-जिन्दाबाद! जिन्दाबाद !!
-मुर्दाबाद ! मुर्दाबाद !!
-पाइँदैन ! पाइँदैन !!
-चाइँदैन ! चाइँदैन !!
-राजीनामा दे ! राजीनामा दे !!
गगनभेदी स्वरमा नाराबाजी गर्दै टुँडिखेल गइरहेको जुलुसको हुललाई जमलको आकाशे पुल माथिबाट हेर्दै एकछिन त्यहीँ उभिरह्यो भूपेन्द्र। उसलाई ४६ सालको सम्झना आयो। स्कुले झोलामा किताबकापी बोक्नुको सट्टा क्रान्तिका सपनाहरु बोकेर आन्दोलनमा ऊ पनि सामेल भएको थियो दिनका दिन।
आज पनि उसको साथमा झोला छ, तर स्कुले झोला होइन विदेश जाने झोला भिरेको छ ढाडमा। १५ केजीको यो झोलाभन्दा कयौँ गुना गह्रुँगो सपना बोकेर ऊ गाउँबाट काठमाडौँ आएको छ विदेशिन। यो उसको दोस्रो पटकको विदेश यात्रा हुनेछ यदि पुन: भिसा प्राप्त गर्यो भने। यस पटक उसले कतारको लागि कोशिस गरिराखेको छ। जमलबाट नजिक इन्द्रचोकमा उसको साथीको मामा भाजुरत्नको घर छ , ऊ त्यहीँ पाहुना हुन जाँदैछ थोरै दिनको लागि।
जुलुसले टुँडिखेलको बाटो समातेपछि मुक्ति पाएको सडक फेरि सवारी साधनको घुँइचोले थाकेर लमतन्न भए झैँ लाग्छ, मानौँ सवारी साधनहरुलाई बोकेर सडक नै कुद्नु पर्ने हो तर सडक कुददैन। लमतन्न सडकमाथि सवारीसाधन ट्राफिक जाममा फँसेका छन्।
उसले आकाश नियाल्यो र परपर क्षितिजसम्म आँखा दौडायो, काठमाडौँ मैलो पछ्यौरी ओढेर सुँक्कसुँक्क रोइरहेकी दुलही झैँ लाग्यो उसलाई- उराठ मन लिएर पुलको सिँढीबाट गह्रुँगो पाइला तल झार्दै गयो ऊ।
–—-
करिब चार वर्ष बहराइनको तातोमा काम गर्दा नेपाल फर्कने बेलामा खुबै गलेको थियो भूपेन्द्र। अब विदेश नजाने अठोट का साथ ऊ नेपाल आएको थियो। नेपाल आए लगत्तै परिवारसँग आराम, गाउँघर को खानपिन- हावापानी आदिले ऊ राम्रोसँग तङ्ग्रियो। २-३ महिनापछि नेपाल मै अब केही गर्छु भन्ने सोचमा थियो ऊ। तर उसका साथी-आफन्तीहरु धमाधम विदेशिएका थिए, बाँकी रहेका पनि विदेश जाने अभिलाषा मै रुमल्लिएका थिए। उसले कसैबाट हौसला भेट्न सकेन नेपाल मै केही गर्नको लागि। जसोतसो जोगाएर ल्याएको ९ लाख रुपैयाँमा सात लाखबाट गाउँको बन्धकी जग्गा निखनेर परिवारलाई खुशी बनाएको थियो। बाँकी दुई लाखमा केही हजार परिवार – इस्टमित्रको लागि कोसेलीमा सकिएको थियो। जम्मा म्मी एक लाख तीस हजार बोकेर ऊ कतार जानको लागि कोशिस गरिरहेको छ।
–—-
३ दिन बित्यो दौडधूपमा। आज चौथो दिन शनिबार। कार्यालयहरु बन्द छन्। उसको मन छट्पटिएको छ। के गरौँ र कसो गरौँ हुँदाहुँदै उसले स्वयम्भू हिंडेरै पुग्ने विचार गर्यो। हिँड्दै थियो, बाटोमा साइबर देख्यो र छिर्यो इमेल हेर्न। निशाले इमेल पठाएकी रहिछ। नेपालमा केही गर्न नसकिने अवस्थाको चित्रण गर्दै आफू विदेश नै जाने र यस पटक चाँही कतार पुगेर अझै २-४ वर्ष काम गरेर फर्किने कुरा उसले लेखेको थियो। जवाफमा धेरै हरफ लेखेकी थिइ निशाले। सबैमा ध्यान गएन तर केही हरफहरुमा ध्यान गैरह्यो बारम्बार। पैसा आर्जन गर्न जहाँ पनि मेहनत गर्नै पर्छ। आइडिया भए सफल हुन साधन भन्दा साधना बढी महत्वपूर्ण हुन्छ आदि इत्यादि र इमेल को अन्त्यमा ‘ प्रतिभाको खोजी’ किताब पठाइदिने समय भए पठाइदिनुस् भन्ने अनुरोध। फेरि अनुरोध ‘ तपाईंले पढेपछि मात्रै पठाइदिनुस् है।’
उसले किताबको नाम नोट गर्यो र पुस्तक पसल खोज्न थाल्यो। केही पर पुस्तक पसल देख्यो र रु ५० तिरेर ‘प्रतिभाको खोजी’ लियो। ऊ स्वयम्भू जाँदै थियो, पुस्तकको आवरण पनि स्वयम्भूका दुई आँखाले सजिएको थियो, ऊ मुसुक्क हाँस्यो। बाटोभरी धेरै कुराहरु सोच्दै ऊ स्वयम्भू पुग्यो।
स्वयम्भूबाट काठमाडौँ नियाल्यो। कन्क्रिटको हाड छाला झैँ देखिएकी काठमाडौँको रुपरङ्ग हराउँदै गएको देखेर चिन्तित भयो।
–—-
एकतमासको खिन्न मन लिएर ऊ स्वयम्भूबाट ओर्लँदै थियो। घडी हेर्यो, भर्खर १ बज्नै लागेको रहेछ। अहिल्यै इन्द्रचोक पुगेर पो के गर्नु ! बरु एकछिन यतै शीतलमा बसेर पढ्नु पर्ला भन्ने सोच्यो र किताब खोल्यो। पढ्दै जाँदा ऊ घोरिएर सोचमग्न बन्यो।
करिब ४ बजे तिर स्वयम्भूबाट इन्द्रचोक फर्कँदै थियो मनभरी कुराहरु सोच्दैसोच्दै। फलफूल जुस पसल देख्यो र जुस पिउनको लागि गयो।
गाजरको जुस बनाउन लगायो। जुस पिएर नसिध्याउँदै भूपेन्द्रले भन्यो, ‘ भाइ ! जुस त एकदम खल्लो छ नि , गाजरको टेस्ट नै छैन!’
‘ विकासे गाजर छ नि इस्लिए मिठा छैन , हामी तो जस्तो बजारमे भेट्छ वही किनेर ल्याउँछ बनाइदिन्छ। सन्तलाको खाइलिनुस् दाइ मिठा छ , उखु भी मिठा छ। ‘
‘ उखुको देउ भाइ एक गिलास।’
उखुको जुस गुलियो थियो। ‘ भाइले यी फलफूलहरु कहाँबाट ल्याउँछौ ? ‘
‘ गाजर तो हमि यही से किन्छ बाँकी सब कोइ तराइ से ल्याउछ कोइ इन्दियासे दाइ।’
भूपेन्द्र पैसा तिरेर त्यहाँबाट हिँड्यो।
असन चोक पुगेपछि तरकारी बेच्न राखेको थुप्रोतिर दृष्टि दौडायो। उस्लाई तरकारीको भाउ बुझ्न मन लाग्यो।
‘ बैनी एक केजी गाजरको कति रुपैयाँ ? ‘
‘ फिफ्टी रुपिज , लाने हो दाइ ? ‘
‘ हैन नलाने , भाउ मात्रै सोधेको ‘
‘ नलाने मान्छेले के भाउ सोध्या ! ‘ ऊ भुत्भुताइ।
भूपेन्द्र चार पाइला पर पुग्यो। एउटा चम्सुर को मुठा हातमा लियो।
‘ १० रुप्पे हो, लाने हो बाबु ? ‘
उसले केही पनि नबोली चम्सुर को त्यान्द्रा गन्यो। १०- १५ त्यान्द्रालाई परालले गाँठो पारेर एउटा मुठा बनाइएको थियो।
एवं रितले उसले उसले भाउ बुझ्दै गयो। गोल्भेडा ६०, आलु ४०, गाजर ५०-५५, प्याज – लसुन – खुर्सानी – बेसार – अदुवा आदि सबैको मूल्यले आकाश छोएको थियो।
त्यहाँबाट ऊ फटाफट हिँड्यो। केही पर कोल्ड स्टोरमा रोकियो। जिउँदो लोकल कुखुरा २५० प्रति किलो , खसीको मासु ४५०। घरमा आमाले अन्डा खानको लागि पालेको लोकल कुखुरा मनमनै गन्न थाल्यो। चल्ला १०- १२ , पोथी तीन, भाले दुई। यी बाट १२- १५ बाट २-३ किलोको भाले कुखुरा बनाएर बजार ल्यायो भने ५-६ हजर त जाबो १२- १५ वटा लोकल कुखुराबाट नै आउँदो रहेछ !
उसले घरमा पालिएका खसी बाख्रा पनि मनमनै गन्यो। ती सबलाई बढाएर तिनैबाट १२- १५ खसी मात्रै वर्षको एक पटक मात्रै बजार ल्याउन सके पनि ४०- ५० हजार त खसी बाट मात्रै आउँदो रहेछ। लोकल कुखुरा – खसी हुर्काइ रहँदाको बीचमा गाईभैंसी पालेर घिउ बनाउन सके घिउको पनि माग राम्रो छ बजार मा। घिउ बेच्न आउँदा आलु – भटमास – लसुन – प्याज , खुर्सानी – बेसार पनि ल्याउन सकिने। आफूसँग भएको एक लाख तीस हजार बरु ५-६ वटा पाठापाठी – केही लोकल कुखुरी किनेर थपी अल्ली बढाउन सके महिनामा १५- २० हजार त घिउ – तरकारी – कुखुरा बेच्दैमा आउने रहेछ ! खसी बेचेर वर्षमा आउने एक मुस्ठ रकम १-२ लाख हुँदै २-४ लाख सजिलै बनाउन सकिने रहेछ।
‘ त्यसो हो भने म किन जानु पर्यो दिनको १२- १४ घण्टा विदेशमा खट्न ? विदेशमा कमाउने त्यतिको त नेपाल मै पनि हुन सक्छ। यदि विदेशमा दिनको १२ – १४ घण्टा खटे झैँ यहाँ पनि खट्न सक्ने हो भने।
यी कुराहरु गम्दै विदेश नजाने निचोडमा पुग्यो भूपेन्द्र।
विदेशीको भूमिमा होइन आफ्नै मुलुकमा पसिना रोप्ने साहस बोकेर गाउँ फर्कियो भूपेन्द्र।
May 15th, 2010
आर्डेन पार्ट – लक्सम्बर्ग, बेल्जियम
(स्रोत : Mysansar )