संस्मरण : बिर्खे घर्तीपछिको म बिर्खे

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

बिर्खे घर्ती ! म जन्मी हुर्केको मेरो गाउँको पुछारमा हुनहुनिदै कत्ति न टाढा पुगुँला भनेर अविराम बगिरहने तमोर नदीमा ऊबेलादेखि अहिलेसम्म कति कति पानी बगिसक्यो ! तैपनि बिर्खे घर्ती मेरो सम्झनाको दर्पणमा समयको यति लामो दूरीबाट पनि टड्कारै देखिन्छन् । म सानै छँदाको कुरा हो । बिर्खे घर्तीलाई हाम्रा गाउँको भीउँसेन भन्थे । सुन्दै र गुन्दै जाँदा पछि बुझेँ—ठिक्कको कद, ठोस स्वर, हक्की स्वभाव, फुर्तिलो हाउभाउ, बटारिएका पाखुरा र उस्तै पिँडुला भएका बिर्खे घर्तीलाई महाभारतका विरलाकोटी बलवान् भीमसेनसँग दाँजेका रहेछन् । बिर्खे घर्ती बिनाकसुर जन्मदैमा विभेदकारी हिन्दू वर्णव्यवस्थाको नारकीय पीँधमा परेका थिए । अछूतको तहमा खसालेर हेलाँहोचो गरिने दलितभन्दा फगत एक सुता माथि । फरक यत्ति हो, बिर्खे घर्तीका हातको पानी चल्थ्यो । तर कुरूप यथार्थको अर्को पाटो पनि थियो । चलिआएको नरद्वेषी चलनले जन्मजात थोपरेको बाध्यकारी बोझका हिसाबले बिर्खे घर्ती दलितभन्दा एक सुता तल पर्थे । उनले बिहाबारीमा बिष्ट खलकका ब्याउला–ब्याउलीलाई तिनका दोपाया घोडा भएर घ्याप्प डोलीमा बोक्नुपथ्र्यो । के जाडो के गर्मी, के उकाली के ओराली, के हिलो के चिप्लो— खाए–लाएका र पुष्टिएका तरुण मुखिया–मुखिनीहरूलाई ठस्ठस् कन्दै बोक्न उनी अभिशप्त थिए । बोक्ने उनको जोडा को थियो मलाई सम्झना छैन । उनका नामको छायामा परेको उनको जोडा पक्का पनि उनीजस्तै भीउँसेन हुँदो हो, जुनिएर भीउँसेन ।

मेरो काँधमा जनैको लुर्को, कटीमा कन्दनीको फन्को र कन्दनीमुनि लंगौटीको फुर्को जडिएको थिएन । कथित धर्मका दृष्टिमा कर्म नचलेको म जातका हिसाबले बिर्खे घर्तीकै निचा तहमा पर्थेँ । त्यसैले त उमेरमा मभन्दा चार दोब्बर बढीका बिर्खे काका म फुच्चेका सुख–दु:खका साथी थिए । उनका डोलीको पछि लागेर म लुखुरलुखुर जन्त जान्थेँ । डोली बोक्नेको सन्तुलन डग्ला कि, डग्ला कि ! ब्याउला वा ब्याउलीको सुकिलो नाक झ्वाम्म धूलामा जोतिएला कि, जोतिएला कि ! यो ननिको कल्पनाले मेरो आङ त्यसैत्यसै सिरिङ्ग हुन्थ्यो ! तर अचम्म, बोक्ने बिर्खे काकाहरू कहिल्यै डगेनन् । बोकिने अभिमानी ब्याउला–ब्याउलीका नाक कहिल्यै कुच्चिएनन् ।

जन्त जानुका आकर्षण अनेक थिए । तिनमा एउटा थियो, टन्न भोज खानु । बिहाको भतेरमा विभेदको अर्को कथा कथिन्थ्यो । जनै, कन्दनी र लंगौटीधारी बिष्टहरू माथि भतेरको छेवैमा बस्थे । बाजा बजाउने दमाई टोली, बिर्खे घर्तीका जोडा र म तिनका पछाडि निकै तल जातप्रथाको दशगजामा बस्थ्यौँ । माथिका जुँगामुठेहरू मग्नसँग मीठोमसिनो खान्की खान्थे । तलका अपहेलितहरू फुस्रा ओठ चाट्दै र चिसा सुस्केरा हाल्दै केही आउला र खाउँला भनी पर्खी बस्थे । ‘ए ल्याओ न हाओ तल पनि,’ बिर्खे काका रोषमिश्रित स्वरमा कराउँथे । माथि खान बसेकाहरूको कोलाहलले बिर्खे काकाको स्वरलाई भतेरमा पुग्न मनाही गथ्र्यो । बल्लतल्ल टपरीमा भात र दाल तल आउँथ्यो, दुनामा अचार, घ्यू र सख्खर कहिल्यै तल आएन भने हुन्छ । ‘एई, यो केटालाई त देओ,’ बिर्खे काका स्वर उकासेर फेरि कराउँथे । तिनको स्वर आकाशले सुन्थ्यो र हावाले उडाएर लान्थ्यो । माथिको लहरमा बस्ने उचा जातकाहरू भट्टे भोज बजाउँथे, तलको लहरका बस्ने निचा जातकाहरू भित्रभित्रै मुर्मुरिन्थे । माथिकाहरू सन्तष्टिको आनन्द लिन्थे, तलकाहरू बञ्चनाको सिकार बन्थे । आवाजको सुनुवाइ होस् वा नहोस्, बिर्खे घर्ती हामी हेपिने र ठगिनेहरूका करुणामयी आवाज थिए ।

इतिहासको पदचापसँगै शन:शनै: सामाजिक चेतना बढेर गयो । मान्छेले उमेरदार र हृष्टपुष्ट मान्छेलाई बोक्ने अमानवीय प्रथाबाट लोकका नाकनाकमा क्रूरताको गन्ध आउन थाल्यो । बोक्न बाध्य हुनेहरूमा रमरम आक्रोश जाग्यो, बोकिनेहरूलाई रमरम लाज लाग्यो । अनि घट्दै र गल्दै नूर गिरेको त्यो हरिप प्रथा जीवनबाट लखेटिएर इतिहासका पन्नामा शरण माग्न गयो । बस्, बिर्खे काकाहरूले बिष्ट मुखियाहरूका घोडा हुनबाट छुट्कारा पाए । यो म गाउँबाट शिक्षाको उज्यालोमा आफ्नै नवजीवनको आविष्कार गर्ने मनसुवाले राजधानीतिर हिँडेपछिको कुरा हो । पछि सुनेँ, गाउँका ठूला र साना मुखियाहरू साधन, सुविधा र सुखमय जीवनको खोजीमा मधेस झरेछन् । मधेसमा सोझा धरतीपुत्रहरूले रगत र पसिना बगाएर आवाद गरेको उर्बर भूमि भयभीत हुँदै तिनको लुटाइको पर्खाइमा थियो । ती झरे, तिनले लुटे र पहाडको साँघुरो भूमिका ती मालिक मधेसको फराकिलो भूमिका मालिक बन्न पुगे । तर बिर्खे काकाहरू भने पहाडमै छुटे ।

अझ पछि सुनेँ, रहँदाबस्दा बिर्खे काकाका पनि दिन फिरेछन् । मेरा जन्तरे बाबै उर्फ जन्तरे मुखिया गाउँको सेरोफेरोका सबैभन्दा हुनेखानेमा गनिन्थे । त्यसो त ग्रामीण सत्ताको बागडोर उनै बाबैका हातमा थियो भने पनि हुन्छ । जब बाबै जङ्गी घोडा चढेर माथि चतुरे बजारतिर गडडड हुइँकिन्थे, धर्ती काम्थ्यो र आकाशले चकित हुँदै निहुरिएर बाबैलाई हेथ्र्यो । झर्ने मेसोमा हाम्रा बाबैका शाखा–सन्तान पनि मधेस झरेछन् । अनि बाबैको खाली घरमा बिर्खे काका सुसेलो हाल्दै र कम्मर मर्काउँदै शानले सरेछन् । सडकलाई अघि लगाएर भतुवा पुँजीवाद द्रव्यको सिकार गर्न सुटुक्क त्यता पुगिसकेको थियो । र, पुँजीवादको इसारामा गुजारामुखी बालीले नगदेबालीको औतार धारण गर्न लागेको थियो । जजसको ओसिलो जिमिन मनग्गे थियो, अलैँची, अदुवा र अम्रिसोको मालामाल नगदेबालीले तिनको आर्थिक दुर्दशालाई लखेटेर डाँडा कटाइदियो । सके बिर्खे काकाका दिन पनि त्यही छन्छन्मुखी नगदेबालीबाट बने हुनन् । हिजोसम्म जो मुखिया–मुखिनीहरूलाई बोक्थे, अब उनी गाउँको बागडोरधारीका घरको मुली बने । यसरी घोडातुल्य बिर्खे काकाले पहारिलो घाममा आँगनमा बसेर मस्त मुद्रामा घोडचढीका बगैँचाका सुन्तला कपाकप खान पाए ।

बिर्खे घर्तीले सदाका लागि डोली बिसाए, बिर्खेपछिको म बिर्खेले सदाका लागि डोली बोकेँ । डोलीमा उनी मानिसलाई बोक्थे, मैले दर्शन बोकेँ, विचार बोकेँ, आदर्श बोकेँ । उनको डोली दृश्यमान् थियो, मेरो डोली अदृश्य थियो । त्यो घर्षणकारी विचारको डोली थियो । त्यो उदात्त आदर्शको डोली थियो । त्यो परिवर्तका रङ्गीन सपनाहरू सजिएको डोली थियो । मेरा चित्तको झोलीमा बञ्चना, विभेद र अपहेलनाको विराट् संग्रहालय थियो । त्यो झोलीमा अलिकता मेरो आफनै पीडा थियो, अलिकता बिर्खे घर्तीको पीडा, अलिकता अरू दलित, दमित र अपहेलितहरूको पीडा । जगत्को गति हेरेँ, आपसी सम्बन्धको प्रकृतिका हिसाबले मानिस मानिसजस्तो देखिएन, जीवन जीवनजस्तो लागेन । मानिस धर्मको नाममा, परम्पराको नाममा, थिति र रीतिको नाममा आफैँजस्तो मानिसलाई हेप्थ्यो, हेलाँ गथ्र्यो, कुल्चिन्थ्यो र चुस्थ्यो । कसैको आँसु कसैको जीवनजल थियो, कसैको रोदन कसैको सुमधुर सङ्गीत । जीवन तहमुनि तह भएर किचिएको थियो । ती विभेद र दमनका तहहरू थिए । ती बञ्चना र अपमानका तहहरू थिए । सबैभन्दा माथिल्लो तहकाले त्यसमुनिको तहकालाई कुल्चिन्थ्यो, त्यसमुनिको तहकाले त्यसमुनिको तहकालाई, त्यसमुनिको तहकाले अझ त्यसमुनिको तहकालाई । सबै तहका कुल्चाइको एकमुष्ट चाप बिर्खे घर्तीहरूमाथि पथ्र्यो, दलितहरूमाथि पथ्र्यो, बहिष्कृतहरूमाथि पथ्र्यो, गृहदासी बनाइएका नारीहरूमाथि पथ्र्यो । बिर्खे घर्तीपछिको म बिर्खे ती सबैका पीडाहरू बोकेर मुक्तिकामी संघर्षको गौरवमय यात्रामा निस्केँ ।

निरङ्कुश सत्ताको स्वभावै अजिङ्गरको जस्तो, जति जीवन खाए पनि कहिल्यै तृप्त नहुने । त्यस्तो सत्ता ह्वाङ्ग मुख बाएर जीवनका गोरेटाहरूमा, चोर बाटाहरूमा, नाकानाकामा तरबार बोकेर खडा भएको थियो । सत्ता यसै पनि विभेदकारी थियो, क्रूर थियो, असहिष्णु थियो । त्यो सत्ता जनजनका सपनाको शत्रु थियो । त्यो सत्ता यावत् न्यायमुखी चेष्टाहरूको बैरी थियो । सत्तासँग तीनओटा अस्त्र थिए— बन्दुक, कानुन र पैसा । मसँग पनि तीनवटै अस्त्र थिए— विचार, आदर्श र अभीष्ट । बस्, आफ्ना अस्त्र भिरेर उज्यालोतिर, न्यायतिर, गरिमातिरको सङ्ग्रामी यात्रामा म निस्केँ । पथ जुनसुकै होस्, जीवनयात्रामा कोही पनि एक्लो हुँदैन । यात्रामा जताततै साथीहरू भेट्टिए । ती संसार फेर्न हिँडेका थिए । ती जीवनलाई तैबिसेक जीवनजस्तो, तैबिसेक मानवोचित बनाउने धूनमा हिँडेका थिए ।

झट्ट हेर्दा ती विछट्टका लाग्थे । कोही आफ्ना जन्मदाता बाबुद्वारा गरिबका नाउँमा जाली अङ्क थपेर बनाइएका चुसाहा तमसुक च्यातेर हिँडेका थिए । कोही बाबुका भकारीको धान बाबुका लोभी आँखैअगाडि गरिबगुरबाहरूलाई बाँडेर हिँडेका थिए । मैले तिनका विचारमा, तिनका कर्ममा र तिनका त्यागमा आदर्श जीवनको प्रकाश देखेँ । मैले तिनका अनुहारमा सत्यनिष्ठा र न्यायप्रेमको आभा देखेँ । ती जताजता हिँड्थे, मलाई त्यो सघन अन्धकारमा प्रकाशको एउटा मसिनो रेखी क्षितिजतिर हिँडिरहेझैँ लाग्थ्यो । त्यसैले यात्रामा मैले तिनलाईँ बोकेँ । बिर्खे घर्ती दम्भी मुखिया–मुखिनीहरूलाई बोक्थे, मैले विप्लवी वागीहरूलाई बोकेँ । बाटो कठिन थियो र जीवन थियो कष्ट र जोखिमले भरिपूर्ण । तर दूर क्षितिजतिर वेग मार्ने अदम्य सपनासामु ती नाथे कष्ट र जोखिमको कुनै अर्थ थिएन ।
न्याय र अस्मिताको यात्रा गतिमान् भयो । यात्रामा कसैले आफ्नो निष्ठाको रक्षार्थ कति कति वर्ष निसासलाग्दो कारागारको कहर काटे । कोही वक् हरण गरिएका पददलितहरूलाई ब्युँझाउन छद्म भेषमा सुलसुले शैलीमा लुत्त भूमिगत भए । कोही आततायी सत्ताको आखेटमा परेर लुसुक्क प्रवासतिर छिरे । आदर्शको वेदीमा थुप्रै वागीहरूले आफ्नो एकबारको जुनी बलि चढाए । ती सबै खकुरीको धार टेकेर हिँड्ने संघर्षको मूल प्रवाहमा होमिएका थिए, म अपेक्षाकृत कम जोखिम भएको पेटीपेटी तीसँगै लुखुर हिँडिरहेँ । म पेटीमार्गी सरस र सुखद जीवनका सबैजसो तत्त्वहरू भोग गरिरहेको थिएँ । पत्नीको न्यानो प्रेम, छोराछोरीका आनन्ददायी मुस्कान, गरिखाने इलम र सीप, समाजमा अलिकता सम्मान— मसँग ती सबै चीज थिए । मलाई कसोकसो ग्लानि, पछुतो र अपराधबोध भइरहन्थ्यो । जो मरे, ती एकबारको जुनीमा आफ्नो भागमा केही नराखी बाँचेकाहरूलाई सर्वस्व अर्पण गरेर मरे । म नाथेले लोकलाई के दिएँ ? यो मर्मभेदी अनुभूतिले इख्याउँदै चिमोट्दा ममा अलिकति जोश, आँट र उत्सर्गको भावना जाग्थ्यो । र, मेरो यात्राको गति किञ्चित् तीव्र र लयबद्ध हुन्थ्यो ।

पददलित लोक संघर्षपछि संघर्षको शृंखलामा उनिएर शनै:शनै: जाग्दै एक मन, एक प्राणको लयमा जर्‍याकजुरुक उठ्यो । अघोरी सत्ता र जनता आमुन्ने–सामुन्ने खडा भए । रणसंग्राम मच्चियो । चतुर सत्ताले कुटिल मुद्रामा न्यायको आवाजसामु थोरै झुकेको अभिनय गर्‍यो । र, अनौठो नाटक मञ्चन भयो । सत्तधारी र वागीहरूले हस्तमिलन गरे, मुस्कान आदान–प्रदान गरे, र मिलीजुली, बाँडीचुँडी सत्ता भोग गर्ने गोप्य मतो गरे । अनि त्यसपछि ? त्यसपछि जे देखियो, हेरिनसक्नु उल्का देखियो । सत्तारोहण गर्ने भर्‍याङको पहिलो खुट्किलो टेक्दा नटेक्दै वागीको भाषा र मुद्रा फेरिन थालेको आभास भयो । एक्कैछिन अघिसम्म तिनका ओठमा ‘पहिले हामी अनि म’ को संकल्प थियो । अब ‘हामी’ माथि ‘म’ सवार हुन थाल्यो । सहिदका सपनाहरू सत्ताको भर्‍याङमुनि छुटे । जनताका आकांक्षा र अपेक्षा भर्‍याङबाहिर ओझेल परे । बलिदानका गाथाहरू क्रमश: विस्मृत भए ।

हठात् सत्ताको नशामा लट्ठिँदा जीवनको गौरवमय बाटो हिँडेर आएका वागीहरू आफ्नो आदर्शबाट नाटकीय ढङ्गले च्यूत भए । ती आफू आफ्नो रहेनन्, ती अरू कसैका भए । जेको विरोधमा ती लडेका थिए, ती त्यसैका प्रतिरक्षक भए । कुटिल र क्रूर सत्ताले तिनलाई लोभ्याएर, चटाएर र तर्साएर सजिलै आफ्नो कुरूप प्रतिरूपमा ढालिदियो । सत्ताको ह्युमपाइपमा यताबाट छिरेको साधु चोरको औतारमा पाइटपको उताबाट फ्यात्त खस्यो । नाङ्गा आँखाले जे देखियो, मैले त्यो नढाँटी भनेँ । र, म निन्दित भएँ ।

बिर्खे घर्ती जन्तीको यात्रामा काँध गल्दा र बोकिनेको अहंकारले दबिँदा डोली बिसाउँथे । विचारको डोलीमा बोकिएका वागीहरू वैचारिक र नैतिक दृष्टिले स्खलित हुँदा मेरो काँध गन्हायो र मैले डोली बिसाएँ ।

समय बगिरह्यो । जीवन चलिरह्यो ।

इतिहासको पदचापको आवाज हो— जीवनमा घरिघरि देखापर्ने रिक्तताहरू शाश्वत किमार्थ होइनन् । समय आउँछ र केही न केहीले ती रिक्तताहरू भरिन्छन् । एक छिमलका वागीजनको पतनपछि वागीजनको अर्को छिमल अङ्कुरायो । ती लोकलाई विस्मित तुल्याउँदै र शासकहरूलाई अत्याउँदै शास्त्र र शस्त्र दुवै हतियार लिएर उठे । तिनले जडवत् जीवनलाई जगैसम्म हल्लाए । र, लोकका पददलितहरू फेरि बिच्केको अरिङ्गालको आक्रोशित गोलो भएर सडक–सडकमा बरम लागे । आततायी सत्ता आतङ्कित भयो । र, त्यसले जनइच्छालाई मानेको स्वाङ रच्दै वागी नायकहरूसँग सुलह गर्‍यो । सत्तामा फेरि मिलीजुली र बाँडीचुँडीको धन्दा सुरु भयो । र दुर्भाग्यवश, उही पुरानो, दिगमिगलाग्दो कथा दोहोरियो ।

सत्तामा पदार्पण गर्दा नगर्दै फेरि पनि वागीहरूको भाषा फेरिन थाल्यो । केही क्षणअघिसम्म तिनका ओठमा ‘पहिले उनीहरूलाई, पछि मलाई’ को वाचा झुन्डिएको थियो । हठात् पहिले ‘उनीहरूलाई’ तपसिलमा पर्‍यो, र पहिले ‘मलाई’ सर्वोपरि भयो । सहिदका रङ्गीन सपना त्यागिए । जनताका न्यायका आकांक्षा उपेक्षित भए । बलिदानका सुन्दर गाथाहरू कुल्चिइए । क्षुधापीडित जीवहरू सत्ताको भतेरमा रम्दा आफ्नो आदर्शबाट ह्वात्तै स्खलित भए । ती आफू आफ्ना रहेनन् । ती सर्वाङ्ग अर्काका भए । जसको विरोधमा लडेका थिए, ती तिनैका असल मित्र र प्रियपात्र बने ।

धुर्त सत्ताले तिनलाई मुसारेर र म्वाई खाएर मिलिक्कै आफ्नो निस्तेज कार्बनकपीमा परिणत गरिदियो । सत्ताको ह्युम पाइपमा यताबाट छिरेको वागी लुब्ध भोगीको भेषमा उता फुत्त प्रकट भयो । जे देखियो, दुनियाँछेउ मैले त्यो नढाँटी भनेँ । र, म फेरि निन्दित भएँ । तिनका दृष्टिमा म समयको बाध्यता र आफ्ना सामथ्र्यका सीमारु बुझ्न नसक्ने निरपेक्ष आदर्शवादी र उडुवा स्वैरकल्पनाप्रेमी ठहरिएँ ।

बिर्खे घर्ती जन्तीको यात्रामा काँध गल्दा र नाकमा बोकिनेको अहंकार गन्हाउँदा डोली बिसाउँथे । विचारको डोलीमा बोकिएका जीवात्हरू हर दृष्टिले स्खलित हुँदा मेरो काँध गन्हायो र मैले फेरि डोली मिल्काएँ ।

जीवनमा घरिघरि देखापर्ने रिक्तताहरू चिरन्तन किमार्थ होइनन् । समय आउँछ र केही न केहीले ती भरिन्छन् । विचारको डोली बोक्ने म बिर्खे इतिहासका पदचाप सुन्दै फेरि पनि बाटो हेरिरहेको छु ।

प्रकाशित: माघ २३, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.