कविता : बाटो जस्ता हुँदैनन मान्छेहरु

~मुकेश राई~Mukesh Rai

एउटा सीमाहिन आकाश
शायद शून्य सिवाय केही छैन,
यही सीमाहिन शून्यतामा नै
आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर
तैरिरहेछन घाम, जुन, ताराहरु
अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु !

यहिँ शून्यमा तैरिरहने भूगोलमा
आ-आफ्नै स-सानो अस्तित्व बोकेर
कोलाहलमय महासागरमा सल्बलाउँदै
प्यासी खहरे झै जिजीविषा र
महत्वाकांक्षा बोकेर मान्छेहरु बगिरहेछन
कुनै अदृष्य किनारा पच्छ्याउँदै !

समयसगँ हिडिरहने यात्रा हो जीवन !
तर यी बाटोहरु नि ?
म लम्पसार तेर्सिएका
बाटोलाई हेरेर सोच्दैछु,
जो हरेक दिन, रात
यात्रीहरुलाई लक्ष्यमा पुर्याईरहन्छ !

यी निर्जीव् बाटाहरु
निरन्तर आफ्नो खुल्ला छातीमा
लाखौं यात्रीहरु समेटेर
बिना गुनासो, नहेरी कुनै रंग
नछुटाई जातियता, सम्प्रदाय
अनि धर्म, कर्म
हरेकलाई निष्पक्ष
निष्कपट बाटोले गन्तब्यमा पुर्याईदिन्छ !

तर मान्छेहरु एकाअर्का नै
लड्छन, लडाउँछन !
सर्वश्रेष्ठ हुनुको पगरी गुथेर
स्वार्थ, र अभिमानले मत्त
अरुलाई झारेर आफु चढन
अनेक षड्यन्त्रहरु रच्दै
ईज्जतको नाम लिएर
आडम्बर बोक्छन, घमण्ड खोक्छन
जाली मान्छेहरु,
त्यसैले बाटो जस्ता हुँदैनन मान्छेहरु !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.