~शिवराज पन्थी~
म वैचारिक द्वन्द्वसँग धेरै लडें
झोलै बोकेर समर्पित पनि भएँ
न त सोचेको मुक्ति प्राप्त गरें
न बोकेको लक्ष्य नै !
म त कथित पो भएँछु कता?!
दीर्घकालिन लक्ष्यका लागि लडेंथें
नैसर्गिक अधिकारका लागि लडेंथे
लडिरहनुसँग यत्ति लिन भएँछु कि !
हराएँछु म स्वार्थको विहारमा
पूर्ण लक्ष्य प्राप्ति नहुँदै
आत्मसमर्पण पो गरेंछु !
जहाजबाट अन्तव्यस्थानमा नपुग्दै,
दुर्घटना ग्रस्त अवतरण भएछ !
त्यसैले,
मेरो भूगोल हाँसेर बोलेन
उपेक्षित बादल पनि फाटेन
उकुसमुकुस माहोल पनि खुलेन
न त वर्षात् नै भयो धर्तीमा !
बोटवृक्षहरु ठाडै सुकेर गए
अनाज झुलेन खेतबारीमा
लड्दा लड्दा दुई घार भेट्टाएँ
जुनधारमा म थिएँ
जाहेर पनि गरिन लड्ने प्रतिबद्धता !
किनकि चेतनाले मष्तिस्क स्पर्श गरिसकेको थियो,
लडाईको औचित्यतामा मलाई गहिरो शंका थियो !
बलिदान गर्नुभन्दा पूर्व
अनाहक प्राणघात् निश्चित थियो !
अर्कोधार भेट्टाउँदा
प्रतिसोधको ज्वाला सल्काउने बथानले
प्रत्याक्रमणको उचाई समाएन थकानले
विचालाई डढाएर खरानी बनायो,
वर्गीय युद्धले उसिन्यो !
अनाहकमा प्राणोत्सर्ग गरेका
लाशहरुको गन्धले,
धर्तीमा झंगाहरु भन्किइरहे
कोलाहल मच्चिइ हरायो,
अस्त्र शस्त्र आ–आफ्नै ठोकिएर,
बादल पारिको क्षितिजमा पुग्दा
शुन्य आकाशमै
वैचारिक शुन्यतामा …..
विलिन भएँछु !
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २ – २०६७ मंसिर ८ गते, बुधबार)