~गौतम उदय~
भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति ।
तीन दिन अघि मात्र जुम्ला पुगेका प्रतीक शर्मालाई काठमाडौंको कोलाहलबाट मुक्त भएर भूस्वर्गको एउटा कुनामा आइपुगेको सुखानुभूति भइरहेको छ । हतार छैन कसैलाई त्यहाँ । रिस, आवेग, घृणा, तिरस्कार, कुण्ठा, विषाद र इष्र्या केही छैन गाउँलेहरुको अनुहारमा । खलंगा बजारको एउटा चिया दोकानमा बसेर हरेक मान्छेको अनुहार पढिरहेका छन् प्रतीक । अभाव र शारीरिक श्रमले चाउरिएका अनुहारहरुमा पनि एक किसिमको आत्मसन्तुष्टि देख्छन् उनी । वैभवको सुख छैन गाउँमा तर खुसी छ । प्रतीक तुलना गर्छन् गाउँ र सहरमा । सहरका प्रवञ्चक, लालची र साइलकहरुभन्दा कति हो कति खुसी छन्, यी सुदूर पडाडका गाउँलेहरु । उनलाई लाग्छ, सहर त्यागेर यतै स्थायी रुपमा बसूँ कि । तर कहाँ त्यति सजिलो छ र । नाता कुटुम्ब, इस्टमित्र, साथीभाइ र कथित समाजको माखे साङ्लोबाट स्वतन्त्र बाँच्न गाह्रो छ मान्छेलाई ।
पछाडिबाट कसैले कोट्याएझैँ लाग्यो प्रतीकलाई ।
‘सरले चिन्नुभएन होला । म नवीनप्रकाश । यहाँ मेरो पुस्तक पसल छ । सरले लेख्नुभएको ‘ज्वालामुखी’ पुस्तकमा फोटो देखेको थिएँ । त्यही आधारमा चिनेँ सरलाई । कहिले आउनु भो?’
नवीनले आत्मीयता देखाए । उनको पसलमा लगेर चिया मगाए । साहित्यिक गफ सुरु गरे । नेता र पत्रकारहरुप्रति उनको ठूलो गुनासो रहेछ, त्यो सुनाए । अप्रत्यासित रुपमा आफूलाई मन परेको एउटा लेखकसँग भेट भएकोमा उनी खुसी मात्र थिएनन् साह्रै सन्तुष्ट थिए ।
‘सर कहाँ बस्नुभएको छ ?’
नवीनको प्रश्न भुइामा खस्न नपाउँदै प्रतीक बोले– ‘अलि पर विजयनगरको कृषि फार्ममा बसेको छु ।
दालभात चाहिँ एभरेस्ट होटलमा । कृषि फार्मको गेस्टहाउस राम्रो रहेछ । एकान्त छ । कुनै ‘डिस्टर्ब’ छैन । साँझबिहान कथा, कविता लेख्न सजिलो भएको छ ।’
सरलाई अप्ठ्यारो हुँदैन भने जुम्ला बसुन्जेल मेरै घरमा बसुँ है । तिला नदीपारि कात्तिक स्वामी गाउँमा छ मेरो घर । यहाँबाट आधा घण्टा छ, त्यहीँ खाउँला, हुन्न र सर ?’
सहरबाट वाक्क दिक्क भएर संवेदना, खुसी, आत्मीयता र हार्दिकता खोज्दै कर्णालीका गाउँहरु घुम्न हिँडेको प्रतीक र जुम्लाकै गाउँमा हुर्केको नवीनप्रकाशलाई आत्मीय बनाउने तत्व थियो– साहित्यप्रतिको अनुराग । नवीन आफ्ना प्रिय लेखकलाई घरैमा राखेर सत्कार गर्न चाहन्थे । अझ त्योभन्दा महत्वपूर्ण कुरा थियो, नवीनको, सुसंस्कारयुक्त पारिवारिक पृष्ठभूमि । गाउँ, समाज र राष्ट्रलाई केही दिएर मात्र मर्नुपर्छ भन्ने उदात्त विचारका पिता जीवनप्रकाशले उनलाई सिकाएका थिए– ‘विद्वान् विदुषी, सदाचारी, महात्मा र स्रष्टाहरुको संगतले जीवनलाई ऊर्जा दिन्छ ।’ त्यसैले प्रतीकको संगतले आफ्नो चिन्तनलाई ‘रिचार्ज’ गर्छ भन्ने लाग्यो नवीनलाई ।
अविवाहित नवीनको घरमा उनी र बहिनी पुनम मात्र बस्छन् । अलि पर न्यौपाने गाउँमा पैतृक घर छ । दसैं तिहार, चाडपर्वमा भेट भइरहन्छ आफन्तहरुसँग ।
झमक्क साँझ पर्ने बेलामा प्रतीक शर्माले नवीनको घरमा प्रवेश गरे । स्याउका बोटहरुले ढाकिएको बगैंचाबीचमा ढुंगैढुंगाले बनेको पुरानो दुईतले घर, आँगनमा फूलका बोटहरु । बारीको कान्लाबाट पारिपट्टि देखिन्छ खलंगा बजार ।
‘यी मेरी बहिनी पुनम’ नवीनले परिचय गराए । प्रतीकका कथा, कविता र उपन्यासहरु भनेपछि हुरुक्क हुने पुनमले देवताको दर्शन पाएझैँ खुसी हुँदै भनिन्– ‘कस्तो अप्रत्यासित सौभाग्य ।’
‘अप्रत्यासित सौभाग्य’ शब्दले आकर्षित भए प्रतीक । सुसंस्कृत कुलकी पुनमभित्रको साहित्यिक चेतना र ज्ञान दुवैको झल्को थियो, ती दुई शब्दमा ।
रमाइलोसँग बित्यो साँझ प्रतीकले काठमाडौंबाट नेपालगन्ज र सुर्खेत हुँदै जुम्ला आइपुग्दाको प्रसंग सुनाए ।
‘म त सुर्खेतबाट चामलको भाउमा हेलिकप्टर चढेर आएँ ।’ प्रतीकले हाँस्दै भने ।
पुनमले सोधिन्– ‘कति रुपैयाँ केजीमा ?’
प्रतीक बोले– ‘अठ्ठाइस रुपियाँ किलोग्राम । सबै यात्रुलाई पचहत्तर केजीका दरले भाडा लिँदोरहेछ ।
गजब लाग्यो…।’
‘सर, अब फर्किने बेलामा तपाईंको भाउ घट्छ ।’ पुनमले हाँस्दै भनिन् ।
‘कसरी ?’ प्रतीकले सोधे ।
जुम्लाबाट सुर्खेत झर्ने हेलिकप्टरले प्रतिकेजी सोह्र रुपैयाँ लिन्छ स्याउको भाडा । हजुरलाई पनि त्यस्तै भाडा लिन्छ ।’
मतलब, आउँदा चामल, जाँदा स्याउ भएर जानुपर्ने भने होइन त ?’
प्रतीकले रमाइलो प्रश्न सोधे ।
पुनमको मुहारमा वर्णनातीत आकर्षण थियो । गाउँको बगैंचामा फुलेको सुन्दर, सुगन्धी फूल थिइन् उनी ।
नेपालगन्जबाट आईएस्सी उत्तीर्ण गरेपछि गाउँको प्राथमिक विद्यालयमा शिक्षिका भइन् पुनम । दाजु पुस्तक बिक्रेता, बहिनी शिक्षिका । दुवैको पवित्र जीवन गाउँलेहरुका लागि प्रेरणा र उदाहरण थियो ।
झन्डै सात दिन सँगै रहँदा प्रतीक र पुनमबीचको भावनात्मक सम्बन्ध शुक्लपक्षको पूर्णिमाझैँ विकसित भयो । अप्रत्यासित भेटले कहिलेकाहीँ मनको अन्तःपुरमा शिलालेख कुद्ने गर्छ । त्यसलाई जीवनपर्यन्त मेट्न सकिँदैन । सरल, निष्कपट र विनोदी स्वभावका प्रतीकको हृदयमा पुनमको सुन्दर छवि मोनालिसाको तस्बिरझैँ अटल, अविचल र अमत्र्य भएर बस्यो ।
मान्छेका लागि त्यही मान्छे नजिक हुन्छ, जसबाट उसले प्रेम, विश्वास र सहयोग पाउँछ । पाहुना भएर बसेका प्रतीक शर्मा विस्तारै नवीन र पुनमका अत्यन्त प्रिय भए । प्रतीक र पुनमको सामीप्य बढेको देख्दा नवीनलाई कताकता लाग्थ्यो, यी दुईको जोडी खुबै सुहाएको छ । शनिबारको दिन गाउँबाट अलि टाढा तातोपानीको धारामा नुहाउन जाँदा नवीनले प्रतीकलाई जिस्क्याए– ‘सरलाई जुम्ला निकै मन परेछ । यतै ससुराली बनाउने कि कसो ?’
प्रतीक निश्छल हाँसे । केही बोलेनन् । भोलिपल्ट बिहान चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा प्रतीक र पुनमबीच प्रकृति, समाज, जनजीवन र दुर्गम क्षेत्रका समस्या आदिबारे कुरा भयो । दुवैले एकले अर्कालाई मन पराएको कुरा शब्दमा व्यक्त गर्न सकेनन् । मन्दिरको पुजारीले तपाईंहरुको दाम्पत्य जीवन सुखमय होस्’ भनेर आशिर्वाद दिँदा दुवै मुखामुख गरेर हाँसिरहे ।
प्रतीकले काठमाडौंमा फोन गरेर घरको हालखबर सोध्दा भाइले खबर सुनाए– ‘आमा अस्पतालमा भर्ना हुनुभएको छ, दाजु चाँडै आउनुहोला ।’
भोलिपल्टै प्रतीकले काठमाडौं फर्किने निधो गरे । नवीन र पुनमले गहमरि आँसु पार्दै बिदा गरे प्रतीकलाई । बिदा हुनुअघि पुनमलाई प्रतीकले भनेका थिए– ‘जीवनलाई कर्तव्यमय बनाउनुपर्छ । करोडौं मान्छेको भीडमा सनाखत नभएको लास भएर बाँच्नु हुँदैन । धर्तीमा आफ्नो उपस्थिति देखाउनैपर्छ ।’
साँझमा रेडियोले अप्रिय खबर सुनायो– जुम्लाबाट नेपालगन्जतर्फ उडिरहेको एउटा हेलिकप्टर आज दिउँसो दैलेखमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका चौधजना यात्रीको मृत्यु भएको छ । मृतकमध्ये केही व्यक्तिको सनाखत हुन सकेको छैन ।’
खबर सुनेपछि नवीन र पुनम भावशून्य भए । दुवैले आँसु रोक्न सकेनन् । आँगनमा निस्केर पुनमले टाढाटाढासम्म हेर्ने कोसिस गरिन् । अन्धकारबाहेक कतै केही देखिएन ।
(स्रोत : श्री रुपरेखा)