कथा : वनबासीको पीडा

~घनश्याम ओली~Ghanashyam Oli

एउटा सुन्दर, शान्त, रमणीय वन थियो । हिमाल, पहाड, तालतलैया, मठमन्दिर, बटवृक्षले वन विश्वकै आकर्षक स्थल बनेको थियो । चराचुरुंगी, पशुपक्षीहरु आनन्दसाथ बसेका थिए । वनमा अत्यन्तै सरल, शान्त र सबैका प्रिय वन राजा थिए । रैतीहरुलाई कुनै दुःख कष्ट थिएन । वनमा कुनै आँधी तुफान आएको थिएन । बटवृक्षहरु मौलाइरहेका थिए ।

चराचुरुंगीहरु हाँसीखुसी नाची विचरण गरिरहेका थिए । वनराजाकै परिवारभित्रबाट केही व्याधाहरु जन्मँदै गए । व्याधाहरुले वन राजाको परिवार नै सखाप पारे । अनि ती व्याधाहरु नै आफूलाई राजा कहलाउन थाले । विस्तार विस्तार निरंकुश बन्दै गए । रैतीहरुलाई दुःख दिन थाले । उनीहरुको स्वतन्त्रता हनन हुँदै गयो । कालान्तरमा ती व्याधाहरुलाई पनि नष्ट गर्ने तीभन्दा खतरा ढेंडुहरुको ठूलो जमात तयार भयो । त्यो राजा कहलाउँदो व्याधा सदा सदाका लागि बिदा भयो ।

राता र काला ढेंगुहरुको जमात बढ्दै गयो । यी दुई ढेंगुहरु कहिले कुकुर—बिरालाझैँ झगडा गर्थे र कहिले परेवा जोडी जस्तै मिल्थे । यिनीहरु मिलेर कहिले काला ढेंडु वनमा राज गर्थे र कहिले राता ढेंडु । ढेंडुहरु पनि वनबासीका प्रिय बन्न सकेनन् । आफ्नै स्वार्थमा लिप्त भए । वनमा शासन गर्दा कहिले राता ढेंडुले वनको आम्दानी भेटेसम्म कुम्ल्याएर जान्थे, कहिले काला ढेंडुुले शासन गरेर ष्स्वनबासीलाई दुःख दिनुसम्म दिन्थ्यो । वनमा अशान्ति, भ्रष्टाचार, कुरीति, अनैतिकता, अत्याचार बढ्दै गयो । वनमा कुनै नियम भएन, कुनै कानुन भएन । मनमौजी शासन चल्यो ।

अर्कोतिर वनमा आक्रामक बाँदरहरुको ठूलो जमात बढ्दै गयो । ती बाँदरहरु छिमेकी वनका बाँदरहरुसँग तालिम लिन थाले । हातहतियार जम्मा गर्न थाले । छिमेकी बाँदरहरुले हातहतियार सहयोग गर्न थाले । बाँदरहरुले वनमा ठूलो रडाको मच्चाउन थाले । वन तहसनहस पारे । वनका बोटवृक्ष, चराचुरुंगी, पशुपक्षी सब विनाश गर्न थाले । वनका धेरै जीवजन्तुहरु मारिए । कसैको सुरक्षा हुन सकेन । सुरक्षा गर्ने निकाय नै कमजोर हुँदै गयो । सुरक्षा अधिकारी नै मारिन थाले ।

बाँदर र सुरक्षाकर्मीहरुबीच धेरै लामो भिडन्त भयो । दुवै पक्षमा हताहत भए । छिमेकीकै सहयोगमा दुवै पक्षबीच वार्ता भयो । ६ बुँदे, १२ बुँदे १८ बुँदे विभिन्न सम्झौता भए । बाँदरहरुले कति सम्झौता पालन गरे कति गरेनन् । केही समय शान्ति जस्तो भए पनि बाँदरहरु उद्दण्ड भए । उनीहरुले आफ्नो स्वभाव फेरि देखाउन थाले ।

बाँदर, ढेंडु र व्याधा पक्षकाबीच पटक पटक चुनाव भए । चुनावमा कहिले ढेंडु पराजित भए त कहिले बाँदर पराजित भए । व्याधा पक्षको त नामनिशानै हराउँदै गएको थियो । तर बाँदर र ढेंडु जब आपसमा लड्थे व्याधा पक्षले फाइदा उठाउँथ्यो । चुनावमा व्याधा पक्षबाट पनि केही सत्तामा आए । तर केही लछारपाटो लाउन सकेनन् ।

पहिलो चुनावमा बाँदरले वनबासीलाई डर, त्रास देखाई वा पैसाले किनी आफ्नो पक्षमा चुनाव जित्यो । अब ऊ झन् शक्तिशाली बन्यो । वनको सबै शासन, शक्ति आफ्नो कब्जामा पार्दै लग्यो । वनमा ब्रह्मलुट गर्न थाल्यो । वनका सारा आम्दानी लुट्न थाले । अनि अन्यत्रै लगेर जम्मा गर्न थाले । वनबासीले कहिल्यै शान्ति पाएनन् । अशान्ति, भ्रष्टाचार, अनैतिकता झन् मौलाउँदै गयो । वनमा बाँदरराज चल्यो । बाँदरभित्र पनि गुट उपगुट जन्मन थाले । असन्तुष्ट पक्षले अर्को गुट खोल्यो । ऊ सत्तासीन बाँदरहरुको विरोधमा उत्रियो । अर्कोतिर ढेंडुहरु पनि चुनावमा पराजित भएकोमा पश्चाताप गरिरहेका थिए । वनबासीहरुलाई हामीले सन्तुष्ट पार्न सकेका रहेनछौं भन्ने उनीहरुलाई आत्मग्लानी भयो । उनीहरु वनबासीहरुको समर्थन जुटाउन थाले । बाँदरहरुको अत्याचार धेरै टिक्न सकेन । आखिर वनबासीले बाँदरहरुलाई नराम्ररी चुनावमा पत्तासाफ गरे । बाँदरहरु हेरेका हे¥यै भए । ढुेंडुहरुले खुसियाली मनाए ।

वनमा नयाँ नियम कानुनको लागि बाँदर, व्याधापक्ष र डेंढुहरुबीच पटक पटक सभा गठन भयो । बैठक, सेमिनार, गोष्ठी धेरै भए । सभाहलमा बाँदर, ढेंडु, व्याधा पक्ष र अन्य कुकुर बिरालाहरु गरी ६०१ को ठूलो टोली गठन भयो । तर तिनीहरुले कानुन बनाउने नाममा भत्तामात्र पचाए । आफैंमा कुटाकुट, मारामार, लुछाचुँडी गर्न थाले । विश्वकै नमुना वन बन्यो त्यो । सबैको तमासा हेर्ने थलो बन्यो । विश्वमै कहीँ नभएको बाँदरतन्त्र, ढेंडुतन्त्र र व्याधातन्त्र ल्याउन थाले । वनबासीलाई त्यो अफापसिद्ध भयो ।

वनमा संविधान बनाउने अन्तिम मिति नजिकिँदै गयो । ढेंडुहरुको सत्तामा बाहुल्यता थियो । बाँदर पक्ष संख्यात्मक र नैतिक रुपमा कमजोर भए पनि शारीरिक रुपमा बलियो थियो । ढेंडुहरुले बाँदर पक्षहरुसँग पटक पटक वार्ता गरे । बाँदर पक्ष सहमतिमा आउन सकेन । ढेंडुहरु बहुमतीय प्रणालीबाट कानुन बनाउने निष्कर्षमा पुगे । आज सभाहलमा ढेंडु, बाँदर, व्याधापक्ष, कुकुर बिराला सबै जम्मा भएका छन् । ढेंडु पक्ष बहुमतीय आधारमा संविधान घोषणा गर्ने पक्षमा छ भने बाँदरलगायत अरु पक्षहरु त्यसलाई रोक्न लाठी मुङ्ग्री लिएर बसेका छन् । सबै आआफ्नै पक्षमा संविधान बनाउने दाउमा छन् ।

आखिर रातराता बहुमतीय पक्षबाट संविधान घोषणा गर्ने मात्र भनेर प्रस्ताव मात्र के आएको थियो बाँदरहरुले उद्दण्डता प्रदर्शन गरिहाले । सभाहलका माइक, कुर्सी सबै भाँचे । सुरक्षाकर्मी घाइते भए । ढेंडु पक्षका केही नाइकेहरुलाई बाँदरहरुले आक्रमण गरे । कति घाइते भए । अझैसम्म उनीहरुबीच वार्ता हुन सकेको छैन । आज वनमा वनबासीहरुलाई हिँडडुल गर्न पनि सास्ती छ । उनीहरु यो के तमासा हो भनेर झोक्राइरहेका छन् । यिनीहरुले हामीलाई शान्तिको सास फेर्न नदिने भए भनेर सबै चिन्तित छन् । जबसम्म यी बाँदर र ढेंडुहरुलाई तह लगाइँदैन, तबसम्म हामीले शान्तिको सास फेर्न पाउँदैनौं भन्ने चिन्ताले वनबासीलाई सताइरहेको छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.