~अनमोल मणि~
मकोठामा छिर्दा शेरबहादुर विश्वकर्मा खिया लागेको पुरानो स्टोभमा घोप्टो परेर दम दिँदै थियो । दमको बेगले स्टोभले बर्नेटबाट मट्टितेलको सिर्का माथि फ्याँक्यो । त्यसपछि ढिलो नगरी उसले पेच खोलेर हावा खुस्कायो, सलाई कोर्यो र स्टोभमा झोस्यो । अघि खुस्काएको पेच कसेर फेरि दम दिने काम यथावत् राख्यो । तर स्टोभ बलेन । मट्टितेलको नाक खिर्याउने गन्ध र पीरो धूवाँले हाम्रा आँखा रसाए । आँखा मिच्दै हामी बाहिर निस्कियौँ ।
भोको पेट थियो । भात त जसरी पनि पकाउनैपथ्र्यो । जाने ठाउँ कतै थिएन, फेरि कोठामै छिर्यौँ । बाहिर होटलमा खाने गरी फुर्मास गर्न हामीसित पैसा थिएन । पुरानो स्टोभमा दम दिएर जसरी हुन्छ त्यसलाई बाल्नुबाहेक भात पकाउने अर्को विकल्प पनि थिएन ।पटक पटकको प्रयासपछि जब अल्छीलाग्दो गरी स्टोभ बल्यो डेक्चीमा भात बसालियो । स्टोभको ज्वालाको वेग अत्यन्त फितलो थियो । भोकले बाउँडिंदै गएको पेट बोकेर कहिले पाक्ला भन्ने जिज्ञासु आँखाले एक अर्कालाई हेर्यौँ । एउटा कचौरामा गुन्द्रुक भिजायौँ । एउटा थालमा एक मुठी भटमास निकाल्यौ । भात पाक्ला नपाक्ला टुंगो थिएन । पाकेपछि तुरुन्त तरकारी पकाउने तयारीमा हामी थियौँ । पर्खिनुको विकल्प पनि थिएन । त्यतिखेर दिउँसोको एक बजिसकेको थियो ।
यो ठ्याक्कै बीस वर्षअघिको कुरा ।हामी महिना दिनपछि हुने एसएलसीको तयारी गर्न हेटौंडा आएका थियौँ । अंग्रेजी ट्युसन पढ्न । तर हेटौंडा डेरा बस्न थालेपछि साँझ बिहान हाम्रो दैनिकी स्टोभ बल्ला नबल्ला, भात पाक्ला नपाक्ला भन्ने पीर र राम रमाइलोमै बितेको थियो । नगरको ४ नम्बर वडा कर्राकिनारको गद्र्दै भन्ने ठाउँमा हाम्रो डेरा थियो । बाराको निजगढतिरका ढोडारी बाहुनले भरखरै बनाइसकेको घरमा महिनाको २ सय ५० रुपैयाँमा डेरा दिएका थिए । त्यो डेरामा बिहान बेलुका कम्तीमा २ घन्टा स्टोभमा दम दिँदै हाम्रो समय जान्थ्यो ।
यो डेरा शेरबहादुरले नै खोजेको थियो । नयाँ किन्दा झन्डै ३ सय पर्ने भएकाले पुरानो स्टोभ खोज्ने आइडिया पनि उसकै थियो । हेटौंडाको कुनै स्टोभ मर्मत केन्द्रमा सस्तोमा उसले यो स्टोभ भेटेको थियो सायद । स्टोभले धोका दिएपिच्छे शेरबहादुर भन्थ्यो, ‘ल्याउँदा राम्ररी बलेको थियो, ऐले के भो के ?’डेरामा मेरो केही थिएन । दुईवटा फ्यांग्ले सर्ट । स्कुल ड्रेससहितको दुईवटा पाइन्ट । अनि किताबकापी । कविता र सायरी लेख्ने एउटा रंगीचंगी डायरी, बस् । अरू सब शेरबहादुरको ।
थाल, गिलास, डाडु, चम्चादेखि गुन्द्री र ओढ्नेसम्मका झोली बोकेर ऊ हेटौंटा आएको थियो । एक मात्र उद्देश्य अंग्रेजीको ट्युसन पढ्ने । मचाहिँ शेरबहादुरसित यो कोठामा बिनायोजना सडकमा भेटिएको पाहुनाजस्तै थिएँ ।स्कुलमा शेरबहादुर मेरो घनिष्ठ साथी थिएन । ट्युसन पढ्न हेटौँडा आएका मेरा स्कुले घनिष्ट साथीहरूसित पछि लाग्न मसित पैसा थिएन । जो घनिष्ठ साथी थिए तिनले लगानी गरेर मलाई ल्याउने कुरा भएन ।
फर्केर हेर्नुपर्ने आफ्नो ज्यानबाहेक केही नभएर होला, म उमेरभन्दा बढी नै बिन्दास थिएँ । जिन्दगीजस्तै मेरो पढाइ पनि औसतभन्दा कहिल्यै माथि भएन । म केही नजान्ने तन्नम ल्वाँठ त थिइनँ तर भन्ने गरेजस्तो पहलिो दोस्रो स्थानमा पुग्ने अब्बल विद्याथी कहिल्यै हुन सकिनँ ।
शेरबहादुरलाई जस्तै मलाई पनि जसरी पनि एसएलसी पासचाहिँ हुनु थियो । अरू विषय त ठीकै थियो अंग्रेजीकै पीर थियो । न मलाई ग्रामर आउँथ्यो न किताबको कुनै पनि पाठको उत्तर घोक्न सकेको थिएँ । न त्यो घोक्ने जाँगर मसित थियो । कक्षा ९ र १० दुवैबाट प्रश्न आउँथे । डायमन्डशमशेरको सेतो बाघ म रातभर पढ्थेँ तर गणितको अभ्यास गर्न अल्छे थिएँ । महेन्द्र माविबाट पहिलो ब्याचमा एसएलसी दिने ६३ मध्येको म एउटा औसत विद्यार्थी थिएँ ।
शेरबहादुर पनि पढाइमा मजस्तै थियो । शिक्षकहरूले हामी दुवैलाई पास हुने कोटिमा गनेका थिएनन् । यद्यपि एसएलसीअघिको टेस्टमा कुनै पनि विषयमा फेल नभई पास भएका २० जनामध्ये अन्तिम नम्बरमा मेरो पनि नाम थियो । स्कुले जीवनभर अंग्रेजीमा फेल हुँदै घिस्रिएको मैले पहिलोपल्ट अंग्रेजी पनि पास गरेको थिएँ । र, मेरोभन्दा दुई नम्बर अगाडि शेरबहादुरको नाम थियो । शेरबहादुर गणितमा मभन्दा तगडा थियो । अंग्रेजीको स्तरचाहिँ हामी दुवैको उस्तै थियो । सामान्य वाक्य लेख्न पनि ठसठस कन्नुपर्ने ।
अंग्रेजी सुधार्नु नै थियो । त्यसमा पनि ग्रामर । प्रश्नमध्ये ३५ नम्बर ग्रामरबाट आउने भएकाले शिक्षकहरू भन्थे, ‘जसले ग्रामर जान्यो त्यो पास, नजान्ने निश्चितफेल ।’शेरबहादुर र म दोस्रो कोटिमा थियौँ । टेस्टपछि अंग्रेजी र गणितको ट्युसन पढ्न जानेबारे सबैको सल्लाह चलिरहेको थयो । सल्लाहमा सहभागी नभएको सायद ममात्रै थिएँ, कारण थियो पैसा । साथमा पैसा थिएन । हेटौंडामा ट्युसन पढ्ने कुरो मेरो कल्पनामा थिएन ।‘तिमी हेटौँडा नजाने ?’ टेस्टको रिजल्ट आएको दिन शेरबहादुरले मलाई स्कुल चौरमै सोध्यो ।‘नजाने, पैसा छैन यार,’ मैले सहज जवाफ दिएँ ।
‘बाहुन मान्छे कामीसित बस्दैनौ होला,’ आफ्ना उछिट्एिका अघिल्ला दुई दाँत देखिने गरी मुस्काएर उसले भन्यो, ‘बस्ने भए डेरा भाडाको पैसा खोज । तिमी र म सँगै बसौँ ।’दुईजना सँगै बस्दा डेरा भाडा आधा हुन्थ्यो र अलिकति पैसा जोगिन्थ्यो । आर्थिक हिसाबले सामान्य शेरबहादुरको आइडिया सही थियो । ऊ दलित भएकाले कोही सँगै बस्न मानेका थिएनन् । लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौं यात्री’ कविता त सबैले पढेका थिए । तर जब आफ्नै साथी शेरबहादुर विश्वकर्माले सँगै बस्ने प्रस्ताव राख्थ्यो सबले देवकोटा भुल्थे र घर परिवार सम्झिन्थे । उनीहरू ठान्थे शेरबहादुरसित बसे अछूत नै भइन्छ । दुनियाँले उनीहरूलाई कामी नै ठान्छ ।मैले उसको प्रस्ताव सहजै स्विकारेँ । तर प्रस्ताव गरिएजस्तो आधा डेरा भाडा तिर्ने पैसा मसित थिएन ।परिवारले के भन्ला भनेर सोच्न मसित परिवार थिएन, त्यसको चिन्ता मलाई हुने भएन । समाजसित खास ठूलो सम्बन्ध थिएन । कसैले कामी नै भनेर अछूत बनाए पनि मलाई मतलब थिएन । साथीहरूमाझ शेरबहादुरको र मेरो हाल एउटै थियो । ऊ विश्वकर्मा कामी । समाजले उसलाई जात हेरेर दलित बनाएको थियो । मलाई जातले नबनाए पनि पैसा नभएर म दलितजस्तै भएको थिएँ, कतै नचल्ने । मसित परिवार थिएन, पैसा थिएन । विभेद गरिबीका कारण हुने न हो ।
फेरि मैले मामाघरकी हजुरआमालाई भनेँ । आखिरमा हजुरआमाले दिएको ३ सय रुपैयाँ बोकेर म शेरबहादुरसित बस्न हेटौँडा आएको थिएँ ।शेरबहादुरसित बसेपछि मलाई धेरैले कामी भयो भने ।
‘त्यो त शेरबहादुरसित एउटै कोठामा बस्छ,’ साथीहरूमाझ एसएलसी नसकिउन्जेल यस्तो चर्चा भयो । मैले त्यसको वास्ता गरिनँ । आफूले वास्ता नगरेपछि अरूले गरेको वास्ताको मतलब नहुन रहेछ ।
हेटौंडा आउने काम मेरो कहिल्यै परेन । त्यसअघि मुस्किलले तीनपल्ट आएको थिएँ होला । बिनाअवसर हेटौंडा आउँदाको कथा अर्कै छ । यसपटक हेटौंडा आउने रहर भने शेरबहादुरले पूरा गरिदियो ।बाँकी थियो, अंग्रेजी ट्युसन । कहाँ पढ्ने ? कोसित पढ्ने ? नचिनेका शिक्षकले पहिले पैसा माग्थे । हामी सकेसम्म पैसा नतिरी पढ्न पाउने ठाउँ खोजिरहेका थियौँ । महिना सकिएपछि पैसा लिनेगरी पढाउँदा ३ हप्ता पढेर पारिश्रमिक नदिई विद्यार्थी टाप कँस्ने समस्याले शिक्षकहरू आजित थिए र सचेत पनि । उनीहरूले नयाँ आइडिया निकालेका थिए, नचिनेका विद्यार्थीसित पहिले नै पैसा माग्ने । पैसा नदिए नपढाउने ।
हामी भने केही दिन पढ्ने तर पैसा नतिर्ने दाउ खोजेर बसेका थियौँ । जसलाई हामीले जारी राख्यौँ । आइडिया के आयो भने एउटै शिक्षकसित नपढ्ने । फरक फरक शिक्षकसित पढ्ने । केही दिन एउटासिट केही दिन अर्कोसित । त्यसो गर्दा ग्रामरका फरक–फरक विषय जानिन्छ । त्यसमाथि पनि शिक्षकहरूले त भनेकै छन् ग्रामर जान्यो कि अंग्रेजी पास । अंग्रेजी कटेपछि अरू विषय त के जसरी नि पास भइगइन्छ भन्ने सोच हामीमा थियो ।
त्यो अभ्यास केही दिन जारी रह्यो । हप्ता दिनपछि त्यो अभ्यासले काम गरेन । केही दिन त शिक्षकलाई ढाँट्यौ । दिउँसो एउटाकोमा, बिहान अर्कोकोमा गएर ट्युसन पनि पढ्यौँ । पैसा नदिएर शिक्षक ठग्न हामी असफल भयौंँ ।
एसएलसी आउन अब तीन हप्तामात्रै बाँकी थियो । हामीले ट्युसन छाडिदियौँ । ट्युसन पढ्ने फीभन्दा थोरै पैसामा आउन भएकाले सेकेन्ड ह्यान्ड ग्रामर बुक र पुराना प्रश्नको सँगालो ओल्ड इज गोल्ड किन्ने अनि त्यसैलाई अभ्यास गर्ने निर्णय गर्यौँ । पैसा पनि जोगिने । मन लागेको बेला आफैं अभ्यास गर्न सकिने ।ट्युसन छाडेर ओल्ड इज गोल्डको अभ्यास सुरु भयो । अरू ट्युसन पढ्न जान्थे हामी ओल्ड इज गोल्डमा घोत्लिन्थ्यौँ ।
त्यसबाहेक समयमा मैले अरू दुई काम पनि गर्न भ्याएँ । पहिलो साइकल चलाउन सिकें, दोस्रो फिल्म हेर्न । शेरबहादुरले मेरै लहैलहैमा साइकल चलाउन सिक्यो । फिल्ममा उसको चासो थिएन ।
साइकल सिक्न पनि मुफ्तमा पाइएको थियो । त्यो पनि घरबेटीकै । घरबेटीको पुरानो साइकल सधैं बाहिर हुन्थ्यो । उनी नयाँ साइकल चढेर हिंड्थे ।एक साँझ मैले घरबेटीलाई भनेँ, ‘दाइ यो साइकल चलाउनुहुन्न ?’
उनले शानसित सुनाए, ‘नयाँ चढ्छु ।’
डराइडराई मैले भने, ‘मैले चलाउन मिल्छ ?’
‘चलाउन आउँछ ?’
‘आउँदैन, सिक्छु ।’
‘पढ्न आएको मान्छे साइकल सिकेर बरालिने त ?’‘हैन दिउँसो एक छिन–एक छिन,’ जवाफ सकेर म डिच्च हासेँ ।मेरो हाँसोमा के देखे कुन्नि ? अन्तत: उनले साइकल सिक्न अनुमति दिए । टायरमा हावा थिएन । ५० पैसामा हावा भरेर साइकल डोर्याउँदै हामी हुप्रा चौरमा गयौँ ।हेटौंडाभन्दा मलाई याद आउनेमध्ये यो चौर पनि एक थियो । अरू तीन चीजचाहिँ राप्ती खोलो, पीपलको रूख र ओम सिनेमाहल थिए । हामीले चौरमा लड्दै उठ्दै, खुट्टामा घाउ बनाउँदै साइकल सिक्यौ । त्यसका लागि कहिले कर्रा खोलाको किनार, कहिले वन विज्ञान अध्ययन संस्थानको फुटबल मैदान पनि प्रयोग भए ।जेहोस् हामीले साइकल जान्यौँ । साइकल चलाउन जानेको दिन मलाई राति पनि उठेर साइकल चलाउँचलाउँ लाग्थ्यो ।फिल्म हेर्नचाहिँ म एक्ले जान्थेँ । अमिर खानको ‘राजा हिन्दुस्तानी’ र नाना पाटेकरको ‘यश वन्त’ फिल्म हेटौंडाका दुई हलमा एकसाथ रिलिज भएका थिए । ओम हलमा मैले ती फिल्म दोहोर्याएर हेरेँ, पहिलोपल्ट पैसा तिरेर त्यसपछि लुकीलुकी हाफटाइममा छिर्दै ।
घरबेटी बेला–बेला भन्थे, ‘भाइहरू यै पाराले एसएलसी पास हुन्छौ ?’ जवाफमा हामी ङिच्च हाँस्थ्यौँ ।
एसएलसी आयो । हाम्रो सेन्टर ज्योति मावि हर्नामाडीमा परेको थियो । त्यस ठाउँको चर्चित नाम थियो, ठूल्दमार । हामीले हेटौंडा छाडेर आफ्नो सेन्टर नजिक डेरा खोज्न जानुपर्ने भयो ।
स्टोभमा दम दिने काम त यथावत् थियो । फेरि डेरा खोज्नुपर्ने समस्या थपिएको थियो ।
…
एसएलसी सुरु हुने अघिल्लो दिनको साँझ हामी क्वान्टे साउको दोकानमा थियौँ । दोकान बन्द गर्न लागेको क्वान्टे साहुलाई चिउरा र दालमोठ दिन भन्यौं । त्यसमा २ रुपैयाँको सख्खर पनि थपियो ।
‘चिउरा खाएपछि पानी खानुपर्छ । थोरै खाए पनि अघाइन्छ,’ शेरबहादुरले भन्यो ।कसोकसो गरेर एकजना मनकारी पसलेले पुरानो घरमा डेरा दिए । त्यो पनि नि:शुल्क, सात दिनमै छाड्नुपर्ने सर्तमा । हामीलाई त्यो लाख भइगयो । सुत्नलाई शेरबहादुरको गुन्द्री ओढ्ने छँदै थियो, सिरानी किताबको झोला ।
पहिलो दिनको परीक्षा सकेर डेरा आउँदा हिजोकै चिउराले हेरिरहेको थियो । नबल्ने स्टोभमा दम दिनुभन्दा चिउरामै चित्त बुझाउनु रामो विकल्प थियो । त्यसै गर्यौँ । यहाँ अर्को समस्या थपियो खानेपानी र ट्वाइलेट । यसले गर्दा चिउरा राम्रो भोजन बनेको थियो हाम्रो ।साँझ बिहान एसएलसी दिने विद्यार्थीको चहलपहल बाक्लो हुन्थ्यो । दिउँसो पनि हातमा एउटा नोटकापी बोकेर उनीहरू एउटाकोबाट अर्कोको कोठामा गइरहेका देखिन्थे । बिहान सबेरै नउठे ट्वाइलेट जान पनि समस्या । घन्टौं कुरेर जर्किनमा जोहो गरेको पानी खान र मुख धुन काम आएको थियो ।
परीक्षाभरिको सात दिनमा मुस्किलले दुई कि तीन छाक हामीले पुरानो स्टोभ बाल्यौँ । त्यसरी भात खाएको दिन संसार जितेजस्तो लाग्थ्यो ।
चिउरा, दालमोठ र सक्खर मर्याकमर्याक चपाइरहेका बेला कहिलेकाहीं साथीभाइ टुप्लुक्क आइपुग्थे र सोध्थे, ‘किन चिउरा, खाना नबनाएको ?’स्टोभ बिग्रेको छ भन्न लाज लागेर जवाफमा हामी भन्थ्यौं, ‘पढ्न ढिला हुन्छ भनेर । आखिर जे खाए पनि अघाउनु त हो ।’उनीहरू हाम्रो कुरा पत्याउँथे ।
परीक्षा सकिएको दिन जीउ चंगा भएको थियो । डेरा आएपछि शेरबहादुरले भन्यो, ‘भात नखाएको तीन दिन भइसक्यो आज त पकाउँ ।’मैले सहमति जनाएँ ।
छुट्टिनुअघिको अन्तिम छाक पकाउन शेरबहादुर फेरि घोप्टो परेर त्यो पुरानो स्टोभमा दम दिन थाल्यो । बर्नेटबाट उसैगरी मट्टितेलले सिर्का हान्यो । शेरबहादुरले उसैगरी पेच खोलेर हावा खुस्कायो । सलाई कोर्यो र स्टोभमा झोस्यो । स्टोभ बलेन । नाक खिर्याउने मट्टितेलको गन्ध र पीरो धूवाँले हाम्रा आँखा रसाए । हामी आँखा मिच्दै बाहिर निस्कियौँ ।
प्रकाशित: पुस १८, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)