~लेनिन बञ्जाडे~
एनसेल साहित्य मेलामा छोरो लिएर गएँ ! फर्किँदा सिमसिम पानी पर्यो । छोरालाई मूल गेटको पेटीमा राखेर ट्याक्सी रोकें । ७-८ वटा ट्याक्सी ‘मिटरमा नजाने’ भनेर हुइँकिए । बिहान आकाश चंगा थियो, छाता लैजाने लेठो गरिएन । प्रज्ञा भवनको मूल ढोकामा अडिँदा बाइक बेच्नूको पीडा गमें ।
एउटा ट्याक्सी हुर्रिएर आयो । सोधें, “दाइ, बबरमहल जाने ?”
उसले सरर हेरेर भन्यो, “साढे ३ सय दिने ?”
प्रज्ञा भवनदेखि बबरमहल करिब अढाई किलोमिटर होला दूरी, ३५० रूपैयाँ भनेको सुनेर चकित परें ।
“होइन दाइ, मिटरमा जाऊँ, ५ सय उठे पनि दिन्छु,” मैले नम्रताले सोधें ।
“हुँदैन,” यत्ति बोलेर ऊ हुर्रियो ।
यो नवौं ट्याक्सी थियो । दसौं नम्बरमा आउनेले पनि मान्दैनथ्यो, छोरालाई हिँडाएर पुतलीसडक ल्याएँ । नेपाल यातायात रोकिने ठाउँमा उभिएँ । सिमसिम पानी खसिरहेकै थियो आकाशबाट । ५ मिनेटपछि अटेसमटेस हुँदै नेपाल यातायात आएर टक्क अडियो । भर्खर भ्यागुता खाएर डम्म परेको सर्पझैं थियो बस । हतारहतार छोरालाई उचालेर भित्र हुर्रिएँ । साँझको बेला चल्ने बस त्यस्तै हुन्, पर्खिने कामै थिएन ।
ड्राइभरको पछाडि ‘महिला सिट २’ लेखिएको थियो, जहाँ एउटी २२-२३ वर्षकी युवती थिइन् । झ्यालतिर ४० नकटेकी अर्की महिला थिइन् । बसभित्र यति भीड थियो कि दायाँ-वायाँ फर्किन पनि महाभारत थियो । त्यही महिला सिटको छेवैमा छोरोलाई उभ्याएर एउटा हातले समातें । डन्डीमा हात राख्ने ठाउँ पनि थिएन, सिटमा समातें ।
सिटमा दुइटी महिला देख्दा लागेको थियो— छोरालाई पक्कै समातेर बसाल्छन् । तर, दुइटीमध्ये कसैले पनि छेउमै भीडमा कोचिएर उभिएको ५ वर्षे बच्चालाई समातेनन् । मैले ‘समातिदिनुस् न बाबुलाई’ भन्न पनि सकिनँ । छोरोलाई जसोतसो मैले पछाडिबाट ओतेको थिएँ, धक्का लाग्न दिइनँ । ऊ गर्मीले असिनपसिन थियो ।
“बाबु, ठीक छ नि ?” उसलाई कोट्याउँदै सोधें । केही बोलेन । दिनभरि प्रज्ञाको चौरमा कुदेर होला, थाकेको थियो । त्यसमाथि नेपाल यातायातको त्यो भीड उसले जीवनमा कहिल्यै भोगेको थिएन । थकथकी लाग्यो— साढे ३ सय तिरेर भए पनि ट्याक्सी चढ्नुपर्ने थियो, उसले दुःख त पाउने थिएन !
ऊ अडेस लागेर उभिएको सिटमा गजधम्म बसेका दुवै महिलाका अनुहार हेरें । छेउमा उभिँदा छोइएको भएर होला, युवतीले बेलाबेला नाक खुम्च्याउँथिन् । मोबाइलमा क्यान्डी क्रस खेल्दै थिइन् शायद । मलाई असह्य रिस उठिरहेको थियो । ऊ त भर्खरकी भई, केटाकेटीप्रति संवेदना नहुन सक्थ्यो, छेउमा हात बाँधेर बसेकी महिलाले त बुझ्न सक्थिन् कमसेकम ! तर, उनी पनि बेखबर भएर बसेकी थिइन् गजधम्म । दुवैको अनुहार देखेर मेरा कन्चट फर्फराइरहेका थिए । मिल्थ्यो भने दुवैलाई जगल्टाएर हुत्याइदिन्थें र छोरोलाई टुसुक्क बसाल्थें ।
तर, म गर्न केही सक्दिनथें ।
बस पुतलीसडकबाट ढल्किँदै अनामनगर पुग्यो । हनुमानथान कतिखेर आउला र बसबाट ओर्लिउँला भन्दै म झ्यालबाहिर हेर्दै थिएँ ।
बाबु करायो, “बाबा, झरम् न, खुट्टा दुख्यो ।” मन चसक्क भयो । जस्तोसुकै अवस्थामा पनि छोराछोरीले दुःख नपाऊन् भन्ने बाउआमाको संवेदनाबाट म पनि अछुतो थिइनँ । त्यो भीडको तातो र अनेक मान्छेको गन्धले पेट बटारेको थियो ।
भनें, “के गर्ने छोरा, महिला सिटमात्रै रै’छ, बालबालिका सिटै बनाउन बिर्सेछन् हेर् न !”
(स्रोत : Halkaranepal)