~प्रकाश आस्था~
‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’
आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले।
सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको भएर हो कि के हो कुन्नि, पहिरनको सुन्दरतामा सदैव चनाखो झलजीको कोटको शोभामा आज भने यसले दख्खल पारेझैँ लाग्थ्यो। बाँसुरीको बजनले निम्त्याएको असन्तुलनले गर्दा कोटको गोजीको मुख बक्रबृत्ताकार बन्न पुगेको थियो भने कोटको एक भाग झोल्लिएको प्रस्ट देखिन्थ्यो।
झलनाथले दिल खोले, ‘तपाई पनि अध्यक्ष , म पनि अध्यक्ष।’ प्रचण्ड बोले, ‘अँ त नि दर्द पनि एउटै। ‘ ‘विस्तारवादीहरुको षड्यन्त्रले गर्दा, तपार्इँलाई नी गार्हो छ हगी?’ झलनाथ बोले। ‘अवश्यै त्यही हो। देख्नुभएन भाइरस? ‘
अलमलमा परेझैँ गरी झलनाथ बोले, ‘कुन भाइरस?’
झ्यालबाट बाहिरतर्फ नियाल्दै प्रचण्ड बोले, ‘त्यति कुरा पनि के नबुझ्या तपाइँले? डाक्टरले छोड्या भाइरस नी।’ कुरा बुझे झैँ गरी झलनाथले टाउको हल्लाए तर पनि भने, ‘तर..।’
रोकिएका झलनाथ पुन बोले, ‘अनि डाक्टरले नै भाइरस छोड्ने, यो कुन तरिका हो? यो त डाक्टरी धर्म र मानविय दृष्टिबाट पनि सरासर अपराध हो। को हो त्यो डाक्टर?’
झलनाथको नजिक सर्दै प्रौढ भावमा प्रचण्डजी बोले, ‘तपाई झलनाथ होइन, भोलानाथ हुनुहुँदो रहेछ। सार्है सोझो। त्यही भर’नी तपैँ पेलिनुभाछ। तपाईँमाथी मेरो दया छ। यति सामान्य कुरा पनि बुझ्नुभेन।’
‘लौ भैगोन्त। मैले नबुझेर के फरक पर्छ? तपाईँले बुझ्नु नै मैले बुझ्नु हो नि, होइन र?’ हाँसेरै टारिदिएर प्रसंग बदल्न खोजे झलनाथले।
झलनाथको नौनी शव्दबाट भावुक प्रचण्ड प्रभावित भइहाले र झलनाथलाई कोट्याउँदै बोले, ‘दिलको कुरा गर्नुभो। म भन्या तपाई, तपाईँ भन्याँ म। उहि वारी जमुना पारी जमुना मात्र भएको त हो नि। माने मैले यहि भएर पनि तपैँलाई यहाँ बोलाको हुँ।’
‘हैन यो माने भन्ने थगो त छोड्नु भएको रहेनछ नि त अझै तपाईँले।’ झलनाथ बोले।
‘हाहाहा.. कम्निष्ट भेसी’ प्रचण्ड बोले, ‘यसलाई पनि रणनितीकै रुपमा बुझ्नुस्।’
त्यसिपछि प्रचण्डले ढोका बाहिर खडा रहेका सेवकलाई समोसा र चियाका लागि आदेश गरे र झनै नजिक सरेर झलनाथको कानैमा भने, ‘एउटा काम गरौँ।’
‘कस्तो काम?’ अल्लि आश्चर्य भावमा झलनाथ बोले।
‘सम्झौताको काम।’ प्रचण्डले प्रस्ट्याए।
‘म त एक्लै छु। अरुहरुलाई सोध्या छैन। कसरी हुन्छ सम्झौता?’ झलनाथ बोले।
‘निश्चित रुपमा, यसमा तपाईँलाई नै धेरै फाइदा छ। अरुलाई सोध्नुको के अर्थ?’ झलनाथको चेहेराको भाव पढ्दै प्रचण्ड जुरुक्क उठेर बोले, ‘ मैले पो कहिले कल्ल्ााई सोध्या छु र? गरौँ गरौँ।’
‘नसोधि त अल्लि नमिल्ला। म अरुहरुसँग छलफल गरेर मात्रै यस विषयमा भन्न सक्छु।’ झलनाथले प्रष्ट्याए।
‘अरुसँग कुरा गर्ने होइन। कुरा आफ्नैसँग हो। जे भन्नु छ मैसँग भन्नुस्। समय छोटो छ ।’ प्रचण्ड बस्दै बोले।
झलनाथले भने ‘हुन्त हो।’,
‘के को हुन्त हो नि? कुरा यहि हो। तपाई मेरो मान्छे। म तपाईको मान्छे। हामी दुई मिलेसी नहुने के छ र?’ प्रचण्ड अलि कडा आवाजमा प्रस्तुत भए।
‘अप्ठ्यारो पर्छ कि भनेर।’ झलनाथले भने।
‘सम्झौता तपैँ र मेरा विचको हो। मित्रमित्रविचको हो। केको समस्या? पछि जे होला, देखा जायेगा।’ प्रचण्ड अलि कड्के।
झलनाथले सिलिङतर्फ फर्केर हेर र भने, ‘पर्खनुस्। एकछिन मलाई सोच्न दिनुस्।’
‘पानी खानुस्। जुस लिँदा पनि हुन्छ।’ प्रचण्डले जुसको भाँडो अगाडी बढाए तर झलनाथले पानी पिए र लामो श्वास फेर्दै भने, ‘लौ, सम्झौता त गर्ने तर हाम्राहरुले त तपैँलाई छान्ने छाँट त छैन।’
समोसा चिया आइपुग्यो। पानीको बोत्तल राख्दै झलनाथ बोले ‘भोकले पनि सताइसकेछ मलाई त।’
‘त्यो दैहिक भोक भयो’, अलि दार्शनिक सैलिमा प्रचण्डले विषयलाई जोडे, ‘अनि यो सम्झौतासँग भोक पनि जोडिएको छ। तपाई हामी दुवैको भोकलाई अहिलेलाई हल गर्ने मुल अस्त्र भनेको सम्झौता हो। खाजाले भोकको अस्थायी समाधान दिन्छ। सम्झौताले स्थायी। जहाँसम्म मलाई नछान्ने सवाल छ….’
‘हो तपाईलाई छान्दैनन्।’ झलनाथ बोले।
त्यसो भए तपाईँ र म आलोपालो गरौँ। पहिले तपैँ अनि म। तपाई भन्नु म, म भन्नु तपाईँ’ चस्मा उचाल्दै प्रचण्ड बोले , ‘तपाईँ पहिला हुने भनेसी अरुले मान्लान्।’
‘हुन त हो’ मुहारमा छाएको कान्ति लुकाउन खोज्दै झलनाथले समोसा चपाए अनि बोले, ‘तर मलाई के भन्लान्?’
‘पहिले प्रधानमन्त्रि बन्नुस्। काग कराउँदै गर्छ। पिना सुक्दै गर्छ।’ प्रचण्डले चिया पिउँदै सुझाए।
झलनाथ हौसे। मनमनै सोचे, ‘जे होला त।’ अनि मुस्कान छाड्दै बोले, ‘समोसा मिठो रैछ।’
‘समोसाभन्दा मिठो मेरो प्रस्ताव छ। गर्ने हैन्त सम्झौता? प्रधानमन्त्रि भईसकेपछि मात्र निकालौँला नि त्यो सम्झौता। अहिलेलाई गाप्य नै राखौँ। मैले सम्झौताको खेस्रा पनि बनाइसकेको छु।’ एउटा कागज गोजीबाट निकाल्दै प्रचण्ड बोले।
हौसिएका झलनाथले गौँडो देखेनन्। मखलेल उनले कोटको गोजीबाट हत्तपत्त फुल्टिन कलम निकाल्दै भने, ‘ल्याउनुस् धस्काइदिन्छु , आखिर इतिहास निर्माणको सवाल छ।’
झलनाथले कागजै नहेरी त्यसमा हस्ताक्षर धस्काइदिए र हतारहतार नयाँ दौरा सुरुवाल किन्न असन, त्यौडतिर लागे।
विश्वसनिय श्रोत भन्छ , ‘झलनाथजीले सही गरेको कागज खाली पाना थियो। थप्नु पर्ने कुरा पछि प्रचण्डले नै थपे।’ यसरी एउटा गोप्य सम्झौता सम्पन्न भयो।
………………………………………………………………………………………………………….
त्यही सम्झौताका कारण झलनाथ अहिले कुर्सीहरुमध्ये अग्लो कुर्सिमा छन्। उनी मन्थनको मध्यमा छन्। तर झलनाथजीको कुर्सी भने कम्पायमान छ। बजारमा मान्छेहरु भन्दैछन् , ‘भोलानाथझैँ लाग्ने झलनाथ त झेलनाथ पो रहेछन्।’ झलनाथ जुन कोणबाट हेर्दा पनि झेलनाथ देखिँदैछन्।
(स्रोत : Mysansar.com)