएका मान्छे नचिन्ने भइसकेछु
को शहिद को नाशहिद ?
म ट्वाल्ल
ती अनुहारमा अलमलिन्छु ।
सप्पै उस्तै उस्तै ।
भूपी !
तिमीले चियाको बोटभरि प्रेम देख्यौ
मैले तिम्रो आँखाभरि आँसु देखेँ
र पनि तिम्रो ओठको मुस्कानमा
एउटा आशाको दीप अझै देखिरहेछु ।
तिमीले भने झै
हर साँझ तिम्रो ओँठको मुस्कान पनि
मैनवत्तीको शिखा भन्दा कम देख्तिन ।
मलाई थाहा छ,
तिम्रो आँखाको आँसुको अर्थ
कवि भएर जन्मेकोमा धिक्काथ्र्यौ होइन ?
आज तिमी कवि भएरै बाँचेका छौ…
कवि भएरै धेरै धरैको मनमा अटेका छौ…
कवि भएरै तिमी अनमोल पुष्प जस्तै सुन्दर छौ…
कहाँ मिल्छ यस्तो भाग्य ?
मलाई हेर
म मानुषी
तिम्रै घण्टाघरको फेदमा
मानसिक रोगी भएर
घडीको उल्टो घुमेको काँटीमा
अव आफैलाई फासी दिन
लाग्दैछु ।।।
अव आफैलाई सिध्याउन लाग्दैछु ।।।
तिमी सोध्नेछौ के भयो भनेर,
म सुनाउने छु,
मेरो बलात्कारको कथा ।
मेरो अस्तित्व लुटिएको कथा ।
मेरो सन्तान भोकले मरेको कथा ।
मेरै सन्तान सैतान भएको कथा ।
र युद्धले भत्काएको मेरो घरको कथा ।
अव भन,
फेरि सम्हालिएर कहाँ
तिम्रा चोकहरु घुम्न सकुलाँ ?
तिम्रो चोकमा धेरै थोक थपिए झैँ …।
म मा
सहनै नसकिने चोटहरु थपिएका छन्…।
मनिषा गौचन,
पौष ८, २०६८ विहान ८ बजेर ४४ मिनट जाँदा
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)