निबन्ध : यसकारण केयरगिभरको काम कठिन हुन्छ

~दीप्स शाह~Deeps Shah

काम भनेको सबै नै गाह्रो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी । हुन त सबैमा केही न केही गाह्रो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन् भने सुविधा र रम्झम अर्कैको धेरै लाग्छ । विशेष पैसाकै निमित्त देश छोडेर टाढिएकाहरुको सवालमा र अझै न्यून कमाइमा कष्टकर शारीरिक श्रम विनिमय गर्न अदक्ष या अर्धदक्ष कामदारको हकमा भन्ने हो भने काम काम मात्र नभएर सजाय जस्तो बन्न पुग्छ । जिन्दगीको लम्बाइमा भन्ने शब्द कसले निर्माण ग¥यो होला भोगाइको शब्दकोशमा ? यही साढे तीन अक्षरको बाध्यताले मान्छेलाई हुत्याउँदै भूगोलको कुन कुन दिशामा लघार्छ र हामी उनिन्छौँ तिखो झिरमा विवश माछा उनिएझै अनेक कष्टसाध्य काम नामको सुइरोमा ।

सामान्यतया काम भनेपछि कुनै निश्चित समयावधिका लागि तोकिएको स्थानमा कसैबाट निर्दिष्ट कर्तव्य पूरा गर्ने हो । चाहे त्यो सडकमा साबेल, पिक चलाउने होस्, डोकोमा इट बोकेर बिल्डिंग नामको सगरमाथा चढ्नु होस्, ढोकामा उभिएर पहरा दिनु होस् या अशक्त बिरामी कुरेर उसको मृत्युमंचन हेर्न नै किन नहोस । यस्ता तमाम काममध्ये अधिकांश अझै भनुँ लगभग सबै काममा केवल काम र दामको सोझो साइनो हुन्छ । काम गर, पैसा थाप । तोकिएको समय कटाउ र बिदा होउ । त्यहाँ केवल श्रमको मूल्य तोकिएको हुन्छ । अधिकांश श्रम बेच्ने हामी श्रमिकहरूको सवालमा विशेष निकै पहिलेदेखि आउजाउ हुने ठाउँ ‘खाडी’ मुलुकमा जाने श्रमिक दाजुभाइहरूको हकमा यो देखिन्छ कि तोकिएको समयावधिमा जस्तोसुकै कष्टसाध्य काम किन नहोस, प्ूरा गरेर आफ्नो पारिश्रमिक थापेर हाँसीहाँसी घर फिर्छन् । त्यहाँ उनीहरूको केवल तोकिएको कामसँग साइनो हुन्छ र त्यसैसँग सम्बद्ध श्रमको मूल्य तोकिएको हुन्छ चाहे त्यो श्रमको तुलनामा ज्यादै न्यून पारिश्रमिक दिएर चरम अन्याय गरिएको किन नहोस । यही अवस्था केयरगिभर नामको काममा पनि हुन्छ । उसरी नै श्रमको मूल्य तोकिएको हुन्छ तर यहाँ उठाउन खोजिएको कुरो के हो भने दुनियाँमा श्रमको मूल्य भएझैं मानवीय समवेदनाको कुनै मूल्य हुँदैन÷ हुनै सक्दैन ।

लामो बिछोडपछि, वर्षांैको कहालीलाग्दो एकांकी रातहरू र निस्सार दिनहरूपछि सुटकेशमा मनोचाही उपहार, खल्तीमा धेरथोर पैसो र हृदयमा उकुसमुकुस उल्लास अनि अनुहारमा आभायुक्त लालीगुराँस बोकेर आफ्नाहरूलाई भेट्न, आफ्नो माटो टेक्न फर्किंदै गर्दा पनि अधिकांश केयरगिभर नेपाली अनुहारहरू गहभरी आँशु र मनभरी नजानिँदो विषाद बोकेर फर्किन्छन, यो कस्तो बिडम्बना !! जबकी एकाधबाहेक खासगरी इजरायलमा कार्यरत नेपालीहरूले काम दाम या सुरक्षाको नाममा कुनै पनि अनावस्यक अवस्थासँग सम्झौता गर्न पर्दैन । उनीहरूले काम गरेअनुरुप पाउनुपर्ने सबैखाले सुविधा र पारिश्रमिक पाएकै हुन्छन् तर पनि फर्किंदा आँखामा आँसु हुन्छ किन ? घरदेखि हुत्तिएर टाढा निकै टाढा पुगेदेखि कुनै एक रोगी वृद्धवृद्धाको स्याहारमा चौबिसै घन्टा लागि पर्ने केयरगिभरहरू समय र अवस्थासँगै एक कामदार मात्र नरहेर एक नर्स शिकारु डाक्टर, आपतकालीन सहयोगी यन्त्र, सामान्य सुसारे, एक अतिव प्रिय आफन्त र यदाकदा ‘भगवान’ समेत बनिन्छन् ।

अत्याधुनिक युगको अति ब्यस्त समयले आफ्नाहरूलाई हुत्याएर एक्ल्याइएका अशक्तहरूको एक सुसारे मात्र नभएर सबैथोक र सबसे नजिकको आफन्त साबित भैदिन्छन् । र अधिकांश रोगीहरू तिनै केयरगिभरको हातको अन्तिम थोपा पानी पिएर उनैका काखमा इहलिला समाप्त गर्छन् । यसरी देख्दादेख्दैको परदेशी अन्नदाता हिँड्दै, बोल्दै डुल्दै, हर रात एक छानामुनि रहँदा, हर छाक खाना एउटै टेबुलमा खाँदा कतिबेला थाहै नपाइ हृदयको एक अभिन्न ‘आफ्नो’ बनिसकेको हुन्छ र हेर्दाहेर्दै आफ्नै काखमा असह्य पीडामा छटपटाउँदै सुटुक्क संसार छोडीदिन्छ । त्यसबेला आफूले पाउने हर सुविधा र पारिश्रमिकको साथ अतिरिक्त जेसुकै पाए पनि उसलाई बिदा गर्दा हृदयको अति संवेदनशील पाटो चर्किन्छ र आँखाबाट आँशु ओइरिदिन्छ किनकि त्यहाँ त्यसबेलासम्म थाहै नपाई जुन मानवीय समवेदना टुसाएर झाँगिसकेको हुन्छ त्यसको कुनै भरपाई, कुनै मूल्य हुँदै हुँदैन । जागिरको यहि सबसे कठिन मोडमा उभ्याइदिएको छ क्रुर समयले आज मलाई । लगातार चार वर्ष एकै छानामुनि रात बितायौं चिपोरा र मैले । एकै टेवलमा खायौं, सँगै बाहिरको बगैचामा फूल रोप्यौं र गफिंदै पर बेनगुरियनको छातीबाट चिप्लिन्दै उडेका भीमकाय हवाईजहाज हेर्यौं ।

आफ्नो समयमा अति सुन्दर रुप परेकी चिपोरा इजरायलजस्तो शक्तिशाली विकसित देशको मन्त्रालयमा अन्वेषक जस्तो काम गरेकी, इजरायली बौद्धकि समूहमा आबद्ध रहेकी तीक्ष्ण दिमागी आधुनिक सफल महिलासँग लामो समय रहँदा धेरथोर पैसो त कमाएँ नै साथसाथै उनका अनुभव र भोगाइबाट निस्केका ती दृढ सोच, त्यो अमूल्य जीवनप्रतिको धारणा र स्वाभिमानका अनन्य गहना मैले हासिल गरें जसको मूल्य कुनै पनि जागिरबाट हात लाग्ने धनराशीमा तुलना हुनैसक्दैन । केवल एक सुसारेको महसुस हुन नै नदिने चिपोराले शेक्सपियरका कुरा झिक्दा म सिल्भिया क्लाथको प्रसंग निकाल्थें । उनले रुसी क्रान्तिको कुरो गर्दा म डायस्पोराको उद्गम प्रसंग उधिन्थें । उनले क्यानाडाको हरियाली सम्झँदा म नेपालकै सगरमाथा गफिन्थें । यस्तो लाग्थ्यो हामी आमै नातिनी हौँ, हामी स्कुल कलेजका सहपाठी हौँ र कहिले लाग्थ्यो एकै अफिसका कर्मचारी जस्तो । हाम्रा कुरा गरेका बिषय मिल्थे, स्तर मिल्थे र मिल्थ्यो हार्दिक सम्मान । उनैको साथमा मैले इजरायलको खेरमोंनको हिउँ खेलें । जेरुसलेमको पातलो जंगल नियालें र कोतेलको भित्तोमा प्रार्थना गरें । एलातको डल्फिनसँग पौडी खेलें अनि तिमना पार्कको सुन्दरता नियालें । उनैको पछि लागेर मिज्पे रमोनको विशाल क्राटर मरुभूमिको स्वतन्त्र छाती विचरण गरें र हाइफाको अदभुतता दृश्यपान गरें । उनैको हात समातेर किन्नेरेतको पानीमा तैरिएं अनि मृतसागरको कालिमाटीमा लटपटिएँ । उनीसँगै मुस्कुराउँदै इजरायलका तारे होटलका आनन्द लिएँ र डुलेँ साँगोपाँगो इजरायल । जीवनमा सधंै आशावादी रहेर संसारलाई नियाल्ने यिनै अन्तरमुखी स्वाभिमानी सफल महिलासँग जीवन बुझ्दै र तलब थाप्दै चार वर्ष बिताउँदा मैले सोचेकै थिइनँ त्यस्तो अग्राखजस्तो शरीर यसरी खोक्रिँदै थलिन्छ भनेर । सोच्नै भ्याएको थिइनँ त्यस्तो चम्चमाउँदो सूर्यजस्तो तेज यसरी क्रमशः मधुरो हुँदै जाला भनेर । भूमध्यसागरको पानीमा म लर्बराउँदा मलाई समात्ने हात आज केवल छालले मोरिएको हड्डी बनेर थर्थराइरहेछन मेरै सामु कति कमजोर बनेर ।

मेरो हरेक उदासीमा नियाल्ने आँखाहरू मलाई नै नचिने जस्तरी अनौठो हेर्छ । भित्र कता कता खोपिल्टामा भासिएका गुच्चा जस्तो बनेर । त्यो बलियो सिंगो ज्यान केवल एक बोरा आलुजस्तो लडिरहेछ मेरै सामु र घरि घरि थम्थमाउँदै मेरा हात समात्न आइपुग्छ । ती हात र सुनिन्छ आवाज, ‘आत अर्यादी ? तिमी मेरो छेउमै छौ ?’ मलाई थाहा छ म र चिपोरा दुवै मौन मौन मृत्यु कुरिरहेछौँ । तर म बेकारको भरोसाको पुल बाँध्न खोज्छु, चिपोरा ! हिए आकोल बेसेदरी । सबै ठिक हुन्छ । तर यो त हामी दुवै जान्दछौं कि केही पनि ठिक हुनेवाला छैन । मैले चिपोरलाई स्याहारे मुताबिक हरेक महिना तोकेबमोजिम तलब पाएको छु र उनले मबाट आवश्यक रेखदेख पाएको आफ्नो ठाउँमा छ । आफ्नोहरूबाट टाढा रहँदा मेरो राजाको अँगालोले दिने न्यानो र सुरक्षित आभास, मेरो आमाको मिठो ममत्व र मेरो सानुको बदमासीले दिने प्रफुल्लता र मिठो हैरानी अनि मेरो देशले दिने स्वामित्वको न्यानोपन त दुनियाँको कुनै बिलासिता या उपलब्धिसँग तुलना हुनैसक्दैन । तर ती सारा अपुरोपनलाई निकै हदसम्म पूर्ति गर्न चिपोराको आफ्नोपन र सामिप्यताले मलाई यति धेरै नजिक बनाइसकेको रहेछ , यति कमजोर बनाइसकेको रहेछ ।

मलाई समातेर लम्किने मान्छेलाई विवश र लाचार देख्छु र ह्विलचेयरमा राखेर धकेल्छु, अनायासै मेरा आँखाहरू सुटुक्क रोइरहेका हुन्छन् यो आभासमा कि कुनै पनि बेला हामी अलग्गिँदै छौं । र यिनको मृत्यु हेरेर म फर्किनेछु एक भग्न मन बोकेर । यो सारा अनुभूति, हृदयको न्यानो उन्माद, यो समवेदनाको कुन बिन्दु हो म परिभाषा गर्नसक्दिन । यो अव्यक्त आफ्नोपन, यो समयले या नियतिले जोडिदिएको आत्मीयताको कुनै मूल्य हुन्छ र ! ‘आज के लेख्यौ ?’ भनेर सिर्जनामा जतिबेला मलाई उचाल्ने मेरो कुनै जन्मको साक्षात र यस जन्मको अघोषित ‘आमा’ यसबेला यी पंक्ति लेखिरहेको बेला मुस्किलले श्वास तानिरहेको हेर्दैछु र अर्को पोइन्ट अक्सिजनको मात्रा थप्दैछु । …र सोचिरहेछु काम, पैसा र जिम्मेवारीभन्दा परको यो मानवीय समवेदनाले यसरी आक्रान्त बनाउँछ र यसै कारण केयरगिभरको अरु सबैखाले कामभन्दा कठिन छ÷हुन्छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.