~राजव~
ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो,
“किन डराएको ?”
ऊ झन् डरायो। उसका खुट्टा पनि काम्न थाले। ऊ बोल्न सकेन ।
कमान्डरले फेरि सोध्यो, “किन डराएको दाइ ?”
अहिले पनि ऊ बोलेन। अगिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले। उसको कट्टु थप भिज्यो। कमान्डरलाई शङ्का लाग्यो। त्यसकारण कमान्डरले सोध्यो,
“तपाईं पुलिस हो ?”
“होइन। ”
“अत्याचारी हो?”
“होइन । ”
“छद्मभेषी हो?”
“होइन। ”
“त्यसो भए डराएको किन त ?”
तर ऊ बोल्न सकेन। किनभने उसको मुखको रस सुकिसकेको थियो। त्यसकारण झर्केर कमाण्डरले भन्यो,
“त्यसो भए को तपाईं ?”
तर उसले म गाउँको गरिब दमाइँ हुँ भन्न सकेन। किनभने ती क्रान्तिकारी बाहुनहरुलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।
( एक्काइसौँ शताब्दी मासिक २०५७ मा प्रकाशित )