संस्मरण : बेदना झल्काउने गाउँघरको तीज

~यमुना अर्याल~Yamuna Aryal

मेरो गाऊँमा तीज आउनु भन्दा एक महिना अघिदेखी एक दिन बिराएर गाउलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ। पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तीजमय बनिरहेका छन्। महिलाको मात्रै पर्व भनिए पनि गाऊघरका बुवा, दाई भाई, अंकल, हजुर बुवा समेत जम्मा भएर आमा दिदी बहिनीहरुलाई हौसाउने गर्छन । दिनभरी मेलापात गएर थकित आमा दिदी बहिनीहरु राती नौँ दश बजेसम्म एकै ठाऊँमा जम्मा भएर बेदना पोख्ने प्रचलन छ।

एक आपसमा भेला भएर रमाइलो गर्दा मन हलुका हुने भएकोले न्रि्रा त्यागेर पनि रमाइलो जुट्छन गाउँलेहरु । तिजको दिन व्रत बसेका आमा दिदी बहिनीहरु नजिकैको चँैतारीमा जम्मा भएर रमाइलो गर्ने गर्छन्। शहरमा जस्तो गाउघरमा महिनादिन अघिदेखि दर खाने प्रचलन छैन र यहाँ जस्तो भड्किलो परम्परा पनि छैन्। चौतारीमा भेला भएका महिलाहरु यसरी बिलौना पोख्न थाल्छन,

‘हाम फालेर मरौँ की त्रिशूलीको पानीमा
घर जादाँ सौता छ माइत सानीमा’ ।

एक जनाले यही भाकामा तीजको गीत शुरु गरेपछि सबैले स्वरमा साथ दिन्छन्। कसैको जीवनमा ठ्याक्कै यही गित मेल खान्छ बैरागिंदै रुन थाल्छन् फेरी मन बुझाउँदै गीतमै बिलौना पोख्न थाल्छन्।

‘सोध्छन मलाई सबैले कहाँ हो तिम्रो माइती गाऊँ
म अभागी चेलीको छैन जाने ठाऊँ ।’

आमा दिदी बहिनीहरुले मनै चुडिने गरी गीत गाइरहँदा कताकता मन भावविहृवल हुन्थ्यो । साच्चिकै यस्तै भएर गाउँछन होला की भन्ने लाग्थ्यो । पछि बुझ्दैँ जाँदा कैयौ महिलाहरुले भोगेका वास्तविक घटना नै गीतमा उनिएको पाइयो । गाऊघरमा कुनै घटना भयो भने त्यही घटनालाई टपक्कै टिपेर तीजका गीतमा उतार्ने परिपाटी अहिले पनि कायम छ । छोरा र छोरीमा रहेको विभेदलाई गीतमा यसरी उतारिन्छ,

‘दश भाई छोरा भएपनि यही घरमा अटाउने
म एउटी छोरीलाई डाँडा कटाउने’ ।

दर खाने दिनको अघिल्लो दिन नै दिदीबहिनीहरु माइतीघरमा जम्मा भइसकेका हुन्छन्। बुवा तथा दाजुभाइले खीर, अचार, मिठाई तथा दूधका परिकार बनाएर दिदीबहिनीलाई खुवाउने गर्छन्। तीजमा दाजूभाइले दिदी बहिनीलाई खुवाउने तिहारमा त्यसको पालो दिदी बहिनीले फेर्ने परम्परा छ। कुनै चेलिबेटी तीजमा माइत जान पाउदैनन्, कसैका सासूले विदा दिदैँनन, कसैको आफ्नै बाध्यता हुन्छ , कसैका माइती नै लिन आउँदैन । त्यस्तो बेलामा भन्ने गरिन्छ

‘बाबू आमा बाचुन्जेल चेलीलाई माइतीघर
आमा बाबुको शेखपछि दाजूभाईको डर। ‘

गाऊघरमा गाइने हरेक गीतमा कुनै न कुनै पीडा पोखिएको हुन्छ। पीडा पोखिएको हुने भएकोले होला सुन्दा पनि वास्तविकता पोखिएको आभाष हुन्छ। शहरमा जस्तो क्यासेट घन्काएर छचन्नाएर नाच्ने परिपाटी गाउँमा छैन। दाजुभाइले मादल बजाउँछन् दिदी बहिनीहरु धोको फेरेर गीत गाउँछन र नाच्छन्। शहरमा जस्तो उत्ताउलो तीज गाऊघरमा हुँदैन। शहरमा महिनादिन अघिदेखि दर खाने परिपाटी बसाउनेहरुलाई थाहा छैन होला खास दरखाने दिनको महत्व के हो भन्ने कुरा? दरखाने दिन कहिले हो भन्नेसम्म पनि कतिलाई थाहा नहोला। यसपालीको तीजमा पनि मैले मेरो गाऊलाई झलझली सम्झिरहने छु। किन कि दशैँ भन्दा अरु बेलामा मेरो गाऊँ मेरा लागि पराई जस्तै हो। उताउलो शहरको तीज भन्दा मेरै अर्जै गाऊको तीज कति रमाइलो ? जहिले पनि सम्झिरहनेछु।

gulmali.yamunaaryal@yahoo.com

यमुना अर्याल (काफ्ले)

(स्रोत : Hknepal)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.