नियात्रा : आधा घण्टाको यात्रा

~गिरीप्रसाद बुढा मगर~Giri Prasad Budha

एक ठाउँमा एउटा रहर लाग्दो, कलकलाउँदो जिउ भएको नव युवा भेटियो। अपरिचित भएता पनि उसको शिष्ट बोलीवचन तथा व्यवहारको कारण उक्त नव युवालाई मैले निकै मन पराएँ। उसँग आधा घण्टा सँगै यात्रा गर्नु पर्ने भयो।

परिचयको क्रममा उसले आफ्नो नाम श्यामलाल खत्री बतायो। पेशाले क्याम्पसमा अध्ययन गरिरहेकेा र उमेर चाहिं बाइस तेइसको जति देखिने त्यो युवा निकै गम्भीर प्रकारको थियो। गफको प्रसंगमा उसले भन्यो, “दाई, देशमा हत्या, आतंक र अशान्तीको बादल हटेको पनि केही समय बितिसक्यो भनिन्छ। तर दाई मलाई त अझै पनि यी पुलिस सैनिक भनेपछि घृणा लागेर आउँछ।”

“किन र?” मैले श्यामलाल खत्रीसँग जिज्ञासा राखे।

मेरो जिज्ञासा मेटाउनको लागि उसले गम्भीरतापूर्वक भन्यो, “दाई, हुन त त्यो घटना घटेको पनि निकै वर्ष बितिसक्यो तैपनि त्यो दिन मलाई आजै जस्तो लागिरहन्छ। त्यति बेला म सानै थिएँ। मेरो दाजुलाई माओवादी भनेर घरैबाट पुलिसले पक्रेर लग्यो। आमा र बाबुको रूवाबासी चल्यो। आमा र बुवासँगै म पनि चिच्याइ चिच्च्याइ रोएँ। आमा र बुवा दुवैलाई लछार पछार पार्‍यो। अनि मलाई पनि एउटा पुलिसले लात्तैलात्ताले हानेर फुटबल जस्तै बनायो। “केही हुंदैन। तिमीहरू नआत्तिउ। म निर्दोष छु …।” भन्दै दाइले हाम्रो परिवारमा शान्त्वना फिजाउँदै थिए। तर पुलिसहरू दाईलाई आँखामा कालो पट्टि बाँधीदिएर घिच्याउँदै डाँडो कटाए। उसको एक दुई घण्टामै हाम्रो घरको पल्लो जंगलमा बन्दुक पड्केको आवाज आयो। त्यो दिनभरि त्रसले त्यो कालो जंगलमा कोही पनि जान सकेनन्।

पछिल्लो दिन थाहा भयो, ती हत्याराहरूले मेरो दाजुलाई त्यही मारेर फ्याँकिदिएका रहेछन् ….।”

त्यो नव युवा अथवा श्यामलाल खत्री एक कुशल वक्ताले झैं धारा प्रवाह बोलिरहेको थियो। “…. अनि दाई कृष्णलाल बुढा नामको एउटा कांग्रेस कार्यकर्तालाई सुराकी र फटाहा भनेर माओवादीहरूले मारिदिए पछि गाउँका अरू जालिझेलिहरूले गाउँ भरिकै सिधासाधा र निर्देश मान्छेहरूलाई समेत झुट्टा मुद्दामा फसाउने र दुःख दिने काम गर्न थाले।

ती फटाहाहरूकै जालमा मेरो बुवा पनि पर्नु भयो। मेरो बुवा जस्तो सिधासाधा मान्छे जो खेतवारीमा काम गर्ने गर्थे। भैंसीलाई घास काटेर दुःख गर्थे। उनलाई माओवादी कांग्रेस भन्ने केही थाहा थिएन। तर पनि मेरो बुवालाइृ माओवादीको नामबाट बाइस बाइस महिना जेलमा सड्नु पर्‍यो।”

“के तिम्रो बुवा पढे लेखेका हुन्?” श्यामलाल खत्रीलाई मैले बीचैमा प्रश्न गरे।

“अँह, मेरो बुवा बिलकुल अनपढ मान्छे थिए। यस्तो अनपढ मान्छेलाई जेल भित्रका माओवादीहरूले पढ्न लेख्न सिकाएका छन्। यसरी मेरो बुवा जेल जानुपूर्व साधारण किसान थिए तर जेलबाट निस्कंदा माओवादी भएर निस्केछन् ……।”

यसरी गफ गदर्ैै हामी दुवै अगाडि बढिरहेका थियौं। यत्तिकैमा बीच बाटोमा श्यामलाल जत्तिकै कलकलाउँदो उमेरकी एउटा युवतिसँग हाम्रो जम्का भेट भयो। नङपोलिस, लाली, क्रिम, लिपिस्थिक, टप आदि कुनै पनि तडकभडक उनीमा देखिंदैनथ्यो। मन्द मुस्कान भएकी उनी सूरूवाल कुर्ता र चप्पलको साधारण पोशाकले मात्रै पनि अत्यन्तै आकर्षक र राम्री देखिन्थिन्। भेट हुने बित्तिकै श्यामलाई र ती युवतीले हादिृकतापूर्वक एक आपसमा हात मिलाए। त्यसपछि दुवै जनाले आपसमा सन्चो विसन्चोको कुरा गर्न थाले। त्यतिन्जेल सम्म म पनि तिनीहरूकै छेउमा उभिएर उनीहरूको कुरा सुने। संक्षिप्तमै भए पनि कर्तव्यबोधले भरिएको उनीहरूका मीठा कुरा सुनेर मैले मनमनै सोचें, “कति गहिरो मित्रता। कति आकर्षक व्यवहार। कति महान जिम्मेवारी बोध। वास्तवमा यस्तै खालका युवकहरूको काँधले मात्रै देश र जनताको भविष्य थाम्न सम्भव छ ….।”

जेहोस्, कलकलाउँदी ती युवती र श्यामलाल खत्री यी दुवैले करिब १० मिनेट जति त्यहाँ समय बिताए र फेरि भन्ने वाचाका साथ विदाइका हात मिलाए। त्यसपछि श्यामलाल र म आधा घण्टाका यात्रालाई अरू छोट्याउँदै अगाडि बढ्न थाल्यो।

“अहिले भेटिएको त्यो केटीलाई याद गर्नु भो दाई?” अलि पर पुगेपछि श्यामलालले फेरि म सँग गफको मेसो निकाल्यो।

“अ गरे।” मैले छोटो वाक्यमा बोले।

“यो केही मेरो सानो छँदाको असाध्य मिल्ने साथी हो। एकान्त गोठहरूमा हामी दुवै घण्टौ खेलेर बस्थ्यौं। काफल टिप्दै गर्दा जंगलमै हराएर आधीरातमा घर फर्कन्थ्यौं। तर विचरी …..।” उ बोल्दा बोल्दै बीचैमा रोकियो।

“के विचरी?” मैले सोधें।

“मैले अघि कुरा गर्दै थिएँ नि दाई, माओवादीले मारेको त्यो कृष्णलाल बुढाको बारेमा … हो उसैको छोरी हो यो। विचरी बुवा मारिएपछि टुहुरी बनेकी यसलाई उसकी आमाले ठूलो साहसका साथ हुर्काइन र पढाइन्। यो केटीको बुवा कांग्रेस र मेरो बुवा माओवादी भए पनि हामी दुईमा भने कुनै पूर्वाग्रही र नकारात्मक धारणा छैन्। दाईसँग के कुरा लुकाउ र, हामी दुईको बीचमा गहिरो मित्रता मात्र होइन, चोखो प्रेमका साथै हामी एक अर्काको समेत भइसकेका छौं। अनि दाई यसै वर्ष मेरो र उसको पनि बि.एको पढाइ सकिंदै छ। हाम्रो पढाई सकिए लगत्तै बिहे पनि गर्नु पर्ला भन्ने सोचेका छौं।

“बिहे गर्नु त राम्रो हो तर तिम्रा बुवाहरूले बोकेको राजनैतिक विचारको भिन्नताले तिमी दुवैको वैवाहिक जीवनमा समस्या ल्यायो भने ….।” मैले भने “दाई पनि धेरै पिछडिएको कुरा गर्नु हुन्छ हाम्रो बुवाहरू पो कांग्रेस र माओवादी थिए। हामी त कहाँ त्यस्तो हौं र ……।” उसले मलाई अलमलमा पार्‍यो।

उसो भए तिमी दुवै एमाले पार्टीका हौ त?” मैले उसलाई सोधें।

“नाई नाई नाई हामी एमाले, माले, राप्रपा, मधेशवादी केही पनि होइनौं।” उसले मलाई झनै अलमलमा पार्‍यो।

“उसो भए तिमीहरू के हौ त?” म प्रष्ट हुन खोजें।

“हामी दुवै क्रान्तिकारी दृष्टिकोण बोकेका युवा हौं। संसार बदल्ने कुरामा हामी दुवै एक छौं। प्रतिबद्ध छौं। त्यसैले त हामी दुवैसँग वर्गीय प्रेमको समेत गहिरो सम्बन्ध छ ….।”
यसरी उसले एक पछि अर्को गर्दै निरन्तर कुरा सुनाई रहेको थियो। मैले पनि निरन्तर उसको कुरा सुनिरहेको थिएँ। आधा घण्टाको यात्रामा कति नै पो कुरा हुन्छन् र? हामी दुवै बजारको नजिक आइपुग्यौं। मान्छेहरूको आवत जावत क्रमशः बाक्लो भेटिन थाल्यो।

यत्तिकैमा हामी एउटा दुईतले पक्की घर नजिकै पुग्यौं। घरको अगाडि एउटा मोटो मोटो, भलादमी जस्तो चिल्लो चापुलो मान्छे आराम कुर्चीमा बसिरहेको थियो। त्यो मान्छेलाई मैले नचिने पनि श्यामलाल खत्रीले चिन्दो रहेछ। उसलाई देख्दे वित्तिकै श्यामलालले बढो हार्दिकतापूर्वक उसलाई नमस्कार टक्र्यायो। त्यो मोटे मान्छेले पनि त्यसरी नै नमस्कार फर्कायो। यसरी हामी दुवै अलि अगाडि बढ्यौं।

अलि पर पुगेर श्यामलाल खत्रीले मसँग विस्तारै भन्यो। “त्यो मैले नमस्कार गरेको मोटे मान्छेलाई देख्नु भो दाई?”

“अँ देखें।” मैले भने।

“त्यै मान्छे हो मेरो बुवालाई बाइसबाइस महिना जेलमा सड्न लगाउने। त्यसकै दाईले हो रे पुलिस लाएर मेरो दाईलाई मार्न लगाउने। भन्न त मान्छेहरू यिनीहरूलाई द्वन्द्वकालमा विस्थापित भएका आन्तरिक शरणार्थीहरू हुन् भन्छन्। द्वन्द्वपीडितहरू हुन भन्छन्। तर देख्नु भयो त दाई यिनीहरूको महल कति ठूलो छ। अनि यिनीहरू कति सुख सयलमा बसेका छन्।
यसरी उसले यतिबेला महलको मान्छेको बारेमा कुरा गरिरहेका थियो। साथसाथै हामी दुवै अगाडि तर्फ बढिनै रहेका थियौं। यत्तिकैमा हाम्रो अगाडिबाट एउटा चिल्लो गाडीको “टिरिटटिरिट” हर्न बज्यो। हामी दुवै यसो सडक किनार तर्फ साइत लाग्यौं।

“यो गाडी हेर्नु भो दाई?” सडक किनारबाट अगाडि बढ्दै उसले भन्यो।

“अँ हेरे। गाडी साह्रै राम्रो छ। यो गाडी त निकै महंगो पर्छ होला।” मैले भने।

“हो त नि दाई, यो त विदेशी गाडी हो। नब्बेलाख देखि करोडको हाराहारीमा पर्छ भन्ने सुनेको छु। अनि दाई तपाईलाई थाहा छ यो गाडी कस्को हो?”

उसले मलाई गाडिको बारेमा सोध्यो।

“अहं थाहा छैन।” मैले फेरि छोटो जवाफ दिएँ।

“यो गाडी एकजना माओवादी नेताको हो। मेरो बुवा जेल परेको बेला उ एकचोटी हाम्रो गाउँमा पनि पुगेथ्यो। त्यतिबेला उसले “हामी सर्वहारा वर्गको प्रतिनिधि हौं भन्दै ढिढो र सिस्नो चाखेथ्यो। हामी जन्मेकै क्रान्तिको लागि हो। भन्दै हिंडेथ्यो।” तर आज देख्नु भो त दाई माओवादीहरूको क्रान्ति …….। यिनीहरूको बिलासी जीवन …..।”

त्यो नव युवा अथवा श्यामलाल खत्रीका कुराहरूमा मिठास भरिएको थियो। सत्यता प्रतिविम्बित भइरहेको थियो। नेपालमा दशवर्षे शसस्त्र द्वन्द्व चल्दै गर्दा भलै उ बच्चा थियो होला तर पनि हत्या, आतंक र अशान्तिको बादलले उसलाई पनि नढाकिरहन सकेन। पुतलीको नृत्य र फुलका थुंगासँग रमाउने बेलामा उसले ओढारहरूमा बम गोला र बन्दुकका कथाहरू सुन्नु परेथ्यो। जेहोस्, यतिबेला उ युग खाएका अनुभविहरूले झैं गहकिला तर्कहरू मेरा सामु पेश गर्दै थियो। म पनि चासो पूर्वक टाउको हल्लाउँदै उसका तर्कहरू सुनिरहेको थिए। उ आफ्नो दरिला र मीठा कुराहरू अझै सुनाउन चाहिरहेको थियो र मैले पनि उसको कुराहरू अझै सुन्न खोजिरहेको थिएँ। तर एउटा विन्दुमा आएर मैले त्यो नव युवासँग विदाइको लागि हात मिलाए। किनभने यतिबेला उसको र मेरो आधा घण्टाको यात्रा समाप्त भइसकेको थियो।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४१ – २०६७ भाद्र १६ गते, बुधबार)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.