~संजय अधिकारी~
समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले मलाई चिस्याए अनि भिजाए । ती अतिसामान्य बितेका पलहरूसँग मलाई कुनै गुनासो छैन । यद्यपि गुनासो पालेर पनि के पो हुने हो र ? भावनाको तहहरूबीच किचिएर रहेको स्मृतिको एउटा पत्र खुल्छ आजकाल, जब म कसैको बगैंचामा वा अन्य कतै पनि गुलाब फूलको बोट देख्छु । गुलाव मेरो अत्यन्त रुचिको फूल होइन । बरु मलाई त फूल नै नफुल्ने बिरुवाहरु अनि टयाक्टसका बोटहरू मन पर्छन् । तर मेरो गमलामा एक पटक टयाक्टस फूलेको थियो । कत्ति चाँडै ओइलाईहाल्यो त्यो सेतो सुन्दर फूल । आँखाभरि हेर्न पनि नभ्याउँदै । तैपनि एउटा गुलावको बोटसँग अनि त्यस बोटमा फूल्न लागेको निख्खर रातो कोपिलासँग मेरो बिगतको एक चौटा टाँसिएर रहेको छ । त्यसैले म आजकाल वर्षातमा निथ्रुक्क भिजेका पातहरू हुन् वा हिउँदमा कक्रिएका डाँठहरू हुन्, अथवा वसन्तमा मस्त फूलेका फूलहरू हुन्, तिनलाई देख्दा म टोलाउने गर्छु । कम्तिमा केही पलका लागि । नत्र त यहाँ टोलाउनको लागि जीवनले पल भन्दा ठूलो समय कहाँ छुट्याएर दिएको छ र ?
त्यस बिहान म कसैको घरको अग्लो पर्खालको तल सडकमा हिँडिरहेको थिएँ । सर्टको खल्तीभित्र सेलफोन बज्यो । स्क्रिनमा उसको नम्बर देखियो । ‘किन ? फोनको बटन दबाउँदै मैले सोधेँ ।’ कहाँ छौ ? उसले सोधी । ‘बाटोमा ।’ कहाँ बाटोमा ? उसले फेरि सोधी । ‘गुुलावको फूल आकाश भएको बाटोमा ।’
टाउकोमाथितिर फर्काउँदै मैले भनें । त्यसो भन्नुको कारण म छेउको अग्लो पर्खालको डिलबाट लहरै गुलाबका हाँगाहरू सडकतिर झुण्डिएका थिए, फालहाल्न लागे जस्तै गरी । त्यस हिसाबमा म गुलाबको बोटको लहरा तल थिए भन्दा हुन्थ्यो । वर्षातको सुरुवातको समय थियो । हाँगाहरू प्रशस्त फूल र कोपिलाले भरिएका थिए । मेरो जवाफ नबुझेर हुन सक्छ । उसले फेरि सोधी,
‘त्यो भनेको के ?’ मेरो टउकोमाथि धेरै गुलावहरू फूलेका छन् । मैले भने ।
‘तिम्रो फूलबारी मैले देखेको छु । त्यहाँ एउटै पनि गुलाबको बोट छैन ।
उसले भनी— ‘म अरुको बगैंचामा छु ।
मैले भने— ‘मेरो लागि फूल चोर्न गएका हौ ? ठट्यौली पारामा उसले भनी ।
‘हो । जून तारा चोर्न सकिन, त्यसैले । म पनि त्यही पारामा’ बोली । उसो भए एउटा रेड रोज मलाई ल्याईदेऊ ।
‘अवस्य । म त्यही अग्लो पर्खालको भित्तामा अडेस लागेर गफिँदै थिएँ । सडकमा मेरो अघि भएर पार हुने मान्छेहरूको संख्या ज्यादै पातलो थियो । आकाशमा बादलका टुक्राहरु वर्षातको योजना बुन्न ब्यस्त देखिन्थे । यद्यपि दिन घमाइलो थियो । ‘रेड रोज दिनुको अर्थ थाहा छ ? अबचाहिँ ठट्यौली भावलाई बदलेर उसले प्रश्न राखी ।
‘भनिदेउ न त । अबुझ जस्तो बनें म ।
‘केही होइन । एक्चुली आई डोन्ट नो । बट, आइ नो ।’ थाहा त मलाई पनि छ ।
‘अनि ?’ अनि के त ? उसले भनी । ‘त्यसो भए लिन्छौ मैले दिएको गुलाबको फूल ? स्वरलाई अलि गम्भीर बनाउँदै मैले भने । वास्तवमा म गम्भीर चाही भएको थिइन ।
‘तिमी दिन्छौ भने ।’ उसको मधुरो आवाज आयो । किन नदिने र ? त्यै पनि अर्काको बोटको टिपेर । किन्नु परेको भए अर्कै कुरा । अघिल्लो रातको सिमसिमे झरीले भिजेर होला पात, हाँगा र फूलहरू सबै सफा देखिन्थे । मैले उफ्रिएर एउटा फूल चुँड्न खोजँे । नफक्रिएको कोपिला मेरो हातमा आयो । चोर औँलाको टुप्पो काँडाले अलिकति कोतरेछ । यो पहिलो पटक थियो म कसैलाई गुलाबको फूल उपहार दिँदै थिएँ । एउटा जाबो फूल उपहार दिनु कत्रो ठूलो कुरा हो र ? कति नै असहज कुरा हो र ? तर त्यत्ति सहज पनि थिएन कुरा, जति सहज देखिन्थ्यो । ऊ मेरी एउटी साथी थिई र साथी मात्र किन प्रेमिका नै । तर, त्यत्ति मात्र चाही होइन । कसैकी श्रीमती पनि । उसको बिहे भएको पनि तीन वर्षभन्दा धेरै भैसकेको थियो । त्यसपछि मात्र हामी त्यसरी नजिकिएका थियौं ।
समयको एउटा असहज अन्यायमा हामी रुमलिन थालेका थियौं । त्यो अन्यायमा कुनै लिखित शब्दहरू अट्न सक्ने थिएनन् । त्यहाँ केवल अमूर्त भावनाका कलेवरहरू थिए । ती असहज भावनाका कुनै अन्त्य र सुरुवात कतै केही थिएन । हामीहरूबीचको आकर्षणको केन्द्र के थियो ? त्यो मैले कहिल्यै बुझेको होइन । र, मलाई लाग्दैन उसले पनि बुझेकी थिई । वा हुन सक्छ उसले बुझेकी होस् । आखिर अरुको मनको चित्रको जिम्मा त कहाा लिन सकिन्छ र ? दुनियाँले नदेखेको नजरमा एउटा असामाजिक र अराजक सम्बन्ध हामीबीच बिस्तार भइरह्यो । संसारले बनाएका नियम र संस्कारहरू बिनिर्माण गरेका थियौं हामीले । एकअर्कामा नजिकिनुको पराकाष्ठा नाघेर हाम्रो निकटता मौलाएको थियो । अब केही बाँकी थिएन एक अर्कालाई लुकाउनुपर्ने । एक अर्कामा छेकबार हालिरहनुपर्ने ।
त्यस दिन उसलाई भेटें । नफूलेको कलिलो गुलाबको फूल अर्थात् कोपिला मेरो समर ज्याकेटको भित्री खल्तिमा थियो । आकाशमा बादलहरू घनिभूत हुँदै गइरहेका थिए । दक्षिण लागेको घामको शक्ति बिस्तार बिस्तार क्षीण हुँदै जाँदै थियो । मध्यान्हपछि वर्षात हुने सम्भावना थियो । र मध्यान्ह हुन अब धेरै बाँकी थिएन ।
‘ल्यायौ ? उसले सोधिहाली ।
‘के ?’ मैले नबुझेको जस्तो गरें ।
‘तिमीलाई थाहा छ । के भन्ने कुरा ।’ त्यसको अर्थ तिमीलाई थाहा छ होइन ? मैले गम्भीर भएर सोधें । मलाई थाहा छ कि थाहा छैन भन्ने कुरा तिमीलाई थाहा छ । उसले चाँडै नै फूल दिइहालोस् भन्ने हाउभाउ देखाउँदै भनी । सरक्क निकालेर त्यो कोपिला उसको हातमा राखिदिए ।
‘थ्यांक यु । त्यसो भन्दै कोपिलालाई ओल्टाइपल्टाई गरी अनि भनी ‘फक्रन पाएको रहेनछ ।
‘हाम्रो सम्बन्ध जस्तै । म हतारिएर बोलें ।
‘अब फक्रन पनि पाउँदैन । उसले पनि तुरुन्तै बोली निकाली । मनभरि अरु निकै कुरा आए पनि म मौन रहें । ऊ पनि । हामीबीच केहीबेर पलाएको मौनतामा रातो गुलावको कोपिला पनि चुपचाप थियो । बिचरो निरीह कोपिला, कहिल्यै नफक्रने प्रेमको प्रतीक बन्न गइरहेको । उसले झोलाबाट सानो डायरी निकाली र त्यो कोपिलालाई त्यही डायरीको पानाहरूबीच राखी । यस्तो लाग्यो कि फुल्न नपाएको एउटा कलिलो प्रेम स्मृति बन्न लागेको एउटा अन्यायको पानाहरूबीच निसासिएर मर्न जाँदैछ । मध्यान्ह बित्न नपाउँदै आकाशबाट बर्षाका थोपाहरू चुहिन लागेका थिए । घामको डल्लो बादलका संगठित झुण्डहरू माझ अलप भएको थियो ।
आजकाल म सोच्ने गर्छु, के अर्थ थियो त्यो उपहारको ? संसारमा कम मूल्य भएका कार्यहरुको सूची बनाउने हो भने त्यसले अग्रस्थान प्राप्त गर्ला । जे होस्, त्यही पनि एउटा भावना हो । फुंग उडेको धुलौटे डगर जस्तो मन कोपर्ने भावना । जसले मलाई केही दिएको छैन, केवल एउटा रित्तो सम्झना । जसको प्रत्येक स्पर्शमा मेरो छातीभित्र एउटा पहिरो जाने गर्छ । समयको पांग्रो मलाई कुल्चिएर निक्कै पर पुग्यो । मन अमिलो पार्ने अतित बोकेर बाँचिरहने फुर्सद कहाँ हुन्छ र ? त्यही पनि निरर्थक र निस्सार अनि रित्तो अतित । शून्यमा तैरिरहेका अमूर्त भावनाहरूले बनेको बिम्बको कुनै ठोस मूल्य कहीँ कतै झल्किँदो रहेनछ । त्यो असहज सम्बन्ध न मरेर जान सक्यो न मौलाएर कुनै ठोस रुपको चित्र कोर्न नै सक्यो ।
करिब दुई वर्षजति पछि एउटा जमघट थियो । थुप्रै साथीहरू थिए । म पनि थिएँ । विशेष त ऊ पनि थिई । म अरु कसैसँग कुरा गरिरहेको थिएँ । मेरो छेउमा ऊ उभिएकी थिई । मलाई थाहा भएन किन हो उसले त्यो डायरी झोलाबाट निकालेर पल्टाई । त्यहाँबाट केही चिज तल खसेको देखेँ । त्यो केही रहेनछ सिवाय मेरो विगतको एउटा अंश । खङग्रङ्ग भएर सुकेको रातो कोपिलाको एउटा पत्र चुँडिएको रहेछ । उसले भुँइबाट उठाएर फेरि पहिलाकै जस्तैगरी राखी निक्कै जतन र मायाँ गरेर । त्यहाँ मैले म आफैँ भन्दा पनि धेरै ठूलो निरर्थकताको पराकाष्ठा हुर्किएको देखें । त्यसबारेमा केही सोध्न मन लागेन । पछि मनमा त्यो सुकेको रातो गुलाबको कोपिला घरिघरि आइरह्यो । अनि एक दिन उसलाई सम्बोधन गरेर एउटा चिठी लेखें । त्यसको एउटा अंश यस्तो थियो ।
‘एउटा प्रस्फूटित भावना तिम्रो डायरीको पानाहरूबीच मरेको छ । साधै अर्थ पनि पाउने आफनो प्रेमको मूल्य मैले त्यो सुकेको फूलमा सायद केही देखें । तिमीलाई भागिरहेको देखेँ काँडा जस्तो असन्तुष्टि बोकेर । यद्यपि तिमीसँग केही त रहेछ जसको स्पर्शमा एउटा निस्सार नै भए पनि भावनाको आकार बन्छ । मसँग त त्यस्ता केही छैनन्, शून्य सोचहरू सिवाय । बरु मलाई त्यो चुँडिएको सानो पत्र देउ । सम्हालेर राख्ने छु तिमिले जस्तै । कतै आत्मसन्तुष्टिको मसिनो धर्सो कोर्न सक्नेछु कि ? फेरि पनि त तिमी बोकिरहेकी छ्यौ । सुकेको कोपिलामा एउटा काँडा जस्तो प्रेम जसले जीवनपर्यन्त बिझाइरहने छ । आखिर भावनाहरूको मूल्य मन कोतर्नुभन्दा बाहिर कहाँ रह्यो र ? र यो कहिल्यै नपठाउनको लागि लेखिएको एउटा निस्सार पत्र थियो ।
(स्रोत : श्री रुपरेखा)