~डा. गोबिन्दसिंह रावत~
विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । क्यानाडा आएको पनि तीन महिना भई सकेको थियो । चारजना दिदीहरुपछिको छोरा भएकोले होला ममा युवतीवादी प्रवृति बढी देखिएको बारे सानोछदा साथीहरु भन्ने गर्थे । मोहन तिमी त कस्तो केटी जस्तो व्यवहार गर्छौ भनेर धेरैपटक साथीहरुले जिस्काउने गर्थे । मेरो अनुहार पनि कताकता केटीजस्तो कोमलो भएर होला मोरा साथीहरु मलाई समातेर मोई खाईदिन्थे । त्यसमाथि हरीले त झन मोहन मेरो हो है केटाहो भनेर ओठमा नै टोकेर उद्धुमनै गर्ने गर्थ्यो । समाजमा साथी पनि चाहिन्छ भनेर म रिसाएको जस्तो गरेर फेरी मिल्न जान्थे । खै मलाई पनि हरीले मोई खाएको मनपथ्र्यो ।
हरी स्कुल पढ्दादेखि नै हिस्टपुस्ट देखिन्थ्यो । उसको बुवा प्रहरीको खेलकूद शाखाको प्रमुख भएकोले उसलाई पनि विहान दौडने र व्यायाम गर्ने उर्दी लगाईदिनु भएको थियो । त्यसैले हामी साथीभाइहरुमा ऊ धेरै हिस्टपुष्ट देखिन्थ्यो । हरीको यही हिस्टपुष्ट शरीर खै किन हो मलाई मन पर्थ्यो । हरीकै लहलहैमा लागेर मैल पनि ऊसँगै विहान दौडने र व्यायाम गर्ने बानी बनाई सकेको थिए । प्रवेसिकाको पढाईपछि हरी र म बेग्लाबेग्लै क्यम्पस पढ्न थाल्यौं । हरीले एउटा फिटनेस क्लबमा मलाई पनि आउनु भनेकोले हामीबीच हप्तामा तीनचारपटक भेट भईनै रहन्थ्यो । फिटनेस क्लबमा मलाई त्यहाँ आउने केही युवाहरुको आकर्षक शरीर देखेर कताकता स्पर्श गरुझै लाग्थ्याने र म आफ्नो मनको ईच्छा पुर्याउन कस्तो राम्रो जिउडाल भन्दै जिस्काएझै गरेर स्पर्श गर्ने गर्थे । हरीले मलाई क्युट र आफुलाई हेण्डसम भन्ने गर्थ्यो । स्कुलबाटै उसले आफ्नो प्रेमको खाता खोलेर क्याम्पसमा पढ्दासम्म चार–पाँचजना प्रेमीका फेरी सकेको थियो ।
ऊ राम्री केटी देख्यो कि ‘क्या च्वाक’ भनेर लाईन मार्न थाली हाल्थ्यो । तर मलाई भने युवतीहरु कहिल्यै आकर्षित लागेनन् । हरीले मलाई फलानोलाई लाईन मार्न, भनेर भन्दा म आफुलाई इन्ट्रेस्ट नभएको कुरा गर्दा हैन त कतै ४–५–६..क..का..की.. त हैनस् भनेर जिस्काउन खोज्दा म मर्यादाको हदै नाघेर ‘हात लेन छामेर थाहा पाउलास’ भनेर जबाफ फर्काउने गर्थे । प्लस टु सिध्याएपछि देशको अस्थिर राजनैतिक क्रियाकलापले शैक्षिक क्षेत्रमा पनि नराम्ररी प्रभाव पारेको थियो । विद्यार्थी र शिक्षक-प्राध्यापक सबै राजनीति रङ्गमा रङ्गिदै गएकोले अस्थिर शैक्षिक वातावरण सिर्जना भएको थियो । क्याम्सपका धेरै साथीहरु विदेशमा अध्ययन गर्न उडी सकेका थिए भने कोही प्रयत्नशिल थिए । मैले पनि बाहिर पढ्ने मनस्थिति बनाएर क्यानाडाको हेमिल्टनको मेक मास्टर विश्वविद्यालय पुगेको थिए । कम्प्युटरसँग खेल्दाखेल्दै मैले पुरुष मित्र खोज्ने साईटमा गएर विभिन्न शारीरिक आकषर्ण भएका पुरुषहरुको तस्वीरहरु नियाल्न थाले । यो साईटका माध्यमबाट आकर्षक पुरुषहरु आफ्नो शरीर प्रदर्शन गरेर मित्रताका लागि हात बढाउने गर्छन् । कुनै कुनै पुरुषले आफ्नो पूर्ण नग्न शरीर पनि राखेको पाए । त्यहाँ राखिएका नामहरु कता कता छद्म नाम जस्तो पनि लाग्यो । साईटभित्र हेर्दा हेर्दै एउटा नग्न तस्वीरमा गएर आँखा अड्कियो । तस्वीरले हरीको सम्झनामा पुर्यायो । मोरो बिहे गरेर दुई छोरीको बाउ भै सकेको छ । फेरी म लेपटपको स्क्रिन हेर्न थाल्छु । मिस्टर प्रफेक्ट भनेर आफुलाई चिन्हाउने यी गोरा युवकको नाम ब्रायन लेखिएको थियो । सेक्सप्रति मुक्त विचार राख्ने भनेर लेखेको ब्रायनको आकर्षक शरीर र व्यक्तित्व देखेर मलाई एकपटक कता कता भेट्न मन लाग्यो । मेसेज बक्समा ‘ आई एम इन्ट्रेस्ट टु मिट यु मिस्टर ब्रायन’ भेखेर पठाए । आफ्नो स्टेटस्सँगै मैले पनि छद्म नामनै राखे ‘माईकल’ एकदम सजिलो नाम । त्यसपछि म उत्तरको प्रतिक्षामा बसीरहे । तीन दिनपछि ब्रायनले भेट्ने ईच्छा जाहिर गर्यो । टोरोन्टोमा भेट्ने भन्यो । चर्च स्ट्रिटको रेन्बो पबमा । आउँदो आईतबार । साँझ ७ बजे ।
हेमिल्टनबाट टोरोन्टो बसमा लगभग दुई घण्टा लाग्छ । नेपालबाट पढ्न आउँदा टोरोन्टोमा एकजना नेपाली दाइको घरमा एक रात बसेर भोलीपल्ट म हेमिल्टन आएर एउटा कोठा भाडामा लिएर बस्न थालेको थिए । त्यसपछि एकपटकमात्र टोरोन्टो गएको थिए । ब्रायनको मेलबाट टोरोन्टोको ठेगानाका एकएक अक्षर उसको मोबाइल नम्बर उतारेर म दिन गन्न थाले । खै किन हो कुन्नी मलाई ब्रायनसँग भेट्न आतुर हुन थाल्यो । उसको जिउडालले मलाई हरी सम्झायो । लगभग २५÷३० जना केटाहरुको विभिन्न कोणबाट लिइएको अर्ध नग्न र नग्न तस्वीरहरु हेरपछि मैले ब्रायनलाई साथी बनाउन रोजेको थिए । त्यसैले आफ्नो पनि उसका राम्रो प्रभाव परोस भनेर मैले पनि आफ्नो अर्ध नग्न र नग्न तस्वीरहरु राखेको थिए । हरीका कारणले गर्दा मैले पनि विहानीको दौड र व्यायामले आफ्नो शरीरलाई आकर्षक बनाएको थिए भने यहाँ त क्याम्पसमा नै जिम रुप भएकोले यसले निरन्तरता पाउदै गयो । जुनको तेस्रो आईतबार । म हेमिल्टनबाट चाडै निस्किए टोरोन्टो पुगे । आफुले ब्रायनलाई भेट्ने ठाँउ रेन्बो पब पहिलै पत्ता लगाएर ढुक्क हुनका लागि म चाडै टोरोन्टो पुग्न चाहन्थे । युनियन स्टेसनबाट सब–वे लिएर म वेलेस्लीमा ओर्लिए । त्यहाँबाट चर्च स्ट्रिट नजिकै रहेछ । घडीले चारमात्र बजाएको थियो । तीन घण्टा अझै बाँकी थियो । त्यसैले चर्च स्ट्रिटमा भेट्ने ठाँउ हेरेर योङ्ग स्ट्रिट तिर जाने विचार गरे । तर चर्च स्ट्रिटमा पुगेपछि मलाई लाग्यो एउटा बेग्लै दुनियामा पुगेको छु । सप्तरंगी झण्डा र ध्वजापताकाहरु जताततै फरपराईरहेको थियो । एउटा बेग्लै गाँउमा पुगे जस्तो । मलाई मन पर्ने गाँउमा पुगे जस्तो । बाल्यकालमा हराएर पूनः आफ्नै बस्तीमा फर्केर आए जस्तो । मैले त्यहा ठुला ठुला साईनबोर्डमा ‘योर पार्टनर ईज अन्ली ईन अ कल डिस्टेन्स’ लेखेको, एउटी वृद्ध महिलाको फोटोमुनि ‘आई एम प्राउड टु बी अ मदर अफ गे’ लेखिएको ‘लेट्स् युनाईट फर गे÷लेस्बियन राईट्स’ भनेर लेखेको पाए । बारम्बार पढ्न मन लाग्यो । चर्च स्ट्रिटमा समलिङ्गीहरुका लागि राखिएको सामुदायिक केन्द्र देखे । बाटोभरी प्रायः समलिङ्गीहरुकै भीडभाड देखेपछि मलाई पनि आफुलाई त्यही भीडको एउटा पथिक झै लाग्न थाल्यो । त्यहाँको वातावरण नै समलिङ्गीहरुका लागि बनाइएको जस्तो लाग्न थाल्यो ।
चर्च स्ट्रिटको तलदेखि माथिसम्म लगातार चक्कर लगाएर त्यहाँका सबै घर, पसल, रेस्टुरेन्ट, पब, कफी सप, बैंक, कार्यालयहरुको निरिक्षण गर्न थाले । ब्रायनसँग पबमा भेटिने कुरा भएकोले केही नगद आफ्नो खल्तीमा राख्न जरुरी सम्झेर बैंकभित्र पसे । क्यानाडामा नयाँ भएकोले आफुसँग क्रेडिट कार्ड थिएन । बुवाले एक सेमिस्टरको खर्च बुझाई सक्नु भएकोले फुर्सदको समय निकालेर क्याफ्ट एरियामा हप्ताको २०–२२ घण्टा काम गरेको पैसा बैंकको खातामा जम्मा भएको थियो । त्यसैबाट सय डलर निकाल्न म बैंकभित्र पसे । बैंकका प्रायः कार्मचारीहरु पनि त्यही प्रवृतिका रहेको पाए । मलाई सेवा प्रदान गर्नेले मेरो अनुहार नौंलो देखेर ‘आर यु न्यु ईन दिस लोकालिटी’ भनेर सोधी हाल्यो । यो प्रश्न सुनेर मलाई लाग्यो चर्च स्ट्रिटमा यसै प्रवृतिका मानिसहरुमात्र बसोबास गर्ने गर्दछन् । मैले हो भनेर उत्तर दिएपछि उसले मलाई कुनै पनि बेला केही समस्या पर्यो भने उसलाई भन्नु भनेर दरिलो ढाडस पनि दियो । पहिलो पटक मैले आफुलाई सुरक्षित भएको अनुभव पनि गरेको थिए । नेपालमा पढ्दा धेरैनै विद्यार्थीहरुले मेरो खिसी उडाउने र नराम्रो शब्द प्रयोग गर्नेै गर्थे र मलाई उनीहरुसँग तर्क गर्नुको साटो तर्केर हिड्नु पर्थ्यो । यही उपाय मेरो सुरक्षाको हतियार हुने हुन्थ्यो भने आफैमा आत्म ग्लानी पनि हुने गर्थ्यो । तर के गर्ने मलाई जहिले पनि आफुमा पुरुषभन्दा बढी महिलाको गुण गरेको जस्तो लाग्थ्यो । सानोमा घरमा मलाई यो पक्कै पनि कुनै महिलाको पूर्नजन्म हो भन्ने गर्थे भने सानो बुवाले हजुर आमा बितेको सातामा जन्मेकोले हजुरआमाको आत्मा यसका आएकोले यो केटी जस्तै व्यवहार गर्छ समेत भन्ने गर्नु हुन्थ्यो । उता मलाई सधै असुरक्षित भएको अनुभव हुने गर्थ्यो । तर आज एकजना बैंकका कर्मचारीले पहिलो भेटमा नै मेरो सहयोग गर्न तम्सिएको देख्दा धेरै खुशी लाग्यो । मैले हुन्छ भनेर बैंकबाट निस्किएर फेरी चर्च स्ट्रिटमा चक्कर लगाउन थाले । हेर्दाहेर्दै पौने सात बज्यो । म ब्रायनभन्दा अगाडि पबमा पुग्न चाहन्थे । सडकबाट हताहतार पबमा पुगेर म आफुहरु बस्नलाई टेबल हेर्न थाले । पबभित्र आँखा घुमाउँदा अचानक एउटा चिरपरिचित अनुहारमा गएर आँखा अड्कियो । उ पनि मलाईनै चिने जस्तो गरेर हेरी रहेको थियो । म परचित अनुहारको नजिकै पुगेर ब्रायन ? भनेपछि उसले पनि मेचबाट उडेर मलाई माईकल भनेर हात मिलायो र फेरी अंकमाल गर्यो । ब्रायन, फोटोभन्दा पनि आकर्षक देखिन्थ्यो । उसको जिउडाल देखेर म हरीलाई बिर्सी रहेको थिए । हामी बसेर बियर पिउदै गफ गर्दै थियौं । प्रथमतः ब्रायनलाई नेपाल चिन्हाउन धेरै गाहे भएको थियो मलाई ।
गौतम बुद्ध जन्मेको र सगरमाथाको देश भन्दा पनि नबुझेपछि मैले भारत र चीन दुई महाराष्ट्रबीचको तरुल भनेर सम्झएपछि बल्ल बुझ्यो । ब्रायनको बुवामुवा ईटालीयन मुलका भए पनि उसको जन्म क्यानाडामा नै भएको थियो । पहिलो भेटमा नै मलाई आकर्षित पार्दै गएको ब्रायनले यसअघि मेरो कुनै मित्र रहेको बारे जिज्ञाषा राख्दै आफुले चारजना घनिष्ठ मित्रहरु गुमाउनु परेको गुनासाहरु पनि सुनाएको थियो । पहिलो पटक म आफुजस्तै मानिससँग अन्तरङ्ग कुराहरु गरीरहेको थिए । वियर पिउदै गफ गर्दागर्दै ९ बजेको थाहानै भएन । मैले आफु हेमिल्टनमा बसेकोबारे ब्रायनलाई भनिसकेकोले फेरी भेट्ने बाँचा गरी बिदा लिन चाहेको थिए तर ब्रायन ‘जस्ट फर टेन मिनट मोर’ को रट लगाएर दस मिनट थप्दा थप्दै दस बजाई दिएको थियो । ब्रायनले मलाई जुनको अन्तिम आईतबारका दिन हुने गे पेरेडका बारेमा पनि जानकारी गराएको थियो । अनि त्यो अर्को आईतबार पर्ने भएकोले मलाई शुक्तबारनै टोरोन्टो आउने निम्तो दिएको थियो । उसले मलाई उसकै कोठामा शुक्रबारदेखि आईतबारसम्म बस्ने निम्तो पनि दिएको थियो । टोरोन्टोको चर्च स्ट्रिटमा विश्वकै ठूलो समलिङ्गीहरुको तीनदिने (शुक्रबार,शनिबार र आईतबार) मेला लाग्ने भएकोले त्यहाँ विश्वका कुनाकुनाबाट समलिङ्गीहरु आउने गर्दछन् र समलिङ्गीहरु अवसरमा विवाह बन्धनमा समेत बाधिने गरेको जानकारी ब्रायनले दिएको थियो । मलाई लाग्यो यो दिन समलिङ्गीहरुका लागि साईत बिना विहे गर्ने दिन जस्तै हो । हामबीच सम्पर्क बनाईराख्ने बाँचाका साथ हामी छुट्टिएका थियौं । छुट्टिने बेलामा ब्रायनले मलाई कसेर अंकमाल गरेकोले मैले उसको मनोभाव बुझेको थिए । आफ्नो कोठामा पुग्दा साडेबाह् बजिसकेको थियो । आजको दिनलाई मैले मेरो जीवनकै सबैभन्दा रमाईलो दिनका रुपमा दर्ता गरीदिएको थिए । ब्रायनसँगको भेटघाट, वार्तालाप र अंकमाल मेरो मनमस्तिष्कमा बसेको थियो । यस्तो अनुभव मलाई कहिलेकाही हरीसँग बस्दा पनि आउने गर्थ्यो । तर हरीले त्यसप्रति कहिल्यै चासो देखाएको मैले पाईन । तर आज ब्रायनले म को हँु भन्ने म हुनुको अनुभव मलाई गराईदिएको थियो । म अर्को आईतबारको प्रतीक्षामा औंला गनेर बस्न थाले । बिहान हुनासाथ मलाई ब्रायनलाई फोन गरु गरु जस्तो लागेको थियो । तर मैले त्यसो गरिन । गर्ने आट पनि भएन । गर्न डर पनि लाग्यो । भोलीपल्ट क्याम्पसमा मैले आफुमा नै केही परिवर्तन भएको अनुभव गरेको थिए ।
क्याम्पसपछि कोठामा पुग्दा क्यम्सपबाट पठाएको चिठ्ठी पाए । यहाँ आउनुअघि नेपालबाटै एक सेमिस्टरको पैसा पठाईसकेको थिए । अर्को सेमिस्टरको पैसा मई महिनाभित्र बुझाउनु भनेर क्याम्पसबाट पत्र आईसकेको थिए तर मैले बुझाउन सकेको थिईन । नेपालबाट जेनतेज गरेर यहाँसम्म पुगेको थिए । क्यानाडा आएपछि काम गरेर पैसा कमाएर पढाई खर्च धानौंला भन्ने लागेको थियो तर यहाँ पढाईसँगै हप्तामा २०–२२ घण्टा काम गरेको पैसाले क्यानाडाको बसाई र खुवाईमा नै ठिक्क हुन्छ । केही बचत नगरेको हैन । तर त्यतिले नपुग्ने भएकोले अरु काम गर्न खोज्दा पनि पाएको छैन । घरबाट पैसा मगाँउन धेरै गाहे हुन्छ । गाहेमात्र हैन सम्भवनै छैन भन्दा हुन्छ । एकातिर अघिल्लो दिनको खुशी अर्कोतिर भर्खर उब्जिएको दुःख । म दोधारमा पुगेको थिए । क्याम्पसको पत्रमा जुन महिनाभित्र तिर्नु पर्ने लेखिएको थियो । यसबारे एकपटक टोरोन्टोको दाईसँग कुरा गर्ने विचार गरे । मलाई पढाईको खर्च धान्न बढी काम गर्नु पर्ने भएको छ र हेमिल्टनभन्दा बढी काम टोरोन्टोमा पाइन्छ भन्ने सुनेको थिए । क्याम्सपको पढाई केही छुटे पनि पुरै पढाई छोड्न चाहदैनथिए । तुरन्तै दाइलाई फोन गरेर आफ्नो समस्या सुनाए । अनि मलाई शुक्रबारदेखि आईतबारसम्म १२÷१२ घण्टाको काम खोजिदिन अनुरोध गरे । किनभने मंगलबारदेखि विहिबारसम्म क्यम्पसको क्याफटेरियामा राती काम गर्दै आएको थिए । दाइले मेरो सबै समस्या सुनेपछि एकपटक टोरोन्टोमा आएर भेट्ने सल्लाह दिनु भयो । शुक्रबार ब्रायनसँग साँझ भेट्ने कुरा भई सकेकोले मैले बिहान भेट्ने कुरा गर्दा दाईले शनिबार बिहान भेट्न आउनु भन्नु भयो । शुक्रबार ब्रायनको डेराबाटै दाई बसेको ठाँउ जाने विचार गरेर मैले हुन्छ भनेर दाइको ठेगाना फेरी टिपे । अचानक मेरो जीवनमा आईपरेका यी दुईवटा मोडहरुले मलाई कता पुर्याउने हुँन अनुमाननै गर्न सकिन । शुक्रबारको दिन म क्याम्पसपछि ब्रायनले दिएको समय अनुसार चर्च स्ट्रिटको रेन्बो पबमा पुगे । आज ब्रायनभन्दा म चाडो भएको रहेछु । केहीबेर पर्खेपछि ब्रायन आएर जोडले अंकमाल गरेर आफ्नो छातीमा टसाएपछि ममा पनि रक्तसंचार प्रवाह भएजस्तो लाग्यो । उसले एउटाएउटा बियर खाएर कोठातिर जाने भनेपछि हामी बसेर फेरी आआफ्नो बारेमा कुरा गर्न थाल्यौं । ब्रायनले आफु एउटा ट्रेडिङ्ग कम्पनीमा एकाउटेन्ट रहेको बारे जानकारी गरायो भने मैले आफ्नो बारेमा केही भनिन । बरु आफु तेस्रो लिङ्गीहरुका बारेमा धेरैनै अनभिज्ञ रहेको र नेपालमा तेस्रो लिङ्गीप्रति रहेको समाजको अवधारणाका बारेमा बताएको थिए । ब्रायनका लागि उत्सुकताको विषय बन्दै गएको थियो । पबबाट निस्केर ब्रायनले मलाई आफ्नो अपार्टमेन्टमा लिएर गयो । त्यहाँ पनि उसले फ्रिजबाट वियर निकालेर दिएपछि गफ गर्दै पिउन थाल्यौं । कोठामा उसँग निक भन्ने साथी बस्ने गर्थ्यो तर उनीहरुका बीच मित्रता टुटेपछि ब्रायन एक्लै बस्न थालेको रहेछ । त्यसरात हामीले सुईस सालादबाट खाना मगाँएर खायौं । राती अबेरसम्म ब्रायनले गे पेरेड र तेस्रो लिङ्गीको अधिकारका बारेमा मलाई धेरै कुराहरुको जानकारी दिएको थियो ।
अझ चर्च स्ट्रिटमा रहेका सबै व्यापारिक तथा प्रशासनिक केन्द्रमा तेस्रो लिङ्गी कर्मचारीहरुको बाहुल्यता रहेको कुरा गर्यो । अबेर रातसम्म हामी कुरा गरेर एकअर्काको जिज्ञासा मेटाउदै गयौं । कुरा गर्दा गर्दै ब्रायनले मेरो हात समात्ने, मेरो शरीरमा औंलाले हल्का स्पर्श गर्ने, मेरो कपाल चलाउदै आँखा, नाक, कान, ओठहरुलाई स्पर्श गर्दागर्दै हाम्रा अधरहरु एकआपसमा जुद्धाजुद्धै थकित भएर निधाएको थाहानै पाईन । भोलीपल्ट विहान म वेलेस्लीको २६० नम्बरको बिल्डिङ्गमा दाइलाई भेट्न गए । म आएपछि दाइले एकजना अर्को मानिसलाई फोन गरेर बोलाउनु भयो । झापाको भिष्म उप्रेतीसँग मेरो परिचय गराएपछि उसैका माध्यमबाट क्यानाडामा बस्ने उपायका बारेमा जानकारी पाए । भिष्म उप्रेती पनि नेपालबाट मलेसिया हुँदै क्यानाडामा आएर शरणमा परेको थियो । एकै वर्षमा उ क्यानाडाको बासिन्दा बन्न सफल भएको थियो । उसले नेपालको वर्तमान अवस्था देखाएर क्यानाडा सरकारसँग शरण माँगेको थियो । उसले मलाई पनि यही नीति अपनाउने सल्लाह दियो । दाइले पनि क्यानाडामा मेरो स्थाई बसाँइका लागि यहीनै उत्तम रहने ठहर गरेपछि मैले स्वीकारेक्ती दिन करै लाग्यो । कुरा मेरै भलाईको लागि हुँदै थियो । दाइको घरमा नै खाना आएर म ब्रायनको कोठामा फर्के । ब्रायन कोठामै थियो र मलाई नै कुरेर बसेको पाए । हामी दुवै चर्च स्ट्रीट तिर लाग्यौं । भोली गे पेरेडको तयारी भईरहेको थियो चर्च स्ट्रीटमा । ब्रायनले मलाई योङ्ग स्ट्रीटको हट स्नो क्लबमा लिएर गयो । क्लबमा सबै नाचीरहेका थिए । मस्ती गरीरहेका थिए । ब्रायनसँग म पनि केहीबेर नाचे । त्यहाँ ब्रायनले धेरै अपरिचितहरुसँग मिट माई हार्ट भन्दै परिचय गराएको थियो । दुई दिनमा नै म उसको मुटु भएकोमा मलाई खुशी लागेकोले मैले प्रतिकार पनि गरिन । क्लबबाट लगभग एक बजेतिर हामी कोठा तिर लाग्यो । चर्च स्ट्रीटमा अहिलेसम्म रौनक नै देखिन्थ्यो । मलाई हेमिल्टनको एकान्तले पिरोल्न थाल्यो । चर्च स्ट्रीटमा ने बसुबसु जस्तो लाग्न थाल्यो । ब्रायन र मैले आधा रातमा के.एफ.सी. मा गएर बर्गर खायौं र कोठा तिर लाग्यो । बियरका बोतलहरु एकपछि अर्को रित्तिदै गईरहेको थियो । ब्रायनले मलाई हेमिल्टन छोडेर यही टोरोन्टोमा आउने सल्लाह दियो । गत रात झै ब्रायनका औलाहरुले मेरा शरीरका अंगअंग खेलाईरहेको थियो । यो के भई रहेको थियो भन्ने कुरामा म नै अनभिज्ञ थिए । सानोमा साथीहरुले जिस्केर मोहनी भन्दै मेरो म्वई खाने गरेको सम्झे । हरीलाई सम्झे । उसले त ओठमै आक्रमण गर्ने गर्थ्यो । शायद ती नै थिए मेरा चुम्बनका अनुभवहरु । तर यहाँ ब्रायनले मेरो चुम्बनप्रतिको अनादर र परिभाषालाईनै बदल्दै गइरहेको थियो । कतिखेर म निधाए थाहानै भएन । बियर धेरै खाएकोले मिर्मिरे बिहानै पिसाबले च्यापेर म ब्युझिँए । मसँगै ब्रायन पनि सुतेको थियो । हामी दुवै प्राकृतिक पहिरनमा थियौं । उ मस्त निन्द्रामा थियो । पिसाब फेरेर ओच्छ्यानमा पल्टेर म गत रातको घटनालाई रिवाइण्ड गरेर विस्तारै सम्झने प्रयास गर्दै गए । मलाई आफैसँग लाज लाग्न थाल्यो । यो सब ब्रायनको औंलाको जादु थियो । औंला खेलाउँदै उसले मलाई पनि खेलाउँदै गएको थाहा नै भएन । तर समष्ठीमा जे भयो मलाई रमाइलो भए जस्तो लाग्यो । रातका घटनाहरुलाई पूनः सम्झदै म कति बेला निधाएछु थाहा नै भएन ।
बिहान सबैरै ब्रायनको मोबाईलको घण्टीले हामी दुवैलाई ब्युझाई दियो । फोनमा कुरा गर्दै ब्रायनले नो… नो… नो… भन्दै अंग्रेजीका नकारात्मक शब्द दोहोराई रहेको थियो । यसको अनुहारमा पनि मैले एक प्रकारको रिसानुभाव देखीरहेको थिए । त्यसैले मैले को र के भन्न चाहिन र चुपचाप ओच्छ्यानमै पल्टेर कुरा सुनी रहे । तर मेरा आँखाहरुले ब्रायनलाई नै चिहाइरहेका थिए । केही बेरपछि फोन बन्द गर्दै ब्रायन करायो – हाउ कम इट पोसिबल, नो, आम कम्प्लेटली अनकम्फर्टेबल विथ हिम नाउ ? नो वे ? हि केन नट रिफर द पेरेड फर आवर युनिफर्मिटी भन्दै मलाई च्पयाप्प समातेर म्वई खादै – नो मोर निक, नाउ यु आर ईन माई लाईफ । वि हेप टु गो भेरी फार, लोङ्ग लाईफ हनी भन्दै धेरै अन्तरालपछि लाहुरबाट फर्केको श्रीमानले श्रीमतीलाई माया गरझै गरेर ब्रायनले मलाई माया गर्न थाल्यो । हाम्रा ओठहरु एकआपसमा मिसिन खोजिरहेका थिए । शायद यही पलको पर्खाइमा म बसकेको थिए होला । ब्रायनले जे गरे पनि मैले विरोध गरिन । मलाई एकप्रकारले मेरै जित र मेरै अभिलाषा पुरा भएको झै लागेको थियो । फोनमा ब्रायनसँग बस्दै आएको निकले आज गे पेरेडको उपलक्ष्यमा पुराना कुरा बिर्सेर फेरी मित्रता गास्ने र ब्रायनसँग सँगै बस्ने ईच्छा गरेको थियो । तर ब्रायनलाई मेरो निकटता मन पर्न थालेकोले निकसँगको सम्बन्धमा तगारो लगाइदिएको थियो । यो मेरो पहिलो गे पेरेड थियो । यस पटक अन्टारियोका प्रान्तीय प्रमुख प्रिमियरले पनि भाग लिदै थिईन । उनी पनि समलिङ्गी परिवारको सदस्य थिइन ।मैले पनि आफुलाई यस परिवारको सदस्य बनाएर हातमा आई एम योर न्यु मेम्बर लेखेको प्लेकार्ड बोकेर ब्रायनसँगै जुलुसमा सामेल भएको थिए । आधुनिक समाजको सप्तरंगी रंगमा समाहित हुँदै म आफैमा हराइरहेको थिए आफैमा आनन्दित हुँदै । नयाँ दिशातिर नयाँ उमङ्ग लिएर । म आजैमा रमाई रहेको थिए भोलीबाट अनभिज्ञ भएर । म रमाइरहेको थिए र आफु विदेश आउनुको सार्थकता ठम्याउन खोजी रहेको थिए । उनीहरुको रंगमा रंगिएर म निथ्रुक्क भएको थिए । आनन्दले निथ्रुक्क । व्यक्ती स्वतन्त्रताले निथ्रुक्क । आफ्नो इच्छाले निथ्रुक्क ।
टोरोन्टो, जुलाई २३, २०१३