लघु कथा : मेरो नाती

~हुकुमबहादुर सिंह~Hukum Bahadur Singh

सामाजिक सञ्जालको प्रोफाइलमा आफ्नो पारिवारको फोटा राखो । सबैबाट एउटै प्रतिक्रिया आयो–“एउटा पुर्ण परिवार” । जसलाई अंग्रेजीमा “अ कम्प्लीट फेमिली” भनिएको थियो । यी प्रतिक्रियाहरूबाट मलाई लाग्यो मेरो त्यो फोटाले सारमा उनीहरूको भनाइको पूर्णतामाथि प्रश्न उठाइरहेको थियो ।

तर, रूपमा भने उनीहरू सही थिए, म गलत । किनभने सामाजिक सञ्जालमा मेरो परिवारको फोटा राख्दा मैले मेरा एक छोरी, दुई छोरा, श्रीमति र म गरी पांचजना थियौ । पछि थपिएका मेरो एउटा जुवाई र एक बुहारी र उसबाट भरखरै जन्मेको छोरा –मेरो नातिको फोटा थिएन् । मलाई लाग्यो– “एउटा पुर्ण परिवार” वा “अ कम्प्लीट फेमिली”बन्नका लागि ती तीन जना सम्मिलित हुनै पर्दथ्यो । हुनत मेरो त्यो फोटालाई ‘राजा बीरेन्द्रको परिवारको जस्तो’ भनेर पनि घेरै कमेण्ट आएका थिए । सायद यो उनीहरूको बीरेन्द्रप्रतिको मायाँको प्रतिबिम्बको एउटा अभिव्यक्ति थियो ।

किन हो किन मलाई मेरो यो नातिको फोटो ज्यादै मन पर्न थालेको छ । तर उसको फोटा मैले सामाजिक सञ्जालमा राख्न चाहिन् । बच्चा घरको एउटा यस्तो गहना सम्पत्ति हो जो सबैको भूल्ने एउटा पात्र भन्ने सुन्दै आएकोमा अहिले मेरा लागि त्यो भनाई एउटा भनाइमा मात्रै सिमित रहेन्, त्यो एउटा नातिले त्यसलाई वास्तविकतामा बदलियो । मेरा एक जना ज्यादै मिल्ने नातेदार हुनुहुन्छ मधेसमा । उहाँको एक्लो छोराबाट एउटा छोरा जन्मीयो, जसको लगत्ते मैले सुने उहाँले घोषणा गर्नु भयो रे–“मेरो सम्पत्ति यहि नातिलाई दिन्छु ।” हिंजको समयमा भएको भए मलाई उहाँको यो भनाई अलि नमिल्दो लाग्दथ्यो होला तर म अहिले नातिनातिना प्राप्तीको काल्पनिक दुनीयाँबाट वास्तविक दुनीयाँमा आएको छु– मेरो पनि एउटा नाति जन्मेको छ । मेरो अनुभूतीले के भन्दछ भने बाउ आमाले आफ्नो छोराछोरीबाट धेरै सपना बुनेका हुन्छन् तर सबै छोरा छोरीले ती सपना प्राप्तीका लागि सहयोग नपुर्‍याई केहिले त लथालिंग भताभूङ पारिदिने काम पनि गर्दछन् । त्यसो भएपछि उनीहरूका ती सपना क्रमस: उनीबाट पुरा हुने आशा अन्य सन्तानमा सर्दै जान्छन् । ती नातेदारको सायद यहि मनोविज्ञानले काम गरेको हुनु पर्दछ ।

छोराछोरीबाट बुनेका सपना तिनका नातिनातिनाबाट प्राप्तीका लागि आशा गर्नु एउटा बलियो आशावाद हो । नेपाली समाज आवश्यकताभन्दा बढता आशावादी छ भन्ने झन झन प्रमाणित हुँदै गएको छ । त्यसैले त भुकम्पले तहसनहस हुँदा पनि यहि आशावादको त्यान्द्रोमा उनीहरू बाँचेकै छन् । भारतीय नाकाबन्दीले मर्नु न बाँच्नु हुँदा पनि, ६, ६ जना उपप्रधानमन्त्री र दर्जनौ मन्त्रीले देशको राष्ट्रिय ढुकुटी रित्याउँदा पनि, सरकारका प्रधानमन्त्रीले हावामा महल बनाएर देश र जनताको समस्याहरूको समाधानका काल्पनि मार्गहरू देखाउदा पनि नेपाली समाज यहि आशावादको ओच्छयानमा मस्त सुतेकै छन् । म पनि त यहि समाजभित्रको एउटा पात्र भएकाले ममा पनि यो आशावादले बलियोगरी जरा गाडेको छ । अहिले मेरो परिवारभित्रको आशावाद छोराबाट नातिमा सर्दै जानु कुनै अनौठो पनि थिएन् । मेरा नातेदारको त्यो घोषणा पनि मलाई यहि आशावादको त्यान्द्रोको करामत हो भन्ने लाग्दछ ।

मेरो जीवनमा सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक हरेक क्षेत्रमा काम गर्दा हजारौ साथीहरू भए होलान तर अहिले ती हजारौ साथीहरूबाट पाउन सकिने खुशी म अहिले यहि एकजना नातिबाट पाउन थालेको छु । उसको अनुहार, उसको आवश्यकताका लागि माग राख्ने तौरतरिका आदि सबै मलाई औधी मनपर्दछ । उसको रूवाई, हाँसोआदि सबै विना प्रश्न मलाई मन पर्दछ । उसको भाषा र हाउभाउमा म रमाएको छु । म मा अहिले उसप्रति कुनै लोभ, क्रोध, ईष्र्याआदि नभई केबल एउटै मायाँ छ । मलाई लाग्दछ मेरो नाति कति ज्ञानी, म कति भाग्यमानी । म सोच्छु यदि यो नाति नभएर नातिनी भएको भए मेरो मायाँ कस्तो हुँदो हो ?

(स्रोत : Ratopati)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.