~आर. आर. चौलागाईं~
-१-
यहाँ हरदम खुट्टा तान्नेहरू धेरै छन्
ढुङ्गालाई देउता मान्नेहरू धेरै छन्
खै, किन किन ! ठिक बेठिक के हो पटक्कै छुट्टयाउँदैन मान्छे
यहाँ दूध हैन रक्सी छान्नेहरू धेरै छन् ।
२०७२ माघ २०
-२-
मान्छेहरू आफूले पाएका ती हैरानीहरू बिर्सिँदा रहेछन्
आफू कहाँबाट कसरी आएँ ती कहानीहरू बिर्सिँदा रहेछन्
गर्न त ठुलै कुरा गर्छन्, कहिले यो गर्नुपर्छ र कहिले त्यो गर्नुपर्छ भन्छन्
तर आफूले बिताएका ती क्षण र ती जवानीहरू बिर्सिँदा रहेछन् ।
२०७२ माघ १९
-३-
म तिमीजस्तो हाटबजारमा बिक्न सक्तिनँ
चाहिँदो नचाहिँदो अभिनय सिक्न सक्तिनँ
मलाई यति नै काफी छ, भो कर नगर, दुई दिनको तामझामले के हुन्छ र !
म तिमीजस्तो नक्कलझक्कलमा टिक्न सक्तिनँ ।
२०७२ माघ १३
-४-
मान्छेहरू बिरालो मार्छन् अनि बाघ मारेको धाक लाउँछन्
मान्छेहरू सय जित्छन् अनि लाख जितेको धाक लाउँछन्
फुर्ती गर्ने पनि एउटा हद हुन्छ नि हजुर ! के गरी पत्याउनु सीमै नाघेपछि
मान्छेहरू पित्तल किन्छन् अनि सुन किनेको धाक लाउँछन् ।
२०७२ माघ १३
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)