कथा : पुस्तौं अघिको सत्य रे!

~उज्ज्वलदीप~

दिउँसै सिकुवाको गुन्द्रीमा पल्टेर उँघ्दै गरेका खडुपाध्ये भर्खरै उठेर आँखा मिच्दै तमाखुको एक सर्को तान्न मात्र के लागेका थिए परबाट आफ्नी जहान र बुहारी आफूभन्दा ठूला घाँसका भारी बोकेर आउदैगरको देखे। तमाखुको लामो सर्को तानेर आङ तन्काएका खडुपाध्येका आँखा आँगनमा फराकिलो गरी लिपेको ठाउँमा पुगे। उनी झस्किए– लौ मरियो अब! उनी उठेर ताउर माउर गर्दागर्दै सासूबुहारी आइपुगिहाले। बाहुनी बज्यैले आफ्ना खसमका भर्खरै सुतेर उठेका भन्दा राता आँखा पारिन्। उनको क्रोधको सीमा रहेन। बुहारी झगडामा मुछिनु ठीक छैन भनेर घरभित्र छिरी। उसको मन अब के चैं हुने हो भन्ने डरमा कामीसकेको थियो। डराउनुस्वाभाविकै थियो। विहान झिसमिसेमै उठाएर बुढालाई खाना खुवाइवरी पाँच जनसहित तल बेंसीबाट धान काटेर ल्याउन बाहुनीले अह्राएकी थिइन्। बज्यैले अघिल्लै दिन खेताला खोजेर गाउँभरिबाट नाम्ला खोजेर बुढालाई थमाइदिएकी थिइन्। र , बुहारी लिएर घाँस काट्न गएकी थिइन्। फर्केर आउँदा त बुढा भर्खरै सुतेर उठी आँखा मिच्दै पो छन्।

उनको सँधैको ताल यस्तै हो। बुढी बिहान काम अह्राएर मेला भर्न लाग्थिन् , तर बुढा थिए साह्रै अल्छी। कि त सुतेर दिन बिताइदिन्थे कि त कहिले घरपछाडि कहिले गोठतिर बसेर बेकामेहरुसँग कौडामा हराइरहेका रङ्गेहात पक्राउ खान्थे। अनि त बुढीको रिसको पारो चढिहाल्थ्यो। त्यो खडुको भाग्य हुन्थ्यो यति बज्यैले भएभरको स्वर तानेर गालीमात्र दिइन् भने। नत्र प्राय टाट्नाको भाटो तानेर खडुको कन्ड्यौलीको मासु झार्ने हिसाबले बसाउथिन्। खडु त्यतिसाह्रो बोल्दैनथे। दुईचार भाटा खाएर पचाइदिन्थे। आज त्यस्तै लाठीमुङ्ग्रीको संभाव्यता विचार गरेर बुहारी घरभित्र छिरेकी थिई। तर आज नौलो कुरो घट्यो। बुढीले न त गाली गरिन्। न त भाटो नै उठाइन्। उनको अघिसम्म मुहारमा देखिएको रिस अब देखिदैनथ्यो। घाँसको भारीसहित सिकुवामा अढेस लागेर बुढा तर्फ एक नजर लगाइन्। र, खुइय गरिन्। बज्यैतिर हेर्नसक्ने शक्ति हराइसकेकाले खडु भुँइतिर हेर्दै सजायको प्रतीक्षा कष्टले गरिरहेका थिए। बुढी केही बोलिनन्। सँधै आफूलाई खाउँलाझैं गरेर हप्काउने बुढी आज केही नबोलेको देखेर खडुले हलुका तवरले आफ्नी बुढीको मुहारतिर दृष्टि लगाए। नैराश्यता, चिन्ता, दुःख र परिश्रमको छाप झल्कन्थ्यो बज्यैको मुहारमा। उनको मुहार ज्यादै थकित र मायालाग्दो देखे खडुले। खडुलाई आज किन हो बुढीको साह्रै नै माया लागेर आयो। ऊ कति धेरै परिश्रम गर्छे। दिनभर काममा जोतिन्छे। आफूचैं……………।

खडुलाई आज मनमा लाग्यो। आफू केही नबोली मनभित्र गए। बुहारी आगो फूफू गर्दै खाना बनाउन भान्सामा धुँवाभित्र हराएकी थिई। बुहारी घरका तन्ना मजेत्रा सबै ले। म अहिले नै बेंसी जान्छु। बुढा सुरिए। तर बुबा घाम त…। भनेको खुरुक्क गर न। ―खडुले बीचैमा सातो लिए। बुहारीले घरभरी खोजेर दुईवटा मजेत्रा र तीनवटा तन्ना खडुका हातमा राखीदिई। खडु ती पोको पारेर हातमा हल्लाउदै केही नभनी बाहिरिए। खडु थिए तीनबीस उमेर खाइसकेका। बज्यै त्यस्तै पचासकी हुँदीहुन्। घरमा तीन जहान थिए। एक खडु। बज्यै। र, बुहारी जो घरकी बुहारी थिई। एउटै भएको छोरो कमाउन जान्छु भनेर हिँडेको धेरै भएको थिएन। खडुले सानैमा रुद्री चण्डी सबै खाइसकेका थिए। (अल्छी भएपनि धर्मभीरु थिए)। खडानन्द उपाध्याय पुरा नाम भएपनि गाउँघरमा सजिलाका लागि खडुपाध्ये भन्दथे। उनका पछिल्तिर भने झन् सजिलाका लागि खडे पनि भन्दाहुन्। प्रेत पिशाच बोक्सी लागेकालाई झारफुक पनि गर्ने हुनाले धामी बाजे पनि उनकै नाम थियो। अल्छीका लागि भए पनि तन्त्रविद्याका लागि भएपनि उनी प्रसिद्ध नै थिए। यसर्थमा गाउँलेहरु खडुपाध्येलाई मान्दथे। जेहोस् घरमा सँधै रडाको भएपनि गाउँघरमा भने आदरका पात्र नै हुन्। उनको अल्छीपनको प्रभाव जति थियो घरमा थियो। गाउँमा किन हुँदो हो। घरको काममा सिन्को भाँच्न नपाए खडु प्रसन्न हुन्छन् तर भूतप्रेत बोक्सी धपाइमाग्न आउनेलाई निरास पार्नुहुँदैन भन्ने कुरामा उनी दृढ थिए। उनको यो पेशाबाट लक्ष्मी पनि अलिअलि भित्रिदैथिइन्। तर जति लक्ष्मी हातमा नचाएपनि यिनको आर्थिक अभाव सँधै हरियोको हरियै भयो। घरव्यवहारमा पटक्कै ध्यान नभएका उनी अचम्मकै मान्छे हुन्। घर जेजसरी चलेको छ, त्यो बज्यै र बुहारीकै फुर्तिफार्तिमा छ।

बज्यै छोरो सम्झेर बेलाबेलै रुन्छिन् तर सुवानी बुहारी पाएकाले उनी दङ्ग छिन्। बुहारी बज्यैकी दाहिने हात भएर सँघाउछे। खडु बेंसीतिर त झरे तर जतिजति रात पर्र्दै गयो, बज्यैलाई खडुको पीरले त्यतिनै सताउन थाल्यो। जतिसुकै झगडा गरेपनि जस्तै अल्छी भएपनि लोग्नै त तिनी नै हुन्। ‘खाना खाने बेला बितिसक्यो, खै उनी आएनन्’ ―बुहारीसँग दुखेसो गरिन्। ‘खै! भएभरका तन्ना मजेत्रा बोकेर बेंसी जान्छु भनेर हिँड्नुभएको, धान काटेर ल्याउँछु भन्नुहुन्थ्यो।’ बज्यैले बुढा कता गएका हुन् भन्ने थाहा पाएकी थिइनन्। बुहारीका मुखबाट सुन्दा बुढी डराइन्। ‘ती साह्रै एकोहोरा छन्, साँच्चै बेंसीतिर गएका हुन् भने त वित्याँसै पर्छ।’ हुन पनि बज्यैलाई डरले छोपेर ल्यायो। ‘प्रेतका डरले मान्छे सबै घामछँदै फर्कन्छन् बेंसीबाट। एक्लै गएहोलान्।’ बज्यैले आँगनमा निस्केर अलिपरसम्म आँखा दौडाइन्। बुहारीले मुख खोली ― बेंसी जानुभएको हो भने त कहाँ यतिछिटै आउनुहुन्छ। त्यहाँ पुग्नै लाग्छ कत्ति….। बुहारीका कुराले बिराम पाएकै थिएनन्। खडु टुप्लुक्क आइपुगे। भुँइमा धानको डङ्गुर लगाएको थियो। बुढीलाई हर्ष र छक्कले एकैचोटि घच्घच्यायो। बुढालाई आँखाअघिल्तिर पाउँदा साह्रा अनिष्ट हराएर गए। तर बुढा एक्लैको काँधले त्यतिधेरै धान बोकेर ल्याउन कसरी सम्भव हुँदो हो?

हुन त बेंसीमा खेत धेरै थिएन। त्यही तीन गह्रो त हो। तर पाँच खेताला बराबरको तुजुक खडुको पाखुराले देखाइदियो। ‘खाना अबेर भइसक्यो।’ बुढीले भनिन्। तीनैजना भान्छामा लागे। ‘कहाँ जान लागेका?’ ― बुहारी र बज्यै नाम्लो लिएर जान लागेका देखेर खडुले सिकुवाबाटै कराए। ‘दाउरा सकिराछ। त्यही भएर माथि वनमा….’ बज्यैले बोलिसक्नै नपाई खडुले बीचैमा बोले― ‘अनि दुई डोकाले पुग्छ त? जन छन?’ ‘दिनभरमा तीनचार पटक ओसार्‍यौं भने त पुगिहाल्ला नि’― बज्यैले भनिन्। ‘खै गोडादशेक नाम्ला ले! म जान्छु। म जान्छु।’ ― खडु आफू जान चाहे। खानाका लागि जहिल्यै कसैले उछिन्ला कि भनेझैं गरेर ‘म’ भन्ने खडुले आज कामका सिलसिलामा ‘म’ बोलेकाले बज्यैले सुर्यनारायण कता छन् भनी पश्चिम क्षितिज चिहाइन्। टोलाएर बसेको देखेर खडुले आफैंले हिजो बलोमा सिउरिएको नाम्ला काँधमा हाले। बुढा त साँच्चै पो जान लागे। यो देखेर अनायासै बज्यैका मुखबाट मायाका शब्दहरु निस्किए ―’तिमी हिजो त्यत्रो धान लिएर त्यति छिट्टै फर्केका, गलेका हौला, हामी गइहाल्छौं नि भो!’ ‘म जान्छु भनेपछि त भैगो नि।’― खडुले सुर कसे। पर बाटामा पुगेर खडुले कराए ― दुल्है…. बुहारीले पुलुक्क हेरी। ‘अँ मध्य दिउँसोतिर तँ एकडालो मकै भुटेर त्यहाँ वनको माझमा ठूलो सिमलको बोट छ नि! त्यहाँ आएस्।’ बुहारीले हुन्छ जनाउँदै टाउको हल्लाई। खडु गएको तिर बज्यैले हेरिरहिन्। बुढा सप्रिएकाले उनको मुुहारमा हर्षका फूलहरु फुलेका देखिए। बुहारी डालामा मकै लिएर जाँदा खडु सिमलका रुखमा बसिरहेका थिए। ‘खै ल्याइस्!’ हारीले डालो थमाइदिई। वनभित्रबाट बन्चरो चलाइरहेको आवाजहरु आइरहेका थिए। ‘को खेताला ल्याउनुभो बुबाले! आज हामीले त कोही जन पाएका होइनौं’ ‘मैले लगाएको छु खेतालाहरु।’ खडुले डालो लिए र एउटा छेस्को उठाएर भुँईमा लामो रेखा कोरे। ‘अँ तँ यो रेखा काटेर नआएस्, ठूलो अनिष्ट हुन्छ। घर गइहाल।’ यति भनेर खडु वनभित्र पसे। बुहारीलाई खुल्दुली र शंका एकैसाथ लाग्यो। शंका त हिजै उसलाई लागिसकेको थियो।

बुहारीले अलि परसम्म रेखाबाहिरैबाट हेर्ने कोसिस गरी, तर उसको कानमा बन्चरो चलेको आवाजमात्र पर्‍यो। एकछिनमा बन्चरोको आवाज पनि सुन्न छाडियो। सायद खडुृका खेतालाहरु मकैचपाउन थालेका थिए। बुहारीलाई अति नै खुल्दुली लागेर आयो। आफूलाई सम्हाल्नै गाह्रो लाग्यो र ससुराको आज्ञा उल्लंघन गर्न लागि। खडु यतिखेर आफूले लगाएका खेतालाहरुलाई एकछिन विसाउन लगाएर खाजा खुवाउँदै थिए। उनी एक्कासी आत्तिए। झसंग भए। झस्किए। सारा शरीर काँपेर आयो। उनले अब घर फर्केर नगएपनि भो। आफ्नी बुढीलाई के भन्ने। समाजलाई के भन्ने। परदेश गएको छोरो पनि सम्झे। यी सबै प्रश्नहरु उनको मनमा रिङन थाले। उनले देखे खाजा खाँदै गरेका उनका खेतालाहरु मुख मिठ्याई मिठ्याई तप्तप् रगत चुहाउँदै मकै चपाइरहेका थिए। खडुले कोरेको त्यो रेखाभित्र खेतालाको खाजा खाने समयमा कुनै प्राणी जानहुन्नथ्यो। ती खेतालाको खाजा बन्थें।

त्यो दिनदेखि खडु के भए कहाँ गए कसैले थाहा पाएनन्।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.