कथा : जसमीन

~लेखनाथ काफ्ले~Lekhnath Kafle

मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी।

मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। उसले पनि मलाई देख्यो। उ मोबाइलमा कुरा गर्दै थियो।

उसको कुरा सकिए पछी म उसकै छेउ मै खाली रहेको सीटमा बस्न पुगे। “मलाई एक कल पनि गरेनौ त” मैले गुनासो गरे। ”खासै काम पनि परेन, फेरी भेट्ने बाहाना पनि भएन” उसले साँचो कुरा भन्यो।

“म सँग तिम्रो नम्बर थिएन, त्यसैले संपर्क गर्न सकिन। तिमी एउटा लेखक समेत भएकोले मलाई तिमी सँग केही कुरा गर्नु थियो। मेरो ब्यक्तिगत कुरा भए पनि, त्यसले यो शहरको केही नराम्रो कुराको खुलासा गर्छ कि भन्ने मेरो बुझाई छ। तिमी मेरो कुरा सुन्न चाहन्छौ? म सँग आज अहिले नै समय छ” मैले त आफ्नो सबै कुरा खरर भने, उसको चाहना र योजना नै न बुझी।

म कुनै यस्तो लेखकको खोजीमा थिए जसले म जस्ताको पीडा र समस्याहरुलाई सही तरिकाले सतहमा ल्याउन सकोस, अनी तिनिहरुको पक्षमा केही आवाज समेत उठान गर्न सकोस। मैले पहिलो चोटि भेट्दा नै ऊ लेखक हो भन्ने थाहा पाएकी थिए। तर उसलाई म के हुँ र के गर्दछु भन्ने थाहा थिएन। मैले उसको किताब “आप्रबाशका छालहरु” केही समय पहिले पढि सकेकी थिए। त्यसमा आप्रबाशिहरुका कथाहरु समेटिएका थिए, जसले युरोपियन युनियनको संसदमा समेत चर्चा पाएको थियो। म उसलाई पहिले देखी नै भेट्न चाहन्थे तर पनि संजोग नै मिलेको थिएन। आज अचानक हाम्रो भेट भएको थियो।

“ठिकै छ, म सँग केही समय खाली नै छ” ऊ म सँग कुरा गर्न राजी भयो। हामी लगत्तैको अर्को स्टेशनमा ओर्लेर एउटा कफीसपमा गयौ।

क्यापर्चिनो या लाटे?

होइन मात्र आँपको जुश।

हाम्रो फरक जीवन पद्दतीको एउटा नमुना।

“ल कुरा शुरु गरौ न त, तर आज सबै कुरा पनि सकिदैन होला, म पनि २ घण्टा भन्दा बढि तिमी सँग बिताउन सक्दिन। त्यसैले आज तिम्रो भोगाइको छोटो अनुभव साटौ। त्यसपछी नियमित भेटेर म सबै कुरा समेटुला, रेकर्डमा“ उसको प्रस्ताब।

उसको कुरा पनि ठीक थियो। आज हामी योजना बनाएर भेटिरहेका थिएनौ। यो भेट त संजोग मात्रै थियो। “यो राम्रो कुरा हो, म सहमत छु” मैले भने। मैले मेरो मनको कथा, जो भोगेर आज यहाँ सम्म आइपुगेकी छु, त्यो छोटकरीमा भन्न थाले।

“म पनि धेरै मान्छे जस्तै यो मेरो सपनाको देशमा अनेकन जुक्ती लगाएर आएकी थिए। आउना साथ म एउटा घरमा काम गर्न थाले।” मेरो कफीको बाफ बिस्तारै माथि उठिरहेको थियो। उसले एक घुट्को जुश लीयो। कफीसपमा ग्राहकहरु आउने र जाने क्रम चली रहेको थियो। ऊ मेरो कुरा सुन्न आतुर जस्तो देखिन्थ्यो।

“शुरुमा म एकजना दलाल मार्फत यही शहरको एउटा बिदुर साहूको बृद्ध बा को हेरबिचार गर्नु पर्ने कामको लागि ल्याइएकी थिए। पहिलो दिन नै साहुले बा को हेरबिचारको साथ साथै घरको सबै काम पनि गर्नु पर्ने सर्त राखिदियो। पछी त साहुको दिन दिनको ब्यभिचार पनि थपियो। साह्रै दु:ख पाए पनि कानुनी मुद्दा मामिला तिर लाग्न पनि सकिन। त्यसमा झन ठुलो लफडा थियो किनकी मेरो १ महिने भिषा सकीइ सकेको थियो र म गैरकानुनी बसाइ बसिरहेकी थिए। त्यहाँको कामको दु:ख सहन न सकी म त्यहाँबाट भागेर एउटा फ्याक्ट्रीमा काम गर्न गए।” म मेरा बिगतका धुलो जम्न नसकेका तर खोल उप्किसकेका किताबहरुका केही पानाहरु पल्टाउदै थिए। ऊ एकतमासले सुनी रहेको थियो, कुनै प्रतिकृया थिएनन उसका, तर म उसका आँखाहरुमा कौतुहलताहरु प्रस्टै भेट्टाउदथे।

“फ्याक्ट्रीमा त झन आफ्नै देशकाले नराम्रो दु:ख दिए। छ मैना नि काम नगरी त्यहाँबाट पनि भागे एक दिन, त्यो पनि ४ मैनाको मात्र तलब लिएर। २ मैनाको तलब शुरु मै दलालले खाइदियो। फेरी भौतारिदा भौतारिदै एउटा रात्री क्लबमा नाच्ने काम गर्न पुगे। त्यो क्लब त्यही थियो, जहाँ म कहिले काही जाने पनि गर्दथे किनकी त्यो मेरै देशको मान्छेले खोलेको थियो। त्यहाँ काम गर्दा बल्ल मलाई थाहा भयो, त्यहाँ त यो वा त्यो गर्ने वा नगर्ने भन्ने नै थिएन। मैले अब जे हुनु भईहाल्यो भनेर त्यहाँको माहोल अनुसार काम गर्न थाले। ग्राहकहरुलाई खुशी पारेर दाम पनि राम्रै कमाए” मेरो कफीको बास्नाको एक लहर मेरै नाक सामुन्नेबाट गुज्रियो। मैले एउटा सानो बिश्राम लिए र एक चुस्की कफी ताने।

उसले सुस्तरी सोध्यो “अनि?” उसले मलाई होइन मेरो कफिलाई हेरिरहेको थियो। मलाई मेरो कुरा अगाडि बढाउन हतारो थियो।

“क्लबको काम चाँही गजबको नै भयो। म सुन्दर पनि थिए अनी जवान पनि। मेरो काम कहिल्लै कम भएन। त्यसै बिचमा म एकजना नियमित ग्राहकको प्रेममा परे। प्रेममय जिन्दगी रमाइलो नै भयो, अनी त मैले पनि घर, परिवार, देश सबै भुले। जे थियो प्रेम मै थियो। प्रेमी स्थानिय नै भएकोले मलाई सबै किसिमको सुरक्षा थियो, कानुनी र सामाजिक पनि। तर त्यो रुमानी माया पनि एक दिन गर्ल्याम गुर्लुम्म ढल्यो, भिरालो पहाडमा आएको पहिरोले रुख, झारपात र घर ढलाएर सर्ल्याक सुर्लुक्क बगाए सरी। साढे दुई बर्ष चानचुन सम्म मात्र टिकेछ हाम्रो संबन्ध। शायद हामीहरुले जिन्दगीमा प्रेमको चिट्ठा कहिल्लै जित्दैनौ की? हाम्रो संसारै त्यस्तै छ, जस्तो पनि लाग्दछ धेरै जसो।” यस पाली मैले लामो सुस्केरा नै काढे।

“जसमीन तिमीलाई त्यो मान्छे सँग गाँसेको सम्बन्धको बारेमा कुनै पश्चाताप लाग्दैन” उसले सोध्यो। प्रश्न सामान्य थियो।

“मैले ऊ सँग बिताएका दिनहरु रंगीन थिए, म त्यसमा कुनै दु:ख मनाउ गर्दिन तर उसले किन अचानक बिना कुनै जानकारी र सुचना मलाई छोड्यो त्यो जान्ने इच्छा भने अझै पनि बाँकी छ“ म फेरी संझनाको त्यो पार्कको माझमा पुगे जहाँ हामी कहिले काही घण्टौ संगै बिताउदथ्यौ।

ऊ सँग फेरी भेट्ने कोशीस गरिनौ त?

गरे तर खास केही प्रगती भएन। मलाई लाग्यो ऊ केही पारिबारिक झमेलामा पसेको छ र उसलाई केही नैतीक दबाब पनि छ आफन्तिहरुबाट। ऊ मेरा लागि बसन्त बनेर आयो र सानो तिनो भुकम्प बनेर गयो। शायद उसका पनि आफ्नै बाध्यताहरु थिए होलान। तर म उसलाई अझै पनि घृणा गर्न सकेकी छैन। यो मन न हो। सबै बिर्सें तर ऊ…… लाग्छ, त्यो नीला गढेका आँखावाला पुरुष फेरी जसमीन भन्दै आउने छ एक दिन।

सम्भव होला र?

खोइ, मलाई पनि लाग्दैन तर …..।

मैले फेरी कथा जोडें। “त्यसपछी त मलाई यो ठाउँ, यहाँको हावाको गन्ध, गल्लिका छायाँहरु, मैले हिंडेका सडकहरु र सुतेका पलङहरु सब सँग मोह भंग भयो। लाग्यो अब यो शहर सँगको मेरो सहबास यत्ती नै हो। मलाई रातीको जून सँग पनि कुनै वास्ता रहेन। अनी फर्कु आफ्नै घर, आफ्नै देश भन्ने लाग्यो। म शरण परे आफ्नै देशको राजदुतबासमा। पासपोर्ट च्याती सकेकी थिए, राष्ट्रिय परिचय पत्र पनि साथमा थिएन। तै पनि दुताबासका असल कर्मचारीका सहयोगले ट्रावल डकुमेन्ट बन्ने भयो। २ साता पर्खनु पर्ने भयो देश फर्कन।

उसले र मैले, दुबैले आफ्नो गिलास तर्फ हेर्‍यौं । अझै धेरै नै बाँकी थिए पेय पदार्थहरु तर हामी दुबैले पिएनौ।

तीन दिन राजदुताबासले राखेको आबासमा बस्दा न बस्दै मेरो मन फेरी बदलियो। एक रात मन अचानक कठोर भयो। अब देश फर्कन पनि मनले मानेन। “जवानी यही गयो, पैसा यही माटोले सोस्यो, इज्जत यही गुमाए, अब खाली हात देश फर्कन्न म”। म राजदुतबासको सामुहिक बासस्थलबाट भागे।

तिमी देश फर्केको भए हुन्थ्यो कि?

त्यस्तो काल्पनिक कुराले अब के हुन्छ र…. के नै फरक पार्छ र अब?

अनी फेरी?

म अहिले यही शहरको दक्षिणको रेडलाइट एरियाको यौनकर्मी हुँ। तिमीलाई अनौठो त लागेन त्यस्तो थाहा पाउँदा?

लागेन, यो हाम्रो समाज कै एउटा हिस्सा हो, किन अनौठो मान्ने?

समझदार रैछौ।

“हिजो राती सम्म एउटा बूकिङमा थिए। एकजना बिदेशी ब्यापारीले १ साताको लागि बुक गरेको थियो। पर्सीबाट फेरी बुकिङ छ, भोली एक दिन आराम गर्ने। कम्पनी छ, त्यसैले मिलाउछ सबै। के गर्ने काम कामै हो, आफु सँग जे उपयोगी छ त्यही प्रयोग गर्ने त रैछ, जिन्दगीमा। ज्ञान हुनेले ज्ञान, ज्यान हुनेले ज्यान।” मैले फेरी थपे एकनासले मेरा बिचार सहितका लामा कुराहरु।। मैले त्यसो भनी रहदा ऊ पटक्कै सन्तुष्ट देखीएन। बरु उसको अनुहार उदेक लाग्दो भएको थियो।

उसले भावबिहिन मुद्रामा मलाई पुलुक्क हेर्यो र भन्यो, तिम्रो कफी!

धन्यवाद, मैले त गफको रन्को र उत्तेजनामा कफी नै बिर्सिइछु।

उसले पनि फेरी जुश पियो र गिलास आफु भन्दा अली पर राख्यो। मेरो कफीको बाफ उड्न छोडि सकेको थियो।

मैले थप कुरा जारी राखे “सबै तिरबाट हण्डर खाए पछी यता लागेकी हुँ, यस्तै छ जिन्दगी। आजकाल त मेरो लागि यो शरीर नै एउटा फ्याक्ट्री हो जस्तो लाग्छ। मेरो जीवनका सारा आवश्यकताहरु यसै कारखानाबाट उत्पादन हुन्छन।”यसो भनी रहदा म एक छीन त टोलाए। ऊ अली पर हेर्न खोज्दै थियो।

“तर यहाँ ठिकै छ, काम कानुनी रुपले मान्यता प्राप्त छ, कर तिर्दछु सरकारलाइ। मान्छेले बाहिर जे जसो भने पनि हामीले गरेको काम एउटा उद्योग नै जस्तै स्थापित छ। अहिले त यहि कै आइडी पनि छ, साह्रै दु:खले पाए त्यो पनि।” मैले म अब गैरकानुनी रहिन भन्ने कुरा खोले। तर उसले कसरी आइडी पाए भन्ने कुरामा चासो नै राखेन।

“त्यसो पो” ऊ फुस्फुसायो।

“किन कुरा मन परेन” मैले उसलाई सोधे।

उसले पनि साँचो कुरा भन्यो “तिम्रा सबै भोगाइ र भनाइहरु मेरो लागि एकदम अप्रत्याशित थिए। एक झट्का नै लाग्यो मलाई तर तिमीले ती सारा कुरा कती सरल र सोझो पाराले भन्यौ” यती भनेर ऊ त मलाई एक तमासले हेर्न पो थाल्यो।

म भने उसका ति कुराहरुले नजानिदो किसिमले प्रभाबित भई सकेकी थिए।

कहिल्लै रेडलाइट एरियामा छिरेका छौ? मैले सोधे

उसले घुमाउरो पाराले भन्यो “यो शहरमा, यो जमानामा, जिन्दगीमा कम्तिमा एक पटक त्यहाँ नजाने त निकै कम नै होलान नि, होइन र? उसले म सँग आफ्नो कुरालाई कशी लगाउन खोज्यो। म राम्ररी बुझ्दछु पुरुषहरुको मनोभाव र संकेतहरु।

त्यस पछीका केही क्षणहरु सान्नाटामय रहे, बातावरण सून्य र खाली खाली बन्यो। तर त्यो अवस्था भने धेरै बेर रहेन। उसले मोबाइलमा समय हेर्र्यो।

बाँकी फेरी गरौ हुन्न?

हुन्छ, यो बाँकी कफी र तिम्रो जुश सकेर लागौ है, त मैले सुझाए।

अहिले मलाई आँफैमा एउटा तर्कना आइरहेको छ मनमा, खोइ कस्तो तर्कना हो यो, अरु बखत भन्दा भिन्नै। अनी त बाँकी कफी पनि एक किसिमको मौनता, डर र कौतुहलताका साथ सके। मैले यसो टाउको उठाएको ऊ त पहिले नै जुश सकेर मलाई नै पर्खि राखेको रैछ। त्यत्ती कफी पिउन पनि किन कती धेरै समय लागे जस्तो अनुभुती भयो मलाई।

छुट्नु अगाडि मैले उ प्रती अनुग्रहित हुँदै सोधे “तिमी ब्यस्त मान्छे, समय दियौ, मैले आफ्नो दु:ख पोख्न पाए। मलाई तिम्रो नम्बर दिन सक्छौ?” मैले यसो भनी राख्दा मेरो मनको कुनै कुनामा नारित्वका भावनाहरु खुल्दुल गरे। मेरो मनमा एउटा अफ्ठ्यारो उदाशीको राप उठ्यौ। खै किन हो कुन्नी धेरै समय पछी एउटा लोग्ने मान्छेलाई पुरुषको दृष्टिवाट हेरिरहेकी थिए। ऊ मेरा ग्राहकहरु भन्दा भिन्न थियो।

यो मेरो बिजिनेस कार्ड। उसले एउटा सामान्य बिजिनेस कार्ड म तिर सार्‍यो। मैले मेरो पर्समा राखे।

तिम्रो नम्बर यसमा लेख त, उसले एउटा सादा कागजको चिर्कटो दियो।

अब तिमी कता लाग्छौ?

उता तिर।

अनी तिमी?

यता तिर।

फेरी भेटौँला।

धन्यवाद, अनुभव बाढेकोमा र जुशको लागि पनि।

धन्यवाद समय र मेरो कुरा सुन्ने धैर्यको लागि।

हामी एक अर्कोलाई अंकमाल गर्यौ। ऊ त्यस पछी पछाडि न फर्की, सोझै मेट्रो स्टेसन तिर लाग्यो।

मलाई भने उही कफीसपमा फेरी जान मन लाग्यो। त्यहाँ शायद हाम्रो बसाइका बासनाहरु अझै बाँकी थिए की? मलाई त्यो एक चोटि अनुभव गर्न मन लाग्यो। म फेरी उही कफीसपमा फर्के। हाम्रो टेबल अझै खाली थियो, ति दुई गीलासहरु पनि त्यही थिए। शायद मेरो फर्काइ तिनिहरुलाई पहिल्लै देखी थाहा थियो। म त्यही पुगे। म उसको कुर्चिमा बसे, अझै तातै थियो त्यो। सामुन्नेको खाली कुर्ची र ति दुई गीलासहरुलाई एक टकले हेरी रहे। उसको बिजिनेस कार्ड झिके पर्सबाट र हेरे। त्यहाँ उसको अफिसको टेलिफोन नम्बर, उसको नाम, पद र ठेगाना थियो, मोबाइल नम्बर थिएन। अनी सम्झे उसले पनि त मेरो मोबाइलको नम्बर सोझै आफ्नो मोबाइलमा सेभ गरेको थिएन नि। अनायासै म कतै कल्पनाको दुनियाँमा बहलिए। म, मेरो नाम, मेरो जीवन र जसमीन फूलको अर्थ, के यी संयोग मात्रैले जुरेका हुन?

खस्याक खुसुक आवाज आयो, टाउको उठाए, टेबलका ति दुई गिलासहरु अहिले त्यहाँ थिएनन्।

लेखनाथ काफ्ले, ताइपेइ

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.