व्यङ्ग्य निबन्ध : मेरी बुढीको भुँडी पूजा

~लेखनाथ गौतम~

कहिलेकाही आँखा लगाउछु आफु जन्मेको साल तिर । जन्मेको ठाउँको सम्झना गर्छु । त्यो जमाना अर्कै थियो । लाग्छ त्यो अचम्मको समय र ठाउँ थियो । त्यो अती रोमन्चक ठाउँ थियो । तर पनि आफुमा केही कमी भए जस्तो अनी नपुगे जस्तो लाग्छ । आफ्नो जन्म बिजुली नभएको ठाउँ र समयमा, मोटर बाटो नगएको ठाउँ भिरपाखामा, फोन, टि.भी नचल्ने बेलामा अर्थात टुकी बाल्ने, मान्छेको भिड देख्न घन्टौ हिड्नु पर्ने र ‘सदर्’ मुकाम पुग्न दिन गन्नु पर्ने ठाउँमा भयो । सादा र सरल तर परिश्रमको हिसाबले कठिन ठाउँमा जन्मियो, हुर्कियो, बढियो र पढियो । तर खप्परले फेरि कहाँ बाट कहाँ पुर्यायो । जिन्दगीले नयाँ मोड लियो । कम्रेडहरुले भन्ने गरे जस्तै जिन्दगीले छलाङ मार्यो । टुकीको सहारामा कखरा चिनेको यो मनुवा बिजुली बत्ती बिना अन्धकार हुन्छ भन्ने मानसिकतामा पुग्यो । गाउमा गोरु चराउने, घास काट्ने, उकाली ओराली गर्ने, हुद्धा, पर्म जाने, झ्याउरे र रोदिमा मस्ती देख्ने यो मान्छे ईन्टरनेट बिना पनि संसार अब चल्न सम्भव छ र भन्ने सोच्न थालिसके । कुरोको चुरो येही हो । म चेपुवामा छु । न पुरानो बिर्सन सक्छु न नयाँ त्याग्न नै, न पुरानो नराम्रो भन्न सक्छु न नयाँ नै तिरस्कार गर्न । म पेण्डुलम झै बिचमा उभिएको छु । किम्कर्तब्यबिमुढ, कन्फ्युज्ड । बुढीलाई मम्मी र बुढालाई बाबा भन्ने जमानामा आइपुग्दा पनि आफु जस्ताको तस्तै, जहाँको तही ।

एउटा प्रसँग ल्याउ । मेरो एकजना मित्रले फेसबूक र ईमेलमा सन्देश प्रबाह गरे । आफ्नी पत्नी “गर्भिणि” भएको र त्यसको लागि केही दिन पछि ‘बेबी सावर’ गर्ने कुराको जानकारी र निम्ता गर्नु त्यो सन्देशको उद्देस्य थियो । नेपाली सब्दकोसमा बेबी सावरको नेपलिकरण नखोजी “भुडि पुजा” भनेर त्यस शब्दको न्वारान गरे । यो मेरो आफ्नै “प्राइवेट” शब्द हो । उनले त्यो भुँडी पुजामा आउन आउरे बाउरे, तोरिलाउरे, चाउरे सबैलाई निम्तो गरेका थिए । त्यस्मध्यको भाग्यमानी म पनि थिए । त्यो अबसरमा जानु अघि त्यसको सान्दर्भिकता र औचित्य बारे हल्का बिस्लेसण गरे । होईन हाम्रा बाउले न बाजेले गरेको के नाटक गर्न लागेका हुन यिनले ? “नानी पाउन कहाँ छ कहाँ, कन्नानी बान्नको हत्पत” भन्ने नेपाली उखान त्यसै भनिएको होईन । नानी जन्मिन महिनौ बाँकी रहदै त्यसको पुजा अर्थात स्वागत ? दुनियामा काल (समय) लाई कसैले जित्न सक्दैन । जन्मिने बच्चा सकुसल जन्मिने हो की होईन कुनै ठेगान नहुदै त्यसको उत्सब गर्नु काल लाई जितेको हो जस्तो लाग्यो । उल्टो र अली नसुहाउदो जस्तो लाग्यो । तैपनी पुरानो बुद्धी भन्दा नयाँ बुद्धीले गरेको चमत्कार देखेर यसलाई पनि नयाँ दुनियाँको नयाँ आबिस्कारको लाइनमा राखेर मन नलागी नलागी भए पनि कार्यक्रममा आफ्नो भौतिक उपस्थिती जनाउने निधो गरे । हल्का त्यसैको तयारी गर्न थाले ।

कुनै अबसरमा कसैले बोलाँउदा केही लिएर जाने हाम्रो चलन छ । त्यसो त म कतिपटक केही नलीइ लुखुरलुखुर गएको पनि छु । पछि सबैले “भित्र” तात्तो न छारो केही नभए पनि दामी खोल हालेर उपहार लिएर आएको देखेर आफु लज्जित भएको पनि महशुस गरेको छु । यस्पाला त्यस्तो नहोस् भनेर वालमार्ट (अमेरिकाको कम्सल समान पाइने तर अती लोकप्रिय डिपार्ट्मेण्ट स्टोर) तिर लागे । तर के किन्ने ? प्रश्न गम्भिर थियो । “भुडी पूजा भएकोले मेरो बुझाई आउने बच्चोलाई केही लिएर जाने भन्ने भयो । अनी “इन्फ्याण्ट एण्ड टोड्लर” भन्ने साइन लेखिएको ठाउतिर लागे । घुमिहिड्दा मेरो मस्तिस्कले के लाने भन्ने निर्क्यौल गर्ने छाट्काट देखिएन । मित्रलाई फोन लगाए । “होइन म यहाँ वाल्मार्टमा छु, तपाईंले जन्माउन लागेको बच्चाको लिङग, तौल र उचाइ कति छ, मलाई यहाँ उपहार किन्न अप्ठेरो पर्‍यो” । उनले हाँस्दै ” ए !!! जन्मिने छोरा, तौल करिब सात पाउण्ड र उचाइ थाहा भएन” । फोन काटियो । म तत् अनुरुपको $१० को उपहार र $५ को त्यलाई ढाक्ने खोल किनेर घर तिर लागे ।

घुम्दै फिर्दै त्यो दिन नजिकियो । पार्टीमा जाने “राम्रा” कपडा म सँग छैनन् । मैले सबै कपडा सधैं लगाउछु । घरमा बस्दा लगाउने र बाहिर जादा लगाउने मेरा कपडा उनै हुन् । बाहिर कसैको घरमा वा जमघटमा जादा आइरन दलेर र तोरीको तेल कपालमा घसेर जाने मेरो बानी छैन । मेरो भित्र र बाहिर दुइटा कुरा छैनन्, सबै सम्मै मेरो लागि । कोट बिहेमा एकचोटी लगाएको थिए, यो एकबारको जुनिमा । त्यहि पनि कतिबेला घर पुगुला र त्यो घाडो फालुला जस्तो भएको थियो । त्यस्तो मान्छेको घरमा टाइ शुट हुने कुरै भएन । सबै टाइसुटमा आउलान्, महिला दिदिबहिनीहरु सुनका गहनाले झकिझकाउ बनेर उपस्थित होलान् भन्ने मलाई राम्रै हेक्का थियो । तर आफ्नो ह्याङगरमा टीसर्ट र पाइण्ट बाहेको केही झुण्डिएका थिएनन् । आँखा चिम्म गरेर एउटा थुते र पार्टीतिर लागे । म भित्रको आत्मबिस्वासले मेरा कपडाको क्वालिटी र ब्राण्डको बाल मत्लब गरेन । म मसक्क भएर “भुडि पुजा” तिर लम्के ।

साथिको घर नजिकिदै गर्दा मान्छे बोलेको आवाज पनि चर्को हुँदै गयो । बेलुका सात बजेको लागि निम्तो गरिए पनि “नेपाली टाइम्” बारे सबै निम्तालु अभ्यस्त थिए । त्यसैले त्यहा औंलामा गन्न मिल्ने मान्छे मात्र थिए । “होइन मान्छे यत्ती हुन् र ?” मैले उत्ताउलो हुँदै भने । “होइन, दुई सय जति बोलाको छु, आउँदै होलान्, हाम्रो तयारी पनि हुँदैछ, दाई बस्दै गर्नुस्” । उनै “हुनेवाला मम्मी” ले मिठो तर नक्कली (फिलिममा बोलिने डाइलग) जस्तै गरि भनिन् नक्कली मुस्कानका साथ । मैले चिटिक्क परेको प्याकेजको गिफ्ट उनलाई टक्र्याए । “पर्दैन्थ्यो नी दाई किन दु:ख गर्नु भएको?” उनले औपचारिकता पूरा गरिन् । पार्टी सुरु भयो । जति ढिलो हुन्थ्यो उती ठुलो भुँडी भएका, उती धेरै गहना लगाएका र चिल्ला मान्छे आउथे । साधारण, सामान्य र ख्याउटे मान्छेहरु खोइ चाडो आउँदा धेरै खान पाईन्छ झै गरेर कोहि नआउदै आएका थिए । तीनलाई ढिला आउँदाको महत्व के थाहा ? जति सुकिला उती ढिला, जति मोटा उती अबेर । आफु छिट्टो आएर पङ्चुएल भएको देखाउने गरेको आफ्नो कर्म प्रति दया लाग्यो । लाग्यो यस्तै गरेको भए मेरो पनि जिउमा अली अली मासु लाग्थ्यो की ? टाइसुटमा पनि मान्छे देखिए । आफ्नो पहिरन तिर आँखा लगाए । ठिकै लाग्यो, मेरा लुगा मैला थिएनन् पुराना भएपनि । निकै ढिलो सम्म मान्छे आइनै रहे । त त र म म मात्र होईन आइस्योस र खाइस्योस भन्ने सम्मका मान्छेको उपस्थिती निकै देखियो । साथि सुकिलामुकिला तिरै बढी ब्यस्त भए । हामी केही गफाडि मिलेर एउटा कुनामा “हाम्रै” गफ गरिरह्यौ । पार्टी औपचारिक रुपमा सुरु भयो । मित्रले करिब सात महिनाको आफ्नी ग्रिहिणीको भुँडीमा हातले मुसार्दै आफ्नी “रानि” “मम्मी” “डार्लिङ” को मुक्तकण्ठले प्रशन्सा गरे । आउने वाला बच्चाको पनि नामसहित बखान गरे मानौ त्यो एघारौ अबतार हो । शायद बासुदेव र देवकी पनि आफ्नो आठौ सन्तान प्रति येती उत्साहित थिएनन् । तीनको उत्साह देखेर म स्तब्ध बने । सबैले तालीको गड्गडाहटले अनुमोधन गरे । मैले पनि दुई हात एक ठाउँमा बनाए । अन्तमा मिठो खाइयो, घर आइयो र सुतियो ।

बिस्तारामा पल्टेपनी निद्रा लागेन । मन्मनै मैले नयाँ परम्परा र नक्कल बीचको अन्तर खोज्ने प्रयास गरे । यस मानेमा म पछाडि होकी भनेर पनि घोत्लिए । दुई वटा छोराको बाउ हुँदा पनि मैले भुँडी पुजा गरिन । मेरो पुरानो सोच र नयाँ सोच ??? बीच मेरो अन्तर्मन्मा फ्युजन हुने छाट्काट देखिन जति गर्दा पनि । भुँडी पुजा जस्तै अर्को नयाँ चलन छ बिहेको “एन्निवर्सरी” । मलाई लाग्यो यतातिरका मान्छेको त बिहे बर्ष दिन हुन नपाउदै इतिश्री हुने भएकोले बर्ष दिन पुग्दा उल्लास हुने नै भयो । अनी पो मनाउछन् । हाम्रो त बिहे हुन्छ, डिभोर्स त मृत्‍युले मात्र गराउछ । त्यसैले हामीलाई त्यो बर्सै पिच्छे मनाउनु जरुरत उतिसारो देखिन । यी सबै नाटक औपचारिकता मात्र हुन् । हामी त सिधा बोल्छौ । आइ मिस यू र आइ लभ यू जस्ता औपचारिक शब्दहरु लोग्ने वा श्रीमतीको अनुपस्थितिमा गरिने “चल्खेल्” ले फगत नाटक भएको प्रमाणित गरिदिन्छ । हाम्रो समुदायमा यो चलन भने मान्छे जम्मा पार्ने, रौसी धोक्ने र आफ्नो रबाफ देखाउने काइदा भन्दा बढी केही होइनन् । यसैले कसैको सम्बन्ध राम्रो भएको भ्रम पनि धेरैमा छैन । तर पनि साथिको चुरिफुरी, बोलाई र चालढाल हेर्दा म पनि दोधारमा परे । होईन गाठे, मैले पनि यै उमेरमा भए पनि एक्चोटि बुढीको भुँडी पुजा गर्ने जागर उम्रेर आयो । पाठक ब्रिन्द “त्यसो गरे कसो होला” ?????

-लेखनाथ गौतम/टेक्सास, अमेरिका-

(स्रोत : Mysansar.com)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.