व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~Ratna Prajapati

हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई फिटको रेलिङ पनि लगायो । अगाडि मुखपट्टि भने बाटो परेकाले उसले पर्खाल लगाउनै परेन । घरमा पसलको कवलसमेत बनाएकाले पसल आउनेहरूलाई सजिलो होस् भनेर उसले पर्खाल लगाएन ।

घर तयार भइसकेपछि शिवप्रसाद माथिल्लो तलामा बस्यो । बाँकी सबै तला भाडामा दियो । भाडामा बस्नेहरू कोही सरकारी कर्मचारी थिए, कोही कलेज पढ्ने विद्यार्थी । दिनभरि घर खालीजस्तै हुन्थ्यो, तर साँझ परेपछि भने सबै कोठामा फर्कने हुँदा हल्का हल्लीखल्ली नै हुन्थ्यो ।

शिवप्रसाद पनि एउटा सरकारी अफिसको हाकिम हो । त्यसैले उसमा अलिअलि सरकारी शान देखिन्थ्यो । ऊ बिहान कौसीमा देखापर्दा वरपर घरका मानिसहरूले ‘हाकिमसाब, चिया खानु’भो ?’ अथवा ‘हाकिमसाब, खाना खानु’भो ?’ भनेर सोध्थे । कोहीचाहिँ ‘गुड मर्निङ हाकिमसाब’ भन्थे । अनि कोहीचाहिँ ‘नमस्कार हाकिमसाब’ मात्रै भन्थे । सबैले यसरी आफूप्रति चासो लिँदा वा सम्मान जनाउँदा शिवप्रसाद निकै प्रफुल्लित हुन्थ्यो ।

हीराकाजी त्यहींको रैथाने हो । उसका बाबुबाजेदेखि त्यहीं बस्दै आएका हुन् । हीराकाजीको घर साढे तीन तलाको मात्रै छ । त्यसैले शिवप्रसादलाई हीराकाजीले घाँटी तन्काएर माथि हेर्नुपर्छ । शिवप्रसादले हीराकाजीलाई हेर्न गर्धन झुकाएर तल हेर्नुपर्छ । यसरी एउटा माथि र अर्को तल पर्दा एकअर्कामा देखादेख कमैमात्र हुन्छ ।

हीराकाजीको घरको कम्पाउन्ड ठूलो छ । झन्डै डेढ रोपनीको होला उसको कम्पाउन्ड । रैथाने भएको नाताले उसको घरको कम्पाउन्ड ठूलो हुनु स्वाभाविकै हो । त्यो जग्गा उसको पुख्र्यौली सम्पत्ति हो । शिवप्रसादले चाहिँ दु:खले कमाएर होइन, घूस खाएर चार आना जग्गा किनेर त्यो घर बनाएको हो । हीराकाजीले चाहिँ अन्तैको चार आना जग्गा बेचेर त्यो घर बनाएको थियो ।

हो, यहींछेउ हीराकाजीलाई अचम्म लाग्थ्यो । ऊ रैथाने भएर पनि बाउबाजेको जग्गा बेच्दा पनि भनेजसरी घर बनाउन एक किसिमको सम्झौता नै गर्नुपर्ने । बाहिरबाट आएकाहरूले चाहिँ लाखौंको जग्गा किनेर भनेजस्तो घर पनि बनाउन सक्ने । यस्तो कसरी सम्भव भयो ? यही कुरामा हीराकाजीलाई शिवप्रसादप्रति एक किसिमको ईश्र्या थियो । त्यही भएर ऊ शिवप्रसादप्रति खुलस्त पनि थिएन । उसले कहिल्यै शिवप्रसादसँग बोलेन । शिवप्रसादले बोलेपछि मात्रै ऊ बोल्थ्यो । बोले पनि थोरै बोल्थ्यो अर्थात् ‘अँ, हो र होइन’ मात्रै । हीराकाजीको यस्तो बानी देखेर शिवप्रसादचाहिँ मनमनै हाँस्थ्यो र सोच्थ्यो– मेरो रवाफसँग डराउँछ यो हीराकाजी ।

साँच्चै भन्ने हो भने शिवप्रसादसँग हीराकाजी अलिअलि डराएकै पनि हो । कहाँ शिवप्रसाद सरकारी अफिसको हाकिम, कहाँ हीराकाजी खेतीकिसानी गरेर खाने किसान । हाम्रो समाजमा सरकारी कर्मचारीको जस्तो इज्जत र शानमान किसानको कहाँ छ र । किसान भनेका त अपहेलित वर्ग हुन् । किसानलाई पनि सम्मानको दृष्टिले हेर्ने संस्कार बसेको भए कृषिप्रधान मुलुकमा खाद्यान्न अभाव भएर आयातमा किन भर पर्नुपथ्र्यो र ! यो कुरा बुझेको शिवप्रसादले पनि हीराकाजीलाई किसानलाई जस्तै नै व्यवहार गरेर आफूलाई चाहिँ ऊभन्दा ठूलो ठानेको छ । त्यसैले हीराकाजी उसका लागि सानो मान्छे हो ।

शिवप्रसादका छोराछोरी ठूलो अंग्रेजी स्कुलमा पढ्छन् । हीराकाजीका छोराछोरी पनि अंग्रेजी स्कुलमा पढ्छन्, तर सानो । स्कुल जाँदा प्राय: एकै समयमा निस्कन्छन् शिवप्रसाद र हीराकाजीका छोराछोरी । तर हीराकाजीलाई आफ्ना छोराछोरी कहिल्यै शिवप्रसादका जस्ता लागेनन् । शिवप्रसादका छोराछोरी ठूलो अंग्रेजी स्कुलमा पढ्ने ठूलै मान्छेजस्ता । हीराकाजीका छोराछोरीचाहिँ सानो अंग्रेजी स्कुलमा पढ्ने सानै मान्छेजस्ता । यस कुरामा पनि हीराकाजीलाई अलिकति लघुताभास भएकै हो । त्यही लघुताभासले गर्दा हीराकाजीले आफ्ना छोराछोरी पढेर शिवप्रसादका छोराछोरीभन्दा ठूला मान्छे बनिदिएि हुन्थ्यो भन्ने सोचिरह्यो ।

एक दिन हीराकाजी आफ्नो कम्पाउन्डभित्र करेसाबारीको हेरविचार गर्दै थियो । साग टिप्ने बेला भएको थियो । सागमा घाँस उम्रेकाले त्यो झिक्न हतार भइसकेको थियो । उता अनारको बोटमा कीरा लागेछ । औषधि छर्कने बेला भएछ । मेवाको बोट पनि ढल्नै लागेछ । टेका दिनुपर्ने भएछ । यसरी करेसाबारीको हेरविचार गरेर घरभित्र छिर्नै लागेको बेलामा एक गुजुल्टो रौं हावामा उड्दै आएर हीराकाजीको मुखमै पर्‍यो । दाहिने हातले रौंको गुजुल्टो हटाउँदै हीराकाजीले यसो मुन्टो उठाएर माथितिर हेर्‍यो । शिवप्रसादको घरको दोस्रो तलामा बस्ने महिलाले झ्याल लाउँदै रहिछ । हीराकाजीलाई पक्का भयो कि त्यो रौंको गुजुल्टो त्यसैले फ्याँकेकी हो । हीराकाजीलाई रनक्क रिस उठ्यो । मनमनै रिसाएर भन्यो, ‘त्यसको घरमा बसेर कपाल कोर्ने, रौंको गुजुल्टोचाहिँ मेरो बारीमा फ्याँक्ने ? क्या गजब छ बा !’

महिला झ्याल लगाएर भित्र पसिसकेकी थिई । त्यसैले हीराकाजीले केही भनेन र रिसाउँदै घरभित्र पस्यो ।

हीराकाजी रिसाउँदै आएको देखेर उसकी जहानले सोधी, ‘के भयो ? किन रिसाउँदै आ’को ?’

‘पल्लो घरमा बस्नेले कपाल कोरेर रौंको गुजुल्टोचाहिँ हाम्रो बारीमा फ्याँक्दारहेछन्,’ हीराकाजीले अलिअलि रिसाउँदै भन्यो ।

‘अँ, अस्ति साग टिप्न जाँदा मैले पनि बारीभरि दार्‍ही काट्ने ब्लेड, चाउचाउको खोल, पुरानो ब्रस, सलाईको बट्टा, औषधिको खोल के के हो के के देखेकी थिएँ । साग केलाउँदा दुई तीन गुजुल्टा रौं पनि भेट्टाएकी थिएँ । चार आना जग्गा किन्छन् । अनि घर बनाउँदा एक इन्च जग्गा नछोडी बनाउँछन्, फोहोरचाहिँ अर्काको जग्गामा फ्याँक्छन्,’ हीराकाजीकी जहानले अलिअलि रिसाएर भनी ।
‘त्यही त, चार आना जग्गा किनेर घर बनाउनेको फुर्ती नै बढी,’ हीराकाजीले पनि अलिकति क्रोधपूर्वक भन्यो ।

हीराकाजी हात धोएर तौलियाले पुछ्दै बरन्डामा निस्क्यो । त्यही बेलामा पल्लो घरको कौसीबाट शिवप्रसादले खोकेको सुनियो । तुरुन्तै ‘हाक–थु’ गरेको पनि सुनियो । शिवप्रसादले थुकेको थुक करेसाबारीमा फ्यात्त बजारिएको हीराकाजीले सुन्यो । हीराकाजीलाई सार्‍है ननिको लाग्यो । शिवप्रसादसँग रिस पनि उठ्यो । तर यति सानो कुरामा पनि हाकिमजस्तो मान्छेसित के मुखमुखै लागिरहनु भन्ने सोचेर हीराकाजीले आफ्नो रिसलाई दबायो ।

भोलिपल्ट बिहान हीराकाजी आफ्नो कौसीमा बसेर चिया खाँदै थियो । उता शिवप्रसाद पनि कौसीमा बसेर तातोपानीले घाँटी सफा गर्दै थियो । मुखको पानी थुक्न कौसीबाट तलतिर हेर्दा हीराकाजीलाई कौसीमा देख्यो र पानी थुकिसकेर भन्यो, ‘हीरा दाइ, चिया खाँदै ?’

‘अँ, चिया खाँदै ।’ हीराकाजीले अलि बेवास्तापूर्वक भन्यो । शिवप्रसादले घाँटी सफा गरेको पानी आफ्नो करेसाबारीतिर थुकेको हीराकाजीलाई मन परेको थिएन । त्यसैले उसले ‘हाकिमसाबले खानु’भो त चिया ?’ भनेर सोध्न मन लागेर पनि सोधेन ।

शिवप्रसादले घाँटी सफा गर्दै हीराकाजीको करेसाबारीतिर थुकिरह्यो । हीराकाजीलाई भने असह्य भयो । हेप्नुको पनि हद हुन्छ नि । देखादेखी आफ्नैअगाडि यसरी थुकेको कसरी हेरिबस्नु ? हीराकाजीले मनमनै सोच्यो ।

शिवप्रसादलाई घाँटी सफा गर्दागर्दै खोकी लाग्यो । एकपटक लामो खोकेर उसले कौसीबाटै पर पुग्नेगरी थुक्यो ।

हीराकाजीले मुन्टो उठाएर माथितिर हेरिरहेको रहेछ । शिवप्रसाद र हीराकाजीका आँखा जुधे । शिवप्रसादले तौलियाले मुख पुछ्दै भन्यो, ‘हेर्नुस् न हीरा दाइ, चिसो बढेर हो कि, खोकी पनि बढ्न थाल्यो भन्या ।’

त्यही बेलामा मनमनै मुर्मुरिरहेको हीराकाजीले नरिसाईकन हाँसेर भन्यो, ‘हाकिमसाबले थुक्ने ठाउँ पनि बाँकी नराखी घर बनाउनु’भो । मेरो करेसाबारी त तपाईंको थुक र खकारले भरिने भो त ।’
हीराकाजीको बोली गोली बनेर शिवप्रसादको मुटुसम्मै पस्यो । उसले यसोउसो केही भन्न सकेन । हीराकाजीसँग आँखा जुधाएर हेर्न पनि सकेन । बरु कौसीको छेउसम्म गएर एकपटक तलतिर हेर्‍यो । तल आफ्नो घरको पेटीमात्रै होइन पर्खाल पनि देखिएन । घरको टपले छेकिएको थियो । त्यहाँबाट हीराकाजीको करेसाबारी मात्रै देखिन्थ्यो । बल्ल शिवप्रसादलाई थाहा भयो उसले झ्यालबाट थुके पनि कौसीबाट थुके पनि त्यो थुक सोझै हीराकाजीको करेसाबारीमा पर्दोरहेछ ।

अब शिवप्रसादलाई ग्लानिबोध हुनथाल्यो । उसलाई रातभर निद्रा लागेन ।

शनिबार । एउटा भाँडापसलमा हीराकाजी र शिवप्रसादको जम्काभेट भयो । आत्मग्लानिलाई बिर्सेर शिवप्रसादले भन्यो, ‘हीरा दाइ, के लिन आउनु’भो ?’

हीराकाजीले पनि रिसराग बिर्सेर भन्यो, ‘एउटा चियादानी लिऊँ भनेर नि हाकिमसाब । अनि हाकिमसाबचाहिँ के लिन नि ?’

‘म पनि एउटा पिकदानी लिऊँ भनेर ।’ शिवप्रसादले मुसुक्क हाँस्दै भन्यो ।

हीराकाजी पनि शिवप्रसादलाई हेरेर मुसुक्क हाँस्यो ।

चियादानी र पिकदानी लिएर हीराकाजी र शिवप्रसाद भाँडापसलबाट सँगै निस्किए ।

भोलिपल्ट बिहान हीराकाजी कौसीमा बसेर चिया खाँदै थियो । पल्लो घरको कौसीबाट शिवप्रसादले हाकथु गरेको सुनेर हीराकाजीले यसो माथि कौसीतिर हेर्‍यो । शिवप्रसादको हातमा त्यही पिकदानी थियो । शिवप्रसादले त्यही पिकदानीमा थुक्यो । त्यो देखेर हीराकाजी मुसुक्क हाँस्यो ।

हीराकाजीलाई देखेर शिवप्रसाद पनि मुसुक्क हाँस्यो ।

>प्रकाशित: माघ १६, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.