~गिरिप्रसाद बुढामगर~
एउटा सपना देख्ने मान्छे
एक दिन उसले
एउटा सपना देख्यो
संघीयताको !
संघीयता भित्र आफ्नो राज्यको !
त्यो राज्य भित्रको उ एउटा हकदार !!!
त्यसैले
उ आफ्नो राज्यको मनोरम पहाडवाट
सेता झर्नाहरू खसेको देख्यो
पाखाहरूमा चेलीहरूको मिठो भाका पायो
चौपारी र देउरालीहरूमा
वाँसुरीको गुन्जन सुन्यो
हरिया डाडा माथी
गुरासका थुड्डा चुम्दै
आफ्नो राज्य भित्र
रातो घाम उदाएको देख्यो।
राज्य प्राप्तीका उल्लास सँगै
रड्डीन वेलुनहरू आकासमा उडाएर
आफ्नो राज्यको नागरीकहरूले
भव्य उत्सव मनाएको हेर्यो।
अर्को दिन उसले
फेरी पनि सपना देख्यो
उही संघीयताकोे !
जहाँ हर्केले वन्दुक वोकेर गर्जदै थियो ,
“यो मेरो राज्य हो।”
फरी अर्को ठाउँमा विर्खेले खुकुरी नचाउँदै थियो,
“मेरो राज्य खोई?”
एउटा सपना देख्ने मान्छे
उसको सपनामा
उसले भाला र लाठी वोकेका
रक्तरञ्जित मान्छेहरू देख्यो
धनुकाँद भिरेका
आदिवासी जनजातिहरू देख्यो
उसको सपनाको यो अध्यायमा
वेलुन उडेको आकाशभरी
लडाकु विमान हरूको आतंक मडारियो
यसरी उ आफ्नो राज्यको कालो पहाडवाट
रगतको खोला वगेको देख्यो
पाखाहरूमा चेलीहरूको रोदन र चित्कार सुन्यो।
देउराली र चौपारीहरूमा
युवाहरूको विभत्स लाश भेटयो
उसले देखेको संघीयताको सपनामा
उसको राज्यको मनोरम पहाड भत्कीयो
गुराँसका थुड्डाहरू सवै झरे
उसको राज्यको देउराली र चौपारीहरू पनि हराए
उसको राज्यको रातो घाम
क्षितिज पारी गएर विलायो
संघीयताको महाद्धन्दवाट निस्किएको
अशान्तिको शोक धुन सँगै
उसको राज्यको मानचित्रै समेत मेटियो
अचम्म !
उस्तैमा उसको सपनाको
अर्को नविन अध्याय शरू भयो।
एउटा सपना देख्ने मान्छे
अव उसको सपनामा
आकाश थर्काउने मेघको गर्जन सँगै
मोर्चामा उभिएका सहासिला योद्धाहरू देख्यो
धर्ती हल्लाउने भुइचालुका संर्घष सँगै
न्यायप्रेमी जनताहरूका आँतीला पदचाप देख्यो
उसले ज–जसलाई देख्यो
उनिहरूको एउटै हुँकार थियो
संघीयता चाहिंदैन !
यो हुँकार झन् झन् बुलन्द हुदै थियो
मान्छेहरूको पदचाप झन् झन् तेज हुँदै थियो।
अखन्ड नेपालको रक्षा गर्न
अव उसको सपनामा
हर्के पनि कुर्लदै सामेल भएको देख्यो
विर्खे पनि हर्के सँग जुर्रमुराएको पायो
एउटा सपना देख्ने मान्छे
उ पनि के काम थियो र?
संघीयता चाहिदैन भन्दै
सवैभन्दा अगाडि मोर्चामा
रातो कात्रो बाँधेर उभियो।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३५ – २०६७ श्रावण ०५ गते, बुधबार)