~लेखनाथ काफ्ले~
घर पूर्व रामेछाप, पकरबास। म भर्खरै कलेजबाट स्नातक। म सँग उच्चतम अंक, उच्चतम आशा र उच्चतम हौशला र बेजोड कल्पना शक्ती छ। जब म कल्पनामा बेसरी डुब्छु, कल्पना भित्रै सपना देख्छु। म बेरोजगारहरुको लाममा एक जना पनि थपिएको थिए, केही गर्ने फैसलाका साथ।
साथी संगीहरु कोही बिदेश हान्निए, कोही आफन्तका सहयोगले राम्रा नोकरीमा लागे। माथिल्लो पदमा भएका भनेका मेरा आफन्त एकजना हुलाकमा हल्कारा छन, बस तेत्ति हो। तिनैको छोरो “भुल्के” र म काठमाडौ हानियौं। किर्तिपुरमा डेरा भेटियो।
“बिदेश जानु पर्छ, दाम कमाउन।” भुल्केले जहिलै तेही भन्थ्यो।
“बिदेशमा होइन, आफ्नै देशमा केही गर्नु पर्छ बुझिस” मेरा आदर्श नेताजीको भाषण मेरा नशा नशामा अझै पनि छ। तेसैले मेरो फैसला अकाट्य छ। फेरी बिदेश जान त दमडी पनि चाहियो नि।
बिज्ञापन १
राम्ररी पढे, गतिलो गरी कागज पत्र बनाए, आबेदन गरे।
आबेदन के गर्नु थियो, कुर्ची त मेरा अगाडि नै आईपुग्यो। म आरामले बसे। जागिरको पहिलो दिन। लाग्यो, त्यो कुर्ची मेरै पर्खाईमा रित्तै बसिरहेको थियो, जस्तो कुनै क्लासिकल ८० दशकको हिन्दी फिलिममा परदेशिएको आफ्नो प्रेमिलाई जुग भरी पर्खेर प्रेमिका बसेकी होस्। म आईपुगेको थिए।
घन्टी बजाए, पानी मगाए।
कर्मचारीहरु नयाँ हाकिमलाई चाकरी गर्न आए। फूलका झुप्पाहरु दिए।
कर्मचारीहरु आ-आफ्नो काममा लागे। म त्यो लचकदार नयाँ कुर्चि मै झकाउन पुगेछु। एउटी सुन्दर महिला फूलको गुच्छा लिएर म नजिकै आईन, गालामा फूल को गुच्छाले स्पर्श गरेको मधुर अनुभुती भयो।
राम्री त हाम्रै टाइपिस्ट रहिछन, तिनलाई हेर्न आँखा अली बेस्सरी उघारे। कती राम्री ! दन्त्य कथाका ईन्द्रलाई छक्काएर एता आई पुगे। अगाडि त मार्क्सकट दारीवाला लेखापाल तोक लगाउने फाईलका चाङ् बोकेर उभिएको थियो ।
खासमा त भुल्केले सागको मुठाले मेरो गालामा झोसिरहेको पो रहेछ।
बिज्ञापन २
बिज्ञापन १ को भुट्भुटी बाँकी नै थियो।
तै पनि पढे, कागज पत्र बनाए, फेरी। आबेदन गरे। अच्चम्म भयो। यसपाली त एउटा ठुलो अफिसै पो आयो त अगाडि। “लौ नयाँ फाटवाला आई पुगे।” भन्दै छड्के टोपिवालले मलाई एउटा धमिलो कोठामा पुर्याए।
कुर्चिको धुलो उडाये। मलाई तेस्मा बसाए। “भाग्यमानी हुनु हुदो रहेछ। मालदार अड्डामा पहिलो पटक मै पर्नु भयो।” छेउबाट चस्मादारको आवाज आयो।
“अक्तियारको छानबिनमा पर्ने गरी लुढ्याउने हुनु भयो। पुरानो सुब्बा त्यस मै परेर निलम्बनमा परे।” काला दाँतवालले मलाई बुझायो।
म पनि त सानो चोटले जागिर खान आएको थियिन।
“हेरेर मर्नु भन्दा छेरेर मर्नु निको। अक्तियारका पनि त येहि माटोका होइनन् र?” मैले मनमनमा आँफैले आँफैलाई भने, बाहिर भन्न मन लागेन।
म अक्तियारको पर्खाईमा सुनका लपेटा सिरानी राखेर चाँदीको पलङ्मा सुतेको थिए। साच्चिकै अक्तियारको घन्टी घरको गेटमा बज्यो।
निद्रा खुल्यो।
ए, चस्मादारले टेबलको घन्टी पो बजाउदै रहेछ त।
“ह ह ह… ए दिउसै सपना देखियो कि क्या हो, आँफै ठोक्किन आएर मलाई छिडी को बास बसाउने मन छ कि कसो?” आफ्नै अगाडि मोटारसाइकलवालाले चिच्याउदै थियो।
“होइन होइन” मेरो मुखबाट फ्यास्सै निस्कियो “मलाई त अक्तियारको छानबिनमा परेर निलम्बन हुने मन छ।”
बिज्ञापन ३
पढिदिए, भरिदिए, आबेदन पनि गरिदिए। गाँउलेका लागि, ईलाम गर, गर भन्ने बा आमाका लागि। बेकारी न बन भन्ने छिमिकिका लागी, बेईजत नगर भन्ने साथीहरुका लागि।
बस चड्ने सुको थिएन, हिंडे लरङ लरङ।
ठुलो गेट खोले, ओहो! भन्सार अफिस रहेछ। “लौ येहि हो बस्ने थाम, घन्टी बजे गेट खोल्नु।” छ्याकटेले भन्यो।
“दिन त बलिया रहेछन, यहाँ पर्नु भयो। अब गाठ्को के सुर्ता।” फेरी थप्यो।
मेरै अगाडिबाट हाकिमले औटा गाडी भरी रुपैयाँको भारी हालेर लग्यो। मैले पनि ओहोदा अनुसारको एक झोला पाए।
“अब उहिलेका कुरा खुईलिए। सुखका दिन आए।” मैले फुस्फुसाए। पैसाको कुम्लो राख्न दराजको ढोका खोले।
“बिना घन्टी ढोका किन खोलेको, कता हरायौ बाजे?” छ्याकटे चिच्यायो।
म त डेराको ढोका पो खोल्दै रहेछु।
बिज्ञापन: आएन, आन्दोलन आयो र गयो
मेरो डेराको यार “भुल्के” कोरिया गयो। के कसो गरेर भाषा पास गरेको रहेछ। आफ्नो स्वदेशी बिचार कहिल्लै फेरिएन।
तेत्तिकैमा के के जाती दलहरु मिलेर आन्दोलन गर्ने हल्ला चल्यो। बन्द हडताल त कती कती। ठुलो कुरा आफु नबुझ्ने, सानो कुरा आन्दोलनका नेताले न बोल्ने। कुरै बुझिएन। तैपनी जुलुशमा हिडियो। खान पाईहालिन्थ्यो। पत्रीकामा बिज्ञापन आउन छाडे, मान्छे मरेका, गोली चलेका, मान्छे थुनिएका कुरा र फोटाहरुले पत्रीका भरिन थाले। शहिदका कुरा पनि छापिन लागे।
मलाई शहिद हुने चाँही पट्कै मन थिएन । जागिर खाने मन थियो। शहिद भनेको जागिर होइन भन्ने मैले बुझेको थिए। न मरी शहिद न होईने, न बाची जागिर न खाईने। फेरी ७ साले, ४६ साले शहिद र बिच बिचमा थपिएका शहिद र तिनका परिवारको सास्ति मैले बिज्ञापन हेर्ने बेलामा राम्ररी न हेरेको हो र?
तेसैले जुलुशमा त गए तर अगाडि कहिल्लै परिन। फ्याट गोली लाग्यो भने। हात खुट्टा भाँचीए वा चोट लागेमा चाँही चिन्ता थिएन। अस्पतालमा सित्तैमा बस्न पाईने, खान पाईने। त्यो पनि हाम्रै मझौला नेताले भनेका। म कुनै उदेश्य बिना नै त्यता तिर लागेको हो भन्नेकुरा उनलाई भन्न चाँही कहिल्लै सकिन।
न भन्दै, एक दिन एक्कासी गोली सबैलाई छिचोलेर मेरै दाहिने खुट्टा मै लाग्यो।
आन्दोलन सकियो।
मेरो खुट्टो निको भएन, म खोच्चाउदै हिड्न थाले। माझौलो नेता माथिल्लो नेता भए । अनी त नाक मुख पनि देखिएन। डेरा मालिकको भने मेरो आन्दोलन तिरको कुदाइले मन पग्लिएछ कि क्या हो डेरा भाडा मागेनन। आखिर किर्तिपुरबाशी न हुन। आन्दोलनको भाषा बुझ्दछन।
घर तिर चिट्ठी चपेटा, फोन नि गरिएन। केही गरेर देखाउन आएको म, कुन अनुहारले ति सब गर्नु।
फेरी सिरानीको खोल, सिरक, डसना, दराज, पुराना पाईन्ट, कोठा भित्र चारै तिर खोजे, एक रुप्पे नि भेटिएन।
न खाने कुरो छ, न किन्ने पैसो। सानो न ठुलो, कामको जोहो भएन। जता पनि “हाम्रा मान्छे चाहिने, राम्रा मान्छे न चाहिने” मेरो उच्चतम नम्बरले पनि न राम्ररी हावा खायो। अब मैले के खाने हो, तेस्को जोखना गदै थिए।
अन्त्यमा मैले निधो गरे, न शोर्श चाहिने न त फोर्श चाहिने, अली कती आट चाहिने र लाज नचाहिने काम भनेको माग्ने नै हो। मैले निर्क्योल गरे, माग्ने।
पुरानो डेरा सरे, नयाँ डेरा पुरानो बस पार्कमा भयो। अब त न लुगा मैला भएको सुर्ता, न दारी जुँगा फाल्ने चिन्ता, जुत्ता नि चाहिएन। साह्रै प्राकृतिक भए म। मेरो शरीरका अंग अंगमा स्वदेशी धुलो, मयल र गन्ध थियो। त्यो बासना थिएन, गन्ध नै थियो। अब भने बल्ल मेरा आदर्शवान नेताजीले भनेको झै पक्का स्वदेशी भए म।
बिज्ञापन ४
माग्न बसेको पहिलो दिन अरु माग्नेले राम्रो थलोमा बस्नै दिएनन। त्यहाँ पनि कमिसन चल्दो रहेछ। अली बलियो माग्ने नेताको आड नलागी माग्न नि नपाईने। त्यो पनि सबैको दु:ख कस्ट हर्ने, दुखी, दरिद्र र सारा संसारलाई माया गर्ने भनिएका भगवान बस्ने मन्दिर अगाडि। मलाई माग्न न दिएर लखट्दा मन्दिरका भगवान तिर पुल्लुक्क हेरे। भगवानको केही सन्केत आएन। पूजारिले उल्टै लाठो देखाए।
अली पर बसेर गम खाँदै थिए, नजिकै, औटा सुकिलो लोग्ने मान्छेले तेही मन्दिरमा पूजा गर्न लाईनमा उभिएकी सुकिली तरुनी आइमाईलाई चनाका गेडाले हान्दै रहेछ, हातको पत्रीका भुईमा राखेर।
मलाई लाग्यो त्यो पत्रीका मेरै लागि किनिएको थियो। त्यो पत्रीका सुटुक्क ताने। त्यो सुकिलो मान्छे चनाका दाना मै ब्यस्त थियो। बिज्ञापन हेरे। यो बिज्ञापन हेरेर म कुनै कल्पनामा डुब्न सकिन, कल्पना भित्रको सपनामा त पुग्नै सकिन। म जहाँ थिए, तेही मुर्तीबत भए।
त्यो बिज्ञापनको छेउ मै अर्को बिज्ञापन पनि रहेछ। तेस्मा मेरा आँखा परे। एक चोटि हेरे, फेरी हेरे। अनी त हेरे को हेर्यै भए। पहिलो पटक त्यस्तो बिज्ञापन पद्ढै थिए।
त्यहाँ छापिएको फोटो सँग मेरो बाँगो नाक बाहेक केही मिल्दैन थियो, त्यो पनि राम्ररी हेरेको खन्डमा। तर पनि मन असाध्यै अमिलो भएर आयो। कलेज, गाउ, साथी, आन्दोलन सबै झलझली आँखा अगाडि आए।
अनी हेरे मेरो दाहिने खुट्टो, पर को त्यो मन्दिर र तेही सुकिलो मान्छे।
पत्रीका पट्ट्याएर तेसै माथि बसे, भुईको चिसो अली कम भएर आयो।
मनमा चिसो बढेर आयो। म उठेर हिंड्न चाहे, जाने कहाँ? पत्तो भएन। फेरी बसे। मेरै अगाडिबाट मानिसहरुको एक हुल जन-आन्दोलन, शहिद, जिन्दाबाद, अमर रहुन आदी आदी के के जाती नारा भट्याउदै आयो र गयो।
त्यो बिज्ञापन बा आमाले छपाएका रहेछन, “झुल्के भन्ने झलकमान घिमिरे हराएको सुचना”।
-लेखनाथ काफ्ले, ताइवान
(स्रोत : Mysansar.com)