~चर्चित ढुंगेल~
‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। हर्ताकर्ता भएर उसले ङिच्च हाँस्दै उच्चमार्गी र निचमार्गीका कान फुक्ने काम गर्दछ। एड्शन अरान्ते दो नासिमेन्तो अर्थात् प्रसिद्ध अन्तराष्ट्रिय ब्रजालियन फुटवलर पेले फुटबल खेल्नकै लागि जन्मिएका हुन् भने दलेहरु दलाली गर्नकै लागि मात्रै जन्मिएका हुन्। पेलेका शरीरमा रगत भएर फुटबल बगे जस्तै दलेका शरीरमा दलाली मात्र बग्छ।
‘घोडाले घाँससँग मित्रता गाँस्दा के खानु’ भनेर मित्रता नगाँसे जस्तै दलेले इष्टमित्र, नाताकुटुम्ब, छरछिमेकी कसैलाई पनि मित्र भनेर स्वार्थसिद्धीमा बाहेक हात जोड्दैन, परिआउँदा र लुट्न पाउँदा ‘कुकुरले हड्डी छोड्ला’ तर दलेले छोड्दैन। यो उसको सनातन जीविकोपार्जनको अनुपम उपहार जस्तै हो। ‘तरुनी खेती’ भने जस्तै यो युग र अनुशासन बिगार्ने दलाली खेती हो। कान फुक्न जान्नेले यो पेशामा धनदौलत कमाएका छन् भने दैलो ढुक्न लाजघिन नमान्नेले उच्च ओहोदा कमाएका छन्। इमान बेचेर इनाम कमाउने यो जगमा कोही छन्/हुन् भने दलेहरु मात्रै हुन्।
अब आयो जालोको पालो। ‘जालो’ भन्नाले घेराबन्दी, भुलभुलैया, धराप वा अल्झाउने/अल्मल्याउने/जकड्ने पासो भन्ने अर्थ लाग्छ। जालोलाई घिरौँला र माकुराको जालो मात्रै भनेर बुझियो भने कम बुझिएको ठहर्छ। तसर्थः कुकर बम्ब, तुल बम्ब, सुतली बम्ब, एम्बुस आदिलाई पनि जालो भनेर बुझ्नु पर्दछ। अश्रु ग्याँस र कर्फ्यु पनि जालो नै हुन्। बन्द, हड्ताल, आन्दोलन, अनसन आदि पनि एक प्रकारका जालो नै हुन्। तर असली जालो चाँही दलेले गोटीका रुपमा प्रयोग गर्ने एक ब्यक्ति वा अनेक ब्यक्ति नै हुन्। यस्तै ब्यक्ति कालान्तरमा गोटीबाट दले हुन्छन्। यसरी नै दलेको पिँढी चलेको छ।
‘दलेसँग जालोको नरनाता के छ?’ भन्ने प्रश्न तपाईँका मनमा पलाएको होला। तर यिनको चेब्जुबाजेकै पालादेखि अनन्य सम्बन्ध रहँदै आएको छ। दलेले दलाली गर्न जालोको सहारा लिने भएकाले वा दलेले दलाली गर्दा जालो बनाएर गर्ने भएकाले नै यिनको सम्बन्ध सियो र धागोको जस्तो, पराल र आगोको जस्तो भएको हो। अझ अचेल त यिनको सम्बन्ध भट्टी र जँड्याहा जस्तो, क्यासिनो र नेपाली जस्तो, बैँक र डाका जस्तो, अपहरण र फिरौती जस्तो, झापड र झलनाथ जस्तो, सरकार र दण्डहिनता जस्तो, सभासद र संविधान जस्तो भएको छ। त्यती मात्र कहाँ हो र, नेपालमा त दल र कुर्सीको जस्तो सम्बन्ध छ दले र जालोको। अर्थात जस्ले जे भनोस्, दले र जालोको दोस्ती बाहुनी बज्यैका ठेकीमा दही जमे जस्तै जमेको छ।
दलेको जालो फेसबुकको जालो भन्दा ब्यापक रहेको छ। सरकारी कार्यालयमा गाविसदेखि मन्त्रालयसम्म, प्राविदेखि विश्वविसम्म, सहकारीदेखि केन्द्रीय बैँकसम्म कहीँकतै दले नपुगेको र दले नभएको ठाऊँ छँदैछैन। ठेक्कापट्टादेखि राज्यसत्तासम्म दलेकै दलदल छ। दलेकै जगजगी छ। कोठीमा बेचिएकी चेलीदेखि नक्कली विलका ठेलीसम्म, खाडीमा बेचिएका जवानदेखि चोरी/डकैटीका वाहनसम्म, निर्धाको घर घेर्नेदेखि गाडीका नम्बरप्लेट फेर्नेसम्म, बडीगार्डदेखि बुढीगार्डसम्म, सडकदेखि सदनसम्म दलेकै चकचकी छ। दलेकै रत्यौली छ। अब यता(कतार)को कुरा गरौँ।
हप्तैपिच्छे अलपत्र पारिएका नेपालीहरु यहाँस्थित नियोगमा अँध्यारो मुहार र अनिश्चित भविष्य लिएर समस्या दर्शाउँदै आश्रय लिन आएको देखेर तिनलाई यस्तो हालतमा ल्याउने ठूला टाउके दलेदेखि साना टाउके दलेहरुप्रति कन्सिरी तातिनेगरी रिस उठेर आउँछ। यताका स्वनामधन्य दले पनि नेपाली, उताका बदनामधन्य दले पनि नेपाली र जाली भिषा, जाली पासपोर्ट र हुँदै नभएको खाली कम्पनीमा उता र यताका दलेले भनेकै भरमा परेर अलपत्र हुनेगरी ठगिने पनि नेपाली। हे दले! तिमेरलाई दलाली नगरी खाएको पच्दैन? दलाली नगरी तिमेरको घर चल्दैन? तिमेरको अन्तर्राष्ट्रिय जालो देखेर तिमेरको नियत जस्तै कालो खेद प्रकट गर्न मन लाग्छ। धन्य होस् तिम्रो दलाली र धन्य हौ तिमी दले! अब फेरि उताको कुरा गरौँ।
कुनै गाउँस्तरीय कार्यालयमा वा सहरस्तरीय मन्त्रालयमा जहाँ गए पनि पहिले दले भेटिन्छ। उसले सकेको बाहिर धुत्छ, भित्रको दलेले भित्रै धुत्छ। जहाँ पनि दलेले नाङ्गेझार पारेर पठाउँछ। पउँचवाला दलेहरुले त के सम्म गरेनन्? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही हप्तादेखि पार्किङ्गमा राखिएको नेवानीको जहाजका कम्तीमा दस करोड जाने पार्टपुर्जाको बाकस नै दलेहरुले गायब पारे। देश बिगार्ने दलेहरु नै हुन्। देश बनाउनु छ भने दले बिग्रिनु पर्छ। दले निख्रिनु पर्छ। आजका मितिसम्म संविधान नबन्नुका पछाडिको कारण पनि दलेहरु नै हुन्। झलेको नेतृत्वको सरकारले ‘दले निर्मुल अभियान’ मात्रै थाल्यो भने पनि देशका लागि महान उपलब्धि हुनेछ।
(स्रोत : Mysansar.com)